कोभिड-१९ : ट्रेसिङ, टेस्टिङ, ट्रिटमेन्ट

परीक्षणमा नेगेटिभ नतिजा आउँदैमा कोरोना संक्रमण होइन भन्न सकिन्न । बिरामीको उपचार प्रक्रियामा नेगेटिभ नतिजा मात्रै ‘निर्णायक एकल आधार’ हुन सक्दैन ।
डा.स्वतन्त्र गौतम, डा. भौमिक शाह

गत साता विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस आडानोम घेब्रियससले कोरोना भाइरस (कोभिड–१९) माथि नियन्त्रण पाउन ‘परीक्षण, परीक्षण र परीक्षण’ को निती अवलम्बन गर्न सबै देशलाई आग्रह गरेका थिए ।

अघिल्लै साता अर्को समाचार आयो— भुटानमा शंका लागेर परीक्षण गरिएका एक बिरामीमा नतिजा नेगेटिभ आयो । अझ शंका लागेर दोस्रोपटक परीक्षण भयो— नतिजा नेगेटिभ नैआयो । फेरि पनि परीक्षण भयो, तैपनि नेगेटिभ आयो । तर, शरीरमा देखिएका ज्वरोसहितका लक्षण नरोकिएपछि चौथोपटक परीक्षण गर्दा मात्रै बल्ल पोजेटिभ भेटियो । यसरी विश्व स्वास्थ्य संगठनका तर्फबाट भनिएको ‘लगातार परीक्षण’ को अवधारणा भुटानका मामिलामा सिद्ध भयो ।


र, भुटानले समेत सतर्कता र सचेतनाका कार्यक्रमहरू एकैसाथ अघि बढायो ।


आज अन्तर्राष्ट्रिय समाचारहरूमा सन्त्रासकै कारण अमेरिकी राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति पुटिन, जर्मन चान्सलर एन्जेला मार्केलसहितले दोहोर्‍याउँदै कोभिड–१९ को परीक्षण गराइरहेको जानकारी आइरहेकै छ । यो तहको मनोवैज्ञानिक सन्त्रास फैलिएको स्थितिलाई सामान्य रूपमा लिनै मिल्दैन । फेरि कोरोना परीक्षणको नतिजामा नेगेटिभ वा पोजेटिभ देखिएको विषयमा अर्थ–अनर्थका सन्दर्भ जोडेर सामाजिक सञ्जालहरूमा छाएको बहस पनि सतही देखिएको छ ।


पछिल्लो एक साताको अन्तरमा बुटवल र चितवनका कोरोना उपचारकेन्द्रित अस्थायी अस्पताल तथा काठमाडौंंका वीर र पाटन अस्पतालमा आइसोलेसनमा बसेका कोभिड–१९ लक्षणसँग मिल्दाजुल्दा पाँच बिरामीको निधन भयो । तर, उनीरुको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ निस्कियो । यसरी, कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएकै अवस्थामा पनि नतिजा भने किन नेगेटिभ निस्किएको हो भनेर कौतूहल र परीक्षणमा आशंकासमेत रहेको पाइयो । यसरी नतिजा नेगेटिभ देखिनुमा कतिपयले परीक्षणगत त्रुटि भनेका छन् भने कतिपयले सही नतिजा देखाइएमा माहोल तनावग्रस्त हुने भन्ठानेर पनि त्यस्तो गरिएका तर्कहरू अघि सारेका छन् । यथार्थ के हो भने परीक्षणमा नेगेटिभ नतिजा हुनासाथै कोरोना संक्रमण होइन भन्न सकिन्न । बिरामीको उपचार प्रक्रियामा नेगेटिभ नतिजा मात्रै ‘निर्णायक एकल आधार’ हुन नसक्ने तथ्यलाई ख्याल गर्नु जरुरी छ ।


कुनै पनि मेडिकल टेस्टमा दुई महत्त्वपूर्ण पाटा हुन्छन्— संवेदनशीलता (सेन्सिटिभिटी) र विशिष्टता (स्पेसिफिसिटी) । परीक्षणहरू प्रयोगशाला तहमा‘संवेदनशील’ साबित हुन्छन्, जबकि व्यक्तिगत तहमा हुने परीक्षणले भाइरसको सानो सम्भाव्यता मात्रै पहिल्याउन सक्छ । पहिल्यायो भने यसबाट विशेषत: कोभिड–१९ मात्रै पत्ता लाग्छ,सार्स–कोभ–स्ट्रेन आदि होइन ।

‘लकडाउन’ को पहिलो चरण सफल भैसक्यो, हामीले अहिले नै संक्रमणलाई रोक्नमा सफलता हासिल गर्‍यौं भनेर नाराबाजी गर्ने बेला यो होइन ।

सामान्यतया कोभिड–१९ परीक्षणमा तत्काल संक्रमण नदेखिए पनि यसमा शतप्रतिशत ढुक्क भएर बस्न सकिन्न । नेगेटिभ देखा पर्नेका हकमा पनि उत्तिकै परामर्श र निगरानी जरुरी रहन्छ । पुन: परीक्षण र बारम्बार परीक्षणबारे सचेतना बढाउन सक्नुपर्छ । भुटानकै केस यो मामिलामा राम्रो उदाहरण हुन सक्छ । पोजेटिभ नतिजा आउनेका हकमा‘आइसोलेसन’ को अवधि र निगरानीमा अझसचेत हुनुपर्छ । अझ शंका लागेका बिरामीमा त झनै सकेसम्म फोक्सोको भित्री भागबाट ‘स्याम्पल’ लिएर जाँच गर्नु जरुरी हुन्छ, जसलाई मेडिकल भाषामा‘ब्रोन्को एल्भियोलर ल्याभेज’ भनिन्छ । यो चरणको परीक्षणमा पनि पोजेटिभ नभेटिए अझ ढुक्क हुनका लागि फोक्सोको सिटी–स्क्यानसमेत जरुरी हुन्छ । ख्याल गर्नुपर्ने तथ्य के हो भने, विश्वमा कहलिएको ‘नेचर’ जर्नलका अनुसार, कोरोना नियन्त्रण गर्न कम्तीमा ६ साताको क्वारेन्टाइन जरुरी हुन्छ ।


पहिलो चरणको परीक्षणमा नेगेटिभ देखिएका कतिपय केसमा दोस्रो चरणको परीक्षणमा पोजेटिभ’ भएको पनि पाइएको छ । संक्रमितको पहिलो चरणको परीक्षणमा भाइरस अन्त्यन्त सूक्ष्म आकारमा रहेकाले र ‘स्वाब’ (खकार/थुक) संकलनको पद्धतिमा रहेको कमजोरीले पनि रोग पहिचान मुस्किल भएको हुन सक्छ । जस्तो— स्वाब पनि नाकको भित्री भाग, बाहिरी नाक, घाँटी आदिमा विभिन्न फरक–फरक स्तरको विषाणु सक्रिय हुन सक्छ । यसमा स्वाब संकलनदेखि परीक्षणु विधिसम्ममा भिन्नता पनि हुन सक्छ । उदाहरणका लागि, जर्नल अफ अमेरिकी मेडिकल एसोसिएसनअनुसार, बिरामीको घाँटी र नाकको भित्रबाट लगिने स्वाब नमुनाको ‘संवेदनशीलता’ क्रमश: ३२ र ६३ प्रतिशत मात्रैछ । यस आधारमा, १ सय जना आशंकित व्यक्तिमध्ये घाँटीको स्वाब परीक्षण गरिएका ३२ जनामा मात्रै पोजेटिभ नतिजा आउँछ भने, नाकको स्वाबमा ६३ जना । अहिले नेपालमा अपनाइएको तरिका यही हो । बाहिरी विश्वका हकमा एकपटक नेगेटिभ परीक्षण आएको नतिजामा पुन: परीक्षण हुन्छ भने हामीकहाँ हुँदैन ।


नेपालमा अहिलेसम्म १२ सय जनामा परीक्षण गरिएकामा ९ जनामा मात्रै पोजेटिभ देखिएको छ । अमेरिकामा सुरुआती अवस्थामा १ लाख व्यक्तिमा परीक्षण गर्दा १ हजार जनामा संक्रमण देखिएको छ । त्यसकारण अधिकतम परीक्षण भनेको‘नम्बर’ र ‘क्वालिटी’ दुवै हो । अर्थात्, अधिकतम संख्यामा परीक्षण गर्ने र गुणस्तरीय किटको भरमा मात्रै परीक्षण गर्ने ।


अहिलेसम्म काठमाडौंको टेकु जनस्वास्थ्य प्रयोगशाला, धरान र पोखरामा मात्रै कोभिड–१९ परीक्षण सुरु भएको छ । कम स्रोतसाधन, समय र जनशक्तिका भरमा पनि यति काम सुरु हुनुलाई उत्साहजनक नै मान्नुपर्छ । यति मात्रै पर्याप्त भने छैन । कोरोना संक्रमणले विश्व स्वास्थ्य संगठनकै भनाइमा, महामारीको रूप लिइसकेको अवस्थामा नेपालमा संक्रमण नियन्त्रण, परीक्षण र अनुगमनमा निकै कछुवा गतिले काम अघि बढिरहेको यथार्थलाई स्विकानैपर्छ । ‘लकडाउन’ को पहिलो चरण सफल भैसक्यो, हामीले अहिले नै संक्रमणलाई रोक्नमा सफलता हासिल गर्‍यौं भनेर नाराबाजी गर्नेबेला यो होइन ।


अबको चरणमा भने हामीलाई अनिवार्य रूपमा‘थ्री टी’ अर्थात् ‘ट्रेसिङ, टेस्टिङ एन्ड ट्रिटमेन्ट’ को दिशामा अघि बढाउनैपर्छ । शनिबार मात्रै धनगढीमा कुनै लक्षण नदेखिँदासमेत एक जनामा कोरोना पोजेटिभ नतिजा आएको छ । ‘लोकल ट्रान्समिसन’ को यो स्थिति साँच्चिकै जोखिमपूर्ण छ । भारत, मुम्बईको धराबी सुकुम्बासी बस्तीमा, (जहाँ १० लाखभन्दा बढी घरविहीन व्यक्ति बस्छन्‌), समेत कोरोना संक्रमित भेटिएका छन् । अब यो सलहमा लाग्न सक्ने आगलागीको अवस्थालाई कसरी आकलन गर्ने ? कसरी यो आगो रोक्ने ? यही अवस्था नेपाली गाउँठाउँ र भीडभाडयुक्त सहर–बस्तीमा देखा परेमा के गर्ने ? यो हाम्रो नियन्त्रणबाहिरको महामारी बन्ने निश्चित छ । यसकारण मुलुकका सबै प्राथमिकता अब यही स्वास्थ्य सरोकारमा केन्द्रित गर्दै तत्काल गर्नैपर्ने र हिँड्नैपर्ने बाटो हो— ‘ट्रेसिङ, टेस्टिङ, ट्रिटमेन्ट’ !


-गौतम हाल मेडिकल अभ्यासमा संलग्न छन् भने शाह अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्याथोलोजिस्ट हुन् । प्रकाशित : चैत्र २५, २०७६ ०९:३६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लकडाउनमा खुलेका पुरुष

गौरी तमू

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ को कारण यति बेला देश लकडाउनमा छ । लकडाउनले हामी फुर्सदिला भयौं । पुस्तक पढ्ने, चलचित्र हेर्ने, परिवारसँगै मीठामीठा परिकारहरू बनाएर खाने र बालबालिकाका लागि भरपूर समय दिने वातावरण लकडाउनले सिर्जित गर्‍यो ।

यन्त्रजस्तै भइसकेको हामी मानिसलाई मानिसजस्तै बनाइदियो । लगडाउन सुरु भइसकेपछि सामाजिक सञ्जालभरि बिस्तारै पुराना तस्बिरहरू देखिन थाले । गाउँघरका पनि तस्बिरहरू आउन थाले । यी तस्बिरहरू साँच्चिकै मनमोहक थिए ।

जति यी तस्बिरहरू मनमोहक थिए त्यसको तुलनामा कैयौं गुणा बढी कुरूप महिलामाथि व्यङ्ग्य गरेर लेखिएका फेस्बुक स्टाटस र फोटाहरू थिए । नेपालीमा मात्रै होइन हिन्दीमा समेत लकडाउनका बेला महिलालाहरू शान्त होऊन् ता कि पुरुषहरू शान्तसँग घरमा बस्न सकून्, महिलाका कचकच सुनेर पुरुषहरूको कानको लोती नबढून्, ब्युटिपार्लर बन्द भए महिलाहरू जंगली देखिन्छन् जस्ता पोस्टहरू समाजिक सञ्जालमा हुन्थे ।

अझै योभन्दा भद्दा मजाक, अबको ९ महिनापछि नेपालको जनसंख्या वृद्धि हुन सक्ने संकेतसहित गर्भवती महिलाको नाङ्गो तस्बिरसहितको व्यङ्ग्य थियो । र, थियो— उक्त पोस्टमा कमेन्ट गर्दै लकडाउन उत्सव मनाइरहेको पुरुष मानसिकता । योभन्दा तुच्छ र दरिद्र मानसिकता अरू केही छैन भन्ने मलाई लाग्छ । व्यङ्ग्यचेत र क्षमताहुनेहरूले दु:खी, गरिब, कमजोर र महिलामाथि व्यङ्ग्य गर्दैनन् । संसारमा व्यङ्ग्यका लागि यीबाहेक अरू हजारौं विषयवस्तु छन् ।

एउटी महिला गर्भवती हुनु, आमा बन्नु सृष्टिकै सुन्दर सृजना हो । यो सृष्टिमा योभन्दा बढी सुन्दरता अरू के हुन सक्छ ? ब्युटिपार्लर नगएका सबै महिला कुरूप छैनन् र जंगली हुँदैनन् । यस्तो हुन्थ्यो भने जिन्दगीभर ब्युटिपार्लर नगएका गाउँघरका हाम्रा आमा, हजुरआमाहरू आफ्ना सन्तानका लागि विश्व सुन्दरीभन्दा कैयौं गुणा बढी सुन्दर किन छन् ? बरु जंगली त यस्ता पाखण्डी सोचले ग्रस्त हाम्रो मानसिकता हो ।

कोरोनाले विश्व आक्रान्त छ, संक्रमण बढिरहेको छ, मान्छेहरू मरिरहेका छन् अत्यावश्यक सामग्रीहरूको अभाव भइरहेको छ । सहर र सडकहरू सुनसान छन् ।सरकारसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरू आफ्नो ज्यानको बाजी थापेर स्वास्थ्य, सुरक्षा र सूचनाका क्षेत्रमा अहोरात्र खटिरहेका छन् । हाम्रै भलाइका लागि घरभित्रै बस्न अनुरोध पनि गरिरहेका छन् । तर लकडाउनको पहिलो दिनदेखि नै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपालीको प्रवृत्ति छताछुल्ल भयो । हामी प्रहरीको आँखा छलेर सवारीसाधन हुइँक्याउँदै र उल्टै प्रहरीसँग झगडा गरिरहेका थियौं । त्यसपछि प्रहरीले बाध्य भएर चाबी खोसेको र लाठी बर्साएको दृश्य हामी नेपाली हौं भन्नका लागि बडो लाजमर्दो र दु:खलाग्दो थियो ।

सामाजिक सञ्जालमा लेख्नुपर्ने, बहस र छलफल गरिनुपर्ने बग्रेल्ती विषयवस्तु छन् । तर यो संवेदनशील अवस्थामा हामी भने जाँगर लगाएरै, समय खर्चेरै महिलामाथि भद्दा मजाक गरिरहेकै छौं । हामीले कहिल्यै सोचेनौं कि, महिला पनि मान्छे हो, कसैको रमाइलोका लागि व्यङ्ग्य गरिने वस्तु होइन । उसमा पनि मानवीय चेत र संवेग छ ।

महिलामाथि हुने गरेका यस्ता व्यङ्ग्य हुन् वा उखानटुक्काहरूको प्रयोग लकडाउनले सिर्जित समस्या भने होइन । बरु हामीले बाँचेको समाज, संस्कार र पितृसत्तात्मक सोचका उपज हुन्, जसबाट महिला हजारौं वर्षदेखि पीडित छन् । देशमा जतिसुकै राजनीतिक परिवर्तनहरू आए पनि महिलाका लागि जति हुनुपर्ने हो त्यति भएकै छैन । महिला पीँधमै छन् र समस्या उस्तै छ ।

अहिलेकै सन्दर्भमा हेरौं, नेपालमा ‍औंलामा गन्न सकिनेबाहेक सबै नर्स महिला नैछन् । कोरोना हेल्थ डेस्कदेखि प्रदेश र संघीय हस्पिटलहरूको अग्रपंक्तिमा रहेर जोखिमपूर्ण अवस्थामा महिला नर्सले काम गरिरहेका छन् । शिशुलाई स्तनपान गराउँदै गरेका वा गर्भवती महिला नर्सका समस्या केवल महिलाकै समस्याका रूपमा हेरिन्छन् । महिलालाई व्यङ्ग्य गरेर नथाक्ने ओठहरू वा हातहरूले यस्ता समस्याहरूलाई गहिरिएर कहिले बुझ्ने ? कहिले साथ दिने ?

सामाजिक सञ्जालमा अधिकांश पुरुष लेखक र पाठक दिनमा यतिवटा चलचित्र हेरियो र यतिवटा पुस्तकहरू यो लकडाउन अवधिभर पढेर सकिन्छ भनेर लेखछन् । पोस्ट हेर्दा यस्तो लाग्छ, यो उनीहरूका लागि आराम र अध्ययन गर्ने उपयुक्त समय हो ।

यही समयमा महिला लेखक र पाठकका पोस्टहरू महिनौंपछि करेसाबारी गोडमेल गरियो, घरका कुनाकाप्चा, चोटा, चौका सफा गरियो, बालबच्चा र श्रीमान्‌को रुचिअनुसारको परिकारहरू बनाइयो भन्ने खालका हुन्छन् ।

यी कुराहरूले हाम्रो समाजमा अझै पनि महिलाको स्थिति र पुरुषको अवस्था कस्तो छ र महिलाहरू कहाँ अल्मलिरहेका छन् भन्ने प्रस्ट देखाउँछ । अशिक्षा र चेतनाको अभावमा यस्तो भएको हो भन्ने ठाउँ छैन । बरु हामीलाई हाम्रो सामाजिक संरचना, संस्कार, संस्कृति र सिंगो पितृसत्तात्मक सोचले कतिसम्म गाजेको छ भन्ने यस्तो प्रवृत्तिले देखाउँछ ।

अहिलेका सहरिया महिलाहरू प्राय: जागिर वा कुनै व्यवसायमा संलग्न छन् । उनीहरूले जागिरसँगसँगै घर अनि बालबच्चा सम्हाल्दै भान्सासम्म भ्याउनुपर्ने चुनौती छँदै छ । गाउँघरका महिलाहरू त झन् बिनापारिश्रमिक १८ घण्टा काम गर्ने घरेलु मजदुर नै भए । न उनीहरूको कामको मूल्य छ न अस्तित्वको नै । अझै पनि पुरुष अहम्ले महिलाको पनि शरीर हो, मन हो थकाइ लाग्छ र अनेक चाहना हुन्छन् भन्ने सोच्दैन । यस्तो लकडाउनको समयमा आराम गर्ने, अध्ययन गर्ने या श्रीमान्‌का हातबाट बनेका मिठामिठा परिकारहरू खान कहिले पाउने ? यो युगमा पनि विवाह नामको संस्थाबाट पुरुषले महिलालाई आरामसँग शोषण गरिरहेकै छन् र महिलाहरू मिसिनजस्तै चुपचाप ‘फ्री’ मा काम गर्ने घरेलु मजदुर भइरहेकै छन् । तर कहिलेसम्म ?

प्रकाशित : चैत्र २५, २०७६ ०९:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×