बिलखबन्दमा संविधान- विचार - कान्तिपुर समाचार

बिलखबन्दमा संविधान

यो सरकारको महिमामण्डन गर्नु भनेको वर्तमान राजनीतिले देश, समाज र नागरिकप्रति गरेको घातलाई बेवास्ता गर्नु हो ।
चन्द्रकिशोर

टाकुराबाट कुरुक्षेत्रको युद्ध हेरिसकेपछि टाउको काटिएको बर्बरीकले भनेको थियो, ‘सम्पूर्ण महाभारतमा मैले एउटै व्यक्तिलाई पटकपटक मर्दै र मार्दै गरेको देखें । तिनी थिए– कृष्ण ।’ यस कथनको महत्त्वपूर्ण सन्देश हो– महाभारतमा हरेकपटक कृष्ण नै मरे, असलपन नै मेटिइरह्यो । धर्मक्षेत्र मूल्यहरूको श्मशान बन्यो । यता पनि संविधान निर्माण गर्दा केवल परिणामप्रति ध्यान दिइयो, पात्र र प्रक्रियाको मूल्यलाई बेवास्ता गरियो ।

समयको गुणस्तर सधैं एकै किसिमको हुँदैन । संविधान निर्माणको समय ठूला सम्भावना बोकेर आएको थियो । त्यसभन्दा पनि बढी सम्भावना बहुतहको निर्वाचनपश्चात् संविधान कार्यान्वयनको काल हो । निर्वाचित शासकहरूमा संविधान–चेतना जति बढी हुन्छ, त्यति लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र जब खण्डखण्ड पाखण्ड पर्वमा अनूदित हुँदै जान्छ, जितपश्चात् विनाश यसै गरी सार्वभौम हुन पुग्छ । सत्यतथ्य प्रचारित हुँदैन । जे प्रचारित हुन्छ र गरिन्छ, त्यही सत्य भइटोपल्छ ।

हतारोपन कतिपय अवस्थामा चाहिन्छ । तर जतिसुकै हतारो भए पनि प्रक्रियासँग गाँसिएको मूल्य कुल्चिन पाइँदैन, विश्वव्यापी केही मानदण्डहरूलाई पदाघात गर्ने छुट हुँदैन । एउटा अंग्रेजी भनाइ छ, ‘सर्टकट विल कट यु सर्ट ।’ अर्थात्, छोटो मार्गले तिमीलाई नै छोटो बनाइदिन्छ । अर्को एउटा ग्रीक मिथ चरितार्थ हुँदै गरेको अवस्था छ ।

संविधानले नेपाली लोकतन्त्रका केही आधारभूत समस्या र संस्कृतिलाई सम्बोधन गर्न सकेन । यो त बूढा नेताहरूले आफूमाझ सत्ता र शक्तिको भागबन्डा गर्दाको दुःस्वप्न हो । संविधान निर्माण प्रक्रिया अतिकेन्द्रीकृत र अपारदर्शी भयो । सामान्यजनको मतलाई यससँग जोड्नै सकिएन । संविधानसभाले समयतालिकाको यस्तो चेपुवामा पार्‍यो, जसलाई द्रुत बाटो भनियो । अहिले पुष्टि हुँदै छ, त्यो छोटो बाटोले कसरी संविधान–वयलाई छोटो तुल्याउँदै गएको छ ? त्यस्तै संविधानका निर्माताहरूले आफ्नो अपारदर्शी कृत्यलाई यति ‘उत्कृष्ट’ भनेर बखान गर्न थाले, जसको भविष्य नार्सिससको नियतिसँग ठोक्किन बेर छैन । हो, निर्वाचनपश्चात् समयावधिमा संविधानलाई कुपोषित हुनबाट जोगाउन जुन खालको खुराक दिनुपर्थ्यो, त्यसलाई अहिलेका शासकले जानाजानी बेवास्ता गरे । यसले गर्दा राष्ट्रको मनोवैज्ञानिक, आर्थिक र राजनीतिक एकता बलियो पार्ने काम एकदम बेवारिसे भयो । यो सरकारलाई सफल मान्दै महिमामण्डन गर्नु भनेको वर्तमान राजनीतिले देश, समाज र नागरिकप्रति गरेको घातलाई बेवास्ता गर्नु हो । राजनीति, कूटनीति र शासकीय विफलताले खन्दै गएको खाडलले चालु संविधानलाई बिलखबन्दमा पारेको छ । उसो त मुलुकको प्रगतिका लागि विधि र संस्थाको निर्माणभन्दा सत्तापतिका मिठा तर झूटा कुरामा रमाउने नेता, कार्यकर्ता, विश्लेषकहरू कम छैनन् । यिनीहरूद्वारै रचिएको भाष्यको मोहपाशमा अल्झिएका आम मान्छे पनि कम छैनन् ।

जनताको युगबाट पछि हट्न खोज्नु प्रतिगमन हो, चाहे त्यो समृद्धि यात्राको नाममा ल्याइएको होस् चाहे महामारी व्यवस्थापनको निहुँमा । जे जुन बहानामा जब शासकले आफूलाई जनताभन्दा माथि राख्न खोज्छ, जनतालाई आफ्नै कुरामा सही थाप्न बाध्य पार्छ र विवेकको स्वतन्त्रताको पर्वाह गर्दैन, त्यो प्रतिगमन हो । प्रतिगमन जुनसुकै आवरणमा वा नारामा आए पनि प्रतिगमन नै हुन्छ । जे जुन संविधान छ, त्यसले दर्साएको तथ्य हो– संविधानभन्दा कोही माथि छैन । संविधानको दृष्टिमा सबै समान छन् । एक थरी हर्षित थिए– बन्दुकको बलमा संविधान आयो, बहुतहका निर्वाचित सरकार भए र अन्तर्राष्ट्रिय समुदायले समर्थन पनि दियो । यो त सुनको दिन उदाएझैं भयो । तर वास्तवमा यस अवधिको काल बाँझै रह्यो, अग्रगमनको ऊर्जा भने उत्पादन गर्न सकिएन । यिनै परिस्थितिमा अहिले मुलुक दुई समानान्तर मनोभावमा खडा हुन पुगेको छ– एक थरीले संविधान दिवसलाई उत्सव दिवसका रूपमा मनाउँछन् भने अर्का थरीले उत्सर्ग दिवसका रूपमा । यो विरोधाभासमाझको घर्षण वर्तमानको अभिशप्त नियति हो ।

गाउँ–देहातमा बूढापाकाहरू भन्थे– गल्ती दुई किसिमले हुन्छ; एउटा पर्याप्त ध्यान नपुग्नाले, अर्को जानीबुझी आफ्नै हठमा अड्नाले । माछा च्यापेर उडिरहेको बकुल्लाको समस्या के हुन्छ भने, मुख खोल्यो कि माछा झर्‍यो । तर जब कुनै नेता यति ढुक्क हुन्छ, जे बोले पनि त्यसलाई महावाणी मान्नेहरू प्रशस्त छन्, तब ऊ बेलगाम हुन्छ । उसले भुइँमान्छेहरूलाई झिनामसिना वस्तुसरह व्यवहार गर्न पुग्छ, जुन प्रतिगामी पाइला हो । यस्तै अवस्थाले बिस्तारै शासकलाई अरूभन्दा देशभक्त र सत्यको प्रतिमूर्ति हुन पुगेको गुरुत्वबोध गराउँछ ।

यस परिस्थितिमा वर्तमान समयमा अनिश्चितता र भय यति बाक्लो छ, निकट आगतमा के हुन्छ भन्न गाह्रो छ । उच्च लोकतान्त्रिक मूल्यहरूमाथि बलात्कार गर्दै विद्वेषमूलक विभाजन र ध्रुवीकरण यसरी हुँदै आयो, फेरि लिकमा ल्याउनु कम चुनौतीपूर्ण छैन ।नेपाली विविधतामाझ विश्वासको पुनर्प्रतिष्ठा अतीतको भेदभाव र कूपमण्डुकताबाट बाहिर निस्केर नै हुन सक्छ । यसका लागि पहिलो पाइला सहिष्णुता र सामञ्जस्यलाई एउटा ठोस अवस्थामा पुर्‍याउन सक्नु हो, किनभने शान्तिपूर्ण सहअस्तित्व तब नै सम्भव हुन सक्छ । यसका लागि शासकको आत्मप्रलापको ठाउँमा संवाद चाहिन्छ । सुखी र समृद्ध नेपालीको अर्थ विभाजित अतीतबाट निस्किएर साझा भविष्यतर्फको सहयात्रा गर्नु हो । एउटा ऋचाले भन्छ, ‘सं गच्छध्वं सं वदध्वं, सं वो मनांसि जानताम्’ । अर्थात् आऊ, सँगै हिँडौं, मिलेर कुरा गरौं र सँगसँगै सुमतिभावमा बसौं ।

एकअर्काप्रति लगातार अविश्वास अथवा संशय राखेर लोकतान्त्रिक समाजको निर्माण हुन सक्दैन । एउटै राजनीतिक भूगोलभित्र कोही विजेता र कोही पराजित मनोविज्ञानमा बाँचिरहेको छ भने त्यो जतिसुकै अब्बल कहलिएको संविधानको असफलता हो । ‘अर्को पक्ष’ माथि विश्वासको डोरी मजबुत गर्नका लागि पहिलो सर्त हो— तथ्यहरूको प्रकाशमा न्यायबोध हुनु । सत्ताको शिखरबाटै पहल हुन सके मात्र मनोमालिन्य हट्न सक्छ । हाम्रो समाजको नग्न यथार्थ हो– ‘आफ्नो’ र ‘पराया’ देखाउने व्यवहारहरू छताछुल्ल छन्, तर हामी फगत एक घटना भनेर व्याख्या गर्न रुचाउँछौं । मूलतः वर्चस्वशाली सम्भ्रान्तहरूका मनको अँध्यारो कुनामा लघु फासीवाद लुकेको हुन्छ, जुन अनेकौं प्रकारले अभिव्यक्त हुँदै छ । परायाकरण गर्दै बहिष्करण गर्ने यो प्रवृत्ति यति झाँगिँदै आयो, आफ्नै दलभित्रकाले पनि गिरोहबाहेकलाई शत्रु देख्न थाले । यस्तो कुरूप मार्गवृत्त छ सत्ता संसारको । तसर्थ संविधान दिवसमा भन्नैपर्छ– भीरको यति नजिकै खेलबाड गर्नु आत्मघाती यत्न हो ।

हो, नेपालमा भूगोल र इतिहासले सम्भव बनाइदिएको समृद्धि हात लाग्न सकेको छैन । दक्षिण एसियामै समृद्ध बन्न सक्ने हाम्रो मुलुक गरिब छ । महामारीले अझै गरिब बनाइदिएको छ । संक्रमणकालीन न्याय प्रक्रियालाई चक्रव्यूहमा पारेर पीडकलाई पुरस्कृत गरी पीडितलाई झन् पीडा र अन्यायमा पारिएको छ । संकीर्ण राष्ट्रवादले असहिष्णुतालाई प्रश्रय दिन्छ तर बहुलवादी समाजमा यस्तो प्रवृत्तिको प्रतिकार स्वाभाविक र जायज मानिन्छ । अमेरिकाका महाकवि वाल्ट ह्वीटम्यानले भनेका थिए, ‘लोकतन्त्र मात्र निर्वाचन हेतु हो, केवल दलका लागि हो ।’ संविधानका अक्षरहरूलाई बहुमतको बलमिच्याइँले सत्ताले आफूखुसी अर्थ र आयाम दिन थालेको छ । अहिलेका सत्तापति बहुमतको आवरणमा महामारीको मौका छोपी झन् उत्तरदायित्वबाट विमुख हुँदै छन् । महामारीकालमा यस्तो लोकतन्त्र छ जहाँ ‘लोक’ नै हराएको छ । प्रश्न गर्दा भनिन्छ– यसले सरकारको कार्यसम्पादनमा नकारात्मक असर पार्छ । महामारीका बेला लोकतन्त्रको कुरा गर्ने हो ?

महामारीका बेला सरकारको कार्यशैली अलि भिन्न हुनु स्वाभाविक हो । तर लोकतन्त्रका आधारभूत मान्यताहरूलाई आघात पुर्‍याउन पाइँदैन । अहिले राजनीतिप्रति असन्तुष्टि बढ्दै गैरहेको छ । खालि असन्तुष्टि अभिव्यक्त गर्ने तरिका मात्र फरकफरक छन् । यो असन्तुष्टिले कस्ता खालका प्रतिक्रिया जन्माउँछ, त्यसको हेक्का संविधान पर्वको अनुष्ठानमा लागेको शासक वर्गलाई नहोला । किनभने फुनगीमा बसेकालाई भुइँयथार्थ बताइँदैन । तर जनताको प्रतिक्रिया कठोर हुन थाल्यो भने चुप बसेको वा जयगानमा रमाइरहेको वृत्त त्यतिखेर कता जाला ? त्यसको अनुमान गर्न गाह्रो छैन ।

प्रकाशित : आश्विन १, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

आशंका नगरौं, समयमै महाधिवेशन हुन्छ : देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन हुने दाबी गरेका छन् । कोभिड–१९ अनुगमन समितिद्वारा बुबाधर आयोजित प्रदेश ५ को अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू पार्टीको विधानबाहिर जान नसक्ने बताएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन नगराई पार्टीमा संवैधानिक संकट निम्त्याउन खोजिएको आशंका बढाइरहेका बेला देउवाले नेपालको संविधान र पार्टीको विधानबारे आफू जानकार रहेको बताए । ‘तपाईंहरू चिन्ता नगर्नुहोस्, पार्टीको विधानबाहिर जान सक्दिनँ । किन आशंका गर्नुहुन्छ ? तोकिएको मितिमै महाधिवेशन हुन्छ,’ उनले भने, ‘कांग्रेसमा मेरो विरोध जति पनि गर्न पाइन्छ तर जनता मालिक हुन् । भोलिको चुनावमा कसरी जितेर आउने, त्यतातिर सोच्नुहोस् ।’

उनले पार्टीभित्र आफ्नो विरोध गरे पनि प्रधानमन्त्री केपी ओलीको विरोध गर्न नसकेको बताए । ‘शेरबहादुर देउवाको जति पनि विरोध गर्न पाइन्छ तर ओलीको विरोधमा कोही बोल्दैन,’ देउवाले भने, ‘सरकारले यत्रो ज्यादती गर्दा पनि किन विरोधमा बोल्न सक्दैनन् ?’

प्रकाशित : आश्विन १, २०७७ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×