निङ्गलेन्ने कम्युनिस्टाक्की !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निङ्गलेन्ने कम्युनिस्टाक्की !

नेपालको कम्युनिस्ट मुख्य धारासँग अब केही पनि छैन, लोगो र झन्डाबाहेक । विचार, आन्दोलन, दिशा, लक्ष्य, सपना र निरन्तर क्रान्तिको प्रण – केही पनि छैन । यो नैतिक, व्यावहारिक, सैद्धान्तिक हरेक हैसियतबाट शून्यमा खसिसकेको छ ।
सरिता तिवारी

भारतको अघिल्लो पुस्ताका कवि उज्ज्वल भट्टाचार्य फेसबुकमा कहिलेदेखि मेरा मित्र थिए, यकिन सम्झना छैन । यिनी प्रस्टवक्ता, मुखर भाषाका कवि र राम्रा अनुवादक हुन् । यिनका पछिल्ला कविताले दिने ऊर्जा र तिनले छोड्ने बहसले मलाई राम्रै आकर्षित गर्छन् । यिनलाई सुनेपछि निश्चिन्त भइन्छ, मान्छे उमेरले होइन सोच्ने शैलीले, चेतनाले बूढो हुने हो ।

केही पहिले यी कविले फेसबुकमा एउटा कविता पढे, ‘निङ्गलेन्ने कम्युनिस्टाक्की’ ! यसको अर्थ हुँदो रहेछ, ‘तिमीले मलाई कम्युनिस्ट बनायौ ।’ उनको यो छोटो कविता मेरा स्मृति र विषादहरूको पोखरीमा एउटा बडेमानको ढुंगाजसरी खसेको छ । त्यसका तरङ्गहरूले बारम्बार मभित्रका कैयौं निजी र सामूहिक प्रश्नहरूलाई अवचेतनको पीँधबाट किनारामा ल्याएर पछारिदिएका छन् । के कोही कम्युनिस्ट बन्न चाहनु वा बन्ने प्रयत्न गर्नु केवल एउटा चौकोस, एउटा फ्रेमभित्र गएर अटाउने तात्कालिक र निजी उद्यम हो वा एउटा लामो र आजीवन चल्ने एकैसाथ निजी (आत्मिक) र सामूहिक प्रक्रिया ? त्यो प्रक्रियामा व्यक्ति एकाइको आफैंमाथिको आलोचना कस्तो हुनुपर्छ ? ‘कम्युनिस्ट’ केवल एउटा लेबल हो कि व्यक्तिभित्रको दृष्टि र त्यसले बोक्ने प्रवृत्ति ?

माथि भनिएको कविताको पार्श्वमा भारतको केरल राज्यमा कम्युनिस्ट सरकार उदय हुनुभन्दा अघिको प्रसंग जोडिन्छ । स्वतन्त्रता आन्दोलनलगत्तै दक्षिण भारतमा विस्तार भएको भूमिगत कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन ठूलो भूमिका खेलेको नाटक थियो, ‘निङ्गलेन्ने कम्युनिस्टाक्की’ ।

थोप्पिल भासीको लेखन र निर्देशनको यो नाटक मलयालम भाषाका अति लोकप्रिय नाटकमध्येको एउटा हो । लेखक भासीलगायत यसका सबै कलाकार कम्युनिस्ट पार्टीसम्बद्ध थिए । उनीहरूले यसलाई केरलाका गाउँगाउँमा पुर्‍याए, जसले संगठन निर्माणको कामलाई अकल्पनीय रूपले तीव्र बनायो । सरकारले लगाएको प्रतिबन्धका बावजुद यसको मञ्चन रोकिएन । नाटक टिमलाई नै पक्रेर थुनियो, मुद्दा चल्यो र अन्ततः मुद्दाको फैसला आयो नाटककै पक्षमा । यी सबै घटनाले यो नाटकप्रति जनस्तरको प्रेम र लोकप्रियता झनै बढाए, संगठित आन्दोलनहरूलाई रफ्तारमा लगे । त्यसैको प्रतिफलस्वरूप सन् १९५७ मा कम्युनिस्टहरू राम्रो मतले विजयी भए र केरलामा हालसम्मकै अधिकांश कालक्रम कम्युनिस्टहरूकै सरकार रहेको छ ।

‘भारत आफ्टर गान्धी’ का लेखक रामचन्द्र गुहाले दाबी गरेजस्तै तत्कालीन कम्युनिस्ट ‘बिग ब्रदर’ सोभियत रुसको ‘इसारा’ मा चुनावमा भाग लिएकै भए पनि साम्यवादको मानक इतिहासविपरीत कम्युनिस्टहरूलाई बुर्जुवा प्रजातन्त्रमा समानुकूलन गराउने एउटा महत्त्वपूर्ण सूचक बन्यो त्यहाँको कम्युनिस्ट सरकार । यो घटना सोभियत रुसकै पृष्ठपोषणमा भएको होस्, संसद्वादी, ‘संशोधनवादी’ कम्युनिस्ट कित्ताको तार्किक अवतरण पनि थियो ।

मुख्य धाराका पार्टीकै चरित्रमा सहवरण गर्दै आएको भाकपा मार्क्सवादीको ‘लेफ्ट डेमोक्रेटिक फ्रन्ट’ ले चलाएको यहाँको सरकार नेपालको सत्तारूढ नेकपाजस्तै ‘खाइदास’ चाहिँ होइन, जुन झुटैझुट र बेइमानी नै बेइमानीको गुम्बजमाथि खोक्रो पुत्लाजस्तो उभिएको छ । केरलाको साक्षरता दर र कृषि, पर्यटन लगायतका क्षेत्रमा विकासको गति भारतका अरू राज्यभन्दा कति हो कति अगाडि छ । यसको तुलना नेपाली सत्ताधारी कम्युनिस्टसँग हुनै सक्दैन । तैपनि भारतमा पश्चिम बंगाल र केरलाका कम्युनिस्ट आन्दोलनहरूसँग ठूलो अपेक्षा गरेको पंक्ति ती दुवै राज्यका नेतृत्वसँग निराश भयो । त्यसको विषादमा अनेकौं साहित्य लेखिएका छन् ।

केरलाको इतिहास नै कायाकल्प गर्न सफल त्यही नाटकले बनाएको छाप र स्मृतिको आलम्ब हुन सक्छ, उज्ज्वल भट्टाचार्यको कविता ‘निङ्गलेन्ने कम्युनिस्टाक्की’—

साँच्चै नै

बाल्यकालदेखि नै म बन्न चाहन्थें कम्युनिस्ट

जबकि थिएन मलाई केही थाहा, के हो यो ?

म यत्ति जान्दथें, यो केही सुन्दर कुरा हो ।

यही कुरा मसँग लागू हुन्छ; मजस्ता कतिकति मानिसहरूमा लागू हुन्छ । यो कवितालाई मैले आफैंसँग बढी ‘रिलेट’ गरेर बुझें । निरापद बालखेलका चञ्चलताले भरिनुपर्ने बाल्यकालमा, निर्बन्ध उत्सुकतामा बित्नुपर्ने किशोरवयमा जीवनका भयावह रूप देख्दै हुर्कने मजस्ता कति केटाकेटी समानता र न्यायका सपनाले ‘कम्युनिस्ट’ बन्ने लाइनमा उभिए होलान् । तिनको सपनामा कहीँ, कुनै प्रदूषण थिएन जसलाई सजिलै समयको कन्टेनरमा ‘डम्प’ गरेर बिर्सिदिन सम्भव होस् ।

जसको सबभन्दा ऊर्जावान् युवाकाल कम्युनिस्ट साहित्यका ज्यानले थाम्नेभन्दा गह्रौं शब्दावली (‘जार्गन’ भन्न चाहन्नँ) कै वरिपरि बित्यो अथवा जसले मुक्तिको सपनामा जिन्दगीकै बलि चढाए अथवा जो दलन र दमनको कैदभित्र निःश्वासमय बाँचिरहेको समाजलाई मुक्त गर्न हिँड्दा आफैं अधमरोजस्तो भएर छटपटिँदै बाँच्न विवश छन्, तीमध्ये हरेकलाई कम्युनिस्ट बन्न प्रेरित गर्ने को थियो ? के त्यो कुनै षड्यन्त्रकारी व्यक्ति थियो जसलाई कालान्तरमा सत्ताको अट्टालिका उक्लने अदना मानव–सिँढीहरू चाहिएको थियो ! जसलाई केवल आफ्नो निजी सुखभोगका लागि अरूका सन्तानको बलि चढाउनु बिलकुलै सामान्य थियो ?

होइन ।

कुनै अमुक र अदृश्य ‘ग्र्यान्ड प्रोजेक्ट’ को विचार–प्रयोगशालाले सुनियोजित रूपमा बनाएको ‘रोबोट’ म थिइनँ; कोही पनि थिएन । यस्तो ठान्नु या यसरी बुझ्नु इतिहासको गतिका आधारभूत सत्यको इन्कार गर्नु हो । म कुनै सन्की वैज्ञानिकले बारम्बार आँत गिजोल्ने गिनिपिगजस्तो पनि थिइनँ । म कुनै शक्तिशाली व्यक्तिले काँधमा उचालेर भुक्न लगाएको पाल्तु जनावर पनि थिइनँ ।

वस्तुगत परिस्थितिहरूले, संयोगहरूले, जिन्दगीका दुर्दशाहरूले ठोक्काउँदै–ठोक्काउँदै ल्याउँदा मलाई उनीहरूका कुराले आकर्षित गरे जसले गरिबी, भोक र अभावसँग लड्न हिँड्ने विज्ञानसिद्ध बाटो र दिशा छ भने । उनीहरूले भने— एक्लाएक्लै बाँचेका, अलगअलग भूगोल, समुदाय र लैंगिक अस्तित्वका मान्छेका दुःख र संघर्षको बाटो कसरी ‘सामूहिक’ हुन्छ ।

उनीहरूले नै भने— यस्तो संघर्षको तार्किक परिणतिका लागि संगठन चाहिन्छ । र, संगठनले एक समय वा एक निर्धारित विन्दुमा आएर अडिने वा सकिने गरी होइन, निरन्तर क्रान्ति गर्छ । त्यस्तो क्रान्ति गर्न उद्दाम साहस, लामो धैर्य र योजना चाहिन्छ । यसरी भन्नेहरू को–को थिए ? कृष्णदास श्रेष्ठ ? म्याक्सिम गोर्की ? याङ मो ? रोजा लग्जेम्बर्ग ? एभलिन रिड ? या, स्वयम् एंगेल्स र मार्क्स बाजेहरू ? अथवा, नाम–अनाम अरू थुप्रै ?

नेपालमा कम्युनिस्टहरूले नेतृत्व गरेका क्रान्ति र परिवर्तनका न्यारेटिभ कति वस्तुसंगत थिए र कति अन्धानुकरण मात्रै ? समयले पुष्टि गर्न थालिरहेको छ । यहाँका कम्युनिस्टहरू कति लहडी थिए र कति परिपक्व ?

कम्युनिस्ट बन्ने प्रक्रिया नेतृत्वदेखि भुइँसम्मै कति वास्तविक थियो वा छ र कति बनावटी ? यी कुरा पनि समाजको आधार तहमा घटित कैयौं भयावह दुर्घटना र तिनलाई संस्थानिक ढाकछोप गर्ने अभिव्यक्तिबाट प्रमाणित भइरहेको छ । समयक्रममा धेरै कुरा अर्कै भैसकेको छ । को ‘शुद्ध’ मार्क्सवादी ? को आलोचनात्मक मार्क्सवादी ? को गैरमार्क्सवादी/पुँजीवादी वा को–कोचाहिँ ‘गलत मार्क्सवाद पढिएछ !’ भन्ने ‘एपोलोजिस्ट’ ? यो छलफल पनि अब नयाँ शिराबाट गर्नुपर्ने भएको छ ।

नेपालको कम्युनिस्ट मुख्य धारासँग अब केही पनि छैन, लोगो र झन्डाबाहेक । विचार, आन्दोलन, दिशा, लक्ष्य, सपना र निरन्तर क्रान्तिको प्रण — केही पनि छैन । यो नैतिक, व्यावहारिक, सैद्धान्तिक हरेक हैसियतबाट शून्यमा खसिसकेको छ । योसँगै हिँडेका मजदुर र किसान आन्दोलनहरू, महिला, दलित, मधेसी आन्दोलनहरू, भाषिक आन्दोलनहरू, सांस्कृतिक आन्दोलनहरू सबैको उत्तराधिकार र स्वामित्व यसले गुमाइसकेको छ; आफ्नै हर्कतले, आफ्नै बेइमानीले ।

यही परिदृश्यमा एउटा विराट् खालीपन, एउटा डरलाग्दो ‘भ्याकुम’ सिर्जना भइरहेको छ जहाँ वैकल्पिक भनिएका समूह र अभियानहरूको छिपछिपे उपस्थिति पनि छ । यो उपस्थितिलाई बेवास्ता गर्न त सकिन्न, तर समाजका आधारभूत तहबाट नभई सतहमा देखिने घटना र परिस्थितिको प्रतिक्रियात्मक राजनीति वरपरैबाट व्यक्त हुने यिनका अभियान पुँजीवादको सामान्य सुधारवादी नीतिबाटै निर्देशित लाग्छन् । राज्यका क्रूरतम संरचनालाई जरैसमेत उखेलेर मिल्काउन चाहिने क्रान्तिकारी विचार, इच्छाशक्ति र कार्यक्रम केही पनि उनीहरूसँग छैन । त्यसमाथि पुँजीवादको ढाँचागत शोषण र दोहनका संयन्त्रहरू, मुक्त बजार र उपभोक्तावादसित लड्ने राष्ट्रिय आन्दोलनको प्रतिबद्धता पनि उनीहरूसँग छैन । त्यसैले निरन्तर क्रान्तिको लामो यात्रामा सिर्जना भएको यो ‘भ्याकुम’ पुर्न मार्क्सवादी सन्ततिको विचारसम्पन्न, ताजा र नयाँ संगठनबाहेक अरूबाट सम्भव नै देखिन्न । र, समयको अपेक्षा पनि यही हो ।

कुनै पनि रूपका विभेदहरू रहेसम्म विचारका अस्त्रहरूको अस्तित्व रहन्छ भन्ने सामान्य बोधसम्म नभएका कतिपय मान्छे कुत्सित प्रचार गर्छन्— कम्युनिस्ट विचार र त्यसको स्रोत मार्क्सवाद अब अप्रासंगिक भैसक्यो । उनीहरू ठान्छन्— सामाजिक वर्गहरूको मात्रै व्याख्या गर्ने मार्क्सवादले जातिगत, लैंगिक वा क्षेत्रीय मुद्दा समाधान गर्न सक्दैन । नारीवादका कतिपय बहसमा त कतिसम्म भन्न थालिएको छ भने, महिलाको मुद्दा कम्युनिस्टहरूले पारै लगाउन सक्दैनन्; यसलाई पार्टी राजनीतिबाट ‘डिकोलनाइज’ गर्नुपर्छ, अलग्गै राख्नुपर्छ । आरोपहरू मनोगत र पूर्वाग्रही हुन सक्छन् तर प्रश्न हो— आजको समयमा पनि ‘कम्युनिस्ट’ बन्न प्रतिबद्धहरू यी विषयमा कति गम्भीर छन् ?

यसरी आउने टिप्पणी र प्रतिक्रियामा विचार पद्धति होइन, ‘कम्युनिस्ट’ ब्रान्डका अभिकर्ताका हर्कतहरू जिम्मेवार थिए, जसले ‘क्लास–कास्ट–जेन्डर’ बीचका तमाम असजिला गाँठाभित्र पसेर सम्पूर्णतः मुक्तिको प्रश्नलाई एउटै कार्यक्रमभित्र राखेर हल गर्ने प्रयत्न नै गरेनन्, बरु जनवर्गीय संगठनका नाममा ब्राह्मणवादी, पितृसत्तावादी गैरलोकतान्त्रिक राजनीतिको निष्क्रिय सहभागी मात्रै बनाउने काम गरे । यसको कठोर समीक्षा नगरी आज कोही कसरी ‘कम्युनिस्ट’ बन्न या सबैको साझा संगठन बनाउन सक्छ ?

हामी एकैसाथ अठारौं र एक्काइसौं शताब्दीमा बाँचिरहेको देशका मान्छे हौं । एकातिर जड र पश्चगामी चेतनाले रुग्ण तर संरचनाका तहतहसम्मै चुकुल ठोकेर बसेको जाति–लिंग व्यवस्था छ, अर्कातिर पुँजीवादी ‘टेक्नोकल्चर’, बजार र सांस्कृतिक हस्तक्षेपले प्रतिदिन निम्त्याएका नयाँनयाँ समस्या छन् । तर मुख्य समस्या छ विचारकै तहमा उक्लेर लड्ने मान्छेहरूका सोचमा, जो सांस्कृतिक, आर्थिक, लैंगिक शोषणहरू छन् भन्ने मान्छन् तर त्यसको उपचार पुँजीवादी दलदलभित्रै पसेर गर्न खोज्छन् । जडताको ‘आइसब्रेक’ गर्न सतहमा होइन, फेदैमा जोर मार्ने हम्मर चाहिन्छ र त्यो हम्मर व्यक्ति–व्यक्तिलाई विभाजित गरेर शासन गर्ने पुँजीवादसँग छैन ।

यसरी कुरा गर्दा जडसूत्रवादी भनिने सम्भावना निरन्तर छ । तर आफ्नै विचारलाई समेत आफैंले थाहै नपाई ‘माल’ बनाइदिन सक्ने पुँजीवादविरोधी क्याम्पमा उभिएकी म आफैं कति ‘कम्युनिस्ट’ हुँ ? या होइन अथवा को हुँ ? यो बहस खुलै रहोस् ।

प्रकाशित : श्रावण २०, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

इरानले लुकायो कोरोनाबाट मृत्यु हुनेको संख्या

एजेन्सी

तेहरान — इरानमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएकाहरूको संख्या सरकारले दाबी गरेको भन्दा झन्डै ३ गुणा बढी भएको तथ्यांक भेटिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म भाइरसका कारण १४ हजार ४ सय ५ जनाको मृत्यु भएको बताएको थियो ।

तर सरकारी दस्तावेजमा त्यो संख्या झन्डै ४२ हजार रहेको बीबीसीले जनाएको छ । संक्रमितको संख्या पनि मन्त्रालयले सार्वजनिक गरेको भन्दा झन्डै २ लाख बढी छ । मन्त्रालयले उक्त अवधिसम्म भाइरसका कारण २ लाख ७८ हजार ८ सय २७ जना संक्रमित भएको जनाएको थियो । तर बीबीसीलाई प्राप्त दस्तावेजमा संक्रमितको संख्या ४ लाख ५१ हजार २४ रहेको देखिएको छ ।

इरान सरकारले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार सोमबार साँझसम्म संक्रमितको संख्या ३ लाख १२ हजार ३५ छ । त्यस्तै भाइरसका कारण १७ हजार ४ सय ५ जनाको मात्रै मृत्यु भएको जनाइएको छ । इरानमा कोभिड–१९ को प्रकोप निकै फैलँदै गएको छ । बीबीसीले आफूलाई प्राप्त सरकारी तथ्यांकमा त्यहाँ पहिलो मृत्यु जनवरी २२ मा भएको देखिएको जनाएको छ । उक्त मिति इरानले आफ्नो देशमा पहिलो संक्रमण देखिएको जनाएको भन्दा करिब एक महिना अगाडि हो ।

राष्ट्रिय र प्रान्तीय तथ्यांकमा देखिएको फरक र केही स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइका आधारमा त्यहाँ संक्रमणको अवस्थाबारे फरक तथ्यांक दिने प्रयास गर्नेहरू पनि थिए । संसारभरि नै हाल कोभिड–१९ को परीक्षण निकै कम मात्रामा हुने गरेको जनाइएको छ । जसका कारण संक्रमितको तथ्यांक कम प्राप्त हुने भए पनि इरानले उपलब्ध भएकै तथ्यांक पनि सार्वजनिक नगरेको देखिएको हो । बीबीसीले आफूलाई प्राप्त विवरणमा इरानका अस्पतालमा दैनिक बिरामी भर्ना, बिरामीको नाम, उमेर, लिंग, लक्षण, मिति र अस्पताल बसाइबारेका जानकारी समेटिएको छ ।

प्रकाशित : श्रावण २०, २०७७ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×