कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिनिक्स पन्छीको पुनर्जन्म ? 

समय २०७७ सालमा आइपुग्नु तर नेतृत्व २०४६ सालकै वरिपरि घुमिबस्नु नै नेपाली राजनीतिको केन्द्रीय अन्तरविरोध हो । यसको अर्थ हुन्छ, हाम्रो राजनीति र युगचेतनाको पुस्तान्तर तीस वर्षभन्दा धेरै छ । नेपाली राजनीतिको पहिलो पुस्ता आज भुत्ते र अर्थहीन भएको छ । आफ्नो कालखण्डमा यसले त्याग र संघर्ष गरेको थियो । तर दोस्रो पुस्ता ? योसँग त न त्यागको इतिहास छ, न भविष्य हाँक्ने इच्छाशक्ति । 
केशव दाहाल

काठमाडौँ — यदाकदा नेपाली राजनीतिमा पुस्ता हस्तान्तरणको बहस गजबले चल्ने गर्छ । घाम–पानीजस्तो । नीरस, छिपछिपे र नाटकीय । कांग्रेस र कम्युनिस्ट पार्टीका महाधिवेशनहरू जब चर्चामा आउँछन् तब केही यारहरू नारा लगाउँछन्— पुस्ता हस्तान्तरण जिन्दावाद । पार्टीभित्र जब गुटका गाँठाहरू बल्झिँदै जान्छन्, तब कसैले प्रस्ताव गर्छ— पुस्ता हस्तान्तरण ।

फिनिक्स पन्छीको पुनर्जन्म ? 

त्यसपछि यो शब्दसँग जोडिएर केही नामहरू आउँछन् र आउँछन् अनेक उराठलाग्दा उपदेशहरू । आखिर पुस्ता हस्तान्तरण भनेको के हो ? के पुस्ता हस्तान्तरणको मौसमी बहसले यसको सान्दर्भिकता र अर्थ पुष्टि हुन्छ ?

कथ्यहरूको कखरा

नेपाली राजनीतिमा अहिले तीन पुस्ता एकैसाथ काम गरिरहेका छन् । पहिलो पुस्ता, जसले २०१७–४६ सालको सकस देख्यो र प्रजातन्त्रका लागि लड्यो । दोस्रो पुस्ता, जो २०४७–६३ को उथलपुथलबाट जन्मियो । तेस्रो पुस्ता, जो २०७२ सालपछि राजनीतिमा उदायो । यी तीन कालखण्डहरू नेपाली राजनीतिका पछिल्ला ‘माइलस्टोन’ हुन्, जसले फरक युग, चेतना र सपनाहरूको प्रतिनिधित्व गर्छन्— प्रजातन्त्र, लोकतन्त्र र समावेशी समृद्धिको । प्रश्न आउँछ, आजको युग कुन हो ? आजको चेतना कुन हो ? के आजको चेतनालाई नेपाली राजनीतिले नेतृत्व गरिरहेको छ ? यहाँ नेतृत्वको अर्थ व्यक्ति होइन । विचार, आन्दोलन र प्रवृत्ति हो । समय २०७७ सालमा आइपुग्नु तर नेतृत्व २०४६ सालकै वरिपरि घुमिबस्नु नै नेपाली राजनीतिको केन्द्रीय अन्तरविरोध हो । यसको अर्थ हुन्छ, हाम्रो राजनीति र युगचेतनाको पुस्तान्तर तीस वर्षभन्दा धेरै छ । तीस वर्षको यो ‘ग्याप’ लाई कसरी घटाउने ? पुस्ता हस्तान्तरणको मुख्य प्रश्न यही हो ।

केही मान्छेहरू ठान्छन्, पुस्ता हस्तान्तरण नेताहरूको अनुहार बदल्ने कुरा हो । उनीहरूलाई लाग्छ, कांग्रेसलाई बदल्न देउवा वा पौडेलको ठाउँमा थापा, शर्मा वा गुरुङलाई स्थापित गरिदिए पुग्छ । त्यति भयो भने बाँकी सबै कुरा झलमल्ल हुनेछ । अर्कातिर केही कमरेडहरू सोच्छन्— नेकपामा ओली वा दाहालको स्थानमा भुसाललाई राखेपछि बाँकी आफैं जगमग हुनेछ । यस्तो सोच्नु मुख्यतः राजनीतिको दुःख मान्छेको अनुहारमा लगेर केन्द्रित गर्नु हो । यस्तो चिन्तनले न राजनीतिको पछिल्लो संकट बुझ्न सहयोग गर्छ न त यसलाई बदल्न । यो त बालुवाको घर बनाउनुजस्तै हो । भन्नुपर्दैन, बालुवाको घर जतिसुकै सुन्दर किन नहोस्, त्यो हेर्न मात्र काम लाग्छÙ त्यसले ओत दिँदैन ।

पुस्ता हस्तान्तरण नेताको अनुहार बदल्ने प्रस्ताव किमार्थ होइन । यो राजनीतिको अनुहार फेर्ने प्रस्ताव हो । पुस्ता हस्तान्तरण पहिलो पुस्तामाथि दोस्रो पुस्ताको पूर्वाग्रह होइन । नयाँ युगलाई सम्बोधन गर्ने बृहत्तर प्रस्ताव हो । यहाँ पुस्ता भनेको त्यो युगको विचार, आन्दोलन र मुद्दाहरूको समष्टि हो । पार्टीहरूलाई वैचारिक रूपमा ताजा र जीवन्त नबनाई नेताहरूको अनुहार मात्र फेर्दैमा पुस्ता हस्तान्तरण हुँदैन । कसैले मान्छेको अनुहारमा पुस्ताको विरासत देख्छ भने त्यो काइते कुरा हो । पुस्ता हस्तान्तरणको वैचारिक मुद्दाबाट मान्छेको ध्यान अनुहारतिर मोड्ने त्यस्तो राजनीतिले समाज फेरिँदैन ।

निश्चय नै, नेपाली राजनीतिको एउटा संकट मूलधारका शीर्ष नेताहरूमा निहित छ । तर यो आंशिक सत्य मात्र हो । सत्य हो, पानी मूलमै जमेको छ । फोहोर त्यही छ । तर पहिलो पुस्ताको दौरा समातेर आफ्नो लाभको हिसाबकिताब मिलाउने दोस्रो पुस्ताको दासता हाम्रो राजनीतिको अर्को सत्य हो । अवश्य नै नेपाली राजनीतिको पहिलो पुस्ता आज भुत्ते र अर्थहीन भएको छ । तर कुनै बेला यो त्यस्तो थिएन । आफ्नो कालखण्डमा यसले त्याग गरेको थियो र संघर्ष पनि । तर दोस्रो पुस्ता ? योसँग त न त्यागको इतिहास छ, न त भविष्य हाँक्ने इच्छाशक्ति । पहिलो पुस्ताको संघर्षको ब्याज खाँदाखाँदै दोस्रो पुस्ता आज प्रयोजनहीन हुँदै छ । वैचारिक ओज र सामर्थ्यबिनाको, अरिंगालजस्तो, हनुमानजस्तो । यो आजको अर्को सत्य हो । पहिलो पुस्ता त आफ्नो समयमा अब्बल थियो । तर दोस्रो पुस्ता त स्वयं उसको समयमा पनि विचारहीन, सपनाहीन र सन्दर्भहीन पो देखिँदै छ । यो अर्थमा, दोस्रो पुस्ताले पहिलो पुस्ताको वैचारिक, राजनीतिक र संगठनात्मक दासताबाट आफूलाई अलग नगरी पुस्ता हस्तान्तरण कसरी हुन्छ ?

विचार गरौं, किन असफल हुँदै छन् पार्टीहरू ? किन पश्चगमनको यात्रामा छन् सानेपा र धुम्बाराही ? नेताहरूको आस्था र मूल्यमान्यताको यति चर्को क्षयीकरण किन ? किन दुई ठूला पार्टीहरू इतिहासको गरिमालाई बोक्न नसक्ने भए ? यी मुख्यतः वैचारिक प्रश्नहरू हुन् । खासमा हाम्रा पार्टीहरूले आफूलाई समयको वेगसँग रूपान्तरण गर्दै लैजानुपर्थ्यो । तर उल्टै उनीहरू पुरानो शक्ति र स्वार्थको चक्रव्यूहमा पो फस्दै गए । परिणाम, पुरानो संरचनालाई लिपपोत गरियो । विभेदको पुरानै जगमा इँटा थपियो । मूल्यमान्यताको तेजोवध हुँदै गयो । परिवर्तनको गरिमालाई माटोमा मिलाइयो । न समावेशी राज्य, न आर्थिक/सामाजिक न्याय । वैचारिक प्रश्नहरूको उत्तर वैचारिक नै हुनुपर्थ्यो । तर प्रश्नहरूको प्राविधिक र गणितीय हल खोजियो । यो सबै भैरहँदा दोस्रो पुस्ता कहाँ थियो ? उसले कहाँ प्रश्न गर्‍यो ? उसले कहाँ विद्रोह गर्‍यो ? दोस्रो पुस्ताले आफ्नोबारेमा वस्तुनिष्ठ समीक्षा गरोस् । अन्यथा उसले भनेको पुस्ता हस्तान्तरण पत्रु राजनीतिको नयाँ संस्करण मात्र हुनेछ ।

हेडक्वाटरको विघटन

स्पष्ट छ, नेकपा र कांग्रेसको रूपान्तरण उपदेश र आशीर्वादले सम्पन्न हुँदैन । यसका लागि दोस्रो पुस्ता सचेत, निर्मम र कठोर हुनुपर्छ । उसले पहिलो पुस्तालाई बिदा गर्नुपर्छ, तेस्रो पुस्तालाई साथमा लिनुपर्छ । तर यो निकै कठिन काम हो । अतः उसले हिम्मत गर्नुपर्छ र आवश्यक पर्दा आफ्नै पार्टीको हेडक्वाटरमा आगो लगाउनुपर्छ । यहाँ, पार्टी हेडक्वाटर भनेको केन्द्रीय कार्यालय होइन, बरु उसको सैद्धान्तिक, वैचारिक र राजनीतिक शक्तिकेन्द्र हो । पुरानो हेडक्वाटरलाई नभत्काई पार्टीहरूमा पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु हुँदैन ।

केही मान्छेहरूलाई लाग्ला, पार्टीको हेडक्वाटरसँग इतिहासको ओज बाँकी नै छ । छ भने त्यसलाई सम्मान गर्नुपर्छ । तर बनाउनुपर्छ वर्तमान । वर्तमानलाई सुन्दर बनाउन आज सबैभन्दा ठूलो तगारो कहाँ छ ? त्यो पार्टीहरूको हेडक्वाटरमा छ । किनभने त्यो अब जनमुखी राजनीतिको केन्द्र रहेन । त्यो अब बिचौलियाको स्वार्थकेन्द्रमा फेरियो । यो आरोप होइन । सत्य हो । जस्तो सोचौं त पार्टीहरूको निर्णायक तहमा आज कसको हुकुम चल्छ ? पार्टीमा सबैभन्दा धेरै चन्दा कसले दिन्छ, किन दिन्छ ? नेताहरूको उठबस, लन्च र डिनर कहाँ हुन्छ ? अब बिस्तारै मन्त्री, सांसद र मेयरहरू को हुँदै छन् ? राजनीतिक नियुक्ति पाउने सबैभन्दा योग्य महापुरुष को हो ? पछिल्ला वर्षहरूमा सबैभन्दा धनी को भयो ? गरिब किन लगातार पिल्सिँदै छ ? यो सम्पूर्ण खेलकुदको सिंहासनमा छ एउटा समूह, जसमा छन् केही चिल्ला मान्छेहरू । ती मान्छेहरू नै आज प्रत्येक पार्टीका निर्णायक शक्ति हुन् । ती उद्योगीको भेषमा छन् । ती व्यापारीको भेषमा छन् । ती जनप्रतिनिधिहरूको भेषमा छन् । ती बुद्धिजीवीको भेषमा छन् । जुनसुकै भेषमा भए पनि मुख्यतः ती बिचौलिया हुन्, जो कम्युनिस्ट पनि हुन सक्छन्, कांग्रेस पनि । तर हुन् दलाल । ती तिनै मान्छेहरू हुन् जसका लागि बूढानीलकण्ठ, खुमलटार र बालुवाटारका मूलढोकाहरू सधैं खुला रहन्छन् । दरबारका मूलढोकाभित्र के हुन्छ, भन्नुपर्दैन ।

तर यावत् तथ्यहरू देखेर पनि पार्टीको केन्द्रीय समिति मौन छ । पार्टीको अनुशासन समिति मौन छ । पार्टीका मुख्य नेताहरू मौन छन् । पार्टीको सचिवालय केही बोल्दैन । मन्त्रीहरू केही बोल्दैनन् । सिद्धान्त, विचार, विधान र नीति केही बोल्दैनन् । किन यस्तो छ ? किनभने हेडक्वाटर मौन छ । उसलाई लाग्छ— पार्टी भनेको ‘शक्ति र सम्पत्ति’ आर्जन गर्ने साधन हो । राजनीति हो, सत्ताको सौदाबाजी र दलाली । उसका लागि यही नै लोकतन्त्र हो, यही नै मूल्यमान्यता । यसरी सर्वत्र दलाली स्थापित भैरहेको छ । यसरी दलाल र बिचौलियाहरूको अवैध सत्ता देशभर क्रियाशील छ, जसलाई संरक्षण गर्छ स्वयं हेडक्वाटरले । यो दुर्भाग्य राजनीतिको शिरमा छ, हामी हल खोज्छौं खुट्टातिर । यसरी राजनीति सफा हुन्छ ? उल्टो हिँडेर अगाडि पुगिन्छ ? अतः निष्कर्ष बन्छ, पार्टी सत्ताको पुरानो केन्द्र नभत्काई पुस्ता फेरिँदैन । बिचौलियाहरूको स्वर्गमा आगो नलगाई लोकतन्त्र, सामाजिक न्याय र समावेशी विकास असम्भव छ ।

विकल्पको कुरा

फिनिक्स पन्छीको एउटा मिथक छ । अरेबियन मरुभूमिमा पाइने फिनिक्स पन्छीको आयु सयौं वर्षको हुन्छ । आफ्नो लामो आयुसँगै प्रत्येक क्षण त्यो पन्छी मगनमस्त रहन्छ । ताजा हावामा लहराउँछ र पलपल रमाउँछ । जसैजसै त्यो पन्छी बूढो हुन्छ, गल्न थाल्छ र उड्न सक्दैन तब उसले आफ्नै शरीरमा आगो लगाउँछ । उसको शरीर दनदनी बल्छ र त्यो खरानीको थुप्रोमा फेरिन्छ । आखिर त्यही खरानीको थुप्रोबाट नयाँ, ताजा र सुन्दर फिनिक्स पन्छीको पुनर्जन्म हुन्छ । जवान फिनिक्स पन्छी नयाँ ऊर्जासाथ फेरि आकाशमा कावा खाँदै उड्न थाल्छ । यो क्रम र कथा निरन्तर चलिरहन्छ ।

राजनीतिको पुनर्गठन ठीक यही कथाजस्तै हो । बूढो, परित्यक्त र अर्थहीन राजनीतिमा आगो लगाउने र ताजा, ऊर्जाशील, नवीन राजनीतिको पुनर्जन्म गराउने । तर आगो लगाउने कसले ? आफैंमाथि निर्मम अग्निदाह गर्ने हिम्मत नेपाली राजनीतिमा कोसँग छ ? के दोस्रो पुस्ताले यो हिम्मत गर्छ ? अन्यथा राजनीतिमा पुस्ता हस्तान्तरणको प्रस्ताव एक अर्थहीन राग मात्र हो । दासताको राग गाएर स्वतन्त्रताको राजनीति किमार्थ हुँदैन ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र ३०, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?