कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोपः चुनौती र सन्देश

विद्या भट्टराई

कोरोना भाइरसले निम्त्याएको महामारीलाई अहिल विश्वले एकैपटक सामना गरिरहेको छ । यसले अहिलेसम्म ८२ हजारभन्दा बढी मानिसको ज्यान लिएर संसारलाई त्रस्त बनाएको छ । नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएको छ । अमेरिकाको न्युयोर्क पछिल्लो समय कोरोना महामारीको इपिसेन्टर बन्ने समाचारले यसको गम्भीरताको छनक दिएको छ ।

कोरोना प्रकोपः चुनौती र सन्देश

कृत्रिम बौद्धिकताको विकास गर्दै सम्पन्न बन्ने होडबाजी चलिरहेको विश्वको ध्यानलाई कोरोना संक्रमणले विषयान्तर गरिदिएको छ । मानव जातिले भोगिरहेको कोरोना पीडाले विश्वव्यापीकरणमाथि नै थुप्रै प्रश्न सिर्जना गरिदिएको छ । त्यति मात्र होइन, अब विश्वका शक्तिशाली मानिने राष्ट्रहरू र तीद्वारा निर्माण रिएको आधुनिकता र यसले विकासशील राष्ट्रहरूमा पारेको प्रभाव कस्तो रहला भन्नेबारे अड्कलबाजी सुरु भएका छन् ।

कोरोना महामारी चीनमा सुरु हुँदा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटका रूपमा परिभाषित गर्यो । कोरोनाको लक्षण र यसको सामाजिक जीवनसँग जोडिएका विषयहरू बिस्तारै बाहिर आउन थाले । जब संक्रमण इरान दक्षिण कोरियासम्म पुग्यो, त्यतिन्जेल शक्तिशाली मानिएका देशहरूले यसलाई सामान्य फ्लुका रूपमा मात्र लिए । विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट विश्व नै संक्रमित हुने म्भावनाबारे जानकारी गराउँदा पनि शक्तिशाली राष्ट्रहरू भने यसको प्रभावित क्षेत्र दक्षिणपूर्वी एसिया मात्र हुन सक्ने आकलन र विश्लेषण गर्दै ढुक्कले बसिरहे । युरोप अमेरिकाले यो विश्व महामारी हुन सक्ने यथार्थलाई ढिलो गरी बुझे ।

जति बेला चीनमा संक्रमण सुरु भएर मृत्युका समाचारहरू सञ्चारमाध्यममा सम्प्रेषण हुन सुरु भयो, यसले एसिया र दक्षिण एसियाली राष्ट्रहरूलाई बढी सशंकित बनायो । संक्रमणको जोखिमबाट बच्नका लागि कम्तीमा पनि हात धुने, मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नियमलाई समयमै पालना गरियो । यसै कारण संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सम्भव भइरहेको छ ।

नेपालले पनि जोखिम न्यूनीकरणका लागि बनाएको सामाजिक नियमको पालना गर्दै भीडभाड कम गर्नका लागि अत्यावश्यक सेवाबाहेक अन्य कार्य रोकेर सिंगो देशलाई लकडाउन गरेको छ । विदेशबाट आएका एक व्यक्तिबाट अर्कामा कोरोना संक्रमण भएको सूचनापछि नेपाल सरकार अझै चनाखो भएको छ र लकडाउनलाई अझ कडा बनाएको छ । एक प्रदेशबाट अर्को प्रदेशमा आवागमन बन्द, एक स्थानीय तहबाट अर्को स्थानीय तहसँगको सामाजिक सम्पर्क र सम्बन्धमा रोकावटलाई अनिवार्य पालना गर्नका लागि आम नागरिकलाई अपिल गरेको छ । सामाजिक ूरी निर्वाह नगरी संक्रमणको सम्भावित विस्तार रोक्न नसकिने भएकाले सरकारको यो पहलमा नागरिकको सहयोगको उत्तिकै खाँचो छ । कोरोना भाइरसको सम्बन्ध एक प्रकारले भन्ने हो भने मानिसको गतिशीलतासँग छ । मानिसको आवतजावत, भीडभाड जति कम भयो उति राम्रो । यसो गरे मात्र यो संक्रमणबाट बच्न सकिने तथ्यहरू सार्वजनिक भइरहेका छन् ।

जब घटनाहरूलाई आधार बनाएर निश्चित विचार, मान्यता, दृष्टिकोण र सिद्धान्तहरू निर्माण गरिन्छन् अनि त्यसका आधारमा सामाजिक मूल्य, राजनीतिक सम्बन्ध, आर्थिक प्रणाली र सामाजिक जीवन व्यवहारलाई आकर्षित गर्दै परिवर्तनतर्फ उन्मुख हुने परिस्थितिको निर्माण हुन्छ, त्यो बेला घटनाहरू प्रक्रियाका रूपमा प्रस्तुत हुने गर्छन् । लकडाउन भएपछि लेखिएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लेखहरू, भएका बहस, छलफल र अन्तरक्रियाहरूलाई हेर्यौं भने कोरोना संक्रमण सन् २०१९–२० को एउटा महत्त्वपूर्ण घटना त बन्यो नै, योसँगसँगै पुँजीवादी विश्व व्यवस्था र यसले परिभाषित गरेको अन्तर्राष्ट्रिय श्रम, उदारीकरण, निजीकरण, अन्तर्राष्ट्रिय बसाइँसराइ, राष्ट्र, राज्य, अन्तर्राष्ट्रिय विनिमय, नाफा र शक्ति सम्बन्धमा आधारित विकासको मोडलका सम्बन्धमा परिमार्जित सोच र छलफल सुरु गर्नुपर्ने अवस्थामा विश्वलाई पुर्याउने हो कि भन्ने सवालमा विभिन्न मतका आधारमा छलफलहरू सुरु भएका छन् ।

चीनमा कोरोना संक्रमण विस्तारित हुन थालेपछि यसलाई संक्रमित भाइरस प्रमाणित गर्दै फैलिन नदिनका लागि विश्व स्वास्थ्य संगठनले सामाजिक र मानवीय सम्बन्धको दूरी कायम गर्न भन्यो । उसले संक्रमण रोकथामका लागि निर्माण गरेका सामाजिक उपायहरूको अवलम्बन गर्नुपर्ने अनिवार्यतालाई घोषणा गरेपछि सतर्कताका साथ संक्रमणको जोखिमलाई कम गर्न निश्चित सामाजिक अनुशासन अहिले विश्वभरि नै अवलम्बन गर्ने प्रयत्न भइरहेको छ । सामाजिक अनुशासन संक्रमणको अवस्था अवस्था हेरी खुकुलो वा कसिलो , तर यसका लागि विश्वव्यापी रूपमा एकै प्रकारको मान्यता बनाइएको छ । यो प्रावधानको पालनाका लागि हरेक देशको सरकारद्वारा लागू गरिने भ्यासलाई मजबुत बनाइएको छ । यसलाई लागू गर्नका लागि राजनीतिक परिवेश, राज्य र सरकारसँगको नागरिक सम्बन्ध, राज्यका महत्त्वपूर्ण अंग संघ, प्रदेश र स्थानीय सरकारहरूबीचको समन्वय र पारस्परिक सहयोग र तीनै सरकारअन्तर्गत क्रियाशील निकायहरूबीचको साझा विचार र पारस्परिक सहकार्यको अनिवार्यता रहेको छ । यस प्रकारको विश्वव्यापी महामारीविरुद्ध सक्षमताका साथ जुझ्नका लागि पर्याप्त स्वास्थ्यकर्मी आवश्यकताअनुरूपका स्वास्थ्य उपकरणहरू एवं अनुगमन अनुशासन पालनाका लागि सुरक्षाकर्मीहरूको व्यवस्था गर्दै जनउत्तरदायित्व र सामाजिक न्यायसहित सेवा वितरण गर्न सरकारी निकायहरूलाई जवाफदेही बनाउनुपर्छ । यसमा समन्वयकारी भूमिकाका रूपमा जनप्रतिनिधिहरू, नागरिक समाज र अन्य सरोकारवालासमेतको संयन्त्र आवश्यक हुन्छ ।

कोरोना महामारी विश्वमै विज्ञान र चिकित्सा क्षेत्रका लागि चुनौती बनेको छ । यसको सामना थोरै संसाधन भएको हाम्रोजस्तो देशलाई झन् कति कठिन होला, सहजै अनुमान लगाउन सकिन्छ । महामारीसँग जुझ्न सबल सक्षम स्वास्थ्य क्षेत्रको विकासले सहज हुने रहेछ । स्वास्थ्य क्षेत्रलाई सरकारको दायित्वभित्र पारी आम नागरिकको पहुँचमा पुर्याउन र यसलाई सामाजिक, राजनीतिक र सांस्कृतिक आयामहरूसँग जोडेर लैजान सक्नुपर्छ भन्ने मान्यतालाई वर्तमान अवस्थाले बल प्रदान गरेको छ । यो संकटको सामनामा सञ्चार क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण छ । जवाफदेही, उत्तरदायी र मानवीय संवेदनालाई सुझबुझपूर्ण तरिकाले सम्प्रेषित गर्ने सञ्चार क्षेत्रको विकास अबको आवश्यकता हो ।

लकडाउनले सबैभन्दा बढी समस्यामा पर्ने मानव समूह दैनिक ज्यालामा जीवनयापन गर्ने श्रमिकहरू हुन् र यति बेला उनीहरूको रोजगारीमाथि प्रश्नचिह्न खडा भएको छ । यो विषयलाई सम्बोधन गर्नका लागि लकडाउन लागू गरेका अन्य देशले झैं नेपाल सरकारले पनि पहल गरेको छ । विद्युत् महसुलमा २५ प्रतिशत छुट, विद्युत्, खानेपानी र टेलिफोन शुल्क भुक्तानीमा विलम्ब शुल्क मिनाहा, इन्टरनेट र डाटा प्रयोगकर्ता अनि सेवाप्रदायकलाई २५ प्रतिशत छुट, खाद्य वस्तुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङद्वारा १० प्रतिशत छुट, असंगठित श्रमिकहरूको घरभाडा छुट र घरबेटीहरूलाई एक महिनाको घरबहाल कर छुट, स्वास्थ्य उपकरण आयातमा भन्सार छुट र संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि २५ लाखको बिमाजस्ता राहत प्याकेजको घोषणा भएको छ ।

आज हामी कोरोना संक्रमणसँग त जुधिरहेका छौं नै, यसले पार्ने प्रभाव र परिणामको आकलन गरी हाम्रो सामाजिक–राजनीतिक परिवेशलाई कसरी व्यवस्थित गर्दै अगाडि बढ्ने भन्नेबारे पनि आकस्मिक नीतिहरू तर्जुमा गरी कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता देखिएको छ । यो संकटपछि विश्वमा तीन प्रकारका विशेषताका आधारमा राज्य–नागरिक सम्बन्ध मूर्त रूपमा विकसित भएको छ । पहिलो, पुँजी र बजारसँग प्रत्यक्ष सम्बन्ध रहेका राज्य र नागरिक, जहाँ पूर्ण रूपमा बजार बन्द भएका छैनन् र नागरिकले आफूलाई बन्द कोठामा सुरक्षित गर्नुपर्ने बाध्यता छ । दोस्रो, अर्थतन्त्र बजारबाट सञ्चालित भए पनि नागरिक र स्वास्थ्य संस्थाहरूलाई पूर्ण रूपमा राज्यप्रति विश्वस्त बनाउँदै संक्रमणविरुद्ध जुधिरहेका नागरिकहरू । तेस्रो, राज्य र समाजबीचको व्यावहारिक अन्तरसम्बन्ध किटान भई नसके पनि संविधानको मर्मअनुरूप राज्यप्रति भरोसा गर्ने तर समुदाय र समाजसँग पूर्ण रूपमा अन्तरसम्बन्धित रहेका नागरिकहरू ।

वर्तमानमा विश्व संकट बनिरहेको कोरोना भाइरस संक्रमणले भविष्यमा यी आयामलाई प्रस्तुत गर्नेछ— पहिलो, विश्व पुँजीवादमाथिको संकट र विश्व शक्तिराष्ट्रहरूको प्रभाव र नेतृत्वमाथि असन्तुलनको अवस्था । दोस्रो, विकासलाई हेर्ने सोच र बुझ्ने दृष्टिकोणमा सभ्यताका आधारमा ऐतिहासिक अध्ययनको बहस र विश्लेषण जोडिनुपर्छ भन्ने मान्यताको विकास । तेस्रो, सम्पूर्ण वनस्पति, प्रकृति र मानवबीचको पारस्परिक सम्बन्धका आधारमा मानव जातिको विकास र समृद्धि सम्भव छ भन्ने सोचको विकास । चौथो, समाजलाई समग्रताका आधारमा बुझ्नुपर्छ भन्ने मान्यताको विकास । यी आयामहरूका आधारमा कोरोनाको संक्रमण संकटलाई बुझ्न सकिने भएकाले यसलाई सिंगो विश्व व्यवस्थाका लागि एउटा महत्त्वपूर्ण परिवर्तनको प्रक्रियाका रूपमा लिन सकिन्छ ।

भट्टराई प्रतिनिधिसभा सदस्य हुन् ।

[email protected]

प्रकाशित : चैत्र २६, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?