१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

को रच्दै छ ‘मनोहर कहानियाँ’ ?

अधिकांश दलित संगठन सत्ताधारीका हातमा छन् । संसद्भित्र सुनिने आलंकारिक प्रतिकारबाहेक तिनले के–कति हस्तक्षेप गर्न सक्लान्, प्रतीक्षाकै विषय हो । तर, तिनमाथि अघोषित ह्विपले अंकुश लगाइदिने प्रस्टै छ ।
सरिता तिवारी

जर्ज फ्ल्वोइडको हत्यापछि भएका प्रतिरोधहरू अमेरिकाबाट अफ्रिका, युरोप हुँदै विश्वव्यापी बन्ने क्रम बढ्दो छ । मृत्युअघि जीवनका लागि उनले गरेको गुहार ‘आई कान्ट ब्रिद’ यो समयकै ‘सिग्नेचर ट्युन’ बनेको छ ।

को रच्दै छ ‘मनोहर कहानियाँ’ ?

फ्ल्वोइडको हत्या गोरा प्रभुत्व र हिंसाको लामो डहन र असहनीय आक्रोशको यस्तो उत्तोलक बन्यो, जसले न्यायका पक्षपाती काला–गोरा धेरैलाई फेरि एकैसाथ एक ठाउँमा उभ्याएको छ । आन्दोलनकै क्रममा एउटा दृश्य यस्तो पनि देखियो, जसमा काला–गोरा–गहुँगोरा युवाहरूको मिश्रित भीडले अठारौं शताब्दीका बेलायती दास व्यापारी एडवर्ड कल्स्टनको सालिक ढाल्दै छ । त्यसमाथि रङ छ्याप्दै छ । त्यसको घाँटीमा घुँडाले थिच्दै छ (ठीक त्यसरी नै जसरी गोरा पुलिसले फ्ल्वोइडको घाँटी थिचेका थिए) र आखिरमा त्यसलाई नजिकैको नदीमा फ्याँक्दै छ ।

यसलाई प्रतीकात्मक रूपले बुझ्ने हो भने, अबको पुस्ता कुनै पनि विभेदको अस्तित्व बाँकी राख्न चाहन्न । अबको पुस्ता वर्ण र जातजन्य शासक र शासितको चक्रव्यूह तोडेर मानिस मात्र हुन चाहन्छ । स्वाभाविक रहर जाग्छ, यस्तै मिल्दोजुल्दो दृश्य नेपालमा पनि देख्ने । जात व्यवस्थाले बनेको तलैतला भएको सामाजिक संरचनालाई एडवर्ड कल्स्टनको सालिकझैं धूलिसात् पारेर फ्याँक्ने । त्यो पनि आजै, हाम्रै समयमा । हाम्रै हातले । देशमा वर्ग, जातलगायत कुनै विभेद नमान्ने कथित कम्युनिस्ट पार्टीको ‘राज’ छ । त्यसो गर्नेलाई दण्ड दिने संविधान र कानुन पनि छ । तर त्यहीँभित्रै पार्टी र कानुनका आधारभूत विचारको धज्जी उडाउने बोली र व्यवहार नै प्रभुत्वमा छ । यो देखेर ‘न्याय’ शब्द आफैं चित खाँदो हो ! राज्यका संयन्त्रहरू उल्टै पीडककै बन्धक बनिरहेका दृश्य सामान्य भइसके । तर असामान्य जे छ त्यो हो— नयाँ पुस्ताका ताजाताजा मान्छेको दिमागमा पनि भरिएको शासकीय विभेदकारी चेतना । त्यो हो— सत्य र असत्य खुट्याउनुपर्ने ‘बुद्धिजीवी’ का समेत सत्ताको मण्डीमा बेचिने वाणी । त्यो हो— एकैसाथ सोह्रौं र एक्काइसौं शताब्दीको दोहोरो चेतनामा बाँच्नुपर्ने उकुसमुकुस दुःख ।

चिन्तक भीम राव अम्बेडकर ‘एनिहिलेसन अफ कास्ट’ पुस्तकमा लेख्छन्— ‘जात’ दिमागमा छ । चेतनाको संरचनामा छ । ‘जात’ सँगै शासक र शासित हुँदै यहाँसम्म आएको समाजमा तपाईं कुनै नयाँ चीज बनाउन सक्नुहुन्न, जबसम्म जातको तहगत संरचना ध्वस्त पार्न सक्नुहुन्न । पुरानो चेतनाको जगमाथि उभ्याइने जतिसुकै नयाँ स्थापत्य किन नहोस्, त्यो उत्तिखेरै चर्किन थाल्छ र भत्किन्छ ।

हाम्रा आन्दोलन र क्रान्तिको आधारभूत कमजोरी पनि यही थियो । नेपालमा आज मनुवादी कम्युनिस्टको जुन बुख्याँचा शासन छ, त्यसको दुःखान्त नियति यसैभित्र छ । यत्रो परिवर्तनपछि स्थापित सत्तालाई जात व्यवस्था भत्काउने र आफ्नो–अर्को नभनी न्याय गर्ने प्रणभन्दा पनि घटनालाई कार्पेटमुनि छोपेर सामान्यीकरण गर्ने चिन्ता छ । उस्तै प्रकृतिका घटना अरू पनि छन्, तर रुकुम हत्याकाण्ड हाम्रो सामूहिक विवेकको हविगत हेर्ने ऐना बनेको छ । दुःखको कुरा, शक्तिकेन्द्रलाई खुसी पार्न बुद्धिजीवी भन्नेहरू नै विवेकको हाटमा खुद्रा पसल थाप्ने भएका छन् । यसको निर्मम भर्त्सना जरुरी छ ।

०००

कसैले पठायो इनबक्समा, नाम चलेका ‘वरिष्ठ पत्रकार’ सँग गरिएको अडियो वार्ता । कुराकानीमा उनी भन्दै छन्, ‘रुकुम घटनालाई लिएर सत्यकथा र मनोहर कहानियाँजस्ता कथा बुनिए ।’ उनी भन्दै छन्, ‘घटनामा सञ्चारमाध्यमले खेले । रुकुममा जातीय विभेदको समस्या छैन । यो त छिमेकी–छिमेकीबीचको मनमुटावको नतिजा हो । केटा र केटीबीचको असमझदारीले गर्दा भएको हो । यो नरसंहार अर्थात् जेनोसाइड पनि होइन । जेनोसाइड हुन केके हुनुपर्छ, थाहै नभई जेनोसाइड भयो भनेर अतिरञ्जित गर्ने ?’ वार्ताको बिट मार्ने बेला उनले भनेका छन्, ‘हिजो मात्रै रुकुम आएँ, अब जाजरकोट जान्छु ।’

उनको यो कस्तो खाले ‘स्थलगत रिपोर्ट’ हो, जसमा प्रहरी, वकिल, न्यायाधीश जम्मै उनी एक्लै भएका छन् ! उनले भनेका छन्, ‘समाचारमा दुई समूहबीच भएको झगडामा छ जना मानिस भेरी नदीमा परेर मरे भन्ने लेखिनुपर्थ्यो । यो प्रकरणमा (अन्तरजातीय) प्रेम र विवाहको इस्यु ल्याइनु हुन्थेन, त्यति धेरै जना हूल बाँधेर आएकाले भएको घटना भनिनुपर्थ्यो ।’

यो अभिव्यक्ति मुद्दाको एक पक्षधर, सामान्य व्यक्तिको पूर्वाग्रह होइन, देशका वरिष्ठ भनिएका पत्रकारको बोली हो । घटनाको पीडित पक्षलाई भेट्न भेरीपारि जाजरकोटसम्म पुग्ने धैर्यसम्म नराखी, घाइते, मृतकका आफन्त, गाउँले कसैसँग एक आखर कुरो नबुझी उनले एकतर्फी रूपमा भन्दिए, ‘यो टिनेजरको झगडा हो । यसलाई सामान्यीकरण गरिनुपर्छ ।’ कुनै (पाको) पत्रकारले यथातथ्य प्रमाण खोज्नु र भेट्टाउनुअगावै यस्ता कथ्य र टिप्पणी सार्वजनिक गर्नु कति जायज हो ? विवेकी मानिसहरूले सोचून् ।

त्यसैमा थपेर उनले ‘सञ्चारमाध्यमले इभिडेन्सलाई ओभरल्याप गरे’ भन्नुको अर्थ के हो ? त्यसै हो भने पनि यो ‘ओभरल्यापिङ’ को खेलमा उनी स्वयम् कहाँनेर उभिन पुगेका छन् ? यसरी उभिन पुग्नुमा उनको स्वभावगत अपरिपक्वता अथवा उच्चजातीय पूर्वाग्रह मात्रै छ या सत्ताधारी नेकपाभित्र उत्कर्षमा रहेको सांस्कृतिक नग्नताको बचाउ गर्ने बचकाना हर्कत पनि लुकेको छ ? अथवा दुवै ?

रुकुम पश्चिमका सांसद जनार्दन शर्माले संसद्मा जे–जस्तो रिपोर्ट गरे, गृहमन्त्री रामबहादुर थापाले जसरी रुकुम घटनाजस्ता विषयलाई ‘स्वाभाविक सामाजिक प्रक्रिया’ को लेबल लगाइदिए, महान्यायाधिवक्ता अग्नि खरेलले ‘विनम्रतापूर्वक’ त्यो घटनामाथि आएका समाचार ‘पुष्टि हुनेवाला छैनन्’ भनेर जे–जसरी भविष्यवाणी गरे, ठीक त्यही शैली र लय भेटिने ‘वरिष्ठ पत्रकार’ को बोलीले मानिसहरू झस्किएका छन् ।

हुन त लेखक, पत्रकार, बुद्धिजीवीहरू नै सत्ता र शक्तिकेन्द्रको प्रभाव र अवशिष्टमा बिक्छन् । त्यसरी को किन बिक्छन्, तिनका भिन्दै अन्तर्कथा हुन सक्लान्, तर यो वर्गलाई किन्नु आफूलाई चाहिने मिथ्या सत्य किन्नु हो । समाचार र कथित ‘विश्लेषण’ को मण्डीमा मिथ्या–सत्यको खपत कति हुन्छ, सत्ताको प्रभुता त्यति नै लम्बिन सक्छ । त्यसैले सत्ता आफ्नो रक्षाकवचका रूपमा यस्तै वर्गलाई किन्ने र संरक्षण गर्ने ताकमा हुन्छ । किनभने सत्तालाई हत्तपत्त किसान, मजदुर र आम सर्वसाधारणको विवेक किन्नुपर्ने जरुरत परिहाल्दैन । त्यसैले कतिपय अर्थमा बुद्धिजीवी किनिन लायक, उपयोग र खपतलायक पात्र बन्छन् ।

हुन सक्छ, उनको सोच्ने शैली पहिल्यैदेखि जातवादी नै होस् र अहिले उनी शक्तिकेन्द्रका लागि फिट हुने उपयुक्त बुद्धिजीवीका रूपमा ऐन–मौकामा उपयोग भएका होऊन्, तर जसलाई लक्ष्य गरेर उनी सत्यकथा र मनोहर कहानियाँका विम्ब जोड्दै छन्, यो उनी आफैंतिर सोझिएको छ । समाचारमा लेख्नुपर्ने भाषाको निर्देश गर्दै जसरी उनले ‘दुई समूहबीचको झगडामा ६ जना मान्छे भेरीमा परेर मरे’ लेख्नुपर्ने जिकिर गरेका छन्, त्यो पीडक पक्षको संरक्षणमा सुरुदेखि नै रचिएको एउटा तयारी कथा हो । काठमाडौंदेखि रुकुम पुगेर उनले त्यही कथाको वैधानिकताको आग्रह गरेका छन् । त्यसो गर्न बूढो हड्डी लिएर रुकुम पुग्ने दुःख गर्नुपर्दैनथ्यो होला । रोचक त के भने, यसो भन्दा उनले ‘विवेक चलमलाउने गरी’ अघि बढ्ने अपिल गर्न भने बिर्सेका छैनन् ।

विवेकको मण्डी थापेर विवेककै हवाला दिनु दिगमिगलाग्दो छ । यो सामान्य कुरा हुन सक्दैन ।

०००

एउटा निश्चित तथ्य के हो भने, जातको पर्खाल र दम्भ हुन्नथ्यो भने अपराधको त्यो चूडान्त घटित हुन्नथ्यो । यसमा किन्तु–परन्तु गर्दै जिब्रो चपाउने कुनै पनि स्पष्टीकरण जेठ १० को उक्त हत्याकाण्डभन्दा पनि जघन्य अपराध हो । यो प्रकरणमा दाउपेच र षड्यन्त्र खेल्ने कसैले पनि बुझ्नुपर्छ शक्ति र साख बचाउने हर्कतमा जे–जे गरिनेछ त्यसले एकएक गर्दै शक्तिकेन्द्रका पात्रहरूलाई झन्झन् कुरूप देखाउँदै लैजाने मात्रै हो । यो प्रकरणमा जतिसक्दो इमानदार बन्न सक्नुमै सरकार र सत्तासीन पार्टीको हित छ । यो क्षणिक आवेगले एक व्यक्तिमाथि भवितव्य घटेको विषय होइन, सोचीसम्झी निहत्था ६–६ युवकमाथि गरिएको क्रूर हत्याकाण्ड हो । यसको पृष्ठभूमिमा प्रेम र विवाह छ भन्ने कुरासँगै घटनाको उत्प्रेरक शासक जातीय दम्भको हुंकार हो भन्ने तथ्य बिर्सन सम्भव छैन ।

स्थलगत अनुसन्धान क्रममा पुगिजान्ने लेखक साथीहरू सुनाउँछन्, ‘सत्य र झुटका बीचमा भेरी नदीले साँध लगाइदिएको छ । नदीवारि जाजरकोटको ढुंगामाटोले समेत भन्छ, कथित तल्लो जात भनेरै गरिएको यो क्रूरताको निसाफ हुनैपर्छ । नदीपारि रुकुम पश्चिमको ढुंगामाटोले पनि भन्छ, जाति–सातीको कुरा होइन, ठिटाहरू भाग्ने क्रममा भेरीमा फाल हालेका हुन् ।’

ढुंगामाटोले पनि बोल्ने कुराको प्रतीकात्मक अर्थ हो, यस घटनापछि भेरीवारि र पारिका मान्छेको मुख मात्रै होइन, शक्तिसंघर्षको भाषा बोलेको छ । जनयुद्ध र आमूल परिवर्तन भावनामाथि प्रतिगमन गराउन पुराना थुम्के राज्यका घरानाको धङधङी र शासकीय मनोविज्ञान कति जिम्मेवार छ कुन्नि तर त्योभन्दा बढी जिम्मेवारचाहिँ राज्यले निरन्तरता दिँदै आएको दण्डहीनता र अपराधीको संरक्षण गर्ने परिपाटी नै छ । यो त प्रस्ट छ । यस्तो ठाउँ र अवस्थामा ‘दलित’ भएर बाँच्नु र ठकुरी राजखलककी छोरीसँग प्रेम गरेर विवाहसमेत गर्न खोजेबापत बदलामा मृत्युदान पाउनुमा सबैभन्दा ठूलो भूमिका जात व्यवस्थाकै छ । यो सत्यलाई कुनै पनि बहाना र शब्दले खारेज गर्न सकिन्न । यसलाई द्वैध अर्थ लाग्ने भाषाको लेपन र विषयान्तर गर्ने चलखेल गरे त्यो सत्ताधारीलाई धेरै महँगो पर्ने स्वतःसिद्ध छ ।

त्यस अर्थमा पीडकलाई उन्मुक्ति दिने कुनै पनि भाषाको गन्ध, रूप र प्रवृत्ति कहीँ पनि बसेर चिन्न सकिन्छ । मजुवापोखरी (माडी), उल्टाखाम (कञ्चनपुर) र धादिङ लगायतका हत्यामा पीडकको संरक्षण गर्ने मिथ्या–सत्यको फर्मुला यहाँ लागू हुन सक्दैन । किनभने यसमा तेह्र जीवित साक्षी छन् र ती भेरी नदीझैं चुपचाप छैनन् ।

स्थानीय भूराजनीति र पूर्वमाओवादीभित्रका दुई उपगुटका खेलाडी जनार्दन शर्मा र शक्ति बस्नेतका आपसी दाउपेचबारे जानकार एक स्थानीय साथी भन्छन्, ‘यतिखेर एउटाले अर्कोको हैसियत देखाउने खेल खेलिँदै छ । एउटा पीडित पक्षतिर र अर्को पीडक पक्षतिर उभिएर रक्षात्मक र प्रतिकारात्मक दुवै भएजस्तो देखिन्छ तर अन्ततः घटनामाथि स्थानीय शक्ति–सत्तादेखि केन्द्रसम्मको अनुकूल न्यारेटिभ सदर गर्ने कुरामा उनीहरूका बीच सम्झौता हुने नै छ । आखिरमा यो परिस्थितिसँग लड्ने जिम्मा पीडित र आम न्यायप्रेमीकै काँधमा आउनेछ ।’

हुन पनि अधिकांश दलित संगठन सत्ताधारीका हातमा छन् । संसद्भित्र सुनिने आलंकारिक प्रतिकारबाहेक तिनले के–कति हस्तक्षेप गर्न सक्लान्, प्रतीक्षाकै विषय हो । तर, तिनमाथि सत्ताको दबाब र अघोषित ह्वीपले अंकुश लगाइदिने प्रस्टै छ । त्यसो हुँदा यस घटनाको प्रतिकारमा उभिने भनेका आम न्यायप्रेमी जनता र जनपक्षीय लेखक, पत्रकार, बुद्धिजीवी नै हुन् ।

यतिखेर, निरन्तर खबरदारीको खाँचो छ, कसले कसलाई रिझाउन ‘मनोहर कहानियाँ’ रच्दै छ ? को कहाँ उभिएर मिथ्या–सत्य बुन्दै छ ?

प्रकाशित : जेष्ठ २७, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?