कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपक्ष तंग्रिने अवसर

खड्गप्रसादको ठाउँमा शेरबहादुर देउवा वा उपेन्द्र यादव आए तात्त्विक भिन्नता के हुन्छ ? परीक्षण भइसकेका चेहराको डमरु बजाएर लोकतन्त्रलाई वैभवशाली बनाउन सकिँदैन ।
चन्द्रकिशोर

खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्त्रित्वकालमा विपक्षी पार्टीहरू मात्र होइन, विपक्षी नेतागणको अस्तित्वमाथि नै संकट गहिरियो । विपक्षी नेतृत्व पनि खड्गतन्त्रको छायाझैं भए । नयाँ संविधानले अर्थ र अस्तित्व पाउने समय हो यो ।

विपक्ष तंग्रिने अवसर

निर्वाचनपछि तीनै तहमा सरकार आएपछि विपक्षी राजनीतिले तृणतहसम्मै आकार लिनुपर्थ्यो ।

यसले शिशु संघीय गणतान्त्रिक ढाँचालाई हृष्टपुष्ट बनाउँथ्यो । स्थानीय तहमा पनि दलीय प्रतिस्पर्धाका आधारमा निर्वाचन हुने भएकाले शीर्ष तहको तौरतरिकाको प्रत्यक्ष असर भुइँतहसम्मै देखिन्छ । खड्गकालले लोकतान्त्रिक इतिहासमा विपक्ष-चेतना निस्तेज पार्ने कालखण्डका रूपमा चिनारी पाइसकेको छ ।

संवैधानिक हैसियतको विपक्षी अन्धो सरकारका लागि आँखा हो । विपक्षी प्रखर र प्रमुख रूपमै देखिनुपर्छ । स्वस्थ लोकतन्त्रमा विपक्षको भूमिका आवश्यक हुन्छ ।

र, यतिखेर खड्गप्रसादको अहम् चुलिनुमा विपक्षी राजनीति पनि जिम्मेवार छ । विपक्ष धारदार, असरदार र इमानदार भयो भने सरकारको अनियन्त्रित गलत मनसायमाथि अंकुश लगाउँछ, जनअपेक्षाप्रति सरकारलाई घचघचाउँछ र लोकतान्त्रिक मूल्यमान्यताको निगरानी गर्छ । तर सत्ताको द्यूतक्रीडामा विपक्ष फस्दै, हार्दै र चुक्दै गयो ।

खड्गकालमा डराएको विपक्षको परिदृश्य राजनीतिक रंगमञ्चमा देखियो । कहाँ कतिखेर के आरोपमा मुछिने हो भनेर विपक्षी नेताहरू सरकारदेखि भयभीत छन् । सरकारले विपक्षी नेताका भित्री स्वार्थहरूको पहिचान गर्ने र त्यसका आधारमा बल्छी थाप्ने काम गर्‍यो । यिनै कारणले लोकतन्त्र दुर्घटनाको घुम्तीबाट गुज्रिँदै आइरहेछ । अहिले सत्ता राजनीति मात्र होइन, विपक्षको राजनीतिक साख पनि खस्किएको छ । जुन आरोप-आक्षेप सरकारलाई लाग्दै आएको छ, त्यसले घुमीफिरी विपक्षीलाई पनि संक्रमित पार्दै ल्यायो ।

देहातको एक कथामा मानिसले गधा र बाँदर पालेको थियो । एक दिन उसले दुवैलाई नदीतिर डोर्‍यायो । त्यो मानिसले बाटामा केरा र माटाको हाँडीसहित दही किन्यो । नदी किनार पुगेपछि पहिला नुहाऊँ कि खाऊँ भन्ने दुविधा भयो । दही र केरा पनि सुरक्षित राख्नु थियो । त्यसैले बाँदरलाई गधाको पिठ्युँमा बसाइदियो ।

यसो गरेपछि गधा घाँंस खाँदै गर्ला र बाँदर आफ्नै तालमा रमाउला भन्ने थियो । नुहाइसकेपछि ऊ बाहिर निस्किँदा हाँडी खाली थियो र केरा गायब । गधाको मुखमा दही लेपिएको देखेर, ठन्डा पानीमा नुहाएर फर्किएको भए पनि, उसको मगज तात्यो । उसले गधालाई मजाले चुट्न थाल्यो । यो सब हेरिरहेको बटुवाले नजिक आएर भन्यो, ‘यो गधाले हाँडीमा मुख छिराएर दही खान सक्दैन, न त केराको बोक्रा नै छिल्न सक्छ ।’ यो सुनेपछि उसले चुटाइ रोक्यो ।

त्यसपछि आफ्नो रिस पोख्न बाँदरतिर झम्टियो । तर बाँदर रूखमा उक्लिहाल्यो ।

बाँदरको अपराधको सजाय गधाले किन भोग्ने ? यो कस्तो न्याय हो ? मौका पाएर बाँदरले नै पहिला केरा चट पार्‍यो होला र केरा खाइसकेपछि हाँडीको दही सिद्ध्याएको होला । गधाजस्तो साथी हुँदा बाँदरलाई केको डर ?

चलाख बाँदरले केरा र दही खाइसकेपछि गधाको मुखमा दलिदिएको हुन सक्छ । बाँदरले वरिपरिका अन्य बाँदरलाई समेत भागबन्डा गरिदिएको पनि हुन सक्ने अनुमान लगाउन सकिन्छ । यो कथा अहिलेको राजनीतिसँग मिल्दो देखिन्छ । जनताको लोकतन्त्रले चुटाइ खाइरहन्छ अनि कथाको बाँदरजस्तै असली दोषी राजनीतिकर्मीहरू सधैं फुत्किन्छन् ।

दही र केरालाई शान्ति र समृद्धिको सूचक मान्ने हो भने जनताले लोकतन्त्रको माध्यमबाट यी दुवै प्राप्त गरिन्छ भन्ने आस गरेका छन् । अहिले दुई अध्यादेशका कारण बवन्डर मच्चिएको छ, दलसम्बन्धी मात्र अध्यादेश आइदिएको भए र समाजवादी पार्टी टुक्र्याउन खड्गप्रसाद सफल भैदिएका भए राजनीतिक तापमान कस्तो हुन्थ्यो ? यो कथामा जस्तै अनुमानहरू अझै यथावत् छन् ।

कवि धूमिलको कवितांश यहाँ सान्दर्भिक हुन्छ, ‘एक आदमी रोटी बेलता है, एक आदमी रोटी खाता है, एक तीसरा आदमी भी है, जो न तो रोटी बेलता है न ही खाता है, बल्कि वह सिर्फ रोटी से खेलता है ।’ विपक्ष यति मजबुत हुनैपर्छ, कुनै पनि सत्ताले सामान्यजनको रोटीसँग खेल्न खोज्छ भने त्यसलाई लगाम लगाउन सकोस् । सरकारको अधिनायक मनसुबालाई ठामका ठाम छेक्न सकोस् ।

लोकतन्त्रको सार्थकतामा सरकारको जति भूमिका हुन्छ, त्योभन्दा कम विपक्षको हुँदैन । विपक्ष शब्दले विरोधको प्रतिध्वनि दिन्छ, जबकि प्रतिपक्षले दायित्वबोधलाई प्रकट गर्छ । विपक्षी सत्तारूढ दलका कार्यहरूको पूरक पनि हो । नेपालमा असाधारण विविधता छ । यसभित्र कैयौं राष्ट्र छन् । स्वाभाविक रूपले विविधता राजनीतिभित्र प्रकट हुन खोज्छ । राष्ट्रहरूले पहिचान, प्रतिनिधित्व र पहुँच खोज्छन् र त्यो सहज रूपमा नपाए प्रतिरोध गर्छन् ।

राजनीतिको यो सरल व्याकरणलाई खड्गप्रसादले कहिल्यै आत्मसात् गर्न सकेनन् । मधेसको राजनीतिक ऊर्जालाई छरपस्ट्याउने, विवादित र ओजहीन बनाउने ध्येय सरकार सम्हालेदेखि नै खड्गप्रसादको थियो, जसको नग्न रूप अध्यादेश प्रकरणमा देखियो ।

मधेसले सशक्त विपक्षको राजनीतिक सम्भावना बोकेको छ तर त्यहाँबाट स्थापित नेतृत्वको पात्रगत कमजोरीका कारण त्यो अवसर खेर गइरहेछ ।

सत्तारूढ दलका प्रायः सदस्य आफ्नो दल र सरकारको आलोचना गर्दैनन् । विमतिलाई सैद्धान्तिक स्वरूप दिँदैनन् । गाइँगुइँ गरे पनि त्यो फगत गिरोह र गुटको गनगन हुन्छ । उसै पनि नागनाथले सर्पनाथको के आलोचना गर्नु ? सरकारबाहिरका दलभित्रबाट यदाकदा विपक्षी चेतना प्रक्षेपित भए पनि त्यो संस्थागत हुन पाउँदैन ।

एक्लो व्यक्तिले संस्थागत भरथेगबेगर कतिको प्रभावकारिता देखाउन सक्छ ? अहिले संसद्भित्रको गणितले मात्र विपक्षको राजनीति कमजोर देखिएको होइन । विपक्षी चेत केवल संख्या होइन, विकल्पको हाँक हो । विपक्षको अर्थ नै विकल्प हो । विपक्षको परिभाषा विकल्पबाट सुरु हुन्छ ।

सरकारबाहिरका दलहरूको चाल, चरित्र र चेहरामा के मौलिक भिन्नता छ ? जनताका साथ सम्बन्ध नवीकरणका लागि के सूत्र छ ? आर्थिक-सामाजिक एजेन्डामा के फरकपन छ ? सम्झौतावादी नेताहरूको चंगुलबाट उन्मुक्तिको तरिका के छ ? यी प्रश्नका जवाफ कैयौं हुन सक्छन् । तर मूल पक्ष हो, विपक्षको चेहरा बन्न सक्ने पक्षले पहिला स्वयंको विपक्ष बन्नुपर्छ । अहिले त सबैतिर मिसमास छ । खड्गप्रसादको ठाउँमा शेरबहादुर देउवा वा उपेन्द्र यादव आए तात्त्विक भिन्नता के हुन्छ ? परीक्षण भइसकेका चेहराको डमरु बजाएर लोकतन्त्रलाई वैभवशाली बनाउन सकिँदैन ।

मतादेशअनुसार नेकपाभित्र नै नयाँ नेतृत्वको खोजी गरिनुपर्छ । तर सत्तारूढ दलभित्र विकल्पको स्पेसलाई कतिको महत्त्व दिइन्छ भन्ने प्रश्न सँगै आउँछ । सरकारको गल्तीबाट लाभ बटुल्न चाहने विपक्ष औसत दर्जाको अवसरवादी बन्न सक्छ र जनआकांक्षाअनुकूलको विकल्प दिन सक्दैन । वैशाख १५ गते नेपाली कांग्रेस, नवगठित जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी खड्ग सरकारको सर्वसत्तावादी चरित्रविरुद्ध एकजुट बनेका छन् ।

लोकतन्त्रवादी शक्ति ऐक्यबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता गरिएको छ । तर यसको रचनात्मक स्वरूप के हुने ? यो एकता कहिलेसम्म ? नयाँ राजनीतिक चरित्रको सम्भावनालाई भुइँमान्छेले कसरी पत्याउने ?

खड्गकाल लोकतन्त्रका लागि अँध्यारो काल हो भने कालो बादलभित्र चाँदीको घेरा बनेर को उदाउँदै छ ? ध्रुवसत्य के हो भने, राजनीति सधैं चमत्कारले चल्दैन । विकल्पबेगरको विपक्ष खड्गकालकै उत्तरगाथा मानिनेछ ।

प्रकाशित : वैशाख १८, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?