कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीका प्रतिद्वन्द्वी

राजनीतिज्ञहरू ध्येय गुमेपछि निर्बल हुन्छन् । मिसन हराएपछि छिन्नभिन्न हुन्छन् । निहित स्वार्थमा डुबेपछि आफूमै भत्किन्छन् । परिवार र द्रव्यमोहले विचलित हुन्छन् र ओरालो लाग्छन् ।

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा भनिहालूँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आन्तरिक प्रतिद्वन्द्वीहरूलाई कार्यदलमा पुर्‍याएर (पुनः) परास्त गरेका छन् । आन्तरिक प्रतिद्वन्द्वी हुन्— पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल । दाहाल पूर्वमाओवादी, नेपाल र खनाल पूर्वएमाले हुन् ।

प्रधानमन्त्रीका प्रतिद्वन्द्वी

यी तीनै द्वन्द्वीका संयोजक र सूत्रधार वामदेव गौतम थिए । यिनै गौतमले माधवकुमार नेपाललाई हराउन र ओलीलाई एमाले अध्यक्ष बन्न सघाएका थिए । तर ओलीले आश्वासन मात्र दिए, गौतमले लगाएको त्यति ठूलो गुनको ऋण तिरेनन् । गौतम त्यसैकारण रुष्ट भएका हुन् । रमाइलो हेर्नुहोस्, पछिल्ला दिनहरूमा ओली उनै गौतमलाई फकाउन फेरि समर्थ भएका छन् । ओलीले सपत्नी घरै पुगेर उनलाई अभिवादन गरिसकेका हुँदा मात्रै फक्किएका होइनन् । उनी केही उपाय नलागेर फक्किएका हुन् । यद्यपि उनी राष्ट्रिय सभामा सदस्य बनाउने आश्वासन पत्याएर फक्किएका हुन् भन्नेहरूको संख्या पनि कम छैन ।

अचेल वामदेव गौतमको प्रसंग आउँदा म हिन्दीमा समेत प्रयोग हुने एउटा उर्दू शब्द ‘वजूद’ सम्झन्छु । उनको वजूद अर्थात् अस्तित्व के हो, अडान के हो, कहिले यता कहिले उता भइरहने उनको व्यक्तित्वलाई के भन्ने, यसमा प्रयुक्त हुने सटीक विशेषण उनलाई नजिकबाट चिन्नेले गर्न सक्लान्; तर यतिचाहिँ निश्चय नै भन्न सकिन्छ— यसरी यताउता गरिरहनु स्वयं उनकै स्वास्थ्यका लागि पनि राम्रो होइन । भनाइचाहिँ माथि भनिएजस्तै के छ भने, हटाउन भरमग्दुर कोसिस गर्दा पनि नसकेपछि मात्र गौतम फक्किएका हुन् (अंग्रेजी नजान्ने भएका कारण उनी फक्किएका होइनन्) । यसो भनेर मैले ओलीको भजनमण्डलीसँग होमा हो मिलाएको होइन । तर पछिल्ला प्रकरणहरूबाट के प्रस्ट भएको छ भने, ओलीमा अरूसित नभएको मान्छे भुल्याउने गजबकै क्षमता रहेछ । त्यसमा गौतम मात्र होइन कि, प्रतिपक्षका नेताहरूसमेत पर्छन् । आफ्नै पार्टीका नेताहरूलाई उनले पटकपटक माछोमाछो भ्यागुतोको अवस्थामा पुर्‍याएका छन् । उनीहरू बारम्बार छक्किएका र कतिपय अवस्थामा लाटिएका पनि छन् ।

यथार्थमै ओलीले आन्तरिक प्रत्याशीहरूलाई हल्लाउँदै–हल्लाउँदै थकाउन र कार्यदल गठन गरेर थन्क्याउन सफल भएका हुन् । कार्यदलको प्रतिवेदन उनका प्रतिकूल आउने सम्भावना अत्यन्तै न्यून छ । उस्तै परे उनले अब प्रतिनिधिसभाको बाँकी अढाई वर्ष पनि यसै गरी, अर्थात् तात्पर्य के भने, गर्नुपर्ने काम नगरी विरोधीलाई छक्याउँदै, रिंग्याउँदै कटाइदिनेछन् । किनभने कार्यदलले जेसुकै सुझाव दिए पनि अनुकूल आए मान्न र प्रतिकूल आए नमान्न उनी स्वतन्त्र छन् । तथापि कार्यदलले उनले नमान्ने सुझाव दिने सम्भावना छैन भन्ने नै छ । अर्थात्, उनका विपरीत सुझाव आउने सम्भावना ‘न’ का बराबर छ । यद्यपि चर्चा प्रतिवेदन छिट्टै आउने भन्ने छ, तर यी हरफ लेखिँदै गरेको बेलासम्म आएको छैन ।

प्रश्न उठ्न सक्छ, ओलीमा त्यस्तो के विशेषता छ, जसका फलस्वरूप सग्लै पूर्वमाओवादी र एमालेको ठूलो कित्ता विपरीत जाँदासमेत उनको सत्ता हल्लाउन सकिरहेका छैनन् र कार्यदल बनाएर लाज ढाकछोप गर्नुपर्ने अवस्था आएको हो ? जति कोसिस गर्दा पनि उनी टसको मस भएनन्, भइरहेका छैनन् । कुनै बेलाका अत्यन्त शक्तिशाली पात्र दाहाल अर्थात् प्रचण्ड, जो राजाको जरा उखेल्ने विद्रोहको अगुवाइ गर्न समर्थ थिए, आज ओलीका सामु यति निरीह किन र कसरी बने भन्ने गम्भीर प्रश्न छ । यो प्रश्न लरतरो होइन । होइन किनभने माओवादी विद्रोहताकाका प्रचण्ड सम्झनुहोस् त । सम्झनुहोस् त, २०६३ सालमा बालुवाटारमा अवतरण गरेका प्रचण्ड र उनको सम्बोधन । त्यस्तो तारतम्य मिलेको सम्बोधन नेपालकै इतिहासमा विरलै होला । त्यसमा भिजन थियो, वर्णन र कार्यक्रम पनि थियो । तिनै प्रचण्ड आज घण्टौं, पट्यारलाग्दो गरी प्रधानमन्त्री निवास बालुवाटारमा ओलीको दर्शन पाउन कुरेर बस्छन् र घण्टौं पर्खाएपछि ओली प्रकट हुन्छन् ।

कुनै बेलाका जाज्वल्यमान मान्छेको साख यतिसम्म कसरी गिर्छ, किन मानिस यति निर्बल हुन्छ, कसरी हुन्छ, निष्कर्षमा पुग्न यस्ता प्रश्नको उत्तर खोज्नु अनिवार्य हुन्छ । उत्तर खोजिएन भने कारणसम्म पुग्न सकिँदैन । एउटा प्रभावशाली राजनीतिज्ञ उमेर पाकेकै कारण कमजोर हुने भन्ने हुँदैन । राजनीतिज्ञहरू यथार्थमा ध्येय गुमेपछि निर्बल हुन्छन् । मिसन हराएपछि छिन्नभिन्न हुन्छन् । निहित स्वार्थमा डुबेपछि आफूमै भत्किन्छन् । परिवार र द्रव्यमोहले विचलित हुन्छन् अनि ओरालो लाग्छन् । अन्यथा ओलीका सामु प्रचण्डको यो दुर्दशा कदाचित् सम्भवै थिएन । प्रचण्ड २०६२–६३ सालमा सार्वजनिक भएयता निरन्तर मार्गच्युत हुँदै गए र उनी मार्गच्युत हुँदै गएकाले उनका प्रति लोकको मोहभंग हुँदै गयो । फलस्वरूप प्रचण्डको व्यक्तित्व निरन्तर स्खलित भइरह्यो । उनले स्खलित भइरहेको व्यक्तित्व सम्हाल्न सकेनन् र सम्हालिदिने पनि भएनन् ।

प्रचण्ड मात्र होइन, झलनाथ खनाल जो मदन भण्डारीपूर्व तत्कालीन मालेका हर्ताकर्ता थिए, २०४६ सालको जनआन्दोलनपछि बनेको नेपाली कांग्रेस नेतृत्वको कृष्णप्रसाद भट्टराई सरकारमा कृषि तथा वनमन्त्री बनेका थिए, उनी पनि ओलीबाट हेपिएका छन् । खनाल एमाले अध्यक्षीय प्रणालीमा जाँदा यसको पहिलो अध्यक्ष निर्वाचित भएका थिए । पहिलो संविधानसभामा तेस्रो प्रधानमन्त्री बन्ने अवसर पनि पाएका थिए । त्यस्तै माधवकुमार नेपाल, अर्थात् मदन भण्डारीका सहयात्री र २०४७ सालको संविधान सुझाव आयोगका सदस्य, एमालेका सिद्धान्तकार, भण्डारीको निधनपछि एमाले महासचिव, एमाले अल्पमत सरकारका परराष्ट्रमन्त्री र २०६४ सालमा संविधानसभाको निर्वाचन नहार्दासम्मका एमाले महासचिव, संवैधानिक समितिका सभापति र पहिलो संविधानसभामा प्रचण्डपछि बनेका प्रधानमन्त्री र एमाले–माओवादी एकीकरण सूत्रधार । ओली उनलाई पनि गन्दैनन् । खनाल र नेपाल दुवै मुखर रूपमै ओली हटाउने मिसनमा छन् । पहरो हल्लेला तर ओलीलाई हल्लाउन सकिरहेका छैनन् ।

यद्यपि उल्लिखित तीन महारथीहरूको संयुक्त प्रोफाइलका सामु ओलीको व्यक्तित्व खासै उल्लेख्य लाग्दैन र होइन पनि । तर उनीहरू नै ओली हटाउन नसकेर, थाकेर, हारेर ओलीकै प्रियपात्र विष्णु पौडेल संयोजकत्वको कार्यदलले लाज जोगाइदेला भन्ने आशा गर्न बाध्य छन् । हुन त आशाको त्यान्द्रो पनि गज्जबै हुन्छ । जस्तै— महाभारत युद्धको अन्तिम–अन्तिमतिर हार्दै गएका दुर्योधनले अझै युद्ध जित्छु भन्ने लागेरै शल्यलाई सेनापति नियुक्त गरेका थिए । जबकि त्यो युद्ध मैदानमा भीष्म ढलिसकेका थिए । द्रोण र कर्णको अवसान भइसकेको थियो । तैपनि दुर्योधनका मनमा आश थियो, शल्यको सेनापतित्वमा युद्ध जितेर हस्तिनापुरमा निष्कण्टक राज्य गर्ने । त्यो आशा र हालको नेकपा कार्यदलबाट प्रचण्ड र उनका सहयोगीहरूको आकांक्षाको अभिपूर्ति हुनु प्रकारान्तरमा उस्तै हो । प्रचण्डले आश गर्नु आफ्नो ठाउँमा छ । पाउँछन् आश गर्न तर परन्तुमा परिणाम उनका पक्षमा आउन कुनै चमत्कारै भएमा मात्र सम्भव छ ।

किन ओली सबैलाई रिंग्याउन सफल भइरहेका छन् भने उनका प्रतिद्वन्द्वीहरू बाहिरबाहिर एकजुट देखिन्छन्, तर भित्र एकै ठाउँमा छैनन् । एकजुट छैनन् । लामो समयसम्म उनीहरू वामदेव गौतमका भर परे तर गौतम स्वयंलाई भने उनीहरूको भर भएन । भर किन भएन भने सत्ता राजनीतिको यस्तो खेल वास्तवमा आश, त्रास, लोभ र आश्रयका आधारमा चल्छ । आश नभए साथ छोड्न कत्ति गाह्रो मानिँदैन । ओलीइतर पक्षलाई परस्पर जोड्ने तत्त्व के त, ओली हटाउने आकांक्षाबाहेक ? ओली यदि हटे, त्यसपछि बन्ने प्रधानमन्त्रीले बाँकी अरूलाई आश्रय प्रदान गर्छ भन्ने कुरामा कोही पनि एकअर्कासँग आश्वस्त छैन । उनीहरू परस्परमा विश्वास गर्न सकिरहेका छैनन् र कसैले परस्पर विश्वासको वातावरण निर्माण गर्न प्रयत्न गरिरहेको पनि प्रतीत हुँदैन ।

एक थरीको भनाइ छ, ओलीले आफूइतर पक्षलाई पार्टी फुटाउने डर देखाएका, तर्साएका छन् र उनकै समर्थकहरूले निर्वाचन आयोगमा नेकपा एमाले ब्युँताउने प्रयोजनले पार्टी दर्ता गराएका छन् । त्यसैकारण इतर पक्ष पार्टी एकता नटुटोस् भनेर हच्केको हो भन्छन् । यो बकम्फुसे तर्क हो । पार्टी एकता यसरी जोगाएर जोगिने होइन । मन फाटीफाटी र स्वार्थ पनि मिल्दैन भने एकै ठाउँमा बस्नुको कुनै प्रयोजन छैन । यो भनिसुनाउने तर्क हो । कार्यकर्ताको भावना थुमथुम्याउने मात्र । यथार्थमा चाहिँ संसदीय दलमा इतरपक्षको शक्ति र सामर्थ्य नपुगेको हो । जन अपर्याप्त भएको र ‘धन’ ले नभ्याएको हो । आश्रय खोज्नेहरूले आश्रय नपाएकाले हो । अर्थात् ओलीले आफ्ना प्रतिद्वन्द्वीहरूलाई उनीहरूकै असमर्थताको रहस्य पत्ता लगाएर, परस्परमै फुटाएर सूत्रधारलाई लोभ्याएर, कार्यदलको कलेवर लगाइदिएर परास्त गरेका हुन् ।

प्रकाशित : भाद्र ५, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?