कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपत्‌मा सामाजिक पूर्वाग्रह

महामारीको आडमा व्यक्त गरिने पूर्वाग्रह सामाजिक, सांस्कृतिक र धार्मिक विविधतामाथिकै धावा हो, जसको मूल्य मुसलमान समुदायले मात्र होइन, सारा सीमान्तकृत र अल्पसंख्यक समुदायले चुकाउनुपर्ने खतरा निम्तिएको छ ।
सीता मादेम्बा

कोरोना महामारीले मानवीय स्वास्थ्यमा भन्दा कैयौं गुणा बढी असर सामाजिकतामा पार्दै गएको छ । सदियौंदेखिको विभेदलाई यो महामारीले अझ सतहमा ल्याइदिएको छ । सुषुप्त अवस्थामा रहेको सामाजिक पूर्वाग्रह छताछुल्ल हुनुले सामाजिक चुनौती थपिएको छ ।

विपत्‌मा सामाजिक पूर्वाग्रह

कुनै समुदायमाथि हुने लाञ्छना र विभेदलाई यसले बढावा दिएको छ । यो महामारीले नेपालमा मुसलमान समुदायमाथि निम्त्याएको नौलो सामाजिक–राजनितिक परिस्थिति यहाँ उजागर गर्ने प्रयत्न गरिएको छ ।

कोरोना र विभेद बेलाबेला विश्वभरि फैलिने महामारीलाई भूगोल, प्राणी, जाति र रंगभेदसँग जोडिनु नयाँ होइन । मानवशास्त्री ह्यु गस्टर्सन सेपियन्समा लेख्छन्— पहिले ‘डाउन सिन्ड्रोम’ लाई ‘मंगोलिजम’ नामकरण गरिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘चाइनिज भाइरस’ वा ‘कुङ फ्लु’ भने । जातीयताका कारण नभई चीनबाट सुरु भएकाले कारण यसो भनेको उनले स्पष्टीकरण पनि दिए । यसबाट अमेरिकामा घृणायुक्त वक्तव्यबाजी सुरु भइसकेको छ ।

शक्तिशाली पदमा रहेकाहरूले कोरोना महामारीलाई विगतमा झैं भूगोल, जातीयता र रंगभेदसँग जोडे । यो महामारी दक्षिण एसियामा आइपुगेपछि सामाजिक दुर्व्यवहार सहन नसकेर भारतका दिलसाद मुहम्मदले आत्महत्या गरे । द हिन्दुको अप्रिल ११ को समाचारअनुसार, भारतको हरियाणामा संक्रमण फैलाएको

आरोपमा सीमान्तकृत समुदायमाथि आक्रमणका १९ घटना दर्ता भएमध्ये अधिकांश मुस्लिम समुदायसम्बद्ध छन् । भारतबाट सुरु भएको मुसलमान समुदायमाथिको दुर्व्यवहारको सिलसिला नेपालमा पनि भित्रियो । भारतकै टीभी–९ भारतवर्षले पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मुखिया मियाँले भारतमा ‘कोरोना फैलाउने’ योजना बनाएको भन्दै समाचार प्रसारण गर्‍यो । जनकपुरमा समुदायविशेषका दुई महिलाले पैसामा थुकेर कोरोना फैलाइरहेको आरोप प्रहरी अनुसन्धानपछि गलत रहेको साबित भइसकेको छ ।

नेपालसम्बन्धी उपर्युक्त दुवै घटना हल्लाका भरमा भए । तर यसबाट पीडितहरूमा परेको मानसिक–सामाजिक आघातको लेखाजोखा कसले राख्ने ? सामाजिक सञ्जाल र गाउँठाउँमा हल्ला फैलाउने को थिए र उनीहरूलाई के कारबाही भयो ? धार्मिक–सामाजिक रूपमा सीमान्तकृत भएकै आधारमा जानीजानी घटना गराइएको त हैन ? यसबारे गम्भीर छलफल अत्यावश्यक छ ।

यी घटनाबाट धार्मिक अल्पसंख्यक र सीमान्तकृत समुदायमाथिको आम दृष्टिकोण छर्लंग हुन्छ । यद्यपि धर्म फरक भएकै आधारमा हुने विभेदको भाष्य र यसको अन्तरसम्बन्ध केलाउन कोरोना महामारी मात्र काफी छैन, सीमान्तकृत र कमजोर भएकै आधारमा सिंगो समुदायप्रति निर्माण गरिने कथा र भाष्यहरू पनि त्यति नै जिम्मेवार छन् ।

विगतको मूल्य चुकाउँदा

सन् १८८८ देखि २३ सम्म हैजा, सन् १९७३ तिर बिफर र औलो महामारीका कारण नेपालमा असंख्यले ज्यान गुमाए । औलो सुनसरी जिल्लामा पनि फैलिएको थियो, जसबाट गाउँगाउँमा दैनिक १०–१२ ले ज्यान गुमाएको स्थानीय बासिन्दा अझै सम्झन्छन् । स्थानीय बासिन्दालाई एक गाउँबाट अर्को गाउँ जान बन्देज लगाइएको थियो ।

महामारीसँगै भोकमरीले विपन्न वर्गलाई सास्ती दियो । यसमा मुसलमान समुदाय बढी प्रभावित भए । उनीहरूसँग खेती गर्ने जग्गा थिएन । कति जमिनदारहरूकहाँ हरूवा–चरुवा थिए भने कति ज्यालादारी गर्थे । अन्न अहिलेजस्तो प्रशस्त उपलब्ध थिएन र किनेर खान सक्ने अवस्था पनि थिएन । धनीहरूले भने पछिका लागि भकारीमा अन्न साँचेका थिए । भोकमरीसँगै चोरीका घटना बढ्न थाले । सबै समुदायका गरिबहरू रात पर्‍यो कि चोरीचकारीमा हिँड्न बाध्य हुँदै गए ।

मुसलमान समुदायका एक अग्रज केवल २० वर्षअघिको गाउँको अवस्था सुनाउँछन्, ‘त्यो बेला मान्छे बेरोजगार र अशिक्षित थिए । एउटा भाले पाए खेतमा आली लगाइदिने ५० मानिस भेटिन्थे । पाँच किलो दूध खान दिए १ बिघा खेत रोपिदिन्थे । मुसलमान मात्र होइन, हरेक समुदाय कमजोर थियो । संकीर्ण विचार र नियत खराब भएका मानिस जहाँ पनि हुन्छन् ।’

त्यति बेला भोकमरीले निम्त्याएको बाध्यताको मूल्य सुनसरीको त्यो गाउँको सिंगो नयाँ पुस्ताले अहिले पनि चुकाइरहेको छ । गैरमुसलमानले त्यो महामारी र चोरीको बिगबिगीको कथा सुनाउँदा आफ्नो समुदायका मानिस सम्मिलित घटनालाई लुकाएर मुसलमान संलग्न भएकालाई मात्र बाहिर ल्याए । त्यस्ता कथा पुस्तान्तरसँगै दोहोर्‍याएर–तेहर्‍याएर सुनाइए । त्यही क्रममा म पनि त्यस्तो कथाकी श्रोता बनेँ । समुदायविशेषको नकारात्मक चित्रण गरिएका कथाले पनि समाजमा विभेद सृजना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन् । यस्ता कथा र भाष्यहरूको विनिर्माण जरुरी छ । सामाजिक, आर्थिक र राजनीतिक रूपमा कमजोर मुसलमान समुदायबारे विपत्तिका बेला बनाइएका लाञ्छना–कथा समाजमा दोहोरिरहनाले उनीहरूमा असुरक्षाको भाव बढ्दै जान्छ । सन् २००४ मा इराकमा १२ नेपाली मारिएपछि नेपाली मुसलमान र मस्जिदहरूमा भएको आक्रमणलाई यसैको अर्को उदाहरणका रूपमा लिन सकिन्छ । त्यस दिनलाई ‘इस्लामिक रिभाइभल इन नेपाल’ की लेखिका मेघन एडम्सन सिजापतिले ‘कालो बुधबार’ भनेकी छन् ।

उच्च र शासकहरूको जातीय पूर्वाग्रह थोपरिएको सन् १८५४ को मुलुकी ऐनमा मुसलमानलाई ‘पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने र म्लेच्छ’ को स्तरमा राखिएको थियो । राष्ट्रियताका नाममा प्रकट भएको केहीको आक्रोशले जात व्यवस्था खरेज भएको वर्षौं भइसके पनि त्यसको असर कम भएको छैन, विभेदको स्वरूप मात्र बदलिएको छ ।

अन्त्यमा, महामारी र विपत्तिको इतिहास दोहोरिएझैं जात, वर्ण र धर्मका आधारमा गरिने विभेदको पुनरावृत्ति भइरहेको छ । हिजो राज्य सञ्चालकहरूले संक्रमण नफैलियोस् भनेर ‘चार भन्ज्याङ’ कटाउँथे, अचेल निश्चित वर्गका व्यक्तिहरू आफूजस्तै संस्कार, संस्कृति र धर्म नमान्ने समुदायलाई आफ्नो विरोधी र ‘अराष्ट्रिय’ ठान्छन् । महामारीको आडमा व्यक्त गरिने पूर्वाग्रह सामाजिक, सांस्कृतिक र धार्मिक विविधतामाथिकै धावा हो, जसको मूल्य मुसलमान समुदायले मात्र होइन, सारा सीमान्तकृत र अल्पसंख्यक समुदायले चुकाउनुपर्ने खतरा निम्तिएको छ । त्यसैले सबैको अस्तित्वलाई सम्मान गर्दै संयम अपनाउन र अतिवादी सोच तथा क्रियाकलापलाई निरुत्साहित गर्न जरुरी छ ।

प्रकाशित : वैशाख २१, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?