कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीमा तीजको सन्देश

डिला संग्रौला

कोरोना कहरबीचै हामी यसपालिको तीज मनाउँदै छौं । संक्रमण दिन–प्रतिदिन बढ्दो छ । कतिपय जिल्लामा समुदायस्तरमा फैलिइसकेको छ । संक्रमण थप फैलिन नदिन हामीले आपसमा भौतिक एवं सामाजिक दूरी कायम राख्नु समयको माग हो ।

महामारीमा तीजको सन्देश

त्यसैले धार्मिक, सांस्कृतिक, सामाजिक मूल्यमान्यता एवं महिलाको अधिकारको महत्त्व बोकेको तीज यसपालि उच्च सतर्कतासाथ मनाउनुपर्छ । आफन्त, नातागोता, साथीभाइ भेला भएर एवं माइतीमा गएर भीडभाडमा नाचगान गर्ने एवं मन्दिरमा गई पूजाआजा गर्ने विगतको परिपाटी त्याग्नुपर्छ । हामीले आफ्ना परम्परा र संस्कृति त मनाउनैपर्छ, तर अवस्था हेरी । उत्ताउलो र भड्किलोपनलाई त्याग्नुपर्छ । समय बदलिएको छ, हामीले आफूलाई त्यहीबमोजिम रूपान्तरण गर्नुपर्छ । ‘आफू पनि बाँचौं र अरूलाई पनि बचाऔं’ भन्ने भावनालाई आत्मसात् गर्नु जरुरी छ ।

यसपालिको तीज पर्व कोरोनामाथि विजय एवं यसबाट मृत्युवरण गरेकाहरूको स्मरणका साथै संक्रमितले युद्ध जित्ने हौसला प्रदान गर्ने तागत बन्न सक्नुपर्छ । कोरोनाका कारण दैनिक ज्यालादारी गरेर वा घरेलु कामदार भएर जीविकोपार्जन गर्ने थुप्रै महिला रोग र भोकबाट आक्रान्त छन् । कामकाजी महिलाहरू पनि जागिर गुमाएर बेरोजगार भई घरभित्र सीमित भएका छन् । उनीहरूलाई एकातर्फ घरपरिवारको दायित्व छ भने, अर्कातर्फ आर्थिक संकटको मार । त्यसैले यो तीजमा हुनेखाने महिलाहरूले असहायहरूतर्फ सहयोगी हात बढाउनुपर्छ, संक्रमितको उद्धार गर्नुर्पर्छ र विपन्नहरूको पुनःस्थापनामा जुट्नुपर्छ । वैदेशिक रोजगारीबाट खाली हात फर्केका महिलाहरूलाई आत्मनिर्भर बनाउने कोसिसमा लाग्नुपर्छ ।

सरकारले पनि उनीहरूलाई सीपमूलक र उद्यमशील कार्यमा लगाउनुपर्छ । यसपालिको तीजलाई आर्थिक सबलीकरणतर्फको प्रस्थानविन्दु बनाउनुपर्छ । कोरोना कहरमा पनि महिला हिंसा कम हुन सकेको छैन । जरो गाडेर बसेका बोक्सी प्रथा, दाइजो तथा छाउपडी प्रथा, बाल तथा बहुविवाह, चेलीबेटी बेचबिखन एवं लैंगिक विभेदबाट त महिला आक्रान्त थिए नै, बलात्कार र एसिड आक्रमण पनि बढिरहेका छन् । क्वारेन्टिनमा बसेका महिलासमेत हिंसामा परे । दोषीलाई कानुनी दायरामा ल्याई दण्ड–सजाय दिनमा सरकार अग्रसर देखिँदैन । न्याय दिने निकाय नै शंकाको घेरामा छ । जस्तो— आफ्नी श्रीमतीको बीभत्स हत्या गरेको अभियोगमा सर्वस्वहरणसहित जन्मकैदको सजाय काटिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दियो । निर्मला पन्तका हत्यारा अझै कानुनी दायरामा आउन सकेका छैनन् । सयौं निर्मलाहरू बलात्कृत हुने क्रम रोकिएको छैन । यो तीज महिला दमन, शोषण, अन्याय, अत्याचार, हिंसा तथा विकृति र विसंगति अन्त्य गर्ने दिशामा उदाहरणीय बन्न सक्नुपर्छ ।

विश्वकै प्राचीन एवं समृद्ध संस्कृति हो हाम्रो, जुन मानवीय मूल्यमान्यताले भरिपूर्ण छ । हामीले मनाउँदै आएका चाडपर्वले केही न केही सन्देश दिइरहेका हुन्छन् । यिनको मर्म बुझी काम गर्न सके सिंगो समाजलाई रूपान्तरण गर्न सकिन्छ । यसो गर्दा संस्कृतिको संरक्षण पनि हुन्छ । समाजको हरेक वर्गले अगाडि बढ्ने प्रेरणा पाउँछ । यो महामारीका बेलामा मनाइँदै गरेको तीजलाई मानवको भलाइ, प्रेम, सद्भाव र एकताको प्रतीक बनाउनुपर्छ ।

कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नतर्फ हाम्रो ध्यान जान जरुरी छ । यसै पनि महिलाहरू आर्थिक परनिर्भरताका कारण पछाडि परेका छन् । अहिलेको अवस्थामा उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय, कृषिको आधुनिकीकरण, ऊर्जा तथा पर्यटनको नयाँ ढगले विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा जनताको पहुँचजस्ता विषयलाई विशेष महत्त्व दिनुपर्छ । तर, वर्तमान सरकारको ध्यान कोरोनापछि आर्थिक सबलीकरण गर्न र उपलब्ध साधनस्रोतको सदुपयोग गरी राष्ट्रलाई समुन्नत बनाउनतर्फ गएको देखिँदैन । यसपालिको तीजले ‘समुन्नत राष्ट्र निर्माण, सम्पूर्ण नागरिक सम्मान’ भन्ने पवित्र भावना बोक्नुपर्छ ।

संविधानले महिलालाई थुप्रै अधिकार दिएको छ । तर व्यवहारमा त्यसको कार्यान्वयन भएको देखिँदैन । अहिले पनि राज्यको हरेक निकाय एवं राजनीतिक दलका विभिन्न संरचनामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुन सकेको छैन । तीनै तहका निर्वाचनबाट संघमा ३३ प्रतिशत, प्रदेशमा ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला नीति तथा विकास निर्माण गर्ने थलोमा पुगे पनि आम महिलाको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक स्थितिमा खासै परिवर्तन आउन सकेको छैन । महिलालाई सशक्तीकरण गर्ने पहिचान, अवसर, प्रतिनिधित्व, समान न्याय र अधिकार प्राप्तिका लागि संघर्ष अपरिहार्य रहेको सन्देश तीजले दिन सक्नुपर्छ ।

अन्त्यमा, पहिलेपहिले तीजमा महिलाको भोगाइ र पीडा झल्कने गीत गाउने गरिन्थ्यो, जसमा माइतीको माया, साथीभाइ, देशको माटो, बालापन, सासू–बुहारीको सम्बन्धजस्ता यावत् विषय समेटिएका हुन्थे । यसपालिको तीज कोरोना कहरभित्र नेपाली महिलाले भोगेका दुःख, दर्द, दुर्व्यवहार, व्यथा र वेदनालाई समाप्त पार्ने नयाँ अठोट, दृढसंकल्प र आत्मविश्वासको सञ्जीवनी बन्नुपर्छ ।

प्रकाशित : भाद्र ४, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?