कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मार्क्सेली दाह्रीको महिमा

सरकारी भइनसकेका कम्युनिस्टसँग रोमाञ्चकता बढी, विकल्प कम छन् । बलप्रयोगको अनिवार्य सिद्धान्तमा पुनर्विचार गर्नु अपराध हो भन्ने लाग्छ उनीहरूलाई ।
उज्ज्वल प्रसाई

बहुसंख्यक मान्छे दु:खमा छन् । अत्यावश्यक वस्तु र सेवाबाट वञ्चितका दु:ख बहुविध छन् । सम्मानजनक जिन्दगी जिउन नपाउनेका बेहिसाब मनोवैज्ञानिक पीडा छन् । दु:खका यी पहाड शासकले बेपर्बाह चुल्याइदिए; दु:ख निवारणका विविध खोजलाई व्यवस्थाले निस्तेज तुल्याइदियो ।

मार्क्सेली दाह्रीको महिमा

प्रधानमन्त्री खड्गप्रसाद ओली ती सकल शासकलाई कुशलतापूर्वक प्रतिनिधित्व गरिरहेका छन् । समाजको तीव्र दलीयकरण मात्रलाई लोकतन्त्र सम्झने र सोही अनुसार व्यवहार गर्ने छुट खड्गप्रसादहरूलाई व्यवस्थाले दिएको हो । व्यक्तिका हजार खोट औंल्याउने तर व्यवस्थालाई चुनौती दिने र विकल्पको अभ्यासस्वरूप सानो कामसम्म गर्न नसक्ने बौद्धिक अभ्यास होओस् वा राजनीति, त्यो महँगो विलास साबित हुने पक्का छ ।

एक थरीलाई व्यवस्थाको विकल्प जस्ता शब्दप्रति नै ठूलो भय छ । उनीहरूका लागि व्यवस्था बदल्ने चर्चा केवल उग्र वामपन्थी भाष्य हो । बहुदलीय प्रणाली र आवधिक निर्वाचन मात्रले धानेको लोकतन्त्र मास्ने प्रपञ्च हो । ‘क्रान्ति’ का गफसम्म पनि सुन्न नसक्ने मध्यमवर्गीय पढालेखाको संख्या बेवास्ता गर्न नसकिने छ । नेपालमा वा अन्यत्र कम्युनिस्ट पार्टीका नाममा भएका सबै आन्दोलनलाई फजुल साबित गर्नमा आफ्ना सारा बौद्धिक सामर्थ्यको खर्च गर्नेको संख्या ठूलो नभए पनि, तिनको स्वर उचो छ । पत्रिकामा होस् वा सामाजिक सञ्जालमा, ती फुसफुसाए पनि, त्यो सहजै ‘एम्प्लिफाई’ भइदिन्छ । कार्ल मार्क्सको फोटामा देखिने बाक्लो दाह्रीले नै रक्तचाप बढ्ने यो समूहले क्रान्तिको गफलाई नेपालको ‘माओवादी उपद्रो’ असफल भएको कथामा मात्रै सीमित राख्दैन, तुरुन्तै पिनोसे र होक्जामा पुग्छ ।

दोषको ठूलो भाग कथित कम्युनिस्ट आन्दोलन र हिजो अभ्यास गरिएका समाजवादमै छ, त्यसैले पुग्दो आलोचना पनि भइसकेको छ । आलोचना मात्रै पढेर बस्छु भन्नेलाई जिन्दगी बिताउन पुग्ने ठेली प्रकाशित भइसकेका छन् । व्यवस्था बदल्ने जस्ता शब्द वा आशयले भयभीत हुनेहरूको समस्या भने किञ्चित् फरक छ । असल व्यक्तिहरू सत्तामा पठाउँदा सबै ठीक हुन्छ भनेर सोच्ने बहुसंख्यकले रोजेका ‘असल व्यक्ति’ सत्तामा पुगेका छन् । खड्गप्रसाद ओलीका असल गुण एवं देश बनाउने उनको संकल्पबारे चौतर्फी चर्चा चलेको हिजोअस्ति मात्रै त हो । ओली अतुलनीय गुणले सुसज्जित व्यक्तित्व हुन् भनेर लेख्नेहरूको स्पर्धा नै सुरु भएको थियो त्यस बेला । उनको आलोचना गर्नेहरू परित्यक्त थिए । त्यस्ता सर्वगुणसम्पन्न मान्छेको नेतृत्वमा चलेको मुलुकमा केही पनि ठीक ढंगले चलिरहेको छैन । त्यसो त सर्वाधिक शक्तिको अभ्यास गरिरहेको ओली नेतृत्वको मन्त्रिमण्डलमा घनश्याम भुसाल र योगेश भट्टराई जस्ता अरू असल पनि त छन् ।

लाल क्रान्तिको रोमाञ्चकतामा रमाउन खोजिरहेकासँग पुराना दुईचार ब्लुप्रिन्टका सम्पादित संस्करण मात्र छन्, त्यही पल्टाउन थालेका होलान् ।

त्यसो भए अब के गर्ने त ? के फेरि अर्को असल व्यक्तिको खोजी गर्ने ? ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ भनेर पुरानै ज्ञानेन्द्रकालीन टेप बजाइरहने ? क्रान्तिको गफ सुन्न नचाहनेहरू नाजवाफ छन् । लोकतन्त्रको ब्यानरमा सञ्चालित बेकामे व्यवस्थाको विकल्पमा उन्नत लोकतन्त्रको कुनै चित्र उनीहरूसँग नहुनुले यो बौद्धिक अल्पता र छटपटी निम्त्याएको हो ।

अर्का थरीलाई लाग्छ, व्यवस्था बदल्ने भनेको रसियाली लेनिन वा चिनियाँ माओका नेपाली संस्करण उत्पादन गर्ने हो । हिजो उत्पादित स्थानीय संस्करणले काम अपूरै छोडे, त्यसैले पुरानो कारखाना सञ्चालन गरेर नयाँ प्रतिकृतिको पुनरुत्पादन सुरु गर्ने योजना हो । त्यसो गर्नेको संख्या सानो छ, तर पूर्णतया अप्रभावकारी छैन । सरकारी भइनसकेका कम्युनिस्टसँग रोमाञ्चकता बढी, विकल्प कम छन् । पुराना बन्दुकका खिया सफा गर्ने, रेडबुकमा नयाँ तर रातो गाता खोजेर लगाउने, मैलिएका राता झन्डा धोईधाई गर्नमै ज्यादा लगन देखाएका छन् उनीहरूले । बलप्रयोगको अनिवार्य सिद्धान्तमा पुनर्विचार गर्नु अपराध हो भन्ने नै लाग्छ उनीहरूलाई ।

पुराना बन्दुक कहाँ पड्काउने, राता झन्डा कसका हातमा दिएर कसलाई देखाउने, निर्क्योल गर्न सकेका छैनन् । उनीहरूले आफैंलाई सोधिरहेका छन्, ‘विकृतिका भयानक पहाड र शासकका क्रूर एवं भ्रष्ट चरित्र उदांगो भइसक्दा पनि लाखौं दुखियाहरू क्रान्तिमा किन होमिँदैनन् ? किन सब चुपचाप छन् ? संसदीय भासमा फेरि मान्छे किनबेच सुरु भइसक्यो तर कोही किन आन्दोलित हुँदैन ?’ मार्क्सको फोटामा देखिने बाक्लो दाह्रीमा मुग्ध रहने उनीहरू त्यतै फर्केर विस्मित हुँदा हुन् ।

लाल क्रान्तिको रोमाञ्चकतामा रमाउन खोजिरहेकासँग पुराना दुईचार ब्लुप्रिन्टका सम्पादित संस्करण मात्र छन्, त्यही पल्टाउन थालेका होलान् । माओ विचारबाट माओवादमा खासै अग्रसर नभई समाजवादको सी विचारधारा प्रतिपादन गर्ने चीनतर्फ धेरै कमरेडको ध्यानाकर्षित भएको हुन सक्छ । जोसेफ स्टालिन कति प्रतिशत सही छन् ? माओले भनेको ७० प्रतिशत सहीको हिसाबमा केकति थप्नु वा घटाउनु पर्ने हो ? एन्टोनियो ग्राम्सीले सांस्कृतिक आयाम जोडेर क्रान्तिलाई कति प्रतिशत भ्रष्टीकरण गरे ? क्रान्तिका लागि तयारी गर्ने कतिपय कमरेडको घरबन्दीको समय यस्तै हिसाबकिताबमा बितिरहेको हुन सक्छ ।

नेपाल हाल दलाल पुँजीवादी अवस्थामा रहेको निर्क्योलमा अडिएका अर्का थरी वामपन्थीलाई खासै हतार छैन । लेनिनको यामानको छायाले छोपेका मार्क्स, उनको दाह्री एवं उनका असली विचार अब सग्लो देखिन थालेका छन् भन्नेमा उनीहरू ढुक्क छन् । दलाल चरित्रको पटाक्षेपपश्चात् पुँजीवादको सबल हुर्काइको पर्खाइमा बसेका उनीहरूका लागि ओली–प्रवृत्ति क्रान्तिको तयारी ब्लुप्रिन्टमा पहिल्यै सुनिश्चित सामान्य परिघटना मात्रै हो । ओलीमा परेको महेन्द्रको छायालाई पनि उनीहरूले अस्वीकार गरे जस्तो लाग्दैन । उनीहरू स्पष्ट छन्, आफू कम्युनिस्ट नै भए पनि नेपालको पुँजीवादले पूर्णता नपाउन्जेल क्रान्तिका लागि हतार नगर्ने बलियो ठहरमा स्थिर छन् ।

माथि उल्लिखित सबै थरी कम्युनिस्टहरू सन् २००८ को आर्थिक मन्दीका बेला कार्ल मार्क्सकृत ‘पुँजी’ का हजारौं ठेली बिक्री भएकामा औधी खुसी थिए । नश्वर पुँजीवादको अन्त्य सन्निकट रहेको संकेतका रूपमा सो घटनाले उनीहरूलाई फुर्क्याएको थियो । दुईचार वर्ष त्यही खुसीमा उनीहरूले दुनियाँमा उज्यालो मात्रै देखिरहे । तर, एकातिर ‘पुँजी’ को थोक प्रकाशन एवं वितरण चलिरह्यो, अर्कातिर सत्ताको उपयोग गर्दै पुँजीवादले बजार र नवउदारवादको मजबुत संरक्षण गरिरह्यो । यो प्रक्रिया अघि बढ्दै जाँदा डोनाल्ड ट्रम्पको उदय भयो । यस्तो कसरी भयो ? उनीहरूले पुरानै ब्लुप्रिन्टका आधारमा ट्रम्प र बोल्सोनारोहरूको उदयलाई पनि सामान्य परिघटना नै पुष्टि गरिसकेका छन् ।

२००८ मा पश्चिमाले मार्क्सलाई ब्युँताएकामा मक्ख परेका भारतीय कम्युनिस्ट कार्यकर्ता २०१४ सम्म पुग्दा नरेन्द्र मोदीका प्रशंसक बन्न थालेका थिए । २०१९ मा त्यो उपक्रमले पूर्णता पायो । त्यसै गरी २००८ मा खुसी भएका एक थरी नेपाली कमरेडहरूले दक्षिणपन्थी राजनीतिका प्रवर्द्धक खड्प्रसाद ओलीलाई पार्टीको मात्र होइन, सिंगो मुलुकको सर्वेसर्वा बनाइदिए । ओली विचारधारामा आधारित संविधानलाई संसारको सर्वोत्कृष्ट संविधान भनेर गीत गाए ।

कोरोनाले निम्त्याएको त्रासदीले फेरि ‘पुँजी’ बिकाउन सक्छ । नवउदारवादले काम काट्दैन भन्नेहरूमा स्वयं नवउदारवादीहरू नै अग्रपंक्तिमा आउन थालिसके । बढ्दो असमानता सम्बोधन गर्दै उदारवादी व्यवस्थाको संवर्द्धन गर्न मार्क्सका विचार सहयोगी छन् भन्न थालिसके । पुँजीवादी व्यवस्थालाई उदांगो पारिदिएकामा वामपन्थीहरू पनि मक्ख परिरहेका छन् । कोरोनापछिको दुनियाँमा मार्क्सका दाह्री अझै उज्यालिनेमा उनीहरू ढुक्क हुन सक्छन् । तर त्यस्तो हुन नसके के गर्ने भन्नेमा उनीहरूसँग कुनै नयाँ परिकल्पना छैन ।

पुँजीवादले निर्धारण गरेभन्दा फरक एवं विविध आर्थिक सम्बन्धहरू अझै छन् दुनियाँमा । पुँजीको दबदबा ठूलो छ तर नाफा मात्रको सञ्जालमा अहिले पनि सम्पूर्ण संसार जेलिएको होइन । पुँजीको जालोभन्दा बाहिर रहेका अभ्यासमा प्रशस्त ध्यान नपुगेको भने सत्य हो । त्यस्ता पुँजीभन्दा अलग आर्थिक सम्बन्धमार्फत व्यक्ति र समुदायको हित गर्ने कोसिसको खोजी कम भएको हो । लोकतन्त्रलाई उन्नत बनाउन चाहनेले त्यस्ता सम्बन्धबारे भएका अध्ययन र अभ्यासहरू खोज्न सक्छन्, तिनको विस्तारित रूपबारे सोच्न सक्छन् । शिक्षा, स्वास्थ्य, ज्ञान उत्पादनका उपक्रम एवं अर्थतन्त्रलाई समुदायमा फर्काउने विविधतापूर्ण प्रयत्नबारे बहस थालनी गर्न सक्छन् । व्यवस्था बदल्ने एक मात्र होइन, अनेक विकल्पबारे छलफल सुरु गर्न सक्छन् । मार्क्सको दाह्रीले तर्सनु वा उनका दाह्रीमै अल्झिरहनु कुनै विकल्प होइन ।

प्रकाशित : वैशाख २६, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?