कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

गाउँका लागि सहर

प्रायः सहरसँग न मौलिक संस्कृति छ न त दृष्टि नै । सहरहरू आजभोलि जग्गा कारोबारीहरूको क्रीडाभूमि भएका छन् ।
चन्द्रकिशोर

सहरप्रति विश्वास बढ्नाले गाउँहरू रित्तिएका थिए, जसलाई कोरोना कहरले क्रमभंग गर्‍यो । थातथलो छाडेर रातारात कोही सहर छिरेको थिएन । गाउँका आधारहरू कमजोर पार्ने खेलको परिणति थियो, सहरमुखी हुनु ।

गाउँका लागि सहर

यसले गाउँलाई आँप खाएर फालेको कोयाजस्तै बनायो । बाध्य भएर गाउँ छोड्नेहरूलाई सहरले आफ्नो स्वार्थमा प्रयोग गरिरह्यो । जब कोरोनाको त्रास फैलियो, सहरले सुरक्षित पार्न चौहद्दीलाई बढी प्राथमिकता दियो, जसभित्र सहर छिरेको ‘गाउँ’ थिएन । कोरोनाकालमा मजदुरहरूको अपहेलना मुख्य रूपमा सांस्कृतिक पूर्वाग्रहको परिणाम थियो ।

त्यतिखेर ‘वान नेसन, इक्वल राइट’ को अवधारणागत समस्या सरकारी तहमै देखियो अनि सहरको कर्तुत झन् उदांगियो । थातथलो फर्कन विवश मजदुरहरूको व्यथाले राष्ट्रिय मानसलाई झकझकाएको त थियो, तर त्यो मौसमी राष्ट्रवादको याममा सेलाइसकेको छ । गाउँ फर्किंदै गर्दा मजदुरहरूलाई सहायताविहीन बनाइयो । सहरको वैभवका लागि पसिना बगाएका मजदुरहरूलाई संकटका बेला सहरले अचानक परित्याग गरिदियो । मजदुरहरूले सहरको दिनचर्यालाई लय दिएका थिए, तर अप्ठ्यारो पर्दा सहरले अपरिचितजस्तै व्यवहार गर्‍यो । श्रम प्रणाली खलबलियो । यसबाट पुष्टि भयो— विपत्मा सहर न आफू जोगिन सक्छ न त आफ्नो छहारीमा रहेकालाई नै भरोसा दिन सक्छ । सहरको यो महारोग महामारीकालमा पुन: पुष्टि भयो ।

सहर र गाउँको सम्बन्धबारे प्रायः ‘सहरका लागि गाउँ’ कोणबाट विमर्श गरिन्छ, जसमा सहरको उपकेन्द्र गाउँलाई मानिन्छ । कोरोनाकालले यस बहसमा हस्तक्षेप गर्ने मौका दियो । अब गाउँलाई केन्द्रमा राखी सहरलाई हेर्नुपर्छ । गाउँ आफैंमा जलविद्युत् केन्द्र हो कि विद्युत् प्रसारण केन्द्र ? अहिलेसम्म आर्थिक समृद्धिको आधार सहरलाई मानियो । हिंसा र शोषणको अन्तहीन खेलका माझ आधुनिक सहरहरूको निर्माण गरियो । वैश्विक विमर्शले सहरहरू सत्ता वा संस्कृतिको नवरूप हुन् भन्छ, तर गणतान्त्रिक नेपालका सहरहरूले आफ्ना निवासीलाई शान्ति, आधुनिक र स्वच्छ वातावरण उपलब्ध गराउन सकेका छन् त ?

सहर र गाउँबीच रहेको आन्तरिक विप्रेषणको शृंखला अब कुन ढाँचामा अघि बढ्छ ? यसले अर्थतन्त्र र सामाजिक सम्बन्धमा संरचनात्मक परिवर्तन ल्याउँछ ? सहरमा मान्छे ओइरिनु नैसर्गिक होइन तर सत्ताले त्यही भाष्यलाई मलजल गर्दै आयो । आफ्नो विकासयात्रालाई लिएर सहरहरू बेचैन छन् । महानगरको पदवी पाएर दंग परेका सहरहरूको वास्तविकताले महानगरको परिभाषालाई अवमूल्यन गर्छ । हात समाउन आएकाहरूलाई संकटमा अचानक छोडिदिएपछि गाउँलेहरूको दुखेसो छचल्कियो । चाहे पञ्चायत होस् वा त्यसपछिको कालखण्ड, सहरीकरण खास स्वार्थसमूहलाई लाभ दिने मञ्च भयो । कतिपय अवस्थामा राजनीतिजीवीहरूको प्रभावका कारण सहरले महत्त्व पायो, बस्तीविशेषको सहरीकरण हुँदै गयो । त्यसैले प्रायः सहरसँग न आफ्नो मौलिक संस्कृति छ न त दृष्टि नै । आजभोलि त यो जग्गा कारोबारीहरूको क्रीडाभूमि भएको छ । प्रकृति र प्रविधिको प्रगतिशील योगले सहरलाई गतिशील बनाउने कार्य स्थानीय सरकारहरूको प्राथमिकतामा परेन । मापदण्डबिनाका बस्तीहरू केही भौतिक पूर्वाधार पाएकै आधारमा सहर कहलिएका छन् ।

कृषि छाडेर सहर पस्नेहरू सस्ता श्रमिक थिए । सहरहरूको विकास नै सस्ता मजदुरहरूको बहुआयामी प्रयोग गर्न सकियोस् भन्ने दृष्टिले गरियो । सहरले ग्रामीण उत्पादनको उपभोग गरिरहे र तिनकै निर्णायक हैसियत बन्दै गयो । उत्पादकले पाउनुपर्ने गरिमा पाएन बरु बिचौलियाहरू सम्पोषित भइरहे । अहिलेसम्म उपयोग नगरिएका अवसरहरूको पहिचान नै सहर–गाउँ सम्बन्धको नयाँ एकाइ हुन सक्छ । सहरहरूको अर्थप्रणाली कतिको विविधतापूर्ण र समावेशी छ ? सहरमा उदाउँदै गरेको आर्थिक क्रियाशीलता कत्तिको फराकिलो छ ? अर्थशास्त्रीहरूले सहरहरूलाई ‘ग्रोथ इन्जिन’ मान्दै आए, तर यो इन्जिनका लागि इन्धन कहाँबाट आउँछ भन्नेतिर चासो दिइएन । सहर र गाउँबीच साँघुरिएको आर्थिक–सामाजिक सम्बन्धलाई नवआकार दिने मौका हो यो । अब पनि पुरानो संकथनलाई निरन्तरता दिएर हुँदैन । नेपालमा सहरीकरणको आफ्नै विकासक्रम छ । अरू ठाउँको नक्कल उतारेर सहरीकरणको प्रयोगशालालाई अब तन्काउन सकिँदैन । यहाँकै स्थानीय आवश्यकताका आधारमा सहर–गाउँ सम्बन्धको सूत्र खोजिनुपर्छ ।

दिगो विकासका दृष्टिले सहरहरू जनसुविधाको अभावमा र कतिपय सन्दर्भमा नारकीय अवस्थामा छन् । नेपालका लागि यो राम्रो संयोग हो, किनकि अहिले पनि अधिकांश सहरी ढाँचाको निर्माण बाँकी छ र सहरीकरणको मोडल बदल्नलाई पर्याप्त समय छ । सहरले आर्थिक गतिविधिहरू फैलाउँछ । अहिलेसम्म सहरीकरणले गाउँहरूलाई निल्दै गयो । गाउँको अर्थतन्त्र, स्थानीय ज्ञान, पारम्परिक तर आधुनिक हुन सक्ने सीप र सामुदायिकतालाई सहरीकरणको प्रभावतन्त्रले आहार बनायो । त्यसैले अबको सहरीकरण गाउँको सबलीकरणका लागि हुनुपर्छ । यसले नै कोरोनाकालमा सहरप्रति गाउँको भत्किएको भरोसा फर्काउँछ र सहर–गाउँ सम्बन्धलाई दिगो र सन्तुलित बनाउँछ ।

‘जे छ सहरमा छ र गाउँको अस्तित्व सहरको आवश्यकतालाई पूरा गर्नका लागि हो’ भन्ने भुइँतहमा व्याप्त बुझाइ यही मौकामा चिर्नुपर्छ । सहर र गाउँको सम्बन्ध मालिक र सेवकको जस्तो होइन, परस्पर सहयोगीका रूपमा हुनुपर्छ । बिर्सन नहुने तथ्य हो— मोटामोटी दुई करोड जनसंख्या गाउँमै बसोबास गर्छ । सहरी स्वार्थको भाकलमा गाउँको बलि चढाइँदा हामी कहाँ पुग्यौं र कस्तो त्रासदी भोग्यौं, त्यो जगजाहेरै छ । अब गाउँका लागि सहर बाँचोस्, जहाँ कोही कसैको अभिभावक हुँदैनÙ एकअर्कालाई सञ्जीवनी दिने काम हुन्छ । अप्ठ्यारा, असुरक्षित र अनुपयुक्त सहरको सीमालाई गम्दै गाउँको सम्भावनालाई पहिल्याउने हाँक स्विकार्ने समय हो यो ।

सन् १९७० को दशकमा ई.एफ. शुमाखरको ‘स्मल इज ब्युटिफुल’ र गुनार मिर्डलको ‘अगेन्स्ट द स्ट्रिम...’ प्रकाशित भएपछि विकास सम्बन्धी विश्व चिन्तनधारामा नयाँ बहस निम्तियो । दुइटै पुस्तकले विनाशकारी विकासमाथि सवाल खडा गरे । ती पुस्तकले उठाएको बहसलाई आत्मसात् गर्ने बेला आएको छ अहिले । मजदुरहरूको घरफिर्ती आफैंमा ‘अलार्म बेल’ हो । हाम्रा अर्थशास्त्रीहरूले विश्वबैंकले के मन पराउँछ भन्दा पनि नेपालीजनको कसरी हित हुन्छ, त्यो बोल्ने हो । कुनै पनि मुलुकको सुरक्षानीति त्यस मुलुकको आर्थिक क्षमता र मानवीय संसाधनको विकासबाट निरन्तर प्रभावित हुन्छ । आर्थिक रूपमा कमजोर र परनिर्भर राष्ट्रले बाह्य र आन्तरिक सुरक्षाको प्रत्याभूति दिन सक्दैन ।

कोरोना कहरले ‘सानो नै सुन्दर हो’ को दिशातर्फ लम्किने पाठ सिकाएको छ । सहरहरू निःसहाय देखिए, औद्योगिक प्रतिष्ठानहरूको गति मन्द भयो । तमाम ठूला संस्था फगत आभासी हुँदै गए । यस्तोमा साना र स्थानीय संस्थाहरू नै भरोसायोग्य देखिए । लकडाउनमा राहतको काम होस् वा अन्य सेवा, सबैतिर साना संस्थाहरू नै सक्रिय भए । ठूला भनिने सहरहरू ठप्प भए, गाउँहरू तुलनात्मक रूपमा जीवन्त बनिरहे । यसले पनि शुमाखरको सान्दर्भिकता स्थापित गर्छ । पहिलाका सहरहरूले गाउँको महत्त्वलाई बुझ्थे र संरक्षण पनि गर्थे । तर, पुँजीवादी अवधारणामा सुन्निएर मोटाएका सहरहरू र गाउँबीच ‘फल्ट लाइन’ कोरिएको छ । गाउँको जवानी र पानी सहरले सोस्दै छ । पानी यस अर्थमा कि, सहरीकरणले यसको अन्धाधुन्ध दोहन गरेको छ र अन्ततः त्यसको मारमा गाउँ पर्छ ।

जोन स्टिनबेकको बहुचर्चित उपन्यास ‘द ग्रेप्स अफ र्‍याथ’ को अन्तिममा महानगरमा कठिन जीवन बिताउँदै गरेका मजदुरहरू गाउँ फर्कन्छन् । यही बाटोबाटै आत्मसम्मान र जीवन फिर्ती हुन सक्छ भन्ने उनीहरूले बुझ्छन् । अहिले सहरी विकासको सोपान हिंसामा आधारित छ, अब ‘गाउँका लागि विकसित गरिने सहर’ निर्माण प्रक्रियामा दुवैको जित हुनेछ । सहरतर्फ जबर्जस्ती धकेल्ने प्रयत्नहरूमा विराम लाग्नेछ । आखिर अर्थपूर्ण संघीय अभ्यास यही नै हो ।

प्रकाशित : असार १८, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?