इमानदार घरबन्दीको बकपत्र- विचार - कान्तिपुर समाचार

इमानदार घरबन्दीको बकपत्र

उज्ज्वल प्रसाई

सरकार समाचार बनेर नागरिकका घरघर पुगेको छ । नागरिक–मस्तिष्कमा महामारीको भयसँगै सरकारका खबर धेरै छन् । खबरमा कोरोना महामारीको सामना गर्ने तयारी न्यून छ, अनियमितताका फेहरिस्त ज्यादा छन् ।

एउटा अनियमितताको कथा पढिनसक्दै, अर्को उस्तै अत्त्याउने कहानी आउँछ । यी भ्रष्टाचारका कुनै पनि समाचार खण्डन भएका छैनन्, गलत प्रमाणित गरिएका छैनन् । करोडौं नागरिकका श्रमले सृजना गरेको राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग भइरहेका ‘तथ्य’लाई चुनौती दिने विश्वसनीय तर्क र प्रमाण पेस गरिएका छैनन् । भ्रष्टाचारका घटनाले पार्ने आघातको हिसाब गर्ने सर्वेक्षण कहिले हुन्छ ?


निमुखा र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका दुःख सुविधाजनक घरमा बन्दी हुनेका लागि कल्पनातीत छन् ।ललितपुरदेखि सुनसरीसम्म पैदल हिँडेको कल्पना गर्न हम्मे पर्छ । घरबन्दीले निर्धारण गरेका सीमितताबीच सम्पर्क भएका निम्न मध्यमवर्गीय नागरिकका कथा पनि महत्त्वका छन् । हठात् आइलागेको फुर्सदमा उनीहरूले सबैभन्दा उपभोग गरिरहेको ‘वस्तु’ सम्भवतः समाचार नै होला । अन्यत्र कोरोना–असर भोग्ने मान्छेका गन्ती छन्, यता कमिसन–काण्डका सूची । नेतृत्वका लहडी बोली र व्यवहारका किस्सा थपिएकै छन् । यी सबै थरी गन्तीले भय, आक्रोश, अलमल एवं अनिश्चयका चिन्ता बढाएका छन् ।


मेचीनगरको सामुदायिक विद्यालयमा अध्यापन गर्ने एक शिक्षकको अनुभव यहाँ सान्दर्भिक हुन्छ । महाव्याधि फैलने शंका भएपछि विद्यालय बिदा गरियो, बन्दको घोषणा भएको अघिल्लो दिन विद्यालयमा दुई दर्जन कम्प्युटर आइपुगे । साथमा, ब्याट्रीलगायत अन्य जडानका सामान पनि थिए । मुलुकभरिका ९३० सामुदायिक विद्यालयमा कम्प्युटर प्रयोगशाला बनाउने सरकारी निर्णय कार्यान्वयन गर्दै ती सामान आइपुगेका हुन् । बन्दका कारण कम्प्युटर जडान गरेर प्रयोगशाला बन्न पाएन । घरबन्दीमा रहेका ती शिक्षकले हालसालै चर्चित भएको ओम्नी ग्रुप सम्मिलित भ्रष्टाचार काण्डका समाचार पढे । आफ्नो विद्यालयमा आइपुगेका कम्प्युटर आखिर अर्बौंको भ्रष्टाचारका दसी रहेछन् भन्ने उनले अखबार पढेर थाहा पाए । सञ्चार मन्त्रालयमा बुनिएको कमिसनको तानाबानाले आफ्नो विद्यालयमा समेत सोझो असर परेको थाहा पाउँदा उनलाई उदेक लाग्यो ।

‘अनियमितता संगठित छ, त्यो स्थायी प्रकृतिको छ । हामीजस्ता शिक्षकले आफ्नो पारिश्रमिकबाट वार्षिक रूपमा बुझाउने बीस हजारभन्दा बढी रकम पनि यसरी दुरुपयोग भएको देख्दा दिक्दार र निःशब्द हुन्छु ।’

गत वर्ष पुसमा नेपाल दूर सञ्चार प्राधिकरणले सूचना प्रकाशन गरेर सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि प्रस्ताव पेस गर्न आह्वान गर्‍यो । प्रयोगशाला सञ्चालनका लागि पूर्वाधार भएका प्रायः विद्यालयले प्रस्ताव पेस गरे । विद्यालय छनोटमा नगरपालिकाका साथै सो क्षेत्रका निर्वाचित संघीय संसद् सदस्यको पनि सिफारिस आवश्यक थियो । छनोटको सो प्रक्रियाले दलीय प्रभाव अत्यावश्यक बनायो । अर्थात्, छनोटका वस्तुगत मापदण्ड गौण भए, दलीय प्रभाव मुख्य बन्यो । विद्यालय सञ्चालक समितिका अध्यक्ष, प्रधानाध्यापक र सांसदको दलीय संलग्नता एकै भएका विद्यालयहरू छनोटमा परे । मेचीनगरमा प्रविधि प्रयोगशालाका लागि छनोट भएका विद्यालयहरूबीच खुला प्रतिस्पर्धा हुन्थ्यो भने, पूर्वाधार एवं आवश्यकताका कसीमा अहिलेका भन्दा अन्य दुई विद्यालयले पाउने सम्भावना बलियो थियो । दलीय दबाब झेल्न नसकेका सांसदले चाहेर पनि अरू विद्यालयलाई सिफारिस गर्न सकेनन् ।


दलीय प्रभावको कथा त्यहाँ टुंगिँदैन । पहिले छनोट गरिएका विद्यालयमा सन्तुष्ट नभएपछि सत्ताधारी दलको इसारामा अन्तिम अवस्थामा विद्यालयको सूची हेरफेर गरिएको शिक्षाबारे रिपोर्टिङ गर्ने विश्वसनीय पत्रकार बताउँछन् । छनोटमा दलीय प्रभाव बलियो बनाउनकै लागि शिक्षा मन्त्रालयमा कर्मचारी सरुवा भएको तथ्य पनि फेला परेको छ । अर्थात्, दलीय चलखेलका अनेक पत्र छिचोलेर प्रविधि प्रयोगशालाको कार्यक्रम तय गरियो ।


बजारभाउभन्दा धेरै महँगोमा खरिद गरिएका २३ हजारमध्ये २४ थान कम्प्युटर राखेर प्रविधि प्रयोगशाला बनाउन हतार गर्नुपर्ने कारण नभएको ती शिक्षकको बुझाइ छ । ‘कम्प्युटर कक्षा ९ र १० मा ऐच्छिक दोस्रो पत्रमा मात्र लिन सकिने विषयका रूपमा छ । अत्यधिक विद्यार्थीले दोस्रो पत्रमा लेखा, शिक्षाजस्ता विषय छनोट गर्छन् । त्यसले गर्दा पनि कम्प्युटर सामुदायिक विद्यालयमा रोजाइको विषय बनिसकेको छैन ।’ अन्य कामका लागि प्रविधि प्रयोगशालाको उपयोग हुन सक्छ । तर, त्यसरी काम लिन सक्ने गरी कम्प्युटरको उपयोग गर्ने जनशक्ति विद्यालयमा छैन । आज बाँडिएका कम्प्युटर र हतारमा बनाइएका प्रयोगशाला केही वर्षपछि बेहाल अवस्थामा भेटिन सक्छन् । त्यस बेला माकुराको जालोमा प्रयोगशाला मात्र होइन, अनियमिततामा संलग्नको अनुहार पनि पुरिएको हुनेछ ।


भ्रष्टाचारमा मुछिएको खबरपछि प्रविधि प्रयोगशाला स्थापना र सञ्चालनको काम उत्साहप्रद नहुने ती शिक्षक बताउँछन् । समाचारमा पहुँच भएका विद्यार्थीले प्रयोगशालामा प्रवेश गर्दैगर्दा भ्रष्टाचारकै कथा सम्झने भए । विद्यालयको पूर्वाधारलाई आफ्नै सम्झेर जतनले चलाउनुपर्ने शिक्षक र विद्यार्थीमा सो प्रयोगशाला र त्यहाँ राखिएका उपकरणप्रति अपनत्व जगाउन हम्मे पर्ने भयो । आफ्ना नाममा गरिएका अर्बौंका भ्रष्टाचार देखेपछि ‘बरु यो प्रयोगशाला नभएकै ठीकजस्तो अनुभूति’ हुने भयो । ‘अनियमितता संगठित छ, त्यो स्थायी प्रकृतिको छ । हामीजस्ता शिक्षकले आफ्नो पारिश्रमिकबाट वार्षिक रूपमा बुझाउने बीस हजारभन्दा बढी रकम पनि यसरी दुरुपयोग भएको देख्दा दिक्दार र निःशब्द हुन्छु ।’


छनोटमा परेका मेचीनगरका दुईमध्ये एक विद्यालयमा विद्यार्थीसंख्या दिन–प्रतिदिन घट्दो छ भने कम्प्युटर चलाउने सीप भएको जनशक्ति पनि छैन । कम्प्युटर विषय अध्यापन गराउने शिक्षकको त खडेरी नै छ । शिक्षक भन्छन्, ‘सबै तथ्यलाई एक ठाउँ राखेर केलायो भने दृश्य स्पष्ट हुन्छ । विद्यार्थीको सिकाइलाई सहयोग गर्न यो काम भएको होइन । प्रयोगशाला बनाउने निर्णय मूलतः केही मान्छेका लागि अवैध दाम कमाउन गरिएको रहेछ ।’ कोरोना महामारीकै बीच यस्ता दिक्कलाग्दा दृश्य देख्नुपर्दा सिंगो समाजको भविष्य बढ्ता अन्योलग्रस्त लाग्न थालेको छ उनलाई । ‘नयाँ पुस्ताले अर्को आन्दोलनको तयारी गर्नुपर्ने हुन सक्छ । तर, आन्दोलनबाट आउने वैकल्पिक नेतृत्व वा व्यवस्थाबारे अन्योल भएकाले सबै चुप लागेका होलान् ।’


महामारीको प्रभाव बिस्तारै कम होला, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा संस्थागत भएका भ्रष्टाचार कम हुने संकेत देखिँदैन । नेपाली समाजको चरम दलीयकरणको मौलो भ्रष्टाचार हो । कुनै पनि क्षेत्रमा इमानदारीपूर्वक काम गर्नेले दलीयकरणको विद्रूपता देखेको र भोगेको हुन्छ । महामारीपछि त्यो ज्यादा विद्रूप हुने सम्भावना छ । इमानदार शिक्षक होऊन् वा स्वास्थ्यकर्मी, तिनका दुःख र अवसाद घट्नेछैनन् । यस लेखका शिक्षक पात्रले भनेझैँ राजनीतिक विकल्पको रिक्तता छ, जसका कारण मुस्किलले जोहो गरेको श्रम गर्ने जाँगर हराउन थाल्छ । विपत्का बेला पढ्नुपरेका समाचारले जाँगर मार्ने क्रम द्रुत बनाएका छन् ।


साबिक अवस्थामा भ्रष्टाचारको सिलसिला अकण्टक चल्छ । विपत्मा त्यो क्रम द्रुत हुन्छ, आयतन पनि ह्वात्तै बढ्छ । बहुसंख्यकले बेहोरेको आघातलाई अवसरमा परिणत गर्न जान्ने अल्पसंख्यकले विपत्मा सुरु गरेको दोहनको चक्र विपत् सकिएको धेरै पछिसम्म सुचारु रहन्छ । यसका साथै, राज्य बलियो बनाउने नाममा अवलम्बन गरिने नीति, नियम र ऐनहरूले तिनै मुठीभरको स्वार्थसिद्ध गर्छन् । स्वास्थ्य सामग्री र उपकरण आयात गर्दा देखिएका हालसालैका अनियमितता त्यही अवसरवादका पछिल्ला उदाहरण हुन् । सूचना नचुहिएका कति ‘धन्दा’सुचारु होलान्, अनुमान गर्न गाह्रो छ ।


विपत्‌मा र विपत्‌पछि आम मानिसका समस्या थपिँदै जान्छन्, उनीहरू असहाय र निरीह पनि बन्छन् । त्यसमाथि संकटको उपयोग गर्दै लागू गरिने ऐन र नियमले उनीहरूलाई थप कमजोर बनाउँछन् । तुर्केली लेखक एजे टेमलकुरनले भनेजस्तो घरबन्दी सबैको हितमा भए पनि यो बाध्यकारी अवस्थाले फासीवादको चरित्रलाई मजबुत बनाउने सम्भावना धेरै छ । तर, निम्न मध्यमवर्गीय फुर्सदीका लागि यो विद्यमान समस्याबारे सोच्ने, समाधानका विकल्पबारे चिन्तन गर्ने र नयाँ संघर्षका निम्ति ऊर्जा सञ्चय गर्ने बेला पनि हो ।

प्रकाशित : चैत्र २८, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

‘खाता र एटीएम पिन नम्बर सुरक्षित राख्नुस्’

संक्रमणका बेला ह्याकरहरू सक्रिय हुने आशंकामा बैंकहरूले ग्राहकलाई गराए सचेत
यज्ञ बञ्जाडे

काठमाडौँ — आफ्नो खाता, एटीएम पिन नम्बरलगायत व्यक्तिगत विवरण कसैलाई नदिई सुरक्षित किसिमले मात्र बैंकिङ कारोबार गर्न बैंकहरूले आग्रह गरेका छन् । लकडाउनका बेला घरैबाट विद्युतीय कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका बैंकहरूले बैंकिङ सुरक्षामा पनि ध्यान दिन भनेका हुन् ।

बढ्दो विद्युतीय कारोबारसँगै जोखिम बढेकाले सुरक्षित हुन ग्राहकलाई सचेत गराइएको वाणिज्य बैंकको छाता संगठन बैंकर्स संघले बताएको छ । संघले विज्ञप्ति नै निकालेर सुरक्षित किसिमले विद्युतीय प्रणालीमार्फत कारोबार गर्न आग्रह गरेको छ । ‘यस विषम परिस्थितिमा सकेसम्म विद्युतीय कारोबार गर्नुहुन र आफ्नो खाता नम्बर, पिन नम्बरलगायत व्यक्तिगत विवरण कसैलाई नदिनुहुन तथा विद्युतीय कारोबारमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षित कारोबार गर्नुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

केही दिनयता अपरिचित नम्बरबाट ग्राहकलाई फोन गरेर बैंक खातासँग सम्बन्धित व्यक्तिगत विवरण मागेको कुरा बाहिर आएको छ । ती व्यक्तिले आफूलाई बैंकको कर्मचारी भएको र अनलाइन बैंकिङ कारोबारका लागि ती विवरण चाहिएको बताउँदै आएका छन् । वास्तवमा ती व्यक्ति बैंकका कर्मचारी नभई ह्याकर (पैसा चोरी गर्ने) व्यक्ति भएको अनुमानका आधारमा बैंकहरूले सचेत भएर कारोबार गर्न ग्राहकलाई आग्रह गरेको संघले जानकारी दिएको छ ।

संघकै निर्देशनका आधारमा बैंकहरूले पनि छुट्टाछुट्टै सूचना जारी गरेर बैंक खातासँग सम्बन्धित विवरण सुरक्षित राख्न भनेका छन् । ‘कुनै घटना घटेर नभई पूर्वसावधानीका लागि ग्राहकलाई सचेत हुन भनिएको हो,’ नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, ‘संक्रमणकालीन अवस्था रहेकाले ह्याकर सक्रिय हुन सक्छन् । यस्तो बेला ग्राहक सचेत हुनैपर्छ ।’ बढ्दो विद्युतीय कारोबारसँगै जोखिम पनि त्यत्तिकै रहने भएकाले चनाखो हुनुपर्ने उनको भनाइ छ । इन्भेस्टमेन्ट बैंकले विज्ञप्ति जारी गरेरै अपरिचित नम्बरबाट आएका टेलिफोन नउठाउन तथा बैंक खातासँग सम्बन्धित व्यक्तिगत विवरण नदिन आग्रह गरेको छ ।

अपरिचित व्यक्तिले फोन गरेर ग्राहकसँग व्यक्तिगत विवरण मागेका गुनासो प्राप्त भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । ‘लकडाउनका बेला विद्युतीय कारोबार बढेसँगै यदाकता त्यस्ता फोन कल आएको सुनिएको छ,’ उनले भने, ‘ह्याकरहरूले तपाईका गोप्य विवरण मागेर तपाईकै खाताबाट पैसा निकालिदिन सक्छन् है भनेर ग्राहकलाई बैंकले सचेत मात्र गराएका हुन् ।’ यो अवधिमा कुनै पनि बैंकमा चोरीको घटना नभएको पनि उनले दाबी गरे ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले पनि संक्रमणकालीन अवस्थामा ह्याकरहरूले चलखेल गर्न खोज्ने भएकाले सचेत हुन ग्राहकलाई आग्रह गरे । ‘आफ्नो थैलीको मुख बलियो बनाएपछि पछि रुनुपर्दैन,’ उनले भने, ‘यसकारण ग्राहकलाई सचेत हुन भनेका छौं ।’ ग्राहकलाई वित्तीय कारोबारबारे जानकारी दिन पनि यस्तो आग्रह गरिएको उनले बताए । ‘ग्राहकलाई वित्तीय शिक्षा प्रदान गर्ने क्रममै उक्त आग्रह गरिएको हो,’ उपाध्यायले भने ।

‘लकडाउनको अवस्था भएकाले पनि होला, अहिले विद्युतीय कारोबार गर्नेको संख्या र रकम बढेको छ,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘यस्तो बेला जोखिम पनि धेरै हुन्छ । आफ्नै परिवारका सदस्य, साथीभाइ, इष्टमित्रबाट पनि धोका हुन सक्छ । ती जोखिमका लागि ग्राहकलाई सचेत बनाइएको हो ।’
ग्राहककै भलाइका लागि सचेत भई सुरक्षित बैंकिङ कारोबार गर्न आग्रह गरिएको बैंकर्स संघका कार्यकारी निर्देशन अनिल शर्माले बताए । ‘ग्राहकले बैंकबाट भन्दै अपरिचित व्यक्तिको फोन गरी व्यक्तिगत विवरण मागेमा दिनु भएन,’ उनले भने, ‘त्यस्तो अवस्थामा ग्राहकले आफ्नो खाता रहेको बैंकमा फोन गरी यथार्थ बुझ्नुपर्छ ।’ अहिले कुनै पनि बैंकले फोन गरी ग्राहकबाट व्यक्तिगत विवरण नमागेको उनले दाबी गरे ।

विद्युतीय कारोबारमा तोकिएबमोजिम ग्राहकलाई नगद फिर्ता गर्नुपर्ने रकम सीधै खातामा जाने भएकाले त्यसका लागि कुनै प्रकारको व्यक्तिगत विवरण नचाहिने पनि उनले प्रस्ट्याए । ‘चनाखो बन्नुस्, कुनै कारोबारमा शंका लागे तत्काल बैंकलाई जानकारी दिनुस्,’ उनले भने, ‘खाता नम्बर, पिन कोड, एटीएम कार्डलगायत विवरण कसैलाई नदिनहोस् ।’

संक्रमणकालीन अवस्थामा ह्याकर सक्रिय भएको अनौपचारिक रूपमा सुन्नमा आए पनि औपचारिक रूपमा कुनै जानकारी नआएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख रेवतीप्रसाद नेपालले बताए । यद्यपि बैंक खातासम्बन्धी व्यक्तिगत विवरण कसैलाई नदिन उनले सुझाए ।

प्रकाशित : चैत्र २८, २०७६ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×