त्रिचन्द्र विनिर्माणका सपना- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिचन्द्र विनिर्माणका सपना

पुराना नगर संरचनाहरु आर्काइभ भइसकेका हुन्छन् । भत्काएर होइन, तिनलाई आधार राखेर नगर विस्तार गर्नु आर्किटेक्चरको ‘ इथिक्स’ र संरक्षणको आत्मा हो ।
अभि सुवेदी

भर्खरै सुनें अनि कहीं पढें, सरकार त्रिचन्द्र कलेज भत्काउन चाहन्छ । स्रोतका भाषिकाहरूले खोल्दै जानेछन् आधिकारिक कुरा । यत्तिले आफू कालिक चक्रवातभित्र पसेको अनुभव गरें । आफैंलाई सोधें, त्रिचन्द्र कलेजको भवन र त्यसका संरचना भत्काएर भूमि निकाल्ने सपना अहिलेको नेपालको भयावह चरित्रको सङ्केत त होइन ?

विश्वासहरू हराउँदै गएको बेला जे पनि हुन सक्छ, जे पनि हुँदै छ भन्ने भावनाले बलियो गरी समात्नु स्वाभाविक हो । अर्को कुराले झस्कायो । अहिले फर्केर हेर्दा धन्न त्यो टरेर गयो ।

रानीपोखरी एउटा कङ्क्रिट भूमि हुन लागेको थियो । त्यहाँ ‘सुपर’ कङ्क्रिट संरचनाहरू बनिने पक्का थियो । तर, नेवार नागरिक र अरूका संयुक्त विरोधले त्यो बाँच्यो । जनताहरू नगरपालिकाको नेतृत्व चुनेका छौं, अब हामी यस नागर परिवेशका अमूर्त र मूर्त सम्पदा बच्नेछन् भनेर ढुक्क छौं भनेर बसेका भए काम बितिसक्थ्यो । अहिले त्रिचन्द्र कलेजको विनिर्माणको कुराले झस्काउँदा मेरो काल्पनिकीमा अर्को बितेको आँधीको पेन्टिङ पनि उठिबस्छ । यो दरबार हाइस्कुललाई लिएर गरेको अङ्ग्रेजी चित्रकार टर्नरका प्रसिद्ध आँधीको पेन्टिङ सदृश कल्पना हो, यत्ति भनौँ । त्यसको निर्माणको परिकल्पनामा संलग्नहरूलाई धन्यवाद । सबै हो, भूमि प्रयोजनको काल्पनिक चित्र ।

त्रिचन्द्रको घण्टाघर एउटा विस्मृत हुँदै गएको समयको ध्वनि झिनै भए पनि निकाल्दै छ । इलामको देउमाई साहित्य फेस्टिवलमा २३ चैत २०७५ मा मैले मोफसल र साहित्य शीर्षकको आफ्नो की–संकथन राख्दा त्रिचन्द कलेजलाई नै केन्द्र बनाएको थिएँ । वीरशमशेरले १९५१ सालतिर राखेको घण्टाघरलाई बिल्ला भिरेर उभिएको लाहुरेको उपमा दिएर कवि भूपि शेरचनले लेखेको कविताको उदाहरण लिएको थिएँ । उसको रानीपोखरीमा देखिने प्रतिविम्बको कुरा छ त्यो कवितामा । यो घण्टाघरको रेखदेख गर्ने, ‘भित्री र बाहिरी सुईलाई प्रेमले चलाउने, स्थानीय सीपले मर्मत गर्ने, अनि घडीलाई कर्र कर्र गरेर दम दिने, शान्त र सरल ती समयका गोठाला’ गणेश सापकोटाले ‘किञ्चित् विस्मयको स्वरमा ठोकुवा गरे उनी सेवानिवृत्त भएपछि यो घण्टाघरले पनि अवकाश लिनेछ ।’

त्यता हिँड्दै गएँ । चिनियाँहरूले अत्यन्त राम्रो काम गरिदिएका छन् । दरबार हाइस्कुलको त्यो रूप देखेर पुलकित भएँ । रानीपोखरीमा मानिसहरूको भीडभाड थियो । उतापट्टि एक जना मानिसलाई के हुँदै छ भनेर सोधें । उनले भने, सबै कुरा भैसक्यो, अव पानी भर्ने कुरामाथि छलफल हुँदै छ । झरीको पानी हार्वेस्ट गर्ने कुरा पनि उठेको छ । सबै कुरा सुनेपछि उतापटि त्रिचन्द्र कलेज परिसरमा गएँ, जसको विनिर्माणको कुरा सुनेर विचलित भएको अवस्थामा छु । जीवन प्राध्यापनमा बिताएको मजस्तो मानिसलाई मात्र होइन मभन्दा पहिलेका, पछिका र अहिलेसम्मका पुस्ताहरूलाई त्रिचन्द्र कलेज भनेको शिक्षा, इतिहास, राजनीति, एकतन्त्री शासनदेखि प्रजातन्त्रको स्थापनासम्मको एक इतिहासको रूपक हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, रुद्रराज पाण्डे, हृषिकेश शाह, कृष्णराज मानन्धर र अरू धेरै मानिसहरूको कथा शिक्षा र लगनशीलताको इतिहास हो ।

यस कलेजले मानविकी र समाजशास्त्र मात्र होइन विज्ञानको शिक्षा पनि आरम्भ गरेकाले एउटा विश्वविद्यालयको काम गर्‍यो । पटना विश्वविद्यालयसँग एफिलिएसन गरेर चलेको यो कलेज नेपालको विश्वविद्यालयको पर्याय नै थियो । आफ्नो छोटो अनुभव राख्छु । धरान कलेजबाट बीए पास गरेपछि मैले बीएको स्पेसल अंग्रेजीको एक विषय मात्र त्रिचन्द्र कलजेमा भर्ना भएर पढें । त्यो बेला यो कलेजलाई अन्तरङ्ग बुझ्ने र नजिक हुने अवसर पाएँ । नेपाली इतिहासमा प्रसिद्ध २००४ सालको पहिलो राणाकालमै भएको कवि गोष्ठी सम्पन्न भएको सरस्वती सदन मेरा निम्ति एक भावनाको थलो थियो र अहिले पनि छ । यसको माथि तलाको पुस्तकालयमा पुराना ग्रन्थहरूको संकलन राम्रो थियो । त्रिचन्द्र कलेजजस्ता संरचना प्लानिङको बुल्डोजरमा पर्ने कलेवर होइनन् । ती हेरिटेज भइसकेकाले अमूक समयका सरकारहरूको लहडमा भत्काउन मिल्दैन ।

दुई वर्षअघि यो कलेजका विद्यार्थी र शिक्षकको प्रयासमा कलेजले निकालेको शतवार्षिकी ग्रन्थमा मैले लेखेको लेखमा यस्तो निष्कर्ष निकालेको रहेछु, ‘दुईवटा भयानक भूकम्पका कथा जसरी तसरी बोकेर पनि खडा यो महान् संरचना, अझै पनि देशभरिका विद्यार्थीको आकर्षणको शैक्षिक केन्द्र, जति उपेक्षा र साधारणीकरण गरिए पनि नेपालमा उच्च शिक्षाको इतिहास बोकेर चलेको छ । यो कलेज एक मौन तर वाचाल, विशृङ्खल तर बलियो संरचना भएको एक म्युजियम सदृश संस्था हो । यसको स्थापना रुसमा बोल्सेभिकहरूले क्रान्ति गरेको वर्षतिरै भएको हो । यसको माथि लेखिएको स्थापना वर्षले भन्छ । यो इतिहास पुनरावृत्ति हुँदैन । ...त्रिचन्द्र कलेजको स्मारक भन्नु ...इतिहासको पुनर्व्याख्या हो, अनि यसको इतिहासबाट हामीले सिक्नुपर्ने मौन तर वाचाल आह्वान हो ।’

यो कलेजलाई रेट्रोफिटिङ गरेर, चिनियाँहरूले दरबार हाइस्कुल बनाएजस्तै गरी पुनर्निर्माण गर्नु सबैभन्दा ठूलो आवश्यकता हो । पुराना संरचनाहरू हेरिटेजको संरक्षण र प्रयोग पनि हुने किसिमले यथावत् राखेर विज्ञान भवन भएतिरको भूमि र घरहरूको ठाउँमा नेपाली वास्तुकलाजनिन शैलीका साना, ठूला आधुनिक भवनहरू बनाएर लैजाने योजना सबभन्दा सोच्नुपर्ने कुरा हो । त्यस्ता भवनहरूको प्रयोग शिक्षा, संस्कृति, विज्ञान र कलाको थलोको रूपमा गर्न सकिन्छ । त्रिचन्द्र कलेजका विषयगत भवन सहरका कुनै भागमा पनि बनाउन सकिन्छ । म पढेको एडिनवरा विश्वविद्यालय मूल प्राचीन आत्मा बक्लुप्लेस थलोमा राखेर सहरभित्र छरिएको छ । सुनें त्रिचन्द्रको मूल भवन नै ढालेर, अगाडिका संरचनाहरू भत्काउँदै पुरानो टुँडिखेलको खुला जमिन निकाल्ने योजना छ । यो सरासर गोहीको आँसु हो । टुँडिखेलको बनावटी चिन्ता हो । अहिले भूमि प्रयोगमा विश्वास गर्ने आधार भत्किँदै गरेको अवस्था हो । टुँडिखेल मासिएको कथा सूक्ष्म रूपले हेर्दा अधिनायकवादको कथा हो ।

खरीको बोट ऐतिहासिक मञ्च थियो भन्ने कुरा सबैलाई थाहा छ । यसैलाई अर्को रूप दिए राजा महेन्द्रले । खरीको बोट काटिदिए, अनि त्यो प्राकृतिक मञ्चको सट्टा आमलाई निषेधित मञ्चको रचना गरे जुन जनताको थिएन, सैनिकको थियो । विश्वविद्यायलका हाम्रा विद्यार्थी ‘हेटरोटोपिया’ भन्ने एउटा विषय अध्ययन र थेसिसमा प्रयोग गर्छन् । खरीको साझा मञ्चको काम सम्झाउने तर त्यसलाई सैनिक मञ्चको रूपमा अतिरिक्त रचना गर्ने काम गरेर राजा महेन्द्रले ‘हेटरोटोपिया’ को प्रयोग गरेका थिए । त्योबेला कवि बैरागी काइँलाले कविता लेखे, ‘गोली नभेट्टाएर गान्धीको छातीको/ खरीको बोट नभेट्टाएर टुँडिखेलमा/ काँटी नभेट्टाएर जेरुसेलमका गल्लीहरूमा/ फेरि भौंतारिन्छ आत्मरक्षामा/ यो तक्षक ।’

पुराना नागर संरचनाहरू आर्काइभ भैसकेका हुन्छन् । भत्काएर होइन तिनलाई आधार राखेर नगर विस्तार गर्नु आर्किटेक्चरको ‘इथिक्स’ र संरक्षणको आत्मा हो । आर्किटेक्टहरूसँग सल्लाह नलिने यो कुरामा ध्यान नपुर्‍याउने हो भने नेपाल मण्डलका नेवारनिर्मित र कति लिच्छविकालिक संरचनाहरू पनि बिस्तारै नामेट हुनेछन् । हामी कस्तो सहर र आरक्षणको कल्पना गर्दै छौं बुझिनसक्नु छ । टुँडिखेलका सहिदगेट वारिपारिका सैनिकजनिन ‘हेटरोटोपिक’ संरचना, भवन र खुम्चिएका मैदान, सभा हल सरकारले सबै हटाएर दशरथ रंगशालासम्म जोड्दा मात्र टुँडिखेलको खुला आकार निस्किन्छ । यसै पनि ती सबै संरचनाहरू बदल्न असम्भव छ । भत्काउन सकिने संरचना त त्रिचन्द्र कलेज र यसको परिसर मात्रै हो भन्ने धारणा नै गलत छ । कुनै कामको निम्ति मुख्य तारोको रूपमा यो भूमि देखिएको होला ।

यसमाथि बहस गर्ने हामी प्राज्ञिक वर्गको भनाइमा खासै दम हुन्छ भन्ने मानिदैन । विद्यार्थी र प्राज्ञिक धेरैजसो दलका सदस्य नै छन् । प्रतिपक्षी दलका नीतिहरू प्रस्ट छैनन् । त्यसैले यो विषय म निकै जटिल देख्छु । ‘पुस्तक भनेपछि खुसी नहुने सरकारले जमलको विश्वविद्यालयले प्रयोग गरिआएको गुठीको भूमिमा केको पुस्तकालय बनाउँछ भन्ने ठान्नुभएको छ ?’ मलाई एउटा विद्यार्थीले प्रश्न गरेका थिए । त्यो भूमिमा राष्ट्रिय पुस्तकालय बनाउने योजनाले म अत्यन्त खुसी भएँ । यत्रतत्र विस्थापित र पोकाहरूमा शरणार्थी भएर नष्ट हुँदै गरेका ग्रन्थ र हस्तलिखित सामग्रीहरूले अब ठाउँ पाउनेछन् भन्ने आशा पलायो । राणाकालमा पुस्तकालयहरू र किताब संकलन भव्य रूपमा हुने, तर प्रजातन्त्र र गणतन्त्रसम्मको यात्रामा ती सबै उपेक्षित हुने अनि योजनामा नपर्ने नेपालको विडम्बनायुक्त इतिहासको अब अन्त्य भयो भनेर सोचें । किताब पढ्ने संस्कृतिको लगभग अन्त्य हुनै लागेको बेला यसले ठूलो काम गर्नेछ भन्ने भावना लिएको हुँ । तर सुन्दै छु, त्यो जमिन पनि सरकारले रोकेको छ किनकि त्यसमा भूमिलोलुपहरू लागेका कुराहरू खुल्दै छन् ।

स्मार्ट सिटी बाहिर बनाउने भनेको प्राचीन संरचना संरक्षण गर्ने र सहरको चरित्र बनाउने हो, तर अहिले हाम्रो अभ्यास स्मार्ट सिटी पनि बनाउने, सांस्कृतिक भूमि र बस्तीहरू पनि नजोगाउने, भित्रका पुराना संरचना पनि विनाश गर्ने योजनाले निर्मित हुँदै गएको देखियो । त्रिचन्द्र कलेजको विनिर्माण होइन निर्माणको कुराले अहिले हामीलाई आवश्यक अरू दृष्टिहरू पनि खुल्नेछन् ।

प्रकाशित : श्रावण २४, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

बायर्नको नजर क्वाटरफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग खेलमा आज बायर्न म्युनिकले चेल्सीको सामना गर्दा जर्मन विजेताको नजर क्वाटरफाइनलमा हुनेछ । बायर्न ३–० ले अगाडि छ र क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रत्यासी भएको छ । खेल नेपाली समय अनुसार आज शनिबार राति पौने एक बजे सुरु हुनेछ ।

धेरै अर्थमा यो खासै औपचारिक महत्त्व नभएको खेल हो, किनभने पहिलो लेगमा बायर्नले चेल्सीलाई उसकै घर र समर्थकमाझ तीन गोलले पराजित गरेको थियो । त्यति बेला सर्जी जेनब्रेले दुई गोल गरेका थिए भने अर्को गोल रोबर्ट लेवनडोस्कीको नाममा थियो । त्यही खेलले देखाउँथ्यो, वास्तवमै बायर्न कति बलियो छ भनेर ।

त्यसैले त उसले फेरि फुटबल सुरु भएयता लगातार ११ खेल जितेको छ र मध्य मे महिनामै लिग पनि जित्यो । त्यसयता कप जितेर उसले लिग डबल्स पनि गरिसकेको छ । समग्रमा हान्सी फ्लिकको बायर्नले खेल फेरि सुचारु भएयता १७ खेल जितेको छ र यो टिम डिसेम्बरयता २६ खेलमा अपराजित छ ।

लेवनडोस्कीले सबै खाले प्रतियोगितामा ५१ गोल गरिसकेका छन् । घरेलु लिग र कपमा धेरै राम्रो गरेपनि बायर्नले पछिल्ला केही सिजनयता च्याम्पियन्स लिगमा भने राम्रो गर्न सकिरहेको छैन, यो नै टिममाथि रहेको सबैभन्दा ठूलो दबाब हुनेछ । चेल्सीका लागि सम्मानजक स्थितिमा यो टाइ टुंग्याउनु नै महत्त्वपूर्ण हुनेछ ।

लन्डन क्लब घरेलु लिगको शीर्ष चारमा रहन सफल रह्यो र यससँगै अर्को सिजनका च्याम्पियन्स लिगमा छनोट पनि भइसकेको छ । चेल्सी भर्खरै मात्र एफएकप फाइनलमा आर्सनलसँग पनि पराजित रहेको छ । यो सबै पृष्ठभूमिमा फ्रायन्क लाम्पार्डको ध्यान बायर्नविरुद्धको खेलमा भन्दा अर्को सिजनमा बढी हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७७ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×