१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

छुवाछूतको भाइरस !

‘एक भाइरसले सबैलाई अछुत बनाइदियो । अलिकति सोचौं त, त्यो समाज कसरी बाँच्यो होला, जसलाई हजारौं वर्षदेखि अछुत बनाएर राखिएको छ ।’
राजेन्द्र महर्जन

कोरोना भाइरसको महाव्याधिसँगै ‘सोसल डिस्टेन्स’ शब्दावली अत्यधिक प्रचलित भएको छ, जुन दक्षिण एसियाली समाजमा तीन हजार वर्षभन्दा अगाडिदेखि अभ्यास हुँदै आएको छ । ‘सोसल डिस्टेन्स’ नै महाव्याधिविरुद्ध लड्ने अचुक अस्त्रका रूपमा व्याख्या भएपछि धेरैले व्यक्तिगत र सामाजिक दूरी कायम राख्ने नमस्ते वा नमस्कार गर्ने शिष्टाचारको सर्वाेच्चताको बयान गरे भने कसैले अरूलाई छुवाछूत गर्ने कुसंस्कारको सांस्कृतिक पवित्रताको महिमासमेत गाए । 

छुवाछूतको भाइरस !

आफूलाई सही, शुद्ध र श्रेष्ठ ठहर्‍याउने क्रममा ‘सोसल डिस्टेन्स’ को बखान गर्ने क्रममा छुवाछूतको महिमागान गाइएको देख्दा लाग्यो— दक्षिण एसियामा लागू रहेको वर्ण र जात नै सबैभन्दा ठूलो ‘आइसोलेसन सिस्टम’ हो, वर्ण र जातअनुसारको सहरबजार र गाउँबस्तीको बसाइ नै‘क्वारेन्टाइन’ हो, घरभित्र र बाहिर गरिने छुवाछूत र विभेद नै शुद्ध,निरोगी हुने वैज्ञानिक प्रक्रिया हो ।


विश्वका विद्वान्हरू कोरोना भाइरसको महाव्याधिले मानव सभ्यताको भविष्यमाथि संकट आइलागेको हो कि भनी चिन्तनशील छन्, हाम्रा विद्वान्हरू भने पूर्वीय सभ्यताले भूतकालमा विकास गरेका शिष्टाचारदेखि कुसंस्कृतिसम्मको गुनगानमा लिप्त छन् । उनीहरू कोरोनाविरुद्ध लडाइँमा आफ्नो धर्म, परम्परा र संस्कृतिमा रहेका अनेक सामाजिक दूरीलाई सही अस्त्र ठहर्‍याउँदै छन् । व्यवहारमा पनि उनीहरू महिला र शूद्रलाई मात्रै होइन, श्रमसँग जोडिएका सबै पेसा र व्यवसायलाई छुन नहुने वा अछूत वा अपवित्र घोषणा गर्दै छन् । आज पनि सहरको सफाइदेखि शरीरको उपचारमा संलग्न मानिसलाई घर–डेराबाट निकाल्दै आफ्नो सुस्वास्थ्य, शुद्धता, श्रेष्ठता र पवित्रताको रक्षा गर्दै छन् ।


कोरोनासँग जोडिएर लेखिएका रचनामा प्राचीन पूर्वीय सभ्यता रआफ्नो सांस्कृतिक अभ्यासमा प्रभावशाली रहेको ‘सोसल डिस्टेन्स’ को बखान गर्न कुनै कन्जुस्याइँ गरिएको छैन, न त अरूका सामाजिक अभ्यासको बदख्वाइँ गर्नमा पनि ‘मुलाहिजा’ गरिएको छ । यस अर्थमा कोरोनाको संक्रमणबाट बच्न अत्यावश्यक ‘सोसल डिस्टेन्स’ लाई दक्षिण एसियामा ‘सामाजिक दूरी’ कै रूपमा बुझ्नु नै सही हुने रहेछ, व्यक्तिगत दूरीका रूपमा मात्रै होइन । अरूलाई अछूत ठान्नु, छोइछिटो गर्नु, अछूतपनालाई धर्म, शास्त्र, कानुन, न्यायसँग जोडेर वर्ण–जातको संरचना बनाउनु, स्रोत–साधन–सम्पत्तिसँगै प्रेम, यौन, विवाहसँग सम्बन्ध गाँस्नु अछूतपना वा अस्पृश्यता वा सामाजिक दूरीका अनेक आयाम हुन् ।


सामाजिक भाइरस

‘एक भाइरसले सबैलाई अछूत बनाइदियो । अलिकति सोचौं त, त्यो समाज कसरी बाँच्यो होला, जसलाई हजारौं वर्षदेखि अछूत बनाएर राखिएको छ ।’ कार्टुनिस्ट रविन सायमिको फेसबुक स्टाटसमा भेटिएको यो भनाइ भारतका प्रख्यात कलाकार नाना पाटेकरको हो । यसमाकोरोना महाव्याधिले ल्याएको अस्पृश्यताको आयाम झल्काउने खालको सन्देश छँदै छ, त्योभन्दा बेसी मार्मिक संकेत छ, दक्षिण एसियामा सयौं वर्षदेखि फैलिएको जातभात र छुवाछूतको भाइरसबारे ।


धेरैलाई थाहा छ— कसलाई छुन वा समात्न हुन्छ, कसलाई हुँदैन ? कुन शौच, कुनै अशौच ? को स्पृश्य, को अस्पृश्य ? को छूत, कोअछूत ? को शुद्ध, पवित्र र श्रेष्ठ, को अशुद्ध, अपवित्र र नीच ? यसको उत्तर खोज्न दक्षिण एसियाली विधान–कानुन वा हिन्दु धर्मका शास्त्र पल्टाइरहनु पर्दैन, एक क्षण अछूतको जीवन बाँचे पुग्छ । अरूलाई अछूत ठान्ने वर्णवादी मानसभित्र पसियो भने दक्षिण एसियाली हिन्दु समाजमा व्याप्त ‘अस्पृश्यताको भाइरस’ को मात्रै निदान (डाइग्नोसिस) गर्न सकिन्छ ।


दक्षिण एसियामा समाज बनेदेखि नै छूत–अछूतको भावना जन्मिएको होइन । समाजमा उचनीचको श्रेणी बन्न थालेदेखि अनेक भेदभाव सिर्जना भएका हुन् । कृषि व्यवस्था जटिल बनेपछि र नगरमा वाणिज्यसम्बन्धी क्रियाकलाप बढेकाले भेदभाव जन्मिएको हो । इतिहासकार रोमिला थापर लेख्छिन्, ‘भूमिमाथि नियन्त्रण कडा हुँदा स्थानीय आबादी र नवागन्तुक निवासीबीच भेदभाव पैदा भयो । सहरीकरणबाट नगर र जनपदबीच हदबन्दी भएसँगै अनेक आवश्यक व्यवसाय उत्पन्न भए । यसै क्रममा केही व्यवसाय प्रदूषक मानिए । र, यस्ता काम विस्थापितहरूले नै गर्ने भए । यिनै समुदायमध्येबाट अस्पृश्यहरूको उत्पत्ति भयो ।’


सहर वा नगरको पृष्ठभूमिमा अस्पृश्यता जन्मिएको धारणा प्रबलछ । प्रत्येकजसो सहर वा नगर वा गाउँका बाहिरी भागमा चण्डालहरूको बसाइले त्यही संकेत गर्छ । काठमाडौं सहरकै निर्माण र बसाइको भूगोल हेर्दा पनि समाजमा ‘प्रदूषित काम गर्नेहरू’ लाई सीमान्तमा राखिएको पाइन्छ । जो–जो श्रम गर्छन्, श्रममा पनि तल्लो दर्जाको मानिने फोहोरका काम गर्छन्, उनीहरूलाई सहरमा जतिखेर पनि छिर्न नदिने, छिर्न दिँदा पनि पवित्र गर्ने काम त्यत्तिकै भएको होइन । निष्कर्ष के निस्कन्छ भने, अस्पृश्यता भावनाको उद्भव केही व्यवसायलाई अपवित्र मान्ने सिद्धान्तका आधारमा भएको हो । तर, केही व्यवसाय अपवित्र मानिन्छन् नै किन ?


शारीरिक श्रमप्रतिको घृणाको भाव

इतिहासकार रामशरण शर्माका अनुसार, अस्पृश्यताको उत्पत्तिको एउटा कारण थियो— आदिम जातिहरूहरूको संस्कारहीन जीवन । उनीहरू मुख्यतया सिकारी र चिडीमारको जीवन बिताउँथे । जबकि उनीहरूका तुलनामा ब्राह्मण समाजका सदस्यहरू भने धातु (मेटल) सँग जोडिएका काम र कृषिको ज्ञान राख्थे अनि नगर–जीवनको विकास गर्दै थिए ।‘नीच जाति’ हरूको जीवन संकटमय थियो र शूद्रहरूको भन्दा नराम्रो हालत थियो । भौतिक जीवनको यही विषमता स्वयं ब्राह्मण समाजमा बढिरहेको घृणाको भावनासँगै उग्र हुँदै गयो । तत्कालीन ग्रीक समाजमा जस्तै वैदिक कालपछिको समाजमा शारीरिक श्रम गर्नुपर्ने पेसा र व्यवसायप्रति घृणा–भाव देखिन्थ्यो । ‘उच्च वर्ण’ का मानिसहरूले, खासगरी ब्राह्मण र क्षत्रियहरूले, बिस्तारै–बिस्तारै उत्पादनका कार्यबाट हात खिच्न थाले, आफ्नो स्थिति र कामका सन्दर्भमा वंश–परम्पराको निर्वाह गर्न लागे । यसैको परिणामस्वरूप उनीहरूको मनमा शारीरिक श्रमसँग जोडिएका पेसा र व्यवसायप्रति मात्रै घृणा बढेको होइन, उनीहरूले त यस्ता काम गर्ने मानिसहरूलाई नै हेय ठान्न थाले ।


यसको अर्थ हो— आदिम जातिहरूको हीन संस्कृति, श्रमसाध्य कार्यप्रति बढ्दो घृणाको भाव र निषेध तथा पवित्रतासम्बन्धी अति प्राचीनविचारको पृष्ठभूमिमा अस्पृश्यताजस्तो असाधारण भावनाको उदय भयो । यो खासगरी लास जलाउने चण्डालहरूको काममा सत्य थियो, जसलाई पुराना विचारका मानिसहरू अपवित्र र घृणास्पद ठान्थे । त्यसपछि छाला र लुगा सिउने काम गर्नेहरूलाई पनि अस्पृश्य मान्न थालियो । यसरी निम्नवर्गीय मानिसहरूको शारीरिक श्रमप्रतिको घृणाको भावले नै अन्तत: अस्पृश्यतालाई जन्माएको हो । यसको मतलब अस्पृश्यता आफ्नो पेसा, आफ्नो कर्म, आफ्नो लुगा, खाना र संस्कृतिलाई उच्च, सभ्य, पवित्र र श्रेष्ठ ठान्ने विचार, भावना र अभ्यासकै अतिनकारात्मक परिणाम हुन सक्छ ।


दक्षिण एसियाली इतिहास र धर्मशास्त्रहरूको अध्ययनबाट थाहा हुन्छ, ‘उच्च’ वर्णका सदस्य, खासगरी ब्राह्मणहरू शारीरिक श्रमसम्बन्धी व्यवसायप्रति घृणाको भाव राख्थे । यसबीच शारीरिक श्रम नगरीकनै खान, बस्न र योग–ध्यान–जप–तप–अध्ययन–लेखन गर्न पाइने गरी उत्पादनमा अधिशेष हुने अवस्था आयो र वर्ण–वर्गको एकाधिकार हुने स्थिति आयो । यही कारण शारीरिक श्रम गर्दै जीविका चलाउन बाध्य श्रमिकहरूलाई शूद्र, नीच, हीन, हेय, तल्लो दर्जाको मान्दै अस्पृश्यताको व्यवहार गरियो । शर्मा के दाबी गर्छन् भने अस्पृश्यताको उद्भव बौद्ध धर्मको उद्भव र विकास भएको समय, मौर्यपूर्व कालको अन्ततिर भएको हो ।


त्यस बेलादेखि चण्डालहरूलाई अछूत मान्ने, उनीहरूको स्पर्शबाट शरीर अपवित्र हुने, छोइएमा सबै वस्त्रसँगै शरीर स्नान गर्दै पवित्र हुनुपर्ने, उनीहरूलाई छोएर बग्ने हावासमेत दूषित मान्ने, अधम मानिने उनीहरूलाई देख्दासमेत अपशकुन हुने र आँखा सफा गर्नुपर्ने, उनीहरूले देखेको भोजन र पेय पदार्थसमेत ग्रहण गर्न नहुने तथा अज्ञानवश ग्रहण गरिएमा सामाजिक बहिष्कारको भागी हुनुपर्ने व्यवस्था सुरु भयो । कतिसम्म भने, कुनै सहरमा घाम डुबेपछि छिर्न नपाइने त कुनै नगरमा पसेमा कुटेर बेहोस पार्ने चलन त्यसकै परिणाम हो ।


छुवाछूत, वर्ण–व्यवस्था र जातभात

शास्त्र रचना गर्ने र पुरोहित्याइँ गर्ने ब्राह्मण तथा सत्ता–शक्तिको अभ्यास गर्ने क्षेत्रीहरूबाट सञ्चालित समाज र राज्यमा शारीरिक श्रम एवं शारीरिक श्रम गर्नेहरूप्रति घृणाको भाव हुनु अनौठो होइन । यही घृणाको भाव वर्ण–व्यवस्था र जातभातसँग मिसिएपछि ‘क्रोनिक’ भएको हो । अस्पृश्यता वा छुवाछूतसँग हिन्दु धर्मसँग सम्बन्धित वर्ण–व्यवस्था र जातभातको सालनाल जोडिएको छ, त्यसको अंग र विस्तारका रूपमा विद्यमान छ । थापर भन्छिन्, ‘अस्पृश्यता एक प्रकारको धार्मिक उत्पीडन नै हो, किनभने यसमा समाजबाट बहिष्कारको भावना निहित रहेको छ र यो भावना ब्राह्मणहरूसँगै अन्य श्रमण सम्प्रदायमा पनि थियो ।’


एकले अर्काेलाई अधीनस्थ बनाउने क्रममा सिर्जना भएको अस्पृश्यताको भाइरसले अनेक रूपरंग लिएको देखिन्छ । कुनै बेला शारीरिक हिंसाकै रूपमा बाँचेको थियो अस्पृश्यता । कालान्तरमा यो सांकेतिक हिंसाका रूपमा, शाब्दिक हिंसाका रूपमा वा अन्यलाई तल्लो, नीच, अशुद्ध जात, जाति, लिंगका रूपमा कलंकित गर्ने हिंसाका रूपमा, अन्यकरण र पृथकीकरण गर्ने सांस्कृतिक हतियारका रूपमा विद्यमान रहेको छ । पुराना उत्पीडनकारी मूल्य, पृथक्तावादी मान्यता र हिंस्रक अभ्यासलाई आधुनिक र वैज्ञानिक आवरण दिने तथा गौरवपूर्ण परम्पराका रूपमा महिमामण्डन गर्ने हदसम्मको बौद्धिक–नैतिक हिंसा नयाँ ‘कास्ट एलिट’ (जातवादी अभिजात) हरूबाट जारी छ ।


यसैको पछिल्लो ‘डिस्कोर्स’ हो— कोरोना महाव्याधिको निहुँमा हात मिलाउने र अँगालो मार्ने चलनको सट्टा नमस्ते वा नमस्कार गर्ने पूर्वीय चलनको सर्वाेच्चताको बखान । निश्चित समय र सन्दर्भमा विकास भएका यस्ता शिष्टाचारका विधि र प्रक्रियालाई सधैं सही वा सधैं बेसही भन्नु उचित होइन । कोरोना महाव्याधि वा अन्य विशिष्ट सन्दर्भमा कुनै उचित होला, कुनै अनुचित । तर, पहिलेदेखि अन्यकरण र पृथकीकरणमा रमाउने हाम्रो जातभातको अहंकारले कुनैलाई सदा सही, शुद्ध, पवित्र रश्रेष्ठ ठम्याइहाल्यो भने अरूलाई बेठीक, अशुद्ध, अपवित्र र नीच । निश्चित वर्ण, जात र लिंगको सर्वाेच्चता, श्रेष्ठता र पवित्रताको अभ्यास गर्दै अरूलाई पराया, पृथक् र कलंक ठहर्‍याउने हाम्रा शास्त्र र शिक्षाले अरूका शिष्टाचारको बदख्वाइँ गर्नमा कुनै कन्जुस्याइँ गरेनन् । र, हामीलाई


आफ्ना धर्म, शास्त्र, राज्य, समाज, परिवार र पुर्खाले सिकाएको आचरण नै सर्वाेत्कृष्ट लाग्यो र अरूको शिष्टाचार छि:छि: दुरदुर गर्न योग्य कुसंस्कृति ।


अब त सबैखाले छुवाछूत र विभेद हाम्रा लागि वैज्ञानिक, स्वस्थकर र शुद्ध–पवित्र लाग्न थालेका छन् । अब उदारवादी भनिने विद्वान् र लेखकहरूका संस्मरण र लेखनबाट समेत उद्घोष हुँदै छ— छुवाछूत सबैभन्दा वैज्ञानिक कर्म हो, अस्पृश्यता नै सबैभन्दा सभ्य र पवित्र धर्म हो ! यस्तो पुरातन चिन्तन र लेखनका आधारमा हामीले मानव जाति र पृथ्वीको प्राकृतिक जीवनको भविष्य सुनिश्चित गर्न सक्छौं ?

प्रकाशित : चैत्र २५, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?