कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्षरमार्फत परिवर्तन

समाजशास्त्रमा एमए गरेकी नारी पनि पिण्ड दिने छोरा मात्रै जन्माउने कुरा गर्छिन् भने नारी भ्रूणहत्या कहिले रोकिन्छ
नमिता पौडेल

युनेस्कोले हरेक वर्ष सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवस मान्दै आएको छ । हरेक नागरिकले शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यसहित नेपालमा पनि यो दिवस मनाइन्छ । शिक्षा मन्त्रालयको एक तथ्यांकअनुसार, ३० जिल्लाका ३ लाख नागरिक अझै साधारण लेखपढ गर्न सक्दैनन् । २०६५ सालको जनगणनाअनुसार १५ देखि ६० वर्षका ७८ लाख व्यक्ति निरक्षर थिए ।

अक्षरमार्फत परिवर्तन

त्यतिखेर कुल जनसंख्याको लगभग ६५ प्रतिशत साक्षर थिए भने, अहिले यो दर बढेर ८० प्रतिशत पुगेको दाबी गरिन्छ । ८० प्रतिशत जनसंख्या साक्षर हुँदा पनि लैंगिक असमानता, जातीय र वर्गीय विभेद अनि भ्रष्टाचार किन हट्न सकेन ? यस्तै हो भने शतप्रतिशत जनता साक्षर हुँदा पनि समाजमा केही फरक नपर्ने देखिन्छ ।

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई टोलमा राखेको भनेर स्थानीय बासिन्दाले विरोध गरिरहँदा शिक्षित र साक्षर भनिने जनता त्यही भीडमा थिए । आज देशलाई स्वास्थ्यकर्मीको सबैभन्दा बढी खाँचो छ । स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारले पक्कै समाजमा सकारात्मक सन्देश जाँदैन । साक्षरता बढेको भने पनि समाजको व्यवहारमा परिवर्तन आएको छैन । केही महिनाअघि म पीएचडी गरेका अंकललाई भेट्न गएकी थिएँ । उहाँले मलाई लैंगिक समनतासँग जोडेर अनुसन्धान गर्ने सल्लाह पनि दिनुभयो । लगभग एक घण्टा बितेपछि अंकलले आन्टीलाई चियाका लागि भन्नुभयो । आन्टीले आँखा झिम्काउँदै ‘तपाईं नै बनाउनुस्’ भन्नुभयो ।

अंकलले आँखाको इसारा बुझेर मलाई पनि भान्छामा डाक्दै चिया पकाउन थाल्नुभयो । लैंगिक समानतालाई उहाँले व्यवहारमा पनि उतार्नुभएको रहेछ भनेर खुसी भएँ । चिया बसाल्नेबित्तिकै ‘मरीचको बट्टा कता छ हँ’ भनेर कड्किनुभयो । आन्टीले जवाफ फर्काएपछि मरीच हाल्दै अंकलले भन्नुभयो, ‘म त खासै भान्छामा छिर्दिनँ । उनी छुई भा’की छन्, त्यसैले ।’ उहाँले यति भनेपछि एक छिनअगाडिको मेरो खुसी हरायो । छुई भएको बेला झन् बढी काम गर्नुपर्ने आन्टीको बाध्यता रहेछ र उहाँ यसैमा बानी परेकाले खुसी देखिनुहुन्थ्यो ।

अर्को सन्दर्भतिर जाऊँ । सरकारी विद्यालयमा पढाउने छिमेकी दिदीसँग म बाटोमै बसेर कुराकानी गर्दै थिएँ । उनको परिवारका सबै सदस्य शिक्षित छन् । यत्तिकैमा कोठा खोज्न एक जोडी आए । दिदीले के थरी हो, कति जना बस्ने, कतिवटा कोठा खोज्नुभएको हो जस्ता प्रश्न सोध्नुभयो । सबै जवाफ सुनिसकेपछि दिदीले ‘छोराछोरी बढ्दै छन्, आफैंलाई कोठा चाहिन्छ’ भन्नुभयो । कोठा खोज्ने जोडी तल्लो जातका थिए । दिदीको जवाफमा दाइले पनि सही थाप्नुभयो । मेरी मिल्ने साथीले समाजशास्त्रमा एमए गरेकी छन् । एक दिन उनले मलाई फोनमा सोधिन्, ‘पूर्णिमाको बेलामा सहवास गर्दा छोरो हुन्छ रे हो ? तिमीले पनि त्यस्तै गरेको होइन ?’ उनको प्रश्न सुनेर मलाई हाँस उठ्यो । उनी एउटै बच्चा पाउने रे ! अनि त्यो छोरा भइदिए हुन्थ्यो भन्ने चाहना रहेछ । यी साक्षर, त्यसमाथि पनि समाजशास्त्र पढेकी साथीको विचारलाई हाम्रो सामाजिक संरचनाले नै आकार दिएको छ । उनको कुरा सुनेर म चुपचाप भएँ । केही छिनपछि उनैले भनिन्, ‘तिम्रा त छोरा र छोरी छँदै छन्, अब जे भनेर वकालत गर्दा ’नि भैहाल्यो नि ! अचानोको पीर खुकुरीलाई के थाहा !’

विद्यावारिधि गरेको र लैंगिक समानताको बहस गर्दै हिँड्नेको घरमा छुई भएकी श्रीमतीलाई शारीरिक भार पर्ने काम लगाइन्छ भने महिलाले समान व्यवहार कहिले पाउँछन् ? ज्ञान बाँड्ने शिक्षकले नै जातका आधारमा भेदभाव गर्छ भने जातीय विभेदको अन्त्य कहिले हुन्छ ? समाजशास्त्रमा एमए गरेकी नारी पनि पिण्ड दिने छोरा मात्रै जन्माउने कुरा गर्छिन् भने नारी भ्रूणहत्या कहिले रोकिन्छ ?

नेपालको संविधानले शिक्षालाई मैलिक हक मानेको छ । जसलाई साक्षर भनिन्छ, उनीहरूले हाम्रो संस्कार र समाजभित्रको मैलोलाई ज्ञानको साबुनले धुन सके परिवर्तन सम्भव हुन्थ्यो होला । लैंगिक असमानताकै आधारमा हजारौं चेलीले शारीरिक यातना खेप्नुपर्दैनथ्योहोला । जातकै आधारमा नवराज विकको ज्यान जाँदैनथ्यो होला । यस्ता कैयौं जातीय विभेदका घटना हुँदैनथे होलान् !

विश्व डिजिटल युगमा दौडिरहेका बेला हामी पनि सँगै दौडिन साक्षरताको महत्त्व छ । अब मानवले आफ्नो मात्र अधिकार सुरक्षित गरेर पुग्दैन, वातावरण संरक्षण र जीवजन्तुको अधिकार पनि ख्याल गर्नुपर्छ । यस्तोमा के हामीले पाएको ज्ञानको गुणस्तरको मापन गर्दै छौं त ? निजगढमा बन्ने विमानस्थल विकास हो कि प्रकृतिको विनाश ? यो विषय विवादित छ । यस्ता प्रश्नको जवाफ खोजिनुपर्छ । विकास गर्दा विनाश हुनु हुँदैन भन्ने कुरा हामीले पाउने शिक्षामा समावेश हुनु जरुरी छ । शिक्षामा ठूलै फड्को मारे पनि विश्वव्यापीकरणका कारण परनिर्भरता बढ्दै गएको छ । समाजको मैलो फाल्न नसक्ने हो भने साक्षर हुनुमा गर्व गरेर हुन्न । हरेक नागरिकले शिक्षा पाउनुपर्छ र शिक्षाको सदुपयोग गर्ने अवसर पनि । अक्षर चिन्नुलाई गर्व गर्नेभन्दा पनि अक्षर चिनेर भएको परिवर्तनमाथि गर्व गर्ने वातावरण बनाउनुपर्छ अनि मात्र हामी साक्षर नागरिक भन्नुको अर्थ रहन्छ ।

प्रकाशित : भाद्र २३, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?