कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भारत, चीन र खाडल

चिनियाँहरू, सांस्कृतिक रूपले नै, रिसको खुला प्रदर्शन गर्दैनन् । भारतीयहरू भने प्रजातान्त्रिक प्रणालीले ओतप्रोत भएर पनि रिस देखाइहाल्छन् । तेस्रोपटक सन् २०१५ मा नेपालमाथि आर्थिक प्रतिबन्ध लगाएझैं । यो भारतीय कूटनीति र विदेशनीतिको एउटा कमजोर पक्ष हो ।
महेन्द्र पी‍. लामा

सन् १९६२ को युद्धपछि चीनले भारतलाई फेरि एकपल्ट अविश्वासको खाडलमा घचेटी पठायो । सन् १९८८ मा प्रधानमन्त्री राजीव गान्धी र चीनका राष्ट्रपति देङ सियाओपिङबीचको सौहार्दपूर्ण भेटघाटले बिस्तारै न्यानोपन ल्याएपछि भारत र चीनबीच लगभग तीस वर्षसम्म रहिआएको चिसो र नियास्रो सम्बन्ध अन्त नै भइसकेको थियो ।

भारत, चीन र खाडल

अति नै घतलाग्दा सीमा सम्झौताहरूमा सन् १९९३, १९९६, २००५, २०१२, २०१३ अनि २०१५ मा हस्ताक्षर गरिएपछि नै लिपुलेक, सिपकिला अनि नथुलाजस्ता पुराना सीमा व्यापारका मार्गहरू फेरि खोलिए । भारत र चीनबीचको आर्थिक सम्बन्ध पनि द्रुत गतिमा अघि बढ्यो । सन् १९९० को ४ करोड डलरको व्यापार बढेर सन् २०१९ मा लगभग ९,६०० करोड डलर पुग्यो । मोबाइल फोनदेखि लिएर देवीदेवताका मूर्तिसम्म र ट्याक्सी सेवादेखि लिएर होटल सेवासम्ममा चीनका सरसामान र पुँजी निवेश भारतभित्र पसे । चीन र भारतबीचको सम्बन्धमा अर्को नयाँ अध्याय थपियो । अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देश मिलेर काम गर्न थाले । शाङ्घाई कोअपरेसन अर्गनाइजेसन, ब्राजिल–रसिया–इन्डिया–चीन–साउथ अफ्रिका (ब्रिक्स) र चीनले बनाएको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) अनि अन्य संस्थामा भारत र चीनबीच बारम्बार राष्ट्राध्यक्ष–सरकार प्रमुखको स्तरमा भेटघाट हुन थाले । यति मात्रै कहाँ हो र ! सिक्किमको नथुला भएर तिब्बतस्थित कैलाश–मानसरोवरको तीर्थयात्रा गर्ने मार्ग पनि भारतीयहरूका निम्ति खोलियो । अनेकन् भारतीय विद्यार्थी चिकित्सा डिग्रीका निम्ति सिचुवान र ग्वान्जाउदेखि युनान र बेइजिङसम्म पुगे । भारतीय कम्पनीहरू चीनमा प्रवेश गरे । दुई राष्ट्रबीच पर्यटकहरूको आदानप्रदान निकै बढ्न गयो । हिजो–अस्तिसम्म भारतलाई शत्रुका दृष्टिले हेर्ने चिनियाँहरूले आमिर खानका ‘थ्री इडियट्स’ र ‘दंगल’ फिल्म यति हेरे कि, यिनको कमाइले चीन र भारत दुवैमा रेकर्ड नै तोडिदियो । चिनियाँहरू बिहान र साँझमा बजारको खुला जग्गा, गाउँको सानो मैदान र घरअघिको पार्कमा भेला भई नाच्ने गर्छन् । दैनिक रूपमा शारीरिक व्यायामकै रूपमा ‘गुआङचाङ उ’ भन्दै नाच्दा, बूढापाका, तरुन–तन्नेरी अनि धेरै महिला सामेल भएका बेला, गीतसंगीतचाहिँ हिन्दी सिनेमाका हुन्छन् । बुझी–नबुझी बारुले कम्मर हल्लाउँदै पसिना काढ्छन् । अर्कापट्टि योगका आसनहरू गर्छन् । चीनले भारतीय नरम शक्ति (सफ्ट पावर) लाई यसरी अँगाल्यो । निधारमा टीका, सिउँदोमा सिन्दूर लगाएको देख्नासाथ चिनियाँ पहिरन लगाएका महिलालाई पनि ‘इन्डे–इन्डे’ भनेर कानेखुसी गरिहाल्छन् ।

यता, भारतमा विदेशी सामान भन्नासाथ चिनियाँ ! एकापट्टि चंगाको धागो, दिवालीको बत्ती र छाता अनि अर्कापट्टि चाउमिन, टिकटक र ओप्पो — चिनियाँ उत्पादनले भारतको हरपरिवारमा प्रवेश गरे । दिल्लीमा विवाह जमघटमा तीस वर्षअघि खाना सजाइएको टेबलमा चाउमिन पहिलोपटक देखा पर्दा, चाउमिनमाथि कालो दाल र पालक–पनिर हालेर खान्थे कतिपय अतिथिले । आज चाउमिनमा रस भिजेर, कुना–कुनामा चाउमिन पाइन थाल्यो । चिनियाँहरू यसरी थाहै नपाई दुम्सीले माटो कोट्याएर आफ्नो लुक्ने घर बनाएजस्तै कुना–कुनामा अड्डा बनाउँदा रहेछन् । लन्डन, न्युयोर्क, टोकियो, हनोई, प्रिटोरिया र साओपाउलो र काठमाडौंको ठमेलसम्म यसरी ‘नि हाउ’ को मरमसला छर्किदिँदा रहेछन् र मानिसहरू मक्ख पर्दा रहेछन् । साधारण मानिस त के, नेतासम्म प्रभावित भएकाले नै अमेरिका र केन्यामा चिनियाँले उखरमाउलो गरिरहेका छन् ।

भारत र चीनबीचको सम्बन्धमा धेरै परिवर्तन देखियो । अझै प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी चिनफिङको चीनको वुहान र भारतको मामलापुरममा भएको आदान–प्रदान, बातचित र मुस्कुराहट देख्दा त सम्बन्धमा मैत्रीभाव मात्रै होइन, आत्मीयता पनि छ कि जस्तो सबैलाई लाग्न थालेको थियो । यी दुई नेताबीच अनगिन्ती भेटघाट भए । सायद त्यति छोटो समयमा भारतका प्रधानमन्त्रीले सम्पूर्ण दक्षिण एसियाका छिमेकी सरकार–प्रमुखहरूसँग पनि त्यति संख्यामा भेटघाट गरेनन् । हरेक भेटघाटमा मीठामीठा सम्बन्धका धरातलको गाथा गाइन्थ्यो । इतिहासदेखि पर्यावरण, संस्कृतिदेखि विज्ञान र विश्वव्यापीकरणदेखि विश्वशान्तिसम्मका प्रेस विज्ञप्तिहरू जारी गरिन्थे । भारत–चीन सम्बन्धले कठ्यांग्रिने हिउँद पार गरेर सुरम्य वसन्त ऋतुमा प्रवेश गरेझैं सबैलाई लाग्थ्यो ।

यी सब हुँदाहुँदै पनि चीनले तीन–चारवटा भारतविरोधी नमुना जारी नै राख्यो । पहिलो थियो— घरीघरी सीमा सम्झौताको उल्लंघन गरी ‘लाइन अफ कन्ट्रोल’ लाई नाघेर भारतीय सीमामा प्रवेश गर्नु । उसले अरुणाचल प्रदेश र सिक्किमदेखि लिएर लदाखसम्म नै बर्सेनि यस्तो चर्तिकला देखाउन छोडेन । भारत सरकार र सुरक्षा अधिकारीहरू शान्त भएर नै बातचित गर्दै समाधान निकाल्थे । दोस्रो, मौका पाउनासाथ जुनै हालतमा पनि पाकिस्तानको भारतविरोधी आतंकवादलाई सघाउ पुर्‍याउने प्रवृत्तिलाई चीनले लगभग संस्थागत नै गरिसकेको थियो । खुँखार आतंकवादीलाई पाकिस्तानी भएका कारण आतंकवादी भनेर विश्वमञ्च र संयुक्त राष्ट्र संघमा पनि स्वीकार गर्न त परै जाओस्, मान्यतासम्म दिँदैनथ्यो ।

तेस्रो, भारतका छरछिमेकीलाई भारतविरोधी काम गर्न, भारतको राष्ट्रिय सुरक्षालाई चोट पुर्‍याउन र भारतको पारम्परिक सम्बन्धलाई टुक्र्याउन हौसला पनि दिने गर्थ्यो । भारतको थिचोमिचो गर्ने प्रवृत्ति र नजरको विरोध गर्ने बाटो देखाइदिन्थ्यो । कतिपय विषयमा भारतले यी छिमेकी राष्ट्रहरूप्रति अझै विनम्रता देखाउनुको सट्टा नीतिगत कुराहरू थप्ने व्यवहार देखाउँदा, चीनले फेरि आफूतिर खिच्ने मौका पाउँथ्यो । खिचातानीको यो खेलमा कतिपय छिमेकी राष्ट्र ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ जस्तै भएर निथ्रुक्क भिज्थे पनि ।

चौथो, भारतलाई कमजोर बनाउने प्रयासमा चीन जहिल्यै लागिरहेकै हुन्थ्यो । फलफूल, अन्नको बीज र जीवकोषको चोरी, पशु–प्राणीको अवैध व्यापार, छद्म रूपमा भारतीय कम्पनीहरूमा पुँजी निवेश, ब्रह्मपुत्र र सिन्धु नदीको बहावमा रोकटोक गर्ने परियोजना, भारतीय सूचना प्रणालीको तोडफोड, सांख्यिकीको अवैध आयात र भारतका सीमा क्षेत्रमा गुप्त रूपमा सुरक्षासम्बन्धी ढाँचाहरूको निर्माण । सबैलाई थाहा भएकै विषय हुन् यी ।

भारतले गरेका कतिपय नीतिनिर्धारण र हस्तक्षेपहरू चीनले मनै पराउँदैन । उदाहरणार्थ, तिब्बती शरणार्थी र उनीहरूको निर्वासित सरकार, दक्षिण चीन सागर र हिन्द महासागरमा भारत–अमेरिकाको पारस्परिक सैन्य मेलमिलाप, जापान–अमेरिका र अस्ट्रेलियासँग मिली गरिएको इन्डो–प्यासिफिक र क्वाड सम्झौताहरू चीनका आँखाको कसिंगर नै भइसकेका थिए । भारत, अमेरिका र जापान जति नजिक, चीनको विश्वव्यापी योजना बेल्ट एन्ड रोडलाई उति नै खतरा । खनिज तेल ल्याउने र ग्यास पाइपलाइन बिछ्याउने सामुद्रिक मार्गहरू बन्द गरिदिएपछि चीनको अर्थव्यवस्था नै अस्तव्यस्त र निमिट्यान्नै हुने भयो । अझै भारतले बेल्ट एन्ड रोड परियोजनालाई मान्यतासम्म नदिएकाले चीन रिसले भुतभुताउन थाल्यो । तर चिनियाँहरू, सांस्कृतिक रूपले नै, खुला रूपमा रिसको प्रदर्शन गर्दैनन् । बिस्तारै–बिस्तारै रिस झार्ने गर्छन् । अर्कातिर भारत भने प्रजातान्त्रिक प्रणालीले ओतप्रोत भएर पनि रिस देखाइहाल्छ । तेस्रोपटक सन् २०१५ मा नेपालमाथि आर्थिक प्रतिबन्ध लगाएझैं । यो भारतीय कूटनीति र विदेशनीतिको एउटा कमजोर पक्ष हो ।

चीनले सन् २०१७ मा भोटाङको डोकलाम काण्डबाट के पाठ सिक्यो–सिक्यो ! तीन वर्षपछि फेरि, वैज्ञानिक ढंग र परिष्कृत मानचित्रमा नखुट्याइएका भए पनि दुई राष्ट्रहरूको सुझबुझले स्वीकृत गरिएका सिमानालाई उल्लंघन गर्दै चीनले भारतको सिमाना मिच्यो । कस्तो समयमा ? कोरोना महामारीले भारत त के, सम्पूर्ण विश्व नै पिटिएको र सताइएको भयानक अवधिमा । कस्तो प्रकारले ? फेरि छद्म र नदेख्ने ढंगमा । के कारणले ? कारण नै नभए पनि चीनकै सोचका कारण । यो मात्रै कहाँ हो र ! भारतीय सेनामाथि हमला, हत्या र आघात !

यसको नतिजाको नापतौल नै गर्न नसकिने भयो । भारतमाथि भीषण विश्वासघात गरियो । सम्झौताहरूको एकतर्फी उल्लंघन भयो । अहिलेसम्म एकएक इँटा जोडी निर्माण गरिएको एउटा विशिष्ट सम्बन्धलाई एकै खेपमा स्वाहा बनाइयो ।

सन् १९६२ मा भारत–चीन युद्धपछि सम्पूर्ण भारतमै एउटा भनाइले जरा गाड्यो । चीन र चिनियाँलाई कहिल्यै विश्वास नगर्नु । उनीहरू जे बोल्छन् त्यो गर्दैनन्, अनि जे भन्दैनन् त्यही गर्छन् । आफ्नोमा सिमानाबारे ठोकुवा गर्ने केही कागजपत्र र सबुत नहुँदा बलजफ्ती गर्छन्, मिच्छन् र भय जन्माउँछन् । पण्डित नेहरू अवाक् बनेका थिए यो दुईमुखे व्यवहारदेखि । चाउ एन लाई एक कुरा भन्थे दिल्लीमा, चीन पुगेपछि ठीक उल्टा काम गर्थे । इतिहासभरि, पुस्तक र दस्तावेजभरि यही विश्वासघात–संकोच–द्विविधाको कुरो लेखिएको छ ।

यो पालि चीनले भारतीय सीमाको व्यापक तहमा उल्लंघन गरेर भारत र भारतीयको अघि मात्रै आफूलाई तल झारेन, सदैव निहुँ खोजिरहने अमेरिकाले पनि बिच्किने मौका पायो । भत्किँदै गरेको युरोपियन युनियन फेरि एकत्रित हुन लाग्यो । दक्षिण चीन सागरका वरिपरिका राष्ट्रहरू भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र जापानसमेत एक भएर चीनको विरोधमा उठ्दै छन् । हिन्द महासागरमा भारत, अमेरिका, जापान र अस्ट्रेलियाले प्रशान्त महासागरमा झैं सैनिक अभ्यास सुरु गरेका छन् । एक–चीन नीतिबाहिरका हङकङ र ताइवानजस्ता राष्ट्रहरू अझै विरोधमा चिच्याउँदै छन् । चीनभित्रै विरोधका झिल्काहरू देखिँदै छन् ।

धेरै अप्ठ्यारो राष्ट्र हो चीन । इतिहासले नै यस्तो बनायो यस राष्ट्रलाई । अध्यवसायी, परिश्रमी, राष्ट्रप्रेमी, प्रखर खोज र नयाँ सोच भएका चिनियाँहरूले दस वर्षको सांस्कृतिक क्रान्ति (सन् १९६६–७६) ले लगभग धराशायी र स्वाहा नै बनाइसकेको राष्ट्रलाई कसरी यति छोटो अवधिमा विश्वको एक प्रमुख आर्थिक र सैन्य शक्ति बनाए भनेर विश्व नै चकित हुन्छ । गरिबी कहाँ पुग्यो–पुग्यो ! बाटाघाटा र सरसुविधा अमेरिका र जापानका भन्दा पनि अब्बल दर्जाका ! एकतन्त्री राजनीतिक प्रणाली भए पनि बुनियादी सुविधा प्रजातान्त्रिक राष्ट्रहरूमा भन्दा धेरै गहिरो अनि माथि पनि । लगभग ७० लाख मानिस मारिए त्यो दस वर्षको सांस्कृतिक क्रान्तिमा । त्यसअघि अनिकालमा अझै बढी संख्यामा । र पनि चेयरम्यान माओ त्सेतुङको मूर्ति चारैतिर लाखेस भन्दै उभिइरहेको । यता नेपालतिर कति शताब्दीदेखि रहिआएका शाहवंशका त्रिभुवन–महेन्द्र–वीरेन्द्रका मूर्तिहरूमा राजतन्त्र सकिएकै दिन तोडफोड । चीन र चिनियाँको भावना नै अलग, सपना नै क्रूर र कल्पना नै अपरिमेय ।

कस्तो राष्ट्र हो चीन ? सन् १९६२ मा भारतको सम्पूर्ण हिमालय क्षेत्रमा हमला गरेर पनि भोक नमेटिएझैं भारतका उत्तर–पूर्वी क्षेत्रका राज्यहरू नागाल्यान्ड, मणिपुर, आसाम र मिजोरामका देशद्रोही पंक्ति र नायकहरूलाई चीनमा लगीलगी हातहतियारको प्रशिक्षण दियो । तिनताकको पूर्वी पाकिस्तान (बंगलादेश) को सरकारसँग मिली व्यापक रूपमा हिंसा र अस्थिरता फैलाइदियो । त्यति मात्रै कहाँ हो र ! नेपाल, बंगलादेश र भोटाङ छिमेकी भएर बसेको दार्जिलिङ जिल्लाको तराई क्षेत्रको नक्सलबारी क्षेत्रका नक्सली नेताहरूलाई काठमाडौं र तिब्बत हुँदै चीन पुर्‍याएर प्रशिक्षणसम्म दिएर त्यस क्षेत्रलाई चीनको एउटा जिल्ला बनाउनुपर्छ भनेर फिर्ता पठाइदियो । नक्सली नेताहरूले माओ र चाउ एनलाई भेटेका कुराहरू अब पो चिनियाँ शोधकर्ताहरूले भटाभट निकाल्दै छन् ।

‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा पनि तर्सन्छ’ भनेजस्तै भियतनाम सतर्क भएझैं भारत र भारतीयले पनि अबउसो चीन भन्नासाथ मुन्टो बंगाउन थाल्छन् होला । चीनको ‘चित पनि छैन, पट पनि छैन’ भन्दै भारतीयहरूले अहिले तीस वर्षमा चीनले कति भारतीयहरूलाई निर्भर बनाएछ भन्ने महसुस गर्दै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आत्मनिर्भर’ को खोज र आह्वान गर्नु नै चीनमाथिको गहिरो निर्भरतालाई भंग गरिदिनु हो । निर्भर बनाएपछि कमजोर हुन्छ, कमजोर भएपछि चारैतिर नचाउन सकिन्छ अनि नाच्नै थालेपछि भत्काउन सुबिस्ता हुन्छ भन्ने ध्येयले नै चीन अमेरिका पस्यो । यो कुरा थाहा पाएर नै अमेरिकी राष्ट्रपति ट्रम्पले हरेक कुरोमा, मञ्चमा र समयमा चीनविरुद्ध नारा लगाउँछन् । अरू भत्किँदा आफू निर्माण हुनु नै चीनको मर्म हो ।

-लामा दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका वरिष्ठ प्राध्यापक हुन् ।

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण १९, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?