कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

आज सत्ताको जात्रा छ !

कुनै पनि व्यक्ति, समूह वा समुदायलाई असभ्य, असहिष्णु, हिंस्रक, पुरातनवादी र जातिवादी आरोप लगाउने दुष्कर्मले साम्प्रदायिक द्वन्द्व र जातीय दंगा फैलाउने खतरा हुन्छ ।
राजेन्द्र महर्जन

कोरोना महाव्याधिका बेला पनि केही संस्कृतिप्रेमीलाई किन ज्यानभन्दा पनि ‘बुंग द्यः’ को जात्रा प्यारो भएको होला ? कोरोना भाइरसले दिनकै दसौं जनाको ज्यान लिइरहेको समयमा केही जात्रालु नेवार आफ्नो ज्यानको वास्तै नगरी किन ‘करुणामय द्यः’ को रथ तान्न निस्केका होलान् ?

आज सत्ताको जात्रा छ !

राज्य र राज्यसञ्चालकहरू लकडाउन र अघोषित कर्फ्युमा रमाउँदै, रोग र भोकले ज्यान गुमाउने प्रजाको लास र कोरोना संक्रमितको सास गन्दै बसेको कालखण्डमा काल निम्त्याउँदै किन केही अभियन्ता रातो मच्छिन्द्रनाथको रथयात्राका लागि दबाब दिन भन्दै ‘पूच्व’ (पुलचोक) मा जात्रा गर्न पुगेका होलान् ? ती अभियन्ता र भक्तजनहरू पनि महाव्याधिको सुवर्ण मौका छोप्दै सत्तासीनहरूबीच कुनै पूर्वअध्यक्ष–प्रधानमन्त्रीलाई सर्पपालनको नाममा पौने अर्ब रुपैयाँ त कुनै पूर्वउपाध्यक्ष–उपप्रधानमन्त्रीलाई राष्ट्रिय सभा सदस्यको पदको उपहार लेनदेन हुँदै गरेको रमिता हेरीकन मज्जासँग बसिराखे हुने नि !

सत्ता–शक्तिको लेनदेन र मोलमोलाइलाई बेवास्ता गर्दै, ‘तीन सहर नेपाल’ का अधिपतिको निषेधाज्ञालाई मिच्दै जात्राका लागि सडकमा उत्रनेहरू खासमा ‘असम्बन्धित र बेसरोकारवाला तत्त्वहरू’ थिए । सिंहदरबार र जिल्लाका दरबारमा बस्ने सत्ताधीशहरूको पञ्चायतकालीन भाषामा रथ तान्न खोज्नेहरू ‘उच्छृंखल तत्त्वहरू’ थिए; स्थानीय सत्ताका मठाधीशहरूको परिभाषाअनुसार प्रहरीको लाठी, पानीको फोहोरा र अश्रुग्यास खानेहरू ‘बाह्य तत्त्व’ थिए । प्रहरीसँग भिड्ने र ट्राफिक प्रहरीलाई चुट्ने भीड त धेरैजसो मानिसका नजरमा ‘अराजक, असभ्य, गैरजिम्मेवार र हिंस्रक शक्ति’ थियो । नयाँ महाराजाहरूको कुलीनतन्त्रमा सत्ताको भाषा र भाष्यमा पनि फेरबदल नहुने रहेछ ।

भीडको झोंक र ‘कोरोना–हिंसा’

पक्कै पनि एक निर्दोष ट्राफिक प्रहरीलाई चुट्ने भीडको हिंस्रक रबैया हेर्दा त कोरोनाले तिनको दिमागलाई पनि नराम्ररी सन्काएकै आभास हुन्थ्यो । रुकुममा नवराज विकसहित ६ जना युवाले दलित–नदलित प्रेमविरोधी भीडको हिंस्रक हमलामा परी बीभत्स रूपमा ज्यानै गुमाएझैं ललितपुरमा ‘मोब लिन्चिङ’ प्रकरण दोहोरिने खतरा नभएको होइन । त्यही भीडमा ट्राफिक प्रहरीलाई जोगाउने र भगाउने व्यक्तिहरू पनि भएको तथा प्रहरी पनि नजिकै तैनाथ रहेको तथ्य हेक्का राख्नलायक छ, जसले यस्तो सम्भावनालाई टारेको देखिन्छ ।

कुनै शंका छैन, रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउन दबाब दिने क्रममा भएको स्वतःस्फूर्त प्रतिरोधमा पनि अमानवीयता प्रदर्शन भयो, त्यो भर्त्सनायोग्य छ । योभन्दा अमानवीय हिंसा प्रहरीले ‘पूच्व’ मा मात्रै होइन, अन्यत्र पनि पटक–पटक देखाए पनि व्यक्ति र भीडको हिंसालाई जायज ठहर्‍याउन सकिँदैन । सडकमा तरकारी बेच्ने सरस्वती (सुभद्रा) मैनाली र बैजु साह जस्तालाई प्रहरी–राज्यले थोपरेका हिंसाको फेहरिस्त दिएर अरूको हिंस्रक व्यवहारलाई तार्किक मान्न सकिँदैन । हो, जर्मन समाजशास्त्री म्याक्स वेबरले भनेझैं राज्यसँग हिंसामाथि एकाधिकार छ; त्यो एकाधिकारमाथि प्रतिरोधी शक्तिबाट चुनौती दिने काम नभएको होइन । मानौं, पूच्वमा पनि हाँक नै दिइएको होला, तर त्यसलाई जायज वा मानवीय मान्न सकिँदैन ।

राज्यका तर्फबाट जसरी ‘कोरोना–हिंसा’ थोपरिँदै छ, हिरासतमै शम्भु सदा र विजय राजजस्ता दलित मारिँदै छन्, मानवीय र कानुनी कोणबाट त्यसको वैधता र औचित्यमाथि जब्बर प्रश्न उठेको छ । र, धेरैजसो प्रतिरोधका क्रममा हिंसात्मक प्रदर्शनका लागि राज्यका यस्तै अवैध र औचित्यहीन कामकारबाही कारकतत्त्वका रूपमा नेपथ्यमा लुकिरहेका हुन सक्छन् । त्यस्तै, सामाजिक सञ्जालमा भएका अधिकांश बहस र केही मिडिया रिपोर्टिङमा रथयात्रा विवादबारे ‘कारण’ खोतल्नेभन्दा ‘प्रभाव’ मा प्रतिक्रिया हावी भएको छ, जसले समस्याको सही तस्बिर पेस गर्ने सम्भावना नै हुँदैन । यस्तो प्रतिक्रियावादी रबैयाले राज्यको हिंसात्मक संरचना र चरित्र बुझ्न सघाउँदैन, बरु राज्यसत्ताकै स्वरमा स्वर मिलाएर साम्प्रदायिक हिंसालाई मलजल गर्छ ।

सत्ताको बोलीमा लोली

ट्राफिक प्रहरी नराम्ररी चुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भीडलाई मात्रै होइन, सिंगो नेवाः समुदायलाई नै लक्षित गरी गालीगलौज गर्ने र द्वेष–घृणा फैलाउने साम्प्रदायिक अभियानै चलेको पाइयो, जुन दुःखद पक्ष हो । कुनै पनि व्यक्ति, समूह वा समुदायलाई असभ्य, असहिष्णु, हिंस्रक, पुरातनवादी र जातिवादी आरोप लगाउने दुष्कर्मले साम्प्रदायिक द्वन्द्व र जातीय दंगा फैलाउने खतरा हुन्छ । संयोग भनौं या सामान्य यथार्थ, आज नेवाः समुदायविरुद्ध साम्प्रदायिक अभियान चलाउनेहरू हिजोसम्म दलितहरूको सामूहिक हत्यालाई जातीय संहार होइन भन्दै टुप्पी कसेर कराउनेहरू थिए । त्यसअघि उनीहरू नै विदेशी पुरुषसँग बिहे गर्ने नेपाली महिला र तिनका सन्तानको नागरिकता र नागरिक हकविरुद्ध ‘राष्ट्रियता’ को गुलेली बर्साउँदै थिए । त्यसअघि आन्दोलनकारी मधेसीहरू मारिँदा ‘राष्ट्रवाद’ भट्याउँदै थिए र थारू आन्दोलनकारीहरूलाई त ‘विदेशीद्वारा प्रायोजित हत्यारा’ ठहर्‍याउँदै अखण्ड प्रलाप गर्दै थिए ।

सधैं अरू सबै सभ्यता, लिंग र क्षेत्रका समुदायलाई अराजक, अराष्ट्रिय र असभ्य ठान्ने अनि आफूलाई मात्रै जहिले पनि सभ्य, श्रेष्ठ, पवित्र, राष्ट्रिय मान्ने ! यो कसरी गैरनस्लवादी र जातिवादइतर सोचाइ र व्यवहार हुन सक्छ ? आफ्नो नस्लको शुद्धता र स्वजात–जातिको श्रेष्ठताको कोणबाट मात्रै सोच्ने, शास्त्र लेख्ने, शस्त्रअस्त्र प्रयोग गर्ने तथा त्यसलाई वैधता र वैधानिकता दिने सत्ताधारी शक्ति एवं सत्तानिकट बुद्धिजीवीहरूले जात्रा प्रकरणमा पनि दुइटा काम गर्न भ्याए । एक, कुनै पनि घटनाको कार्य–कारण सम्बन्ध (कजालिटी) लाई बेवास्ता गर्दै सांगोपांग वा समग्रतामा नहेर्ने । दुई, इतिहासलाई विरूपीकरण र अन्य समुदायको दानवीकरण गर्दै सत्ता–शक्तिको भाष्यमा आमसम्मति (जेनेरल कन्सेन्सस) निर्माण गर्ने ।

बेवास्ताको जाल

प्रहरी वा राज्यबाट भएको अनावश्यक बलप्रयोग वा हिंसालाई नदेखाउने र गुलेलीले हान्न खोजेका प्रौढलाई मात्रै देखाएर समुदायलाई दानवीकरण गर्ने क्रम जारी छ । नेवाः संस्कृति, सम्पदा र स्रोत–साधनको पक्षमा आवाज उठाउँदै आएका अध्यापक अशोककुमार महर्जन र अभियन्ता यादवलाल कायस्थसँगै १६ जनालाई पूच्व दुर्घटनापछि धरपकड गर्दै हिरासतमा राखिएको छ । उनीहरूमध्ये केही व्यक्तिलाई कुटपिट र यातनासमेत दिने काम हुँदै छ, जसले यस प्रकरणको कार्य–कारण सम्बन्धलाई बेवास्ता गर्छ । रथयात्रा काण्डका खास कारण खोतल्दा कोरोनाको निहुँमा झन् शक्तिशाली भएको, संविधानले नचिन्ने राज्यसंयन्त्र — सीडीओ — को अकर्मण्यता तथा गुथि (गुठी) को नाममा भूमिसँगै धार्मिक–सांस्कृतिक अनुष्ठानमाथि राज्यको नियन्त्रण कायम गर्दै आएको गुठी संस्थानको अनिर्णयलाई पटक्कै उपेक्षा गर्न मिल्दैन ।

त्यस्तै, सरोकारवाला गुठियार र अधिकारवाला संघसंस्थाले सीडीओ कार्यालय, गुठी संस्थान, स्थानीय सरकार, केन्द्रीय सरकारसँग मात्रै होइन, राष्ट्रप्रमुखलाई समेत महाव्याधि जारी रहेको अवस्थामा रथयात्राको वैकल्पिक प्रस्ताव र बुद्धिमानीपूर्ण निकासका लागि गरेका लिखित अनुरोध र ताकेताको कुनै सुनुवाइ नहुनु आफैंमा पनि आपराधिक बेवास्ताभन्दा कम थिएन । पार्टी फुटाउने अनावश्यक विधेयकलाई स्वीकृत वा फिर्ता गर्ने काम घण्टाभरमै तमाम गर्न सक्ने राष्ट्रपतीय संस्थाले समेत ‘विश्वसम्पदा’ मा सूचीकृत रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा र मूर्त–अमूर्त सांस्कृतिक आचरणबारे सरकारलाई जवाफदेह बनाउन नसक्नु लाजमर्दो कुरा हो । विस्थापित राजाकै शैलीमा राष्ट्रप्रमुखको हैसियतले ‘प्वाकलं क्यनेगु’ (भोटो देखाउने) जात्रा अवलोकन गर्नमा रुचि देखाउँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले संकेत मात्रै गरेकी भए पनि ओली सरकारले रातारात नाकाचालले निर्णय र पहल गर्थ्यो ।

कोरोना महाव्याधिमा आम जनतालाई भोकै–प्यासै थुन्ने र आसेपासे पुँजीजीवीलाई पोस्ने काममा लिप्त ओली सरकारबाट नेवाः सभ्यतासँगै अन्य समुदायका मूर्त–अमूर्त सांस्कृतिक आचरणबारे संवेदनशीलताको अपेक्षा राख्नु आफ्नै विवेक र आशालाई व्यंग्य गर्नु हो । अयोध्या र रामको पछि लाग्ने सरकारमा पित्को मात्रै संवेदनशीलता भएको भए आजभोलि जेजस्तो आपत्कालीन अनुष्ठान गरिँदै छ, ती सबै रीतिरिवाज भदौ १८ गतेअघि नै अभ्यास गर्दै रथयात्रालाई सहज गरिसक्थ्यो । ‘पूच्व रथकाण्ड’ पछि पनि उसले ‘बुंग द्यः’ का सरोकारवाला र अधिकारवाला पक्षहरूसँग न गम्भीर संवाद गरेको छ, न त आपत्कालीन अनुष्ठानको माग गर्दै सडकमा दबाब दिने सांस्कृतिक अभियन्ताहरूलाई ससम्मान रिहा गरेको छ । राजतन्त्रकालीन राज्यजस्तै गणतन्त्रकालीन राज्यका सरकार र यसका अंगहरू पनि नियन्त्रणकारी सत्ताको स्वाद, आदेश–निर्देशको अभ्याससँगै औपनिवेशिक सोचाइले ग्रसित छन् ।

संवेदनहीन सत्ता र शासक

हेक्का रहोस्, ‘बुंग द्यः जात्रा’ चौध–पन्ध्र सय वर्षभन्दा अघिदेखि राजाज्ञा वा राज्यादेशबाट होइन, खेतीपाती गर्ने प्रजाहरूको बलमा चलिरहेको छ । विशेषतः ‘बुंग/बुंगाः’ (कुवा) र पानी–वर्षा–खेतीसँग जोडिएको समृद्धिको सपना, ज्यापू समुदायसँगै विभिन्न नेवाः समुदायका गुथिको संरचना, उनीहरूको स्वैच्छिक सहभागिता र समन्वयात्मक सहकार्य तथा केही आयस्रोतको भरमा यो जात्रा चालु रहेको छ । किसानहरूले सहकाल र वर्षाको देउताका रूपमा पुज्दै, रथ तान्ने मामिलामा जमानादेखि महिलाहरूको, त्यसमा पनि एकल महिलाहरूको समेत सहभागिता सुरक्षित गर्दै जारी राखिएको जात्राको लौकिक पक्षलाई महत्त्वहीन ठान्न सकिँदैन । त्यसो त विभिन्न कालखण्डका राज्यसत्ताले यसको नाम, अनुष्ठान र भूमिमा गरेको चलखेललाई नजरअन्दाज गर्न मिल्दैन ।

नेवाः सभ्यताकी विज्ञ मेरी स्लस्सरका अनुसार स्थानीय ‘माजु’ वा ‘अजिमा’, आदिवासीहरूका ‘बुंग द्यः’ ले सहस्राब्दीपछि कसरी बुंग लोकेश्वर र अवलोकितेश्वरमा ‘मेटामर्फोसिस’ (कायान्तर) गरे, अध्ययनयोग्य छ । छैटौं शताब्दीसम्म कायम रहेको लिच्छविकालमै प्रख्यात भइसकेको बौद्ध धर्मावलम्बीहरूको अवलोकितेश्वर–बुंग द्यः सत्रौं शताब्दीमा आएर हिन्दु शैव धर्मावलम्बीहरूको रातो मच्छिन्द्रनाथमा कसरी रूपान्तरित भयो, अध्येता जेके लक र मानवशास्त्री अन वर्गतीले खोतलेका छन् । राज्यसत्तामा कुन नस्ल, जाति, धर्मका शासक सवार भए, तिनकै धार्मिक मूल्य–मान्यता र भाषाअनुसार बुंग द्यः को नाम पनि फेरिँदै जाने, त्यहीअनुरूप मिथकीय कथा लेखिँदै जाने ऐतिहासिक तथ्य प्रस्टै देखिएको छ । आम जनताबीच लोकप्रिय ‘माजु’ वा ‘अजिमा’ वा ‘द्यः’का पूजाआजा–जात्रा–अनुष्ठानलाई पनि सहवरण गर्न, सत्ताको अभ्यास र प्रभुत्व–वर्चस्व स्थापित गर्न उपयोग गर्ने मामिलामा राजा–महाराजादेखि राष्ट्रपतिसम्म पनि पछि परेको देखिएन । यसरी उपयोग गर्ने नयाँ–पुराना शासकमा अन्य जुनसुकै समुदायको भए पनि तिनका पूजाआजा–जात्रा–अनुष्ठानका संवेदनशीलता, त्यसप्रति आस्था राख्ने जनताको धर्मचित्त, मूर्त–अमूर्त सांस्कृतिक सम्पदा र सभ्यताको धरोहरप्रतिको सम्मानमा खडेरी प्रकट हुँदै आएको छ । यस्तो सांस्कृतिक लोकतन्त्रविपरीतका रमिता, दमन वा (अ)सांस्कृतिक हिंसा कुनै धर्मनिरपेक्ष, लोकतान्त्रिक र जनमुखी शासनसत्ता र सरकारले गर्न सक्दैन ।

ट्विटर : @rmaharjan72

प्रकाशित : भाद्र २३, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?