कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमरेड, सास फेर्न गाह्रो भो !

चौरजहारी घटनाले सबैलाई स्तब्ध पारिरहेको छ र झन् स्तब्ध बनाइरहेको छ नेतृत्वमा बस्ने मान्छेको अभिव्यक्तिले ।
नारायणी देवकोटा

मैले सास फेर्न सकिनँ ! अमेरिकामा मारिएका अफ्रिकी मूलका जर्ज फ्ल्वोइडले प्रहरीद्वारा आफ्नो हत्या हुँदै गर्दा बोलेका शब्द हुन् यी ।

कमरेड, सास फेर्न गाह्रो भो !

उनको हत्याविरुद्ध यति बेला अमेरिकाको ह्वाइटहाउसबाहिर हजारौं मानिस मानवाधिकारका पक्षमा शान्तिपूर्ण नारा–जुलुस गरिरहेका छन् । र, संसारका धेरै ठाउँमा उक्त घटनाको विरोध र मानवाधिकारका पक्षमा मानिस सडकमा झरेका छन् । यही समयमा नेपालको पश्चिम रुकुमको चौरजहारीमा छ युवकको बीभत्स हत्या भएको छ । रुकुममा भएको बीभत्स हत्याको घटनापछिका केही दिन म ट्वाल्ल परिरहें । लेख्न बस्दा मेरो घाँटीमा केके अड्केजस्तो, टाउको भारीभारी भएजस्तो लागिरह्यो । कैयौंपटक लेख्न चाहे पनि मेरा हात यसै अड्किरहे, मन हो कि दिमाग कतै रोकिइरह्यो, अनलाइनबाट पढाउनुपर्ने कक्षामा उपस्थित हुन पनि सकस भइरह्यो । मैलेजस्तै धेरै मानिसले आफूलाई रुकुमको घटनापछि ट्वाल्ल परेको, सास फेर्न गाह्रो भएको, हरेक समाचारपछि खुइय्य गरेको अवस्थामा पाउनुभयो होला ।

‘जन्मले कोही मानिस महान् र तुच्छ हुँदैन ।’ यो प्रगतिशील विचार हो मानवाधिकारको घोषणापत्रमा लेखिएको र सबै देशलाई मान्न बाध्यकारी भएको । त्योभन्दा एक शताब्दीअगाडि नै कार्ल मार्क्सले भनेका थिए, ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।’ कार्ल मार्क्सको यो भनाइ नारा मात्रै होइन आत्मा हो, कम्युनिस्ट व्यक्ति र राजनीति दुवैका लागि । नेपालमा भएको दसवर्षे जनयुद्ध झन् मुखर भयो यो नारामा र केन्द्रमा थिए रोल्पा–रुकुम । आम मानिसले बुझे— माओवादी अर्थात् कम्युनिस्टहरू जातभातको कुरा मान्दैनन्, जसरी बुझिन् नवराज विककी सत्र वर्षीया प्रेमिकाले । हामी सबै हरेक जातका खोल भएका मानिससँग प्रेम गर्न स्वतन्त्र छौं । जात त खोल मात्रै हो मानव समाजले लगाइदिएको, गुदी मान्छे एकै हो भनेर बुझे नवराज र उनका साथीहरूले सायद ।

यहीँनिर मलाई भाग्यमा विश्वस लाग्दैन (कम्युनिस्ट राजनीतिले नै हो मलाई भाग्यमा विश्वास नगर्न सिकाएको) । लाग्ने भए ‘दुर्भाग्य’ शब्द उचित थियो लेख्नका लागि, ‘संयोग’ भन्दा । संयोगले यति बेला सरकार कम्युनिस्टहरूको छ, त्यो पनि शक्तिशाली दुईतिहाइको । र, नवराजकी प्रेमिकाका आफन्त गाउँका वडाध्यक्ष छन्, माओवादी पार्टीको टिकटमा जितेका ।

नवराज र उनका साथीहरूको हत्या समानताविरुद्ध उभिएको तत्कालीन माओवादी जनयुद्धको जगमा भयो र हत्यामा वडाध्यक्षको संलग्नताको समाचारले मनै थरर्र भइरह्यो । त्यसलगत्तै संसद्मा दलित सांसदहरूले उक्त घटनामा बोल्नका लागि समय मागेपछि त्यहाँका सांसदले लिखित दस्ताबेज पढे, ‘दलितका कारणले भएको घटना’ भन्दै । उनको कुरा सुन्दा लाग्थ्यो— उक्त मानवाधिकारविरुद्धको घटना दलित परिवारमा नवराज जन्मेका कारणले भएको थियो । त्यसलाई तन्काउँदै लैजाँदा सामाजिक सञ्जालमा लेखिएका ‘दलित भएर ठकुरीकी छोरी ताक्ने’ वा ‘दलित भएर आफ्नो थान्कामा नबस्ने’ जस्तै थियो । संयोगवश, त्यसरी बोल्ने व्यक्ति पनि माओवादीका तर्फबाट निर्वाचित र जनयुद्धका एक नेता थिए । पत्याउनै गाह्रो थियो, जनयुद्ध हाँकेर यहाँसम्म आइपुगेको एउटा नेताले आफ्नो लिखित वक्तव्य यसरी पढ्न सक्छ ! त्यसैले त हामीमध्ये धेरैले जनार्दन शर्माको भाषण दोहोर्‍याई–तेहर्‍याई सुन्यौं । र, अहिलेको सरकारप्रति नरम धारणा राख्ने धेरै जना स्तब्ध भयौं ।

स्तब्ध हुने सिलसिला रोकिएको छैन । जेठ २० गते संसद्को कानुन, न्याय तथा मानवाधिकार समितिमा उठेका सवाललाई सम्बोधन गर्दै माओवादी जनयुद्ध हाँकेका अर्का नेता तथा वर्तमान गृहमन्त्री रामबहादुर थापाले ‘अमेरिकामा पनि विभेद छ, अब्राहम लिंकनको पनि हत्या भएको थियो’ भन्न भ्याए । उनका कुरा सुन्दा लाग्छ, ‘विभेद र हत्या भनेको सामान्य हो, जहाँ पनि हुन्छ’ भन्नेमा उनी ढुक्क रहेछन् । उनको उक्त भनाइ अनलाइनमा पढ्दै गर्दा मैले झलक्क पूर्वगृहमन्त्री कमल थापालाई सम्झें । लोकतन्त्रको आन्दोलनमा मानिसहरू सडकमा ढल्दै गर्दा तत्कालीन गृहमन्त्री कमल थापाले दिएको अभिव्यक्ति र रामबहादुर थापाको अहिले अभिव्यक्ति सारमा उस्तै लाग्यो । अमेरिकामा काला जातिप्रति विभेद र हत्या हुनु जस्तै नेपालमा दलितमाथि विभेद र हत्या हुनु भए कमल थापा गृहमन्त्री हुनु अनि रामबहादुर थापा वा जनार्दन शर्मा गृहमन्त्री हुनुमा के नै फरक छ र !

कक्षामा यति नै बेला सांस्कृतिक राजनीतिमाथि पढाइ भइरहेको छ । विद्यार्थी प्रश्न गर्छन्, ‘माओवादीका लागि त दलितको मुद्दा कल्चरल पोलिटिक्स मात्रै रैछ है, म्याम ?’ विद्यार्थीका प्रश्न सुनेर मेरो बोली अड्किन्छ । ‘हो’ भनूँ भने, ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भन्ने कुरा फगत एउटा नारा मात्रै थिएन माओवादीका लागि पनि र अरू लोकतन्त्रका लागि लड्नेका लागि पनि । ‘हो’ भनूँ भने, समतामूलक समाजका लागि सहिद भएका मान्छेप्रति अपमान हुन्छ । ‘होइन’ भनूँ भने, जनार्दन शर्मा र रामबहादुर थापाका अभिव्यक्ति सुन्दा लाग्छ— उक्त नारा उनीहरूका लागि मन्त्री बन्ने ‘लासको लिस्नो’ भन्दा बढी थिएन । ‘तिमीहरूलाई कस्तो लाग्छ ?’ म विद्यार्थीको प्रश्न विद्यार्थीतर्फ नै फाल्छु ।

देश छुवाछूतमुक्त भएको चौध वर्षको उपलक्ष्यमा सरकारका महान्यायाधिवक्ताले दिएको अभिव्यक्तिले अब उक्त घटना रफादफा गराउन खोजिएको स्पष्ट पार्छ । नवराज र उनका साथीहरूलाई कुटीकुटी मारेर नदीमा फालिएको थियो भन्ने कुरा अब घामजत्तिकै छर्लंग छ । नवराज दलित भए पनि उनका सबै साथी दलित थिएनन् । तर, उनीहरू मारिनुका पछि समाजमा रहेको जातीय विभेदको दम्भ थियो, ‘दलित भएर ठकुरी केटी ताक्ने’ भन्ने, जसलाई माओवादीले नै उच्चजातीय अहंकार भन्ने गरेको थियो । उक्त उच्चजातीय अहंकारले भरिएका ‘विष्ट’ हरूले मार्दै गर्दा नवराज र उनका साथीहरूले थाहा छैन केके भने हुन् ! माफी मागे होलान्, ‘अब आउँदैनौं’, ‘गुहार’, ‘मरें’, ‘सास फेर्न गाह्रो भो’, ‘दुख्यो’... यस्तै त भने होलान् ! तर कसैले गुहार लगाउन सकेनन् । जसको नेतृत्व भयो, उसैको निर्देशन मान्ने प्रहरीले पनि विवेक प्रयोग गर्न सकेन ।

चौरजहारीमा भएको घटनाले सबैलाई स्तब्ध पारिरहेको छ र झन् स्तब्ध बनाइरहेको छ नेतृत्वमा बस्ने मान्छेको अभिव्यक्तिले । मेरो जन्म र प्रेम संयोगले दलित परिवारमा नभएका कारण मैले जातीय विभेद खेप्नुपरेन । तर, ‘विष्ट’ का सन्तानसँग प्रेम गरेकै नाममा हत्या हुने घटनाका समाचारले मात्रै पनि मेरो घाँटीमा केही अड्किए जस्तो, दिमाग रोकिएजस्तो भएको छ भने दलितसँग प्रेम गरेका अरू ‘विष्ट’ का सन्तान र दलित युवालाई यो समाचारले कस्तो असर पारेको होला ? बढ्दै गरेको आत्महत्यादरमा यसको प्रभाव कस्तो होला ? यत्रो वर्ष लगाएर बनाएको राजनीतिक नेतृत्वप्रतिको विश्वास आम मान्छेबाट उठेपछि के होला ? रुकुम घटनामा हुने न्याय वा अन्यायले तत्कालीन माओवादी नेतृत्वले गरेको जनयुद्धमा दलितको मुद्दा साँच्चिकै समाज परिवर्तनको मुद्दा थियो कि पदमा पुग्न दुरुपयोग गरिएको सांस्कृतिक राजनीति मात्रै थियो भनेर पुष्टि गर्नेछ ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?