कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहस : अयोध्यादेखि अयोध्यासम्म 

विगतबारे दाबी–प्रतिदाबी पर्याप्त प्रमाणबिनै वा अन्वेषकका निष्कर्ष आउनुअघि नै हुने गर्छन् । यस्ता दाबीलाई हो वा होजस्तै बनाउने कार्यचाहिँ शक्ति र सत्ताले गर्छ । शक्ति र ज्ञानको सम्बन्ध यहीँनेर केलाउने हो ।
सुरेश ढकाल

काठमाडौँ — ‘भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ ।’ असारका अन्तिम दिनहरूमा नेपाली पत्रपत्रिकामा सम्भवत सबैभन्दा बढी लेखिएको वाक्य यही हो । कत्तिलाई यो सामान्य रमाइलो मात्रै लाग्यो होला, कत्तिलाई चाहिँ आर्कमिडिजको आविष्कार बराबरको विलक्षण उपलब्धि ।

बहस : अयोध्यादेखि अयोध्यासम्म 

नेपालका प्रधानमन्त्रीको उपरोक्त अभिव्यक्तिप्रति मलाई त्यतिबेला मात्रै चासो लाग्यो, जब एक प्राज्ञले त्रिभुवन विश्वविद्यालयको एक अनुसन्धान केन्द्रलाई प्रधानमन्त्रीको उक्त दाबीलाई सहयोग पुग्नेगरी अनुसन्धान गर्न निर्देशन दिए । प्रधानमन्त्रीको दाबीपछि नेपालको पुरातत्त्व विभागले त्यस ठाउँमा उत्खनन गर्ने रहर उजागर गर्‍यो । सुन्नमा आयो, केही विद्वान्ले ‘अयोध्या भनेको वीरगन्ज पश्चिमपट्टिको ठाउँ हो’ भन्ने प्रोजेक्टका लागि प्रस्तावनापत्रहरू तयार पार्न थालिसके । शक्ति र ज्ञानबीचको सम्बन्ध बुझ्ने एउटा पहलु र इतिहास पठनको राजनीतिक आयाम थाहा पाउने एउटा पाठ हुन सक्छ यो सन्दर्भ । त्यसैले प्राज्ञ, विश्वविद्यालय र पुरातत्त्व विभाग आदिको तत्परता अर्थपूर्ण लागेको हो मलाई । कुन समय र सन्दर्भको गर्भगृहबाट जन्मिएको थियो यस्तो हुटहुटी भन्ने कुराले यसको अर्थ–विस्तारमा सहयोग पुर्‍याउँछ ।

थप सन्दर्भ, धार्मिक र उन्मादी राष्ट्रवाद दक्षिण एसियामा अत्यधिक चर्चा भएको विषय हो । यसको उद्देश्य र अन्तर्यबारे पनि यथेष्ट बहस भएकै छन् । भन्न परोइन कि यसको केन्द्रमा भारत छ । अझै विशिष्ट रूपमा भन्दा भारतीय जनता पार्टीको सरकार र त्यसका नेतृत्वकर्ता नरेन्द्र दामोदारदासको शासन । धार्मिकताको जगमा ठड्याइएको राष्ट्रवाद निःशृत राजनीतिक अभीष्ट कसैका लागि अनुकरणीय हुनु हुँदैन ।

भ्रमित इतिहास र राजनीतिक लाभ

गत वर्ष सम्पन्न भारतको १७ औं लोकसभाको निर्वाचनमा भाजपाले अत्यधिक बहुमतले चुनाव जित्यो । भारतमा जोडतोडले चलिरहको दक्षिणपन्थी उभारको उच्चतम विन्दु थियो यो परिणाम सायद । चुनावी परिणाम जित्नेको सामर्थ्य एवं चातुर्य र पराजित हुनेको कमजोरीको कसीमै मूल्यांकन गरिने हो । भारतीयहरूले प्रशस्तै विश्लेषण गरेकै छन् यस परिणामबारे । थप कुरा पछि गरौंला । तर, केचाहिँ अहिले नै भनौं भने नेपालको चुनावी सन्दर्भ र परिणामबारे भने पर्याप्त विश्लेषण नै हुने गरेका छैनन्, केवल ठूला–साना विश्लेषकहरूको अनेक बान्कीका टिप्पणीबाहेक ।

तर, म यहाँ भारतीय वा नेपाली चुनावी परिणामको लेखाजोखा गर्दै छैन । त्यो अहिलेको सन्दर्भ होइन । सबैलाई थाहा भएको कुराचाहिँ के हो भने भाजपाको जितमा हिन्दूत्व र राष्ट्रवादको आधारभूमि बलियो थियो । यी दुवैमा समानता थियो त घृणा र पराइकरणको राजनीतिको । त्यस्तो घृणाको निसानामा पर्थे भारतीय मुसलमान । उनीहरू घृणाको मात्रै सिकार हुनुपरेका थिएनन्, त्यसबाट सृजित त्रासदीको पनि सिकार भएका थिए ।

भारतीय राजनीतिमा सामान्य ज्ञान हुनेले पनि जान्ने यथार्थ के हो भने सन् १९९० को दशकको सुरुआती वर्षसम्म भारतीय जनता पार्टीको यस्तो उभारको कमैले मात्र परिकल्पना गरेका थिए । तर, भयो । यसको सुरुआत त्यस्तै एक त्रासदीपूर्ण घटनाबाट सुरु भएको थियो ।

कुरा सिधै सुरु गरौं । धार्मिक उद्दण्डता विनाशको प्रमुख कारकमध्ये एक हो । स्मरण गरौं, भारतको उत्तरप्रदेश, अयोध्यास्थित बाबरी मस्जिद यस्तै एक धार्मिक उद्दण्डताको सिकार भएको थियो । मुगल राजकुमार बाबरले सोह्रौं शताब्दीमा बनाएको उक्त मस्जिद हिन्दू कट्टरपन्थीहरूले ६ डिसेम्बर १९९२ मा ध्वस्त पारिदिएका थिए, हिन्दू महाग्रन्थ रामायणका नायक रामको जन्मस्थल ठानिएको भूमिमा बनेको थियो भन्ने आग्रहका कारण ।

भारतीय पुरातत्त्वविद् बीबी लालले सन् १९७५–७६ मा उक्त स्थानमा उत्खनन गरेका थिए । त्यस उत्खननले कुनै चाखलाग्दो मध्यकालीन तथ्य फेला पार्न सकेको थिएन । तर, जुन १९९२ मा जमिनको सतहभन्दा १२ फुट तल कुँदिएका केही इँटाहरू फेला परे भनियो । केही भारतीय पुरातत्त्वविद्ले हतारमा एउटा पुस्तिका प्रकाशित गरिहाले, ‘रामजन्मभूमि अयोध्या ः न्यू आर्केओलोजिकल डिस्कभरिज’ शीर्षकमा । उक्त पुस्तिकाले के दाबी गर्‍यो भने एघारौं शताब्दीको हिन्दू मन्दिरको भग्नावशेषमा बाबरी मस्जिद ठड्याइएको थियो र उनीहरूले तर्क गरे– उक्त मन्दिर बाबरले नै भत्काएका थिए ।

भाजपा, विश्व हिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ आदिको कट्टरपन्थी धर्मान्धताको आवेगको निसानामा पर्‍यो मस्जिद र सखाप भयो एउटा सम्पदा । त्यसले भारतीय मुसलमानहरूलाई दुःखी र आक्रोशित तुल्याउनु स्वाभाविक थियो । सांस्कृतिक सम्पदा नष्ट गर्नु निन्दनीय कार्य थियो । धार्मिकताभन्दा धार्मिक व्यापार र रोष बढी भएको भारतमा धेरैले यसको खुलेर विरोध गर्न पनि चाहेनन् वा भनौं सकेनन् । आश्चर्य, धेरैको ध्यान के कुरामा गएन भने साँच्चै त्यहाँ भनिएजस्तै एघारौं शताब्दीको राम मन्दिर थियो त ? के त्यहाँ पर्याप्त पुरातात्त्विक प्रमाण फेला परिसकेका थिए, जसले त्यस ठाउँमा राम मन्दिर भएको पुष्टि गरोस् ?

आजभन्दा एक दशकअघि नै इतिहासविद् सुप्रिया वर्मा र जया मेननले ‘इकोनोमिक एन्ड पोलिटिकल विक्ली’ (डिसेम्बर ११, २०१०) मा ‘आर्कियलोजिकल सर्भे अफ इन्डिया’ को अयोध्यामा गरिएको उत्खनन विधि र प्रतिवेदनमाथि नै प्रश्न गरेर लामो बहस गरेका थिए र निचोड निकालेका थिए— त्यहाँ प्राज्ञिक लगनले काम गरेको थिएन । भत्काइएको मस्जिद राम मन्दिरको भग्नावशेषमा खडा गरिएको पूर्वाग्रही मान्यताबाट निर्देशित थियो र प्रतिवेदन सोहीअनुरूप आएको थियो ।

त्यसअघि नै ‘अयोध्या : आर्कियलोजी आफ्टर डेमोलिसन’ (२००३) पुस्तकमार्फत प्राचीन इतिहासविद् धनेश्वर मण्डलले नयाँ र ताजा भनिएको उपरोक्त अन्वेषण र उपलब्धिको खण्डन गरिसकेका थिए । उक्त पुस्तकको प्राक्कथनमा रोमिला थापरले भनेकी थिइन्, ‘राजनीतिक अभीष्टका लागि अनुसन्धान र अन्वेषण लतारिनु हुन्न ।’ सर्वपल्ली गोपाल, रोमिला थापर, विपन चन्द्रा, सब्यसाची भट्टाचार्यलगायत २५ जना ख्यातिनामा इतिहास अन्वेषकले ‘बाबरी मस्जिद : राम जन्मभूमि विवाद इतिहासको राजनीतिक दुरुपयोग हो’ भनेर उतिबेलै वक्तव्य जारी गरेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक ठानिन्छ ।

रमाइलो कुरा त केही प्राप्त पुरातात्त्विक प्रमाणकै आधारमा भनिँदै छ, ‘खासमा त्यो बुद्धस्थल थियो, बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल, जसलाई नासेर राम मन्दिर बनाइएको थियो ।’ विगतबारे यस्ता दाबी–प्रतिदाबी पर्याप्त प्रमाणबिनै वा अन्वेषकका निष्कर्ष आउनुअघि नै हुने गर्छन् । यस्ता दाबीलाई हो वा होजस्तै बनाउने कार्यचाहिँ शक्ति र सत्ताले गर्छ । शक्ति र ज्ञानको सम्बन्ध यहीँनेर केलाउने हो ।

बाबरी मस्जिद विनाशको उक्त घटना राम्रोसँग नसेलाउँदै सन् १९९४ मा नयाँदिल्लीमा वर्ल्ड आर्कियोलोजिकल कंग्रेसको तेस्रो सम्मेलन भएको थियो । त्यस सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न आएकी थिइन्, मेरी नर्वेली गुरुआमा प्राध्यापक हाल्यान्ड । ती प्राध्यापकले नेपालमा पनि केही पुरातात्त्विक अनुसन्धान सुरु गरेकी थिइन् । यद्यपि अर्की प्रसिद्ध जर्मन पुरातत्त्वविद् गुर्डुन कोर्भिनससँगको विवादपछि उनले नेपालको अध्ययनलाई निरन्तरता दिन पाइनन् । यसको पनि रोचक कथा छ, कुनै बेला भन्नका लागि । दुःखद, तिनै कोर्भिनसको बीभत्स हत्या भएको थियो २००६ को जनवरीमा, भारतको पुने सहरमा । उनका अनुसन्धान र प्रकाशित कार्यहरू नेपालको प्रागइतिहासका महत्त्वपूर्ण स्रोत हुन् । जब म मेरी प्राध्यापकसँग प्रसंगहरूमा पुरातत्त्व, पहिचान र विगतको स्वामित्वको राजनीतिबारे बहस गर्ने गर्थें, उनी मज्जा मानेर सुनाउँथिन्, नयाँदिल्ली सम्मेलनका किस्सा । जब त्यस सम्मेलनमा अयोध्याको कुरा उठ्थ्यो, भारतीय पुरातत्त्वविद्हरू यसरी बाझ्न थाल्थे रे, मानौं त्यहाँ अरू कोही छैनन् र सभा हल कुस्तीको मैदान हो । जब मोटाघाटा भारतीय प्राध्यापकहरू टेबुल नाघेर एकआपसमा लाप्पा नै खेल्न तयार भए, तब धेरै विदेशी सहभागी डराएर हल नै छोडेर बाहिर निस्केका थिए रे ! पछि उक्त कंग्रेसको अन्तर्राष्ट्रिय कार्यसमितिले त्यस विषय नै छलफलबाट हटाउने निर्णय गर्नुपरेको थियो ।

इतिहास, धर्म र राजनीतिको गलत अनुपातको मिसावटले निम्त्याउन सक्ने विनाशको मानक कथा थियो, बाबरी मस्जिदको विनाश । त्यहाँ केबल एक सांस्कृतिक स्मारक मात्रै ध्वस्त भएन, हजारौंको ज्यान पनि गयो । त्यही भग्नावशेष र लासहरूबाट उठेको थियो– नयाँ बहस, धर्मको आडमा घृणाको राजनीति र नयाँ द्वन्द्व, जसले भारतीय राजनीतिलाई अर्कै मोडमा पुर्‍याइदियो । त्यही मोडिएको राजनीतिक पथको यात्राबाट आजका मुकामसम्म आइपुगेका थिए— नरेन्द्र दामोदारदास र भाजपा । इतिहास र धर्मजस्ता संवेदनशील विषय जब राजनीतिक सत्ताको लहडका वस्तु बन्न पुग्छन्, कल्पना गर्न सकिने एउटै परिणाम अनिष्ट मात्र हो ।

यो उबेलाको राम र अयोध्याको कथा थियो, भारतको । अहिले हाम्रै भूमिमा अयोध्या र रामको नयाँ कथा भन्ने रहर गरिएको छ, यसको पटाक्षेप कस्तो हुने हो अन्योलै छ । तर, राजनीतिक चातुर्य र प्राज्ञिक चेतनाको बीचमा प्रस्ट सीमा कोर्न नसक्ने हो भने कुनै पनि खाले सुखद कल्पना गर्न सकिन्न । भारतीय सन्दर्भ एक दृष्टान्त मात्र थियो ।

राजनीतिक चातुर्य र प्राज्ञिक चेतना

उपरोक्त दृष्टान्तका आडमा भन्न खोजेको कुरा के मात्र हो भने इतिहास निरन्तर लेखन र पुनर्लेखन गरिने विषय हुन्, किनकि ती अन्तिम र अपरिवर्तनीय सत्य होइनन् । त्यसैले पनि इतिहासले सहजै राजनीतिक चरित्र ग्रहण गर्छ । प्राचीन इतिहास झनै जटिल विषय हो, जसबारे पुरातात्त्विक प्रमाणभन्दा मिथक, धार्मिक विश्वास र लोककथन बढी प्रभावकारी हुने गर्छन् । माथि नै भनियो— जब इतिहास, धर्म र राजनीतिको अस्वाभाविक घुलन हुन्छ, तब त्यहाँ तर्कहरूको अन्त्य र उन्मादी हर्कतले शिर उठाउँछ । शक्तिका बलमा वा शक्तिपूजनका खातिर गरिने अन्वेषण वा लेखिने वृत्तान्त शक्तिमा आउने ह्राससँगै बिलाउन थाल्छन् । कमजोर इतिहास चेत भएको समाजको चरित्र त्यस्तै हुने गर्छ ।

अन्त्यमा

जब राजनीति निश्चित राजनीतिक दर्शनबाट निर्देशित हुन छोड्छ, तब राजनीतिले लक्ष्य निर्क्योल गर्न सक्दैन । लक्ष्यविहीन राजनीतिको बाटो स्वाभाविक रूपमा अन्योलग्रस्त बन्छ र नेता तथा कार्यकर्ता दिग्भ्रमित । नेपालको वर्तमान राजनीतिको मनोदशा पनि यही हो । तर, प्राज्ञ र विश्वविद्यालय, अनुसन्धान, अन्वेषण गर्नेहरू त्यसैगरी दिग्भ्रमित हुन हुन्न । राजनीति गर्नेका रुचि, चातुर्य र अभीष्ट प्राज्ञिक महत्त्व र प्राथमिकताका नहुन पनि सक्छन् । तसर्थ प्राज्ञ र अन्वेषकमा आफ्ना एजेन्डा र प्राथमिकता निर्धारण गर्ने चेत र सामर्थ्य हुनैपर्छ ।

(शनिबार कान्तिपुरमा प्रकाशित हुने प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण ९, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?