कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोग रोक्ने संवेदनालाई भोकले छुन्छ ?

भीम घिमिरे

काठमाडौँ — आइतबार बिहान कोटेश्वरबाट एकजना भाइले फोन गर्नुभयो- 'मेरो छेउका एउटा परिवार सर्लाही जान निस्किए । ससाना बच्चा र लेडिज पनि छन् । पैदलै कसरी घर पुग्लान् ? नरमाइलो लागिरहेको छ ।' उनको भनाइले मलाइ पनि नरमाइलो लाग्यो ।

रोग रोक्ने संवेदनालाई भोकले छुन्छ ?

कोभिड-१९ को संक्रमण रोक्न सरकारले मुलुक बन्दाबन्दी (लकडाउन) गरेको आज उन्नाइसौं दिन हो । चीनको वुहानबाट सुरू भएर संसारका अधिकतर मुलुकमा पुगेको संक्रमणको स्थिति अमेरिकामा भयावह भइसकेको छ । छिमेकी मुलुक भारतमै पनि संक्रमित साढे आठ हजार र मृत्यु हुनेको संख्या तीन सयको हाराहारी पुगिसकेको छ । जति कडाइ गरे पनि सीमा खुलामात्रे होइन, हाम्रो 'रोटी-बेटी' कै सम्बन्ध अकाट्य छ । आजसम्म हाम्रो देशमा संक्रमण पुष्टि भएकाको संख्या १२ मात्रै छ भनेर हर्ष-बिस्मात गर्ने स्थिति पनि छैन ।

संक्रमणविरुद्धको सचेतनाका सूचना सुन्दै आउँदा हामीले पटक पटक साबुन-पानीले हात धुने, त्यो नभए सेनिटाइजरले हात सफा राख्ने, मान्छे-मान्छे बीच शारीरिक दुरी बनाउने र बाहिरफेर नहिडी घरै बस्ने सतर्कताका उपाय अपनाएकै छौं । भीड नगरे, हिडडुल नगरे कोरोना भाइरसले प्रसार हुन पाउँदैन त्यसैले लकडाउन गरिएको भन्ने सरकारी आदेशलाई कसैले विरोध गरेको छैन । रोग पनि यस्तो छ, जसले धनि-वर्ग, लिंग, उमेर छुट्याउँदैन भनिएपछि सतर्क रहँदारहँदै पनि त्रास छ- कतै कसैबाट सरेर आइ पो हाल्ने हो की !

त्यसैले लकडाउनलाई जनताले अटेर गरेका छैनन् । बिहान-दिउँसो फाट्टफुट्ट सडकमा निस्कनेहरूको संख्याका बारेका देख्ता-सुन्दा पनि सावधान रहेको अवस्था हो भन्नुपर्छ । किनभने एउटाले बाँदर वा सर्प नचाउँदा पनि भेला भएर उत्सुकता मेट्ने भीड हाम्रै हुन्थ्यो । यतिबेला निस्कनेहरू पनि पनि भान्साको गर्जोले दुस्साहस गर्न बाध्य पारेकाहरूकै जमात छ, जसलाई पेटले 'चारो ल्याउ' भन्दा मान्नु परेको हो ।

सबैले घरै बस्न खान लाउन नियमित पाउनु पर्छ, दुःख-बिमारमा ओखती पाउनु पर्छ । स्कुल-कलेज बन्द, बच्चाहरू फुर्सदिला छन् । कामधन्दा बन्द, बाहिरफेर हिडडुल बन्द, परिवारका सबैले हात बाँधेर घरैमा कोच्चिनु परेको छ। यो अवस्था हाम्रो कल्पनामै थिएन भनेर सुख पाउने अवस्था पनि होइन । स्तरअनुसारको मर्का सबैलाई परेको छ । दैनिक रोजगारी गरेमात्रै छाक टर्ने वर्गलाई परेको मर्का अरूभन्दा धेरै छ ।

ज्यालादारी रोजगारी, डेराको बास भएकालाई लामो बन्दाबन्दीले मर्का पार्दा ठूलो जमात सहरबाट पैदलै बालबच्चा, परिवार लिएर आआफ्नो सुदूर थलो गइरहेको समाचार हामीले दिनदिनै हेर्न, सुन्न र पढ्न पाइरहेका छौं । सडक छ, गाडी छैन । बजार छ, पसलहरू सबै बन्द छन् । रोग प्रसार हुन नदिने उत्तम उपाय मान्छेले एकअर्को ठाउँ हिडडुल नगर्नु त हो नि, तर यतिमात्रै भनेर सबैलाई पुगेको छैन ।

यतिबेला सहरमा व्यवसायिक प्रतिष्ठानहरू किराना सामान अनलाइनमा अर्डर लिएर घर-घर पुर्‍याइरहेका छन् । जे चाहिन्छ, मोबाइल एपबाट छान्यो, अर्डर गर्‍यो । सामान ढोकैमा आइपुगेपछि हेरेर पैसा तिरे हुन्छ । पैसा पनि नगदै दिनु पर्दैन, मोबाइल बैंकिङबाट तिर्न मिल्छ । तर यो सुविधा लिनेको संख्या मुलुकको जनसंख्याको हिसाबले अत्यन्त न्युन छ । धेरै जना यस्तो पहुँचमा छैनन् । काम भएका दिनमात्रै चुलोमा आगो बल्ने वर्गलाई यस्ता अफरले छुनसक्ने कुरै भएन ।

यो साता बन्दाबन्दीमा तीन खबर नयाँ छन्, पहिलो- उपचार तथा परीक्षणका लागि अस्पताल तोकिए, प्रयोगशाला संख्या बढाइयो, दोस्रो- संक्रमण आशंका र विदेशबाट हालसालै फिरेकाको स्वाबका नमुनाको र्‍यापिड टेस्ट थालियो र तेस्रो- स्थानीय सरकारहरूले विपनन्नलाई राहत बाँड्न थाले । खबरमा भनिएका यी सबै काम सराहनीय हुँदाहुँदै पनि ढुक्क हुने अवस्था छैन । कारण, सँगसँगै हामीले अस्पतालजन्य सामाग्री खरिदका प्रक्रियामा भ्रष्टाचारका खबर पनि सुन्न पाएका छौं । काम गर्दा सुरक्षित रहने सामाग्री नपाएको स्वास्थ्यकर्मीका गुनासा पनि सुनेका छौं ।

यतिबेला स्वास्थ्यकर्मीलाई हौसला दिनुपर्छ, सुरक्षाकर्मीको मनोबल बढाउनुपर्छ । स्रोत र साधन ल्याउने प्रक्रियामा अनियमितता गरिनु हुँदैन । महामारीको संकटमा पनि आफ्नो घरपरिवार र ज्यानको फिक्री नगरी पेसामा इमानदार रहेर खटिरहेकाहरूलाई सुविधा थपिदिनु पर्छ ।

विदेश यात्रा गर्दा हामी जुन देशको विमानस्थल टेक्छौं, त्यहाँ राहदानी जाँचमात्रै हुँदैन, राहदानीवाहक किन आयो, कहाँ-कति बस्छ र उ भेटिएन भने सम्पर्क व्यक्ति को हुनेछ भनेर सबै विवरण राखिन्छ । हाम्रो विमानस्थलमा पनि अवतरण गर्नेका लागि प्रक्रिया त्यही हो । तर, संक्रमितसँगै बिमानमा आएकाहरूमध्ये सरकारले सबैलाई खोजी भ्याउन सकेको छैन । स्थल सीमा-नाकाको उही बिजोग छ । घर आएकाहरू कहाँबाट आए, कहाँ बस्छन्, कसरी भेटिन्छन् भन्नेसम्मको अत्यावश्यक विवरण राख्न सरकारी संयन्त्र चुस्त छैन । अनि रह्यो- स्थानीय तहले गर्ने राहत वितरण । यसमा पनि कैफियतका खबर नआएका होइनन् ।

आफ्ना सबै संयन्त्रलाई सरकारले सक्रिय पार्न नसक्ने होइन । नेतृत्वको आदेशका भरमा संयन्त्रले खुरूखुरू आफ्नो काम विधिपूर्वक गर्नैपर्छ । कमजोरी देखाइदिनेलाई उछितो काढ्ने बानी छाडेर सरकारले आफ्ना काम गराइका तरिकामा सुधार ल्याउन समीक्षा पक्कै गर्ला भन्ने मानौं । किनभने यतिबेला त्यसको विकल्प छैन । सरकार चनाखो भइदिएन, उसका संयन्त्रले इमानदारीपूर्वक काम गरिदिएनन् भने महामारीको संकट अझ गहिरिन्छ ।

यतिबेला दूरदराज गाउँघर जान हिडेकालाई पुर्‍याइदिने जोरजाम सरकारले गरिदिनु पर्छ । घरै बस, ननिस्क भन्ने हो भने उनीहरूलाई दालभातको मेलो जुटाइदिनु पर्छ। स्थानीय सरकारले थोरबहुत बाँडेरमात्रै सबैलाई समेट्न सहज छैन । किनभने डेराको बासमा परिवारका सबै जना दिन-रात थुनिएर बस्नुपर्दा पानी, बत्तीको खर्चमात्रै बढेको हुँदैन, घरबेटीका असडज व्यवहारले पनि मान्छेलाई आजित बनाएको हुन्छ । गाडी चल्दा यात्रामा दिनभर-रातभर लाग्ने लामो बाटो पैदल हिड्न जो कसैले त्यसै आँट गर्दैन । रोगको संक्रमण रोक्नुपर्छ भन्ने संवेदनालाई भोकले छुँदैन । भोक-प्यास लागेकाहरू जसरी, जहाँ सहज हुनसक्छ त्यतै बाटो तताउँछन् ।

प्रकाशित : चैत्र ३०, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?