कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मानव सभ्यतामाथि बजेको 'साइरन’ !

मान्छे नामक जातले स्वयं ‘साइबरनेटिक जीव’ को आविष्कारमा आफ्नो इतिहासको नयाँ अध्यायको मूल्य खोजी गरिरहँदा ‘जैविक प्रविधि’ ले उसको नयाँ सभ्यताको ध्वंसात्मक परिचय निर्माण गर्दै छ । यसैबीच यो बिर्सनु हुँदैन कि मानवीय इतिहास तीन तहको क्रान्तिद्वारा तिखारिएको बलियो इतिहास हो ।
सुरेश प्राञ्‍जली

यतिबेला मानवजातिले भोगेको ‘कोभिड-१९’ सिर्जित महाव्याधिको चुनौती सम्भवत: यो पुस्ताले भोग्दै गरेको वा भोग्नुपर्ने जटिलमध्ये महाजटिल चुनौती हो । विश्वव्यापीकरणले ‘एक’ बनाएको सिंगो विश्व आज चिरैचिरामा विभाजन हुँदै गरेको दृश्य पक्कै पनि एउटा डरलाग्दो र अकल्पनीय इतिहासको चित्र कोरिँदै गरेको संकेत हो ।

मानव सभ्यतामाथि बजेको 'साइरन’ !

आजको मान्छे ‘कोभिड-१९’ जस्ता भाइरससित मुकाबिला गर्न हरतरहले सक्षम हुँदाहुँदै पनि ऊ नाकामयावी हुनु भनेको उसले सभ्यता अन्त्यको वेदीमा चढ्न नहच्किनु हो ।

एक जना इजरायली प्राज्ञ युभल नोआ हरारीले लेखेका तीन किताब : ‘होमो स्यापियन्स’, ‘होमो ड्युज’ र ‘ट्वाइन्टी वन लेसन्स् फर ट्वाइन्टी फर्स्ट सेन्चुरी’ मा इतिहास र जीव विज्ञानबीच सम्बन्धको चुरो पहिल्याउन प्रस्तुत गरेका तथ्यहरूले इतिहासको निर्दिष्ट गति र दिशा कस्तो होला भन्ने सवालमा तार्किक बहस गरेका छन् । खासमा, मानव मात्रै त्यस्तो प्रजाति हो, जसले आजसम्मको सबैभन्दा लामो बौद्धिक र सभ्य प्रजातीय इतिहास बोकेको छ । मानिस नै हो, आफ्नो झूटलाई सत्यको खोल ओढाउन सक्ने र सत्यलाई झूटको रोगन दलेर दरुस्तै झूट बनाउन सक्ने ‘विद्वत्’ प्राणी । चिम्पान्जीलगायतका अन्य प्राणी वा जीव आफ्नै प्रजातिलाई भ्रममा पार्न सक्ने क्षमता राख्दैनन्, होइन भने अन्य जीव वा किटपतंगले पनि मानिस नामको जातले जत्तिकै पृथ्वीमा ‘बौद्धिक आतंक’ मच्चाइसक्नुपर्ने हो ।

बौद्धिक आतंकको त्रासदी

मानिसको आफ्नै दिमागी आविष्कारको उपज हो, प्रविधि । यसैको सहायताले मान्छेले जैविक हतियारको निर्माणमा पनि अग्रसरता देखायो । भलै, पछिल्लो विश्वका शक्तिकेन्द्रले जैविक हतियारको निमार्णमा एकअर्कालाई दोषारोपण गर्दै गर्दा फैलिएको महाव्याधिको सन्दर्भले के प्रमाणित गरिदिएको छ भने प्रविधिको निरन्तर विकासले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ को तहसम्मको ‘उल्लेख्य’ उपलब्धि हासिल गरेको मानिसले आफ्नो सभ्यताको उचाइचाहिँ ऊ आफैंले घटाउँदै छ । ‘आर्टिफिसियल इन्टिलिजेन्स’ ले पनि अन्तत: यस्तो डरलाग्दो स्वरूप धारण गर्नेछ कि आजको सिर्जनशील मानवलाई नै प्रतिस्थापनको तहमा पुर्‍याउनेछ १ यसरी हेर्‍यौं भने आज मानवीय सभ्यतामाथि खतरा निम्त्याउने कारक मान्छेकै ‘दिमाग’ बन्न पुगेको छ । विश्वको मुहार सिँगार्ने मात्रै होइन, ध्वस्त पार्न सक्ने अस्त्र पनि मान्छे नामक जातको दिमागी यन्त्रले उत्पादन गरेको ‘प्रयोगशालाको ज्ञान’ बन्नेछ भनेर ठोकुवा गर्ने पर्याप्त आधारसमेत निर्माण भइसके । ज्ञानले रचनात्मक तह पार गरिसकेपछि ‘ध्वंसात्मक’ गुण अँगाल्न पुग्दो रैछ भन्ने निष्कर्ष निकाले पनि भइसकेको छ । शक्तिको गद्दीमा राज गर्ने लालसामा मान्छे आज आफ्नै सभ्यताको तिलाञ्जली दिन पनि राजी छ । मान्छेले आज निर्माण गर्न खाजेको ‘सत्य’ खासमा सत्य बन्न सकेको रहेनछ । त्यो त केबल ‘निर्मित सत्य’ मात्रै बनेको रहेछ, जसले दानवीय रूपसमेत धारण गरेको रहेछ ।

त्यसो त, आजको भूमण्डलीकृत विश्वमा जे जति राजनीतिक सुधार, सांस्कृतिक जागरण र आर्थिक उपार्जन भएका छन् तिनले आफ्नो पछिल्तिर दिमागी ज्ञानकै टेको पाएका छन् । ज्ञानकै अस्त्रले नियन्त्रित विश्वमा अबको केही दशकमा मानिसको सामाजिक, आर्थिक तथा सांस्कृतिक मूल्य आजको तुलनामा सयौं गुणा कम हुनेछ ।

‘टेक्नो-इन्जिनियरिङ’ ले मानवीय गुण ह्रासोन्मुख बनाउँदै गर्दा सभ्यताको बुई चढिसकेको मानिसलाई भने ‘अमरत्व’ प्राप्त गर्ने धङधङीले समातेको छ । यही होडमा मान्छे प्रविधिमाथि यतिबिघ्न विश्वस्त बन्न पुगेको छ कि एक दिन उसको गलो ङ्याक्ने अरू केही नभएर त्यही प्रविधि नै हुनेछ भन्ने अड्कलसम्म पाउन सकेको छैन । ‘ट्वाइन्टी वन लेसन्स फर ट्वाइन्टी फर्स्ट सेन्चुरी’ मा हरारीको तर्क छ, २१ औं शताब्दीमा ‘डाटा’ ले जल, जमिन र यान्त्रिक उपकरणलाई समेत ओझेलमा पारिदिनेछ । परिष्कृत प्रविधिको माध्यमबाट आर्जित यही ‘डाटा’ आजको राजनीतिक शक्ति आर्जनको सबैभन्दा भरपर्दो औजार र रणनीतिक अंकुसे साबित भएको छ । यसको सही उपयोगको सुनिश्चितता भएको खण्डमा बाहेक अन्ततोगत्वा तथ्यांक स्वयं मानवीय सभ्यता विघटनको कारक बन्नेमा शंका छैन । हामीले उपयोग गर्दै आइरहेको सूचना स्रोतले एक तहको समानान्तरीय भुलभुलैया सिर्जनासमेत गरिरहेको छ । हामी त्यस भुलभुलैयाको कायामा यथार्थको रोगन लेपिएको भ्रामक प्रतिच्छाया देखिरहेका छौं । जुन दिन हामीले त्यस भुलभुलैयाबारे सुइँको पाउनेछौं, त्यतिखेर धेरै ढिला भइसकेको हुनेछ । स्वयं मानवीय अस्तित्व नै उम्किनै नसक्ने गरी खतराको संघारमा पुगिसकेको हुनेछ ।

अन्तिम युद्धको तयारी

आजको विश्व थुप्रै ‘युद्ध’ जितेर यहाँसम्म आइपुगेको भए तापनि पछिल्लो महाव्याधिजन्य विश्वको परिदृश्यले सोलोडोलो ‘विश्व सभ्यताको परिचय’ लाई ‘आगोको लप्कामाथि’ ल्याएर उभ्याइदिएको छ । यति परिष्कृत सभ्यताको उचाइ चढेको आजको यान्त्रिक विश्वले मुलुकहरूबीच आपसी सहकार्यात्मक शासकीय भावनाको अभावमा ‘भेन्टिलेर’ को सहारा लिनुपर्ने बाटो तय गर्नुपरेको छ । विश्व सभ्यतामाथि ‘साइरन’ जडित रातो बत्ती बल्दै गर्दा यतिबेला डोनाल्ड ट्रम्प, सी चिनपिङ, हसन रौहानीजस्ता विश्व नेता शक्ति संघर्ष वा ‘कोरोना राजनीति’ को होडमा हिस्सेदारी बन्दै गरेको अवस्था छ । यसले मानवीय अस्तित्वलाई थप जोखिमको दलदलतर्फ धकेल्न सहायकको भूमिका निर्वाह गरिदिएको छ । त्यही होडमा आफ्नो स्थान बलियो बनाउन खोज्नेको मूल्य विश्वले के कसरी चुकाउनुपर्ने हो त्यसको छिनोफानोको घडी नजिकिँदै गरेको छनक के विश्वले नपाएको होला र ?

यति बौद्धिकताको खुड्किलो चढिसकेको मान्छेकै भविष्य पनि केवल एउटा भाइरस (कोभिड-१९) को कारण किन यतिबिघ्न निरश र निस्सार हुनुपर्‍यो ? यसको जवाफ भने सहज छ । मान्छे आफूलाई देवत्वकरण गर्नपट्टि लागेकैले अब उसको अस्तित्व संकटको संघारमा पुग्दै गरेको संकेत हो । प्रत्योत्पादकजन्य होडको हिस्सेदार आजको मान्छेले भविष्य नसोचेको त कहाँ हो र ? सोच्यो । तर, विडम्बना त के भने, सोचेअनुसारको नतिजा हासिल गर्नबाट विमुख रह्यो । प्रकृतिमाथि प्रविधिको सहायताले आधिपत्य कायम गर्न खोज्नु नै मानवीय प्रजातिको दुस्साहस हो, जुन हर्कत अल्पदृष्टि बनिदियो । त्यसको नतिजा ठीक यतिबेलाको विश्वसामु छ । खासमा, हरारीले भनेझैं ज्ञानको अस्त्रले निर्माण गर्न खोजेको मानवीय भविष्यको रेखाचित्रको ‘इन्जिनियरिङ’ मिल्दै मिलेन । ठीक वर्तमान महाव्याधिको अवस्था लेखाजोखा गर्ने हो भने मान्छेको भविष्यचाहिँ अत्यन्तै अन्धकार र अत्यन्तै नीरस देखिन्छ । तर, मान्छेले आफ्नो सुदूरभविष्य यति ओजविहीन भईकन पनि आत्मसात् गर्ने साहस भने गरेको छ ।

जलवायु परिवर्तनको असरले तहसनहस भएको तथा आणविक अस्त्र/जैविक हतियारको बिगबिगी र आतंकले खर्लप्प निल्न लागेको कुरूप सभ्यताको कन्दरकुट्टी चढेर मान्छे केबल बुख्याँचा बन्दै गर्दा मान्छेले आफ्नो बुद्धिको बलले ‘भगवान्’ पनि बनायो र मान्छेमाथि त्यही भगवान् नामक अस्त्र उपयोग गरेर नियन्त्रण गर्ने कोसिस गर्‍यो । जब मान्छेले भगवान्को नाममा आफूजस्तै मान्छे नियन्त्रित भएको देख्यो वा जब मान्छे भगवान्को नाममा भुलभुलैया सिर्जना गर्न सकिनेमा आश्वस्त भयो तब उसलाई स्वयं भगवान् हुन मन लाग्यो ।

मान्छे आफ्नो ‘मिथ’ र विश्वासको विनिमय गर्न सक्ने तार्किक क्षमता राख्ने भएकैले मानवीय अस्तित्वले विश्वमा आफ्नो सुविधाजनक स्थान निर्माण गर्न सकेको हो । बुद्ध धर्मले मानिसको खुसीको विज्ञान पढाउन थालेको झन्डै २ हजार वर्ष पुग्न थाल्यो तैपनि मान्छे खुसी हुन नसक्नुको एउटै मात्रै कारण भनेको उसको खुसीबारेको ‘बुझाइ’ हो । जीवन त एउटा ‘अर्थविहीन अनर्थ’ हो । उप्रान्त जीवनको मूल्य बढाउनका लागि आख्यानको निर्माण गरिरहनुपर्ने आवश्यकता टरेको छ । निस्सारताको इनारमा कागजको ढुंगा डुबिसकेपछि तैरिने दुस्साहस नगर्दा नै बेस होला । अहिले यत्ति बुझौं, मानवीय सभ्यता स्वयं आफ्नो इतिहास मेटाउँदै जाने र नयाँ अध्यायको खोजी पनि गर्न नसक्ने गरी शिथिलताको उकालो चढ्नुपर्ने अवस्थामा पुगिसकेको छ ।

प्रकृतिमाथिको हस्तक्षेपको हिसाबकिताब

मानवले पृथ्वीय तत्त्वमाथि निरन्तर हस्तक्षेप गर्दै आएको तथ्य झूट होइन । उसले आज लगभग पृथ्वीको जम्मै प्राकृत स्वरूपलाई नै आफ्नो कब्जामा लिएको छ । असीमित ‘यान्त्रिक शासकीय हैकमवाद’ लादेको छ, पृथ्वीउपर । यसको पछाडि उसको ज्ञानको आयतनमा क्रमिक रूपमा आएको फैलावट हो । यसैबीच, मानिसको बुद्धिसँगै, मानवीय प्रजातिकै आविष्कारको रूपमा रहेको राजनीति, धर्म र पुँजीवादले त्यसलाई सघाउने काम गरिदियो । मानिस लगभग ७० हजार वर्षअगाडिदेखि कुनै न कुनै रूपमा पृथ्वीको दोहन कार्यमा आफ्नो सीप र कलामा ‘निपुणता’ देखाउँदै आइरहेको जीव हो । यस्तो लाग्छ— मान्छे स्वयं भने यथार्थमा भन्दा बढी भ्रममा बाँच्न चाहन्छ । उसले यही सिक्दै मात्रै छैन कि आफ्ना सन्ततिसमेतलाई यही भ्रमले दीक्षित गर्ने दुस्साहस गरेको छ ।

मान्छे नामक जातले स्वयं ‘साइबरनेटिक जीव’ को आविष्कारमा आफ्नो इतिहासको नयाँ अध्यायको मूल्य खोजी गरिरहँदा ‘जैविक प्रविधि’ ले उसको नयाँ सभ्यताको ध्वंसात्मक परिचय निर्माण गर्दै छ । यसैबीच यो बिर्सनु हुँदैन कि मानवीय इतिहास तीन तहको क्रान्तिद्वारा तिखारिएको बलियो इतिहास हो । पहिलो, संज्ञात्मक क्रान्ति, जुन झन्डै ७० हजार वर्षअघि सम्पन्न भयो । दोस्रो हो, कृषि क्रान्ति, जुन १० हजार वर्षअघि सम्पन्न भयो भने तेस्रोचाहिँ वैज्ञानिक क्रान्ति हो, जुन ५ सय वर्षअघि सम्पन्न भयो । हरारीले ‘होमो सेपियन्स’ लाई बुद्धि विवेकसहितको मानवको रूपमा अर्थ्याइरहँदा उसको बुद्धि र विवेकले कति हदसम्म स्वयंको अस्तित्व रक्षा गर्न सक्छ भने सवाल ‘मानवीय काल्पनिकी’ भन्दा बाहिरको हो, जुन आज ‘कोभिड-१९’ सिर्जित महाव्याधिको दबदबामा अनिर्णीत बनेको छ । ‘होमो स्यापियन्स’ अबको ‘लगभग एक हजार वर्षजति अस्तित्वमा रहिरहँदा’ यसले प्राकृत जलवायुदेखि आजसम्म आर्जेको स्वयंको इतिहासमाथि नै पनि धावा बोल्नेछ । त्यति मात्रै पनि होइन, आफ्नै सभ्यतालाई संकटको वेदीमा चढाएर यस भूमण्डलबाट उसको अस्तित्व लोप हुँदै गरेको इतिहास पनि स्वयं ‘मानिस’ आफैंले लेखेर जानेछ !

प्रकाशित : जेष्ठ १७, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?