कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरियो परिस्थिति, बदलियो परिदृश्य

चीनको सामरिक स्वार्थको विस्तार हुनामा यस क्षेत्रमा भारतकै भूमिका कारक रहेको छ र उसैले चीनसितको सम्बन्धमा सन्तुलन कायम गर्न नसक्दा पनि चीन दक्षिण एसिया ओर्लिएको हो ।

अन्तर–बाह्य दुवैतर्फ बदलावको क्रम एकदमै तीव्र छ । मान्नुस्–नमान्नुस्, नेपाली राजनीति र नेपालका छिमेकहरूसँगको पारस्परिक सम्बन्धको टेक्टोनिक प्लेटमा अभूतपूर्व हलचल भइरहेको छ ।

फेरियो परिस्थिति, बदलियो परिदृश्य

पौराणिक विम्बमा भन्ने हो भने, यस्तो अवस्थालाई पृथ्वी बोकेर बसेको कछुवाले आफ्नो काँध फेर्दै छ भन्नुपर्ने हुन्छ । विज्ञानको भाषामा भन्नुपर्दा, भौगर्भिक प्लेटको हलचल हुँदा भूकम्प आएजस्तै राजनीतिक प्लेटको हलचलमा पनि उथलपुथल भएको मान्नुपर्छ । नेपाली राजनीतिको परम्परागत दक्षिण ढल्को निस्तेज भइरहेको तथा उत्तर पक्षको सक्रियता बढिरहेको छ । यथार्थमा यावत् विषयमा यही नै परिलक्षित हुन्छ र त्यसैमाथि अझ थपिएको छ एमसीसीसम्बन्धी तनाव ।

त्यसैका फलस्वरूप सांकेतिक झट्का पनि लागिरहेका छन्, सत्ताधारी, प्रतिपक्षी सबैतिर । यस्तो प्रतीत हुन्छ, निकै ठूलो कम्पनका लागि शक्ति सञ्चय चलिरहेको छ । यसको पूर्वसंकेतका रूपमा दक्षिणसँगका भावतन्तु टुट्ने क्रममा तीव्रता आएको छ । भारतले वार्ता गर्न तत्परता नदेखाउनु र त्यसैका प्रतिक्रियास्वरूप तत्परतासाथ द्रुत गतिले नक्सा सच्याउने क्रम, प्रकाशन र निसान छाप संशोधन गरिनु वास्तवमा भारतसँग भावतन्तु टुट्ने क्रमकै परिणाम हो । साथै राज्यका यावत् निर्णय प्रक्रियामा समेत गडबडाउँदो सम्बन्धको ध्वनि मजाले सुनिन थालेको छ ।

भारतसित भावतन्तु टुट्दै जानुका धेरै कारण छन् । यसमा अर्घेल्याइँ नेपालको मात्र छैन, पहल भारततर्फबाटै भएको हो । नेपालको सामरिक अवस्थिति र बढ्दो महत्त्वतर्फ उपेक्षाभावका कारण पनि भारतले नसोचेका घटनाहरू भइरहेका हुन् भन्दा अन्यथा हुने छैन । हुन त पारस्परिक भावतन्तु अहिले झर्‍यामझुरुम भइहालेकै भने होइन, वास्तवमा टुट्न थालेको हो भन्ने अर्थमा लिनु उचित हुन्छ । जे भइरहेको छ, अकारण भएको होइन र घटना हुनलाई त्यसका प्रेरक कारण हुन्छन् नै । कारणहरू समयक्रममा आकारित हुँदै थपिँदै आएका हुन् । लामो शृंखला छ, एक–दुई दिनमा यो अवस्था निम्तिएको होइन ।

साथै नेपाल अथवा भारतमा एक–दुई पात्रविशेषको उदय भएकैले दुवैतर्फ मन भाँचिने अवस्था आएको होइन । पात्रहरू त निमित्त मात्र न हुन्, गर्ने गराउने परिस्थिति हो । तर के ख्याल रहोस् भने, परिस्थिति भनेको भाग्यवादीहरूले भन्ने गरेजस्तो पूर्वनिर्धारित अर्थात् हुनैपर्ने घटना होइन, निर्मित हो र परिस्थिति त्यस्तै बनाउँदै लैजाने काम धेरै पहिलेदेखि भएको हो । नेपाल–भारत सम्बन्धलाई भन्नलाई विशेष सम्बन्ध भने पनि विशेष सम्बन्धको मान र मर्यादामाथि निरन्तर प्रहार भएको छ, दुवैतर्फबाट । विशेष सम्बन्धमा एकअर्कामाथि प्रभाव पर्ने काम गर्दा परस्परमा नकारात्मक असर नपरोस् भनेर परामर्श गरिन्छ । प्रतिकूलताको न्यूनीकरण गरिन्छ, मिचाहा पाराले एकतर्फी गरिँदैन ।

भावतन्तु टुट्ने र टुटाउने क्रममा पछिल्लो समयमा तीव्रता आएको निश्चय नै हो तर प्रारम्भ हिजोअस्तितिरै भएको होइन । यसको पूर्वाधार तयार गर्ने काम लामो समयदेखि भइरहेको हो । विशेष गरेर आफू चीनसँग युद्ध हारेको वेदनाका कारण भारतीय नीतिनिर्माता र नीतिवेत्ताहरूले नेपाल चीनतिर ढल्किँदै छ भन्ने आशंका व्यक्त गर्न थालेदेखि नै हो । नेपाल चीनतिर ढल्किन्छ भन्ने कथ्य र भाष्यको उद्भव नै नयाँ दिल्लीमा भएको हो । अर्थात्, यो प्रक्रम सन् १९६२ देखि नै सुरु भएको हो । तात्कालिक सन्दर्भमा उनीहरूका निराधार आशंकाले पनि वास्तवमा धेरै हदसम्म प्रेरक काम गरेका छन् । साथैसाथै नेपालमा कम्युनिस्ट विचारधाराको विस्तारले पनि चीनतर्फको आकर्षण बढ्नमा सहयोग पुगेको हो । यसमा तर प्रेरक भूमिका भने भारतकै रहेको छ ।

त्यसैका फलस्वरूप नेपालमा क्रमशः चीनसँग सम्बन्ध विस्तार गर्दै लाँदा नै भारतबाट पर्न जाने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न सकिने अथवा चीनसितको सम्बन्धले निवारक (डिटरेन्ट) को काम गर्ने रहेछ भन्ने मनोविज्ञान बन्दै र आकारित हुँदै गएको हो भन्न मिल्छ । तर नेपालमा चीनको प्रभाव बढ्छ, बढ्दै छ भन्ने भारतीय भय जतिसुकै विकराल भए पनि चीनलाई भने यता धेरै पछिसम्म नेपालमाथि खासै अभिरुचि थिएन, विशेष गरेर ‘फ्री तिब्बत’ का नाममा हुने, हुन सक्ने गतिविधिबाहेक । जहाँसम्म भारतलाई हेर्ने चीनको दृष्टिकोणको प्रसंग छ, त्यसमा उसलाई नेपालका आँखा पक्कै चाहिएका थिएनन् र चाहिँदैनन् अझै पनि किनभने भारतसँग उसकै करिब ३,५०० किलोमिटरको सिमाना जोडिएको छ ।

अहिले पनि नेपाल र दक्षिण एसियाका अन्य छिमेकमा चीनको चासो र सक्रियता हरेक अर्थमा भारतसितकै उसको सम्बन्धका कारण बढेको हो । चीनको सामरिक स्वार्थको विस्तार हुनामा यस क्षेत्रमा भारतकै भूमिका कारक रहेको छ एकातिर भने, अर्कातिर उसले आफैं चीनसितको सम्बन्धमा सन्तुलन कायम गर्न नसक्दा पनि चीन दक्षिण एसिया ओर्लिएको हो । दक्षिण एसिया क्षेत्रमा भारतको नकारात्मक छवि किन र कसरी बन्यो त, यस सम्बन्धमा भारत आफैंले आत्मसमीक्षा नगर्दा आफ्नै लागि प्रतिकूल अवस्था आएको हो । नेपालमा विकसित घटनाक्रम पनि यसमा अपवाद होइन ।

होइन किनभने भूमि तयार नभई अथवा नेपाली जनमानसको एउटा उल्लेख्य समूह र पक्ष चीनसँग सघन सहकार्यका लागि तयार नभई नेपालमा चीनको चासो र सक्रियता बढ्ने कुरै थिएन । उसको पनि स्वार्थ र सुरक्षा सरोकार वृद्धि भएको छ, हिमालय क्षेत्रमा, विशेष गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङको सिग्नेचर आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभपछि । बुझ्नु के पर्छ भने, चीनले कसैलाई पनि माया किमार्थ गरेको होइन । राज्य सञ्चालनमा आआफ्नै स्वार्थ प्रमुख हुन्छ, माया त कसले कसलाई गर्छ र ! निश्चय नै, नेपालमा पनि कम्युनिस्ट पार्टीकै सरकार भएकाले भाइचारा सम्बन्धका कारण तुलनात्मक रूपमा प्रभाव विस्तारमा उसलाई सजिलो भएको छ भन्ने तर्कमा चाहिँ निश्चय नै अर्थ छ ।

नेपालमा कम्युनिस्ट पार्टीको सरकार हुँदा चीनको स्वार्थ विस्तार अलि तीव्रतापूर्वक भएको हो भन्ने अर्थ लगाउनचाहिँ नमिल्ने होइन र यो एक प्रेरक कारण पक्कै हो । पछिल्लो समयमा भारतसित दूरी तीव्रतर रूपमा बढ्नामा यो पनि एउटा कारण हो नै । यहाँ दुईतिहाइ शक्तिका साथमा कम्युनिस्टवादी वामपन्थी शक्तिको केन्द्रीय भावमा स्थापना तर भारतमा कम्युनिस्टवादी, सेक्युलरिस्टहरूको क्षय र हिन्दु प्राधान्य राजनीतिक शक्तिको सशक्त उदयका कारण संवाद झन् कठिन भएको पक्कै हो । नेपालमा कम्युनिस्टवादी वामपन्थी समूह–उपसमूहहरूले राष्ट्रवादी धार समाते आफ्नो राजनीतिक समष्टिका रूपमा र भनिरहनु नपर्ला, त्यो राष्ट्रवादको स्पेस पनि भारतले प्रदान गरेको हो । पारस्परिक विवादहरू ज्युँदै राख्ने र पछिल्लो समयमा त झन् सुझ न बुझ आन्तरिक मामिलामा हात घुसाउने एवं आफैंले विवादित क्षेत्रमा बाटो उद्घाटन गर्ने हेपाहा उद्योग गरेर ।

भारतसित फाटो फराकिलो हुनाको अर्को र महत्त्वपूर्ण कारण आजको नेपालको सत्ता र भारतीय सत्ताको पृथक् र कतै मेल नखाने अभिमुखीकरण धेरै हदसम्म जिम्मेवार छ । भनिरहनै पर्दैन, यी राजनीतिक सिद्धान्त परस्पर कतै नमिल्ने, एकले अर्कालाई देखी नसहने, आपसमा विपरीत ध्रुवी र आफैंमा विपरीतगामी हुन् । भारतमा हिन्दु राष्ट्र प्राधान्य धार्मिक श्रेष्ठता पक्षधर र यता नेपालमा अनीश्वरवादी नास्तिक सर्वहारा भनिनेहरूको अधिनायकवादी सत्ता स्थापनाको चाहना राख्ने समूह । यी दुई आफैंमा विपरीतमार्गी पात्र र प्रवृत्ति मात्र होइनन्, विचारधारा हुन् । पाठशाला हुन् । भावधारा हुन् ।

उता भारतीय राजनीतिक परिदृश्यबाट कम्युनिस्ट आकृतिहरू धमाधम लोप भइरहेकै समयमा यता नेपालमा कम्युनिस्ट पन्थी प्रवृत्ति र आकृतिहरूले दिग्विजय प्राप्त गरेका हुन् । यसबाट के देखिन्छ भने, नेपालको राजनीतिक संकथनले भारतले भन्दा निकै भिन्न बाटो पहिल्याइरहेको छ, रोजिरहेको छ । भारतमा नेपालमा भइरहेको विम्ब प्रतिस्थापनलाई बुझेर व्यवहार गर्ने आवश्यकता महसुस गरिएको पाइँदैन, विशेष गरेर त्यहाँको अहिलेको सत्तापक्षले । साथै यस्तो किन भयो अथवा भइरहेको छ भन्नेबारे, यता नेपालतर्फ न गम्भीरतापूर्वक बुझ्ने, अध्ययन गर्ने काम भएको छ, न त अहिलेको भारतीय बौद्धिक समुदायले यस सम्बन्धमा अपूर्वाग्रही र सहानुभूतिपूर्वक अध्ययन गर्नु आवश्यक ठानेको छ । नेपालबारे भारतको पछिल्लो पुस्ताको ज्ञान एकदमै निम्छरो छ, बरु उल्टै त्यहाँ पनि नेपाली मनोभावको पूरै अवमूल्यन गर्ने समूहहरूको बोलबाला बढ्दो छ ।

नेपाली कांग्रेसका नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको तत्कालीन भारतका राजनीतिक नेता–नेत्रीवृन्दसँग मात्र होइन कि चिन्तन र सैद्धान्तिक भावधारा नै जोडिएको थियो, पारिवारिक सम्बन्धै गाँसिएको थियो । त्यति मात्र होइन, कम्युनिस्ट पंक्तिका पुष्पलाल र मनमोहन अधिकारी पनि भारतका मूलधारे राजनीतिक–सामाजिक अन्तरक्रियाबाट टाढा थिएनन्, उनीहरूलाई उताकाले पनि आदरणीयका रूपमा चिन्थे र लिन्थे । तर आज नेपालमा उताको राजनीतिक मनोभाव बुझ्ने पात्रहरू राजनीतिक केन्द्रीय भावमा छैनन् र त्यस्तै अवस्था उताको पनि छ ।

यस्तो असजिलो अवस्था पुस्तान्तरणका कारण मात्र आएको नभएर राजनीतिक–सैद्धान्तिक सामीप्य नै स्थापित हुन नसक्ने आन्तरिक अभिमुखीकरण र जीवन दर्शनका कारणसमेत हो भन्दा अन्यथा हुँदैन । किनभने कम्युनिस्ट आकृतिका भाव विम्बहरू उताको आजको हिन्दु केन्द्रीयतामा आधारित सोच भएको शासनाधिकारी–राजनीतिज्ञले बुझ्दैन र बुझ्ने कुरा पनि भएन । त्यस्तै धार्मिक–सांस्कृतिक सामीप्यलाई महत्त्व दिने आजका भारतका सत्ताधारीको संवाद शैली नास्तिक र द्वन्द्वात्मक भौतिकवादी कम्युनिस्ट पाठशालामा प्रशिक्षितले बुझ्ने प्रश्नै उठ्दैन । यस्तो अवस्थामा हार्दिक संवाद नै हुन सक्दैन । फलस्वरूप फेरिँदो छ परिस्थिति, बदलिँदो छ परिदृश्य ।

प्रकाशित : असार १२, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?