कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकका कल्पनाहरूको अपहरण

भ्रष्टाचार, बेरुजु र अपारदर्शी ठेक्का प्रक्रिया आदिका दर्जनौं चाङ छोप्ने इरादाले कार्पेट लगाएको शासक वर्ग एउटा नक्सा जारी गरिदिएका भरमा सारा राष्ट्रिय मुद्दाहरू छोपछाप पार्ने ध्याउन्‍नमा छ ।
बसन्त बस्नेत

प्रत्येक नयाँ संवत्को पात्रोमा मानौं मृत्युका निश्चित दिनहरू लेखिएका छन् । बर्खा लाग्नेबित्तिकै पहाडमा पहिरो, मधेसमा बाढी आउन थाल्छ । सीडीओ र डीएसपीले ‘थाहा नपाए’ पनि शीतलहरबाट प्रत्येक हिउँदमा नागरिकको ज्यान गएका खबर पत्रकारहरूले ल्याइहाल्छन् । यस्तोमा नागरिकका अपेक्षा पुरानै हुन्छन्, अभिभावक ठानिएको राज्यको जवाफ भने अक्सर उल्टो ।

नागरिकका कल्पनाहरूको अपहरण

अहिले नै हेरौं न । बाढी–पहिरोपीडितहरू खाना, लुगा र ओत मागिरहेका छन् । राज्य नयाँ निसानछाप थमाएर आफ्नो पौरखप्रति मुग्ध छ । नागरिकहरू कोभिड–१९ प्रकोपबाट जोगिन धेरै पीसीआर टेस्ट मागिरहेका छन् । राज्य मालपोतको हाकिमजस्तो त्रेता युगको काल्पनिक जमिन खोज्न व्यस्त छ । खोज्दै गए एक दिन कसो नभेटिएला भनेर एक थरी गैंती–बेल्चासहित खटिइसकेका छन् ।

आत्मप्रदर्शन रोकिने छाँट छैन । नेताहरू सिमानामा काँडेतार लगाइछाड्ने सपना बाँड्दै छन् । किसानहरू खेतीपातीको व्यस्त बर्खामा दोब्बरभन्दा बढी मोल तिरेर मल किन्न बाध्य छन् ।

तिनको कुनै सम्बोधन छैन, बरु सत्तासीनहरू कमल थापा र भीम रावललाई समेत सरम हुने गरी अतिराष्ट्रवाद अलाप्दै छन् । बादशाह नांगै भइसक्यो, तर ‘क्या दामी भो’ टाइपमा तिनका फ्यानहरू जयजयकारमा लिप्त छन् ।

यस अर्थमा देश इतिहासको एउटा यस्तो परिधिभित्र घुमिरहेको छ, जहाँ मतदाताहरू आफ्नै हातले छाप लाएर सरकार चुन्छन् । अनि सरकार प्रत्येकपल्ट तिनको कल्पनामा लात हान्छ । नागरिकले पाँच वर्षमा एक दिन सार्वभौम हुन पाउने, बाँकी दिनहरू निरीह बाँच्नुपर्ने यस व्यवस्थाको नाम हामीले आपसमा सल्लाह गरेर संघीय लोकतान्त्रिक गणतन्त्र राखिदिएका छौं ।

यो गणतन्त्रमा जनगणका आकांक्षा र यसका प्रतिनिधिहरूको सम्बोधनमा अद्यापि तालमेल मिलेको छैन । वडापिच्छे निःशुल्क वाईफाईको घोषणापत्र कतै भेटिएला, तर कोरोनाकालमा दूरशिक्षा चलाउन त्यो काम लागेन । अर्थमन्त्रीले ढुकुटी रित्तिँदै छ भनेर खर्च घटाउन अग्रिम चेतावनी दिइसके । तर अर्बौंका विलासी गाडी किन्न, भ्युटावर बन्न रोकिएको छैन । यस्तोमा स्मार्ट सिटीको सम्झना गर्नु विस्मृति–उन्मुख रेल, पानीजहाजको सपनामाथि पानी छम्किनुजस्तै निष्फल यत्न हो ।

महालेखापरीक्षकको प्रतिवेदनले प्रतिवर्ष बेरुजुको बजेट बढ्दो क्रममा देखाउने गर्छ । केही दिनअघि सार्वजनिक प्रतिवेदन पढ्दा रुन मन लाग्ने अवस्था छ । तर संघीय मन्त्री नै त्यसको निरूपण गर्नु साटो ‘हाम्रो पालामा मात्रै भएको हो र ? पहिले पनि हुने गर्थ्यो’ भन्दै प्रश्नकर्ताको मुख टाल्न खोज्दै छन् । यसरी हाम्रो लोकतन्त्रमा आज प्रश्नले समेत दण्डित हुनुपरेको छ ।

व्यक्तिका कुरा नगरौं भन्यो, फेरि व्यक्तिकै कुरा आउँछ । पहिलेका वर्षहरूमा सत्तापक्ष, प्रतिपक्षका शीर्ष नेताहरू मिलेर कुनै निर्णय गरे भने त्यसलाई राष्ट्रिय सहमति भनिन्थ्यो । हिजोआज सत्तारूढ नेकपाभित्रैका दुई अध्यक्ष छलफलमा बसे भने अब ठान्नुपर्ने हुन्छ— लु है, राष्ट्रिय सहमति हुन लागेछ । कम्प्युटर विज्ञानकी अध्येता दोभान राई पछिल्लो कफी गफमा भन्दै थिइन्, ‘दैनिक घटना र व्यक्तिमाथि हाम्रोमा क्रिया–प्रतिक्रिया धेरै भयो । बहसहरू त्यसभन्दा माथि उठेर प्रवृत्तिहरूको विश्लेषणमा केन्द्रित हुनुपर्ने ।’

दोभानको असन्तोष प्रत्येक क्षेत्रमा हुने व्यक्तिमुखी गन्थनतर्फ लक्षित थियो । सिने क्षेत्रमा हुने यौन दुर्व्यवहारबारे साम्राज्ञी राणाले उठाउन खोजेको बहसलाई ‘को महानायक’ भन्ने दन्तबजानले खर्लप्पै खाइदियो । विमर्शबिनाको समाज अपुरो हुन्छ, तर मूल मुद्दा नै अपहरण गरिदिने बहसको के प्रयोजन ? हाम्रा पछिल्ला सार्वजनिक विमर्शहरू भने मुख्य सरोकारभन्दा अन्तै मोडिएका छन् । यसमा राज्यसञ्चालकको दोषभाग बढी छ ।

राष्ट्रिय प्राथमिकता बिर्सेर प्रत्येक दिनजसो प्रधानमन्त्री तथा पदासीनहरूबाट आउने निम्नस्तरीय टिप्पणीहरूमध्ये वास्तवमा कतिपय त समाचार बन्नै लायक छैनन् । चोकचौताराहरूमा गफाडीले दिने उटुंग्याहा गफसमेतलाई माथ गर्ने गरी आउने ती टिप्पणीहरूले केवल उनीहरूको उच्च ओहदाका कारण यत्रो महत्त्व पाएका हुन् । यी फाल्तु टिप्पणीभन्दा पर्तिर पनि जीवनका अरू रङ छन् भन्ने बिर्सेर फगत स्तुति र निन्दामा रमाउन बानी परेकाहरूको औंलाको एक क्लिक, रिट्वीट र सेयरले त्यो हानिकारक विचार छिनभरमै ‘भाइरल’ हुन्छ । यसरी भाइरल हुन्छ कि, आज हाम्रो मानव समुदायमाथि नै विश्वव्यापी संकट बनेर उपस्थित कोरोना भाइरससमेत धक मान्दो हो ।

तर यहाँ त मानिसहरूले कोभिड–१९ को प्रकोपसमेत भुल्ने अवस्था बन्दै छ । प्राथमिकता हराएको सत्ताको चटकलाई स्तुति या निन्दा जेसुकै गरेको भरमा पनि मूल मुद्दाबाट भाग्न कतै हामी ‘भलादमी’ हरूले नै सघाइरहेका त छैनौं ? प्रश्न उठ्न जान्छ । मूल सरोकारबाट पन्छिएर प्रतिदिन नयाँ कृत्य, काण्ड मच्चाइरहेको सरकारले नागरिकका कल्पनाहरूको अपहरण गरेको छ ।

पत्रकार रमेश कुमारले केही दिनअघि ट्वीट गरे, ‘हाम्रो देश ऋषिमुनिहरूको तपोभूमि, प्राकृतिक सम्पदाले भरिपूर्ण, ह्यान–त्यान अतिशयोक्ति कविता, गीत, निबन्ध पढ्दै आइयो । समस्या यसैमा छ । यस्तो भयानक स्रोतसम्पन्न भएको भए देशमा नागरिकहरू यत्रो विधि तन्नम जीवन बिताइरहेका हुने थिएनन् ।’ ट्वीट थ्रेडमा रमेशको कटाक्ष गरिबी, अशिक्षा, भूमि र आवासहीनताले नारकीय जीवन बिताउन बाध्य नागरिकको मनमा राष्ट्रवादको नारा उरालेर स्वार्थ सेक्न उद्यत सीमित समूहप्रति लक्षित थियो । दोभान र रमेशको असन्तोष आज देशभित्र बसेर आफ्नो नेतृत्व र संरचनामाथि प्रश्न गरिरहेका दुई प्रतिनिधि युवाहरूको बोली हो । आफ्ना प्रज्ञाको प्रकाशले आफैं चमत्कृत सत्ताप्रमुख र उनको यशगानमा समर्पित समूहले के यी वाणीहरूको अर्थ बुझ्न सक्लान् ?

युवाहरूलाई यो कलाविहीन प्रहसनले वाक्कदिक्क बनाएको छ । नयाँ पुस्ता त्यति शुद्धतावादी पनि छैन, जसले संसारभरिको राजनीतिमा हुने ‘फोहोरी खेल’ बारे कुनै जानकारी नराखिरहेको होस् । यो पुस्ताले पहिलो विश्वदेखि छिमेकी भारतसम्मको भद्दा दक्षिणपन्थलाई अवलोकन गरेको छ । उग्रवामपन्थी रोमाञ्चकतावादमा फसेर उक्सिनै नसकेका देशहरूबारे पनि अध्ययन गरेको छ । नेताविशेषको प्रभावमा परेर समाज बुझ्न छाडिदिएका कतिपय युवालाई छाड्ने हो भने आम नयाँ पंक्ति राष्ट्रको मानचित्रमा आफ्नो भविष्य नियालेर असन्तुष्ट बनेको छ । फेरि पनि विगतकै गल्तीहरू दोहोरिइरहने, इतिहासका कमजोरीबाट पाठ नसिक्ने नेतृत्वको मूल्य समाजले चुकाउनुपर्ने देखिएको छ । युवा पुस्ता यसबारे जानकार बन्दै छ ।

भ्रष्टाचार, बेरुजु र अपारदर्शी ठेक्का प्रक्रिया आदिका दर्जनौं चाङ छोप्ने इरादाले कार्पेट लगाएको शासक वर्ग एउटा नक्सा जारी गरिदिएका भरमा सारा राष्ट्रिय मुद्दाह नेतृत्व कुरिबस्ने मानिसहरूको भावना सम्बोधन गर्ने प्रयत्न भएको थियो । विश्लेषक नवीन तिवारीले त्यसमा आफ्नो प्रतिक्रिया दिँदै लेखेका थिए, ‘युवा, युवा भनेर उमेर हेर्दैमा पर्याप्त हुँदैन । पायो भने एक ट्यांकर पानीमा समेत भ्रष्टाचार गर्नेहरू यहाँ युवा नेता बनेर हिँडेका छन् ।’ कतिपयलाई नवीनको यो टिप्पणी दुर्भावनाग्रस्त सोचको उपज पनि लाग्न सक्ला, तर उनले आजको हाम्रो समाजको ‘नयाँ’ प्रवृत्ति उद्घाटित मात्रै गरिदिएका हुन् ।

सत्ता मात्रै होइन, प्रतिपक्ष, वैकल्पिक भनिएका पार्टीहरूले यी र यस्ता अनेक मर्महरूसँग संवाद गर्नेबारे सोचेका छन् ? यहाँ वर्षैपिच्छे पार्टीहरू बन्छन्, भत्कन्छन् । ७० वर्षमा प्रवेश गरिसक्दा पनि हाम्रो लोकतन्त्र, समाजशास्त्री चैतन्य मिश्रको भाषामा ‘अझै टुकुटुकु हिँडिरहेको बालकजस्तो’ छ । यहाँ जुनसुकै पार्टी हेरौं— व्यक्ति हाबी छ, पद्धति गयल । लोकतन्त्र हाम्रो जीवनशैली बन्न सकेको छैन, यो त केवल आफूलाई स्थापित गर्न खेलिएको, टाउकाहरूका बहुसंख्या गनेर सिर्जिइएको गणितीय प्रक्रिया मात्रै हो भन्ने पुष्टि गर्न खोजिएको छ । फेसबुकमा प्रधानमन्त्रीको जति विरोध भए पनि के भयो, संसद्का कोठाचोटाहरूमा बहुमत हुँदासम्म उनी निर्विकल्प ठानिन्छन् । त्यतिले नपुगेर सडक जाम गर्न प्रायोजित भीड जुनसुकै बेला तयार छ । शेरबहादुर देउवाका ‘मिम’ बनाएर जति उडाए पनि हुन्छÙ कांग्रेसभित्रको जोडघटाउमा उनी चुनौतीरहित छन् । प्रचण्ड हिजोआज यो प्रवृत्तिको विरोध गरेजस्तो गर्छन्, तर शान्ति प्रक्रियायता उनको राजनीतिक करिअर चलाखीपूर्ण समीकरणहरूका कारण ऊर्ध्वगामी बन्न गएको हो ।

जसपादेखि राप्रपासम्म, विवेकशीलदेखि साझा पार्टीसम्म हरमहिना जाने सानातिना पहिरोहरूले पार्टी निर्माण प्रक्रियामा समस्या अझै बाँकी छ भन्ने देखाउँछन् । नयाँ राजनीतिको कल्पना नहुँदासम्म यस्तो परिदृश्य अझै देख्नुपर्ने हुन सक्छ । दुर्भाग्य, यहाँ नयाँ पार्टीको मात्रै कल्पना भइरहेको छ ।

ट्वीटर : @basantabasnet

प्रकाशित : श्रावण ६, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?