महामारीले गरेको ढकढक- विचार - कान्तिपुर समाचार

महामारीले गरेको ढकढक

पुरानो पुँजीवादले कम्तीमा जनसरोकारका अत्यावश्यक चीज राज्यको नियन्त्रणमा राख्थ्यो, तर नवउदारवादी आजको पुँजीवादले जनसरोकारका सबैजसो विषय निजी र बहुराष्ट्रिय नाफाखोर पुँजीपतिको जिम्मा लगायो ।
आहुति

आज कोरोना महामारीबीच जति भयानक आतंक, पीडा र स्तब्धता मानव जातिले बेहोर्नुपरे पनि यो अवस्था अन्तत: साम्य हुने नै छ । विश्वमा यसअघि फैलिएका व्याधिमय महामारीहरू जसरी क्रमश: हराउँदै गए, कोरोनाको नियति पनि त्योभन्दा गुणात्मक रूपमा फरक हुने देखिँदैन ।

नाफाखोर वा सेवामूलक सबैजसो स्वास्थ्य संगठनले प्रचार गरेको जानकारीलाई आधार बनाउँदा विश्वका ७ अर्ब ५० करोड मानिसमै संक्रमण भए पनि उपचारतिर ध्यान दिनैपर्ने अवस्था केवल २० प्रतिशत अर्थात् १ अर्ब ५० करोडको मात्र हुनेछ, ८० प्रतिशत स्वत: निको हुन्छन् । संक्रमितमध्येको मृत्यु ३ प्रतिशतसम्म पुग्न सक्ने अनुमान पनि आजको मृत्युदरलाई हेर्दा धेरै फरक परेको देखिन्न । त्यसमाथि साढे ४ अर्ब जनसंख्या ओगट्ने ठूलो जनसंख्या भएका दश देशहरूमध्ये अमेरिकाबाहेक अरूमा भयावह संक्रमण दर छैन । यी सबै परिदृश्यका आधारमा भन्न सकिन्छ— कोरोनाले मानव जातिमाथि थप एउटा नयाँ चुनौती त थप्नेछ, तर मानव जातिको अस्तित्वकै निम्ति चुनौती सिर्जना गर्न सक्ने ल्याकत भने राख्नेछैन । तर यस प्रकारका महामारीको प्रभाव जनस्वास्थ्यसम्म मात्र सीमित रहने गरेको छैन, बरु त्यसले आर्थिक, राजनीतिक र वैचारिक संकट एवं त्यसमाथि नयाँ बहसहरू लिएर आउने गरेको छ र त्यो स्वाभाविक छ ।


विश्वव्यापी रूपमा लिइएको ‘सामाजिक दूरी’ र ‘बन्द’ को रणनीतिका कारण आर्थिक जर्जरताको सिकार बनेको श्रमिक वर्गको स्थिति र भविष्यबारे ठूलो बहस तत्काल नदेखिए पनि भविष्यमा ठूलो बनेर आउने नै छ । अहिले अमेरिका र युरोपबाट विश्व पुँजीवादी व्यवस्थाको नेतृत्व चीनको पकडमा आउन यस महामारीले गम्भीर भूमिका खेल्न सक्ने प्रक्षेपण भने सुरु भैसकेको छ । तर केही अर्ब डलरको स्वास्थ्य सामग्रीको व्यापारबाट मात्रै त्यो स्थिति उत्पन्न भैहाल्ला भन्नु हतारो नै हुनेछ । महामारीपछिको भविष्यका विभिन्न आयामसम्बन्धी प्रक्षेपणबाहेक यो महामारी के हो र कसरी आयो भन्ने विषयमा मूलत: तीन प्रकारका बुझाइ, अनुमान र बहसहरू चलिरहेका छन् ।


एक, प्रकृतिको विकृत दोहनको परिणाम । विश्व पुँजीवादको नेतृत्वमा भैरहेको पर्यावरण विनाशका विरुद्ध लगातार आवाज उठाइरहेकाहरूले कोरोना भाइरसलाई त्यही मानव क्रियाविरुद्ध प्रकृतिको प्रतिक्रियाका रूपमा व्याख्या गर्न थालेका छन् । पर्यावरण विनाशले स्वाभाविक वातावरणमा आइरहेको घातक विकृति त अनुसन्धानहरूबाट पुष्टि भएको कुरा हो, तर नयाँ भाइरस नै उत्पन्न भयो भन्ने अनुसन्धान त भएको छैन । वातावरणीय विनाशको प्रतिक्रियास्वरूप जंगली र घरेलु जनावर पनि यस प्रकारको कुनै महामारीबीच फस्न थालेका तथ्यहरू नदेखिनुले मानवलाई मात्र निसाना बनाउने प्रकृतिको प्रतिक्रिया कसरी सम्भव होला भन्ने प्रश्न स्वत: जन्मिन्छ । कतिपयले विभिन्न जनावरको मासु खाने चिनियाँ संस्कृतिलाई पनि दोष थुपार्न थालेका छन्, तर त्यो संस्कृति त एकाध वर्षको होइन । जनावरकै मासुबाट सरेको न कुनै प्रमाण छ, न अहिले मात्र किन सर्‍यो भन्ने अनुसन्धान । प्रकृतिको प्रतिक्रियासम्बन्धी यो दाबी तत्कालै पुष्टि नभए पनि खारेज गरिहाल्न सजिलै सकिने खालको चाहिँ होइन, किनभने प्रकृतिका करोडौं नखुलिसकेका रहस्यमध्ये यो एक हुन पनि सक्छ, जसरी प्लास्टिक खाने ब्याक्टेरिया पनि पृथ्वीमा सम्भव हुन सक्छ भन्ने कुरा पत्ता लाग्नुभन्दा पहिले असम्भव नै त मानिन्थ्यो । सम्भावनाहरूमाथि टेकेर नै यथार्थको गन्तव्यसम्म पुगिने हुँदा बहसको यस प्रवृत्तिलाई प्रोत्साहित गर्नु नै सही हुन्छ ।


दुई, प्रकृतिको स्वाभाविक प्रक्रिया । व्याधिमय महामारीहरू प्रकृतिमा बेलाबेला आइरहन्छन् र यो एक स्वाभाविक प्राकृतिक प्रक्रिया मात्र भएको बताउने यो मत आदर्शवादी प्रकारको देखिन्छ । यसले महामारीका सामाजिक कारणहरू खोज्ने वा औंल्याउनेतिरभन्दा भवितव्यमा सीमित पार्ने कोसिस गर्छ । कुनै परिघटनाको भवितव्य नै कारण बताएपछि मानिससँग त्योबाट बच्ने वा त्यसलाई रोक्ने कुनै उपाय बाँकी रहन्न । यही प्रकारको धूमिल मानसिकताबीच नै तमाम धर्मपन्थीहरूले मानिसहरूलाई थप धार्मिक बनाउने, ईश्वरको सर्वसत्ता स्विकार्न लगाउने खेल खेल्छन् । कोरोनाकै सन्दर्भमा पनि विभिन्न धार्मिक टुकडीहरूले आआफ्नो मतलबका ईश्वरको शरणमा जाँदा ठीक हुने भनी गरेका हर्कतहरू सर्वत्र धेरथोर देखा परेकै छन् । कोही यशुलाई पुकार्न, कोही होम गर्न र गौमूत्र ख्वाउन त कोही अल्लाह डाक्न लागिपरेकै छन् । तर यो कुनै बहस होइन, यो त केवल अन्धविश्वास वा ‘धन्दा’ भएकाले यसलाई भने खारेज गर्नतिर लाग्नु जरुरी छ ।


तीन, नाफाखोरहरूको षड्यन्त्र । कोरोना महामारीलाई षड्यन्त्रका रूपमा व्याख्या गर्ने दुइटा प्रवृत्ति पनि सतहमा उत्रिएका छन् । तीमध्ये एउटा पक्षले भनेको छ— यो चीन वा अमेरिकाले बनाएको नयाँ युद्ध हतियार हो । यो आरोप अनुमानबाहेक धेरै देखा पर्दैन, यदि त्यसै हो भने पनि भविष्यको अनुसन्धानले विषय स्पष्ट पार्दै जाला । यस तर्कलाई खारेज नै गरिहाल्नुपर्ने नलागे पनि कोरोनाको आजको विश्वव्यापी चरित्रलाई हेर्दा त्यस अनुमानमाथि धेरै घोत्लिनु आवश्यक देखिँदैन । आजको महामारीलाई षड्यन्त्रका रूपमा प्रस्तुत गर्दै त्यसको सजिलो समाधानसमेत अगाडि सारेर अर्को प्रवृत्तिका रूपमा प्राकृतिक चिकित्साकर्मी एवं ‘न्युट्रिसियन’ हरूको जमात उपस्थित भएको छ । यसको नेतृत्व छिमेकी भारतमा विश्वरूप राय चौधरीले गरिरहेका छन् । यस प्रवृत्तिले प्राकृतिक चिकित्सा विधिको मान्यतामा टेकेर नभई आजसम्मको वास्तविक स्वास्थ्य विज्ञानमा भएका अनुसन्धानहरूमा आधारित भएर आफ्नो दाबी प्रस्तुत गरेको छ । यो त्यही प्रवृत्ति हो जसले एचआईभी/एड्स, डेंगु, एचवानएनवानलगायतका महामारीलाई केवल स्वास्थ्य क्षेत्रका माफियाको खेल भएको दाबी गरेको थियो ।


विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका तमाम औषधिलाई बहिष्कार गर्दै गैरनाफामूलक विधिबाट दर्जनौं घातक रोगका लाखौं रोगीको सफल उपचार गरिसकेको यो प्रवृत्तिले तथ्यहरूसहित दाबा प्रस्तुत गरेको छ— कोरोना साधारण रुघाखोकी ल्याउने भाइरसबाहेक केही होइन, तर विश्व स्वास्थ्य माफियाहरूले विश्व स्वास्थ्य संगठनसँग मिलेर महामारीको डर बेचिरहेछन् † तर मान्छेहरू किन यति मरिरहेछन् भन्ने स्वाभाविक प्रश्नको उत्तर दिने कोसिस

गर्दै रुघा–ज्वरोजन्य रोगबाट हरेक वर्ष अमेरिकामा ६० हजार, इटालीमा २५ हजार र पूरै संसारमा १ करोड ६० लाख मर्ने गरेको विश्व स्वास्थ्य संगठनकै तथ्यांक अघि सार्दै तीमध्ये केही हजारलाई कोरोनाको खातामा हालेर नयाँ डरको व्यापार सुरु भएको बताइरहेछ यसले । यो प्रवृत्ति सानो छ र विश्वको सत्ताधारी वर्गले यसतिर ध्यान दिएको छैन । यस प्रवृत्तिले स्वास्थ्यलाई नाफाबाट अलग पार्ने भएकाले स्वाभाविक छ— तत्काल यस प्रवृत्तिको कुरा थोरै सुनिनेछ । यो प्रवृत्तिसँग सबै विषयको समाधान नहोला, तर कोरोनासहित धेरै विषयमा सबैले गम्भीरतापूर्वक ध्यान दिनैपर्ने एउटा प्रवृत्तिका रूपमा भने अवश्य अगाडि आएको छ ।


समाजवादका लागि अझै संघर्षरत क्युबाबाहेक चीनसहित सम्पूर्ण विश्व आज पुँजीवादी नाफाको होडमा छ । यो त्यही पुँजीवादी व्यवस्था त हो, जसले नाफाका निम्ति पहिलो र दोस्रो विश्वयुद्धमा मानवसंहार मच्चायो । त्यही घरानाका पुँजीपतिहरू हुन्, जसले आज पनि सिरिया, इराक, अफगानिस्तान र अफ्रिकाका कैयौं मुलुकमा रगत पिइरहेका छन्, नाफाका लागि । पुँजीवादलाई सर्वोत्तम मान्नेहरूको कुरा बेग्लै भयो, तर पुँजीवादी विश्वव्यवस्थालाई गलत ठान्नेहरू पनि स्वास्थ्य क्षेत्रमा चाहिँ निरपेक्ष मानवतावादी दृष्टि अपनाउने गर्छन्, जुन कदापि सही मान्न सकिंदैन । नाफाका लागि अन्धो बनेर मानव जातिलाई संकटमा पार्ने गरी पर्यावरण सिध्याउन क्रियारत पुँजीपतिहरू के स्वास्थ्य क्षेत्रमा चाहिँ गौतम वुद्धका असल शिष्य बनेर ध्यानरत होलान् ? विश्व स्वास्थ्य संगठनका अधिकारीहरू कथित भगवान्हरूको अवतार त होइनन्, तब उनीहरूबाट गल्ती हुन सक्दैन ? उनीहरू आजको विश्व पुँजीवादकै तलब खाने जागिरे होइनन् ? त्यो त्यही संगठन त हो, जसका अधिकारीहरूमाथि दुनियाँभरिबाट जनताको छाक काटेर जम्मा पारिएको बजेटको आधाभन्दा बढी हिस्सा भ्रमणका नाममा सक्छन् भन्ने आरोप लगातार लाग्दै आएको छ । संयुक्त राष्ट्र संघका जागिरेहरू विश्वव्यापी विकासका नाममा विनाशको मोडेल सिफारिस गर्न लाग्दा रहेछन् भने त्यसकै विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले नियोजित अपराध गर्दैनन् भन्ने ग्यारेन्टी के, त्यस ग्यारेन्टीको वैचारिकी के ? आज आँधीमय एकोहोरो प्रचारबीच यस्तो भय र मानसिक संकुचनको माहोल बन्न पुगेको छ, महामारी प्रचारबाट उत्पन्न त्रासबाट पृथक् रहेर उठाइएका प्रश्न र कदमहरूतिर समेत ध्यान जान छाडेको छ । ब्राजिलका राष्ट्रपतिले महामारीलाई अस्वीकार गरे । स्विडेन, बेलारुसलगायत बन्दको रणनीति लागू गर्न पटक्कै तयार भएनन्, तर पनि ती देशमा कोरोना विस्फोट भएन, किन ? के ती देशका नेताहरू पटमूर्ख हुन् या तिनका कदमहरूको अन्तर्यमा कुनै सत्य लुकेको छ ?


जतिसुकै विपत्का बेला पनि सत्ताले उरालेका अवधारणाहरूमाथि संशयसहित प्रश्न गर्ने होस गुमाउनु कदापि सही हुन सक्दैन । विश्वव्यापी श्रमिकवर्गीय स्वास्थ्य शिविर नभएका बेला नाफाखोर पुँजीपतिहरूका राज्यहरूले नियुक्त गरेका कर्मचारीहरूको सिफारिस अकाट्य र निर्विकल्प स्विकार्नुपर्ने बढीमा बाध्यता मान्न सकिन्छ, अन्तिम सत्य कसरी मान्न सकिएला ? त्यसैले विश्व पुँजीवादको विकल्पमा नयाँ विश्व व्यवस्था खोज्ने यात्रामा स्वास्थ्य क्षेत्रलाई सबैभन्दा अग्रिम पंक्तिमा राख्ने वैचारिकी अब सुरु गर्नैपर्छ । यो कुरा बेग्लै हो कि पुँजीवादी भुलभुलैयाबीच निर्मित आजका कतिपय बौद्धिक कोरोनामा षड्यन्त्रको आशंकालाई समेत हास्यास्पद कुतर्क ठान्छन् । उनीहरूले त्यस्तो

सोच्नु स्वाभाविक छ, किनकि पुँजीवादले सबैभन्दा बढी बौद्धिक रोगी र कुण्ठाग्रस्त मानिस उत्पादन गर्छ ।


कोरोना माहोलको समग्र बहसबीच कम्युनिस्टबाहेक आज नवउदारवादी रणनीति अख्तियार गर्ने पुँजीवादी व्यवस्थाको आलोचनामा प्रसिद्ध अमेरिकी चिन्तक नोम चोम्स्की फेरि अगाडि आए । उनले पुँजीवादी व्यवस्थाको आजको तारतम्यले महामारीको उद्गम र निवारणमा घिसेपिटे भूमिका खेल्ने विषय साहसपूर्वक बोले, जुन बिलकुल सत्य देखिन्छ । पुरानो पुँजीवादले कम्तीमा जनसरोकारका अत्यावश्यक चीज राज्यको नियन्त्रणमा राख्थ्यो, तर नवउदारवादी आजको पुँजीवादले जनसरोकारका सबैजसो विषय निजी र बहुराष्ट्रिय नाफाखोर पुँजीपतिको जिम्मा लगायो । आज औषधी उत्पादन र बिक्री विश्वव्यापी रूपमा नाफाखोर पुँजीपतिको हातमा पुग्यो । यथार्थमा आधारित अनुसन्धानहरू सजिलै छोपछाप पार्न सकिने परिस्थिति उत्पन्न भयो । सेवामूलक विज्ञान प्रतिष्ठानहरू पनि निजी पुँजीद्वारा प्रभावित हुन सक्ने वातावरण बन्यो ।


सरकार केवल नाफाखोर तथा माफिया पुँजीपतिहरूको चन्दामा बन्ने अनि ढल्ने पर्यावरणको निर्माणले गर्दा स्वास्थ्य क्षेत्रमा न नयाँ भाइरसलगायतका चुनौतीमा ध्यान जान सक्यो, न त उपस्थित महामारीकै ठीक व्यवस्थापनको रणनीति बनाउने जिम्मेवारीमा निष्ठा । चोम्स्कीले औंल्याएको यो यथार्थ र आज भोगिरहेको महामारीको कहरले मानव समाजलाई ब्युँझाउन समयले गरेको ढकढक यही नै हो— पुँजीपति हावी हुने र समाज निरीह बन्नुपर्ने पुँजीवादी विश्व व्यवस्थाको विकल्पमा समाजप्रति समाज नै जिम्मेवार हुने समाजवादी विश्व व्यवस्थातिर अघि बढ्ने बहस र पहललाई तीव्र बनाउनुको विकल्प छैन ।

प्रकाशित : चैत्र २३, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

महामारी चिन्तन

नाफाका निम्ति मानव जातिलाई बीभत्स युद्धमा धकेल्न पटक्कै नहिचकिचाउने आजको पुँजीपति वर्गको कब्जामै औषधिको उत्पादन र व्यापार छ । त्यस्तो अमानवीय हर्कतमा उत्रिएको पुँजीपति वर्गले औषधि बेच्न यस्ता महामारीको प्रायोजित आतंक सिर्जना गरेन होला भनी विश्वस्त हुन सम्भव छ ?
आहुति

अन्ततः मानव समाजलाई कोरोना भाइरसबाट उत्पन्न महामारीले छपक्कै छोपी नै हाल्यो । नेपाल त्यसबाट अछूतो रहन सम्भव भएन । प्राकृतिक प्रकोप र त्यस्ता महामारीले गर्ने जनको क्षति स्वाभाविक रूपमा बढी सरोकारको विषय बन्छ । त्योसँगै यस्तो कठिन परिस्थितिले दीर्घकालीन रूपमा मानव जीवनमा निम्त्याउने अप्ठ्याराहरू पनि ज्यादै पीडादायी हुने गर्छन् ।

प्रत्येक मानिस श्रमशक्ति बेचेर मात्र जीविका गर्न सक्ने गरी संरचना गरिएको पुँजीवादी समाजमा महामारीको समयमा श्रमस्थलहरू ठप्प हुने कारणले सबैभन्दा बढी आम श्रमजीवीको जीवन तहसनहस हुन पुग्छ । त्यसैगरी पुँजीको बलमा कारोबारमार्फत नाफा कुम्ल्याउने वर्गका निम्ति आम मानिसको बाध्यतामाथि सजिलै खेलबाड गरेर थप नाफा कुम्ल्याउने अवसर बन्न पुग्छ । यसरी यस प्रकारको अवस्था गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउने क्रूर उत्सवमा रूपान्तरण हुन्छ ।

महामारीको संकटमा समाजले आफूलाई असुरक्षित र अत्यधिक निरीह महसुस गर्ने भएकाले त्यतिखेर सबै प्रकारका प्रवृत्ति त्यसलाई उपयोग गर्न अगाडि आउँछन् । तमाम रुढिवादी मान्यता अनेक रूपमा जनजनमा पुग्न थाल्छन्, सिंगो समाजलाई भ्रमित बनाउने अभियानहरू चल्छन्, जुन आज पनि सुरु भइसकेको छ । साथै आम समाजको आतंकित मनोविज्ञान र सम्पत्तिशाली वर्गको स्वार्थमा आधारित भई राज्यले निर्माण गर्ने अवधारणा र भाष्यका विरुद्ध साहस, साझा प्रयत्न र वैकल्पिक चेतना प्रसारका निम्ति अग्रसर हुनु पनि यस्तै बेला सबैभन्दा बढी जरुरी छ ।

समाजमा आज हतियारपछिको सबैभन्दा ठूलो व्यापार एलोप्याथिक औषधिको मानिन्छ । नाफाका निम्ति मानव जातिलाई बीभत्स युद्धमा धकेल्न पटक्कै नहिचकिचाउने आजको पुँजीपति वर्गको कब्जामै औषधिको उत्पादन र व्यापार छ । त्यस्तो अमानवीय हर्कतमा उत्रिएको पुँजीपति वर्गले के औषधि बेच्न यस्ता महामारीको प्रायोजित आतंक सिर्जना गरेन होला भनी विश्वस्त हुन सम्भव छ ? यही प्रश्नको उत्तर दिने क्रममा प्राकृतिक चिकित्साकर्मीहरूको जमात संसारभरि धेरथोर अगाडि आउन थालेको छ । उनीहरूले एड्ससहित धेरै प्रकारका महामारीलाई औषधि बेच्न माफियाहरूले सिर्जना गरेको प्रायोजित धराप बताएका छन् र त्यस्ता रोग यथार्थमा नभएको बहस उठाएका छन् । हरेक वर्ष ज्वरोजन्य संक्रमणबाट विश्वभर एक करोडभन्दा बढी मानिसको मृत्यु भइरहेको आधिकारिक तथ्यांक प्रस्तुत गर्दै उनीहरूले कोरोना भाइरस पनि कुनै विशेष महामारीवाला भाइरस नभएको जिकिर गरेका छन् । कुनै पनि ज्वरो र रुघा उत्पन्न गर्ने भाइरसबाट छुटकारा पाउने प्राकृतिक विधिको सिफारिससहित उनीहरूले कोरोना महामारीलाई शक्तिशाली देशका पुँजीपतिले संसारभर नयाँ औषधि बेच्न सिर्जना गरेको प्रपञ्च बताएका छन् । यस अभियानका अभियन्तामध्ये भारतका डा. विश्वदीप चौधरीको टोलीले उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल लगायतका रोगलाई बिनाऔषधि प्राकृतिक खाना प्रणालीबाट सजिलै निको पार्न थालेको व्यावहारिक यथार्थले उनीहरूले औषधि क्षेत्रको पुँजीवादी माफियागिरीमाथि लगाएको आरोपलाई सस्तैमा बेवास्ता गर्न सकिने अवस्था पटक्कै छैन । आज वैकल्पिक उपचार पद्धतिबारे उठेका बहसकै आधारमा कोरोना महामारीका सन्दर्भमा विश्वव्यापी अपनाइएको रणनीतिलाई बेवास्ता गर्न नमिले पनि ती वैकल्पिक बहसलाई गम्भीरतापूर्वक अब आम सरोकारमा लिन भने सुरु गर्नैपर्छ ।

मानव समाजमा आइपर्ने संकटको घडीमै त्यस समाजको सत्ताधारी संरचनाका लुकाइएका भ्वाङहरू प्रकट हुन्छन् । साथै मानिसहरूमा मरिसक्यो भनी ठानिएको मानवीयताले आफू अझै जिउँदै रहेको प्रमाण थोरै भए पनि प्रस्तुत गर्न थाल्छ । कोरोना महामारीसँगै राज्य क्रूरतापूर्वक ‘आफैं क्वारेन्टाइनमा बस’ भन्नसमेत अघि सर्छ । एउटा कोठा भाडामा लिएर ज्याला गर्ने श्रमिक कसरी आफैं बस्ला ? कल्पनासमेत राज्यले गर्दैन । व्यापारीहरू क्रूरतापूर्वक अभाव सिर्जना गर्छन् । आज यथार्थमा नेपाल सरकारका मन्त्रीहरू भाषण गरिरहेछन् बजार अनुगमन र नियन्त्रणको, तर बजारमा लुट त आम बनेको छ । पुँजीवादले मानिसलाई कति स्वार्थी र एक्लो बन्न बाध्य पारेको छ भन्ने सानदार चित्र देखा परिरहेको छ । छिमेकीको अवस्था कोही सोध्नेवाला छैन, आफ्ना निम्ति महिनौंको सामग्री थुपार्न व्यस्त छ । यस्तो समयमा एक्लाएक्लै सुरक्षा खोज्ने मानिस सबैभन्दा बढी नाफाखोरको धरापमा पर्नेवाला छ, तैपनि समाजतिर फर्केर समाधानका निम्ति मान्छेहरू घोत्लिन तयार छैनन् । कुनै पनि प्राकृतिक प्रकोप या महामारीका विरुद्ध जबसम्म सिंगै समाजले पहल हातमा लिन्न, तबसम्म राज्यले मात्र समाधान गर्न सक्ने अवस्था नै रहन्न । यस्तो यथार्थलाई भुल्न प्रेरित गरेर नेपाल वा विश्वका पुँजीवादी राज्यहरू समाजलाई टुक्रिन वा समाजबाट एक्लिएर बस्न फरमान जारी गरिरहेछन् । नेपालमा निकट अतीतको भूकम्पकै कुरा गर्दा पनि आम समाजको पहलले समाजलाई आशावादी व्यवस्थापनमा लगेको हो, राज्य त धेरैपछि कागजपत्र मिलाएर जस लिन पुगेको हो ।

विपत्तिमा समाज निर्णायक हुन्छ, राज्य त प्राविधिक सहयोगी मात्र हुन सक्छ । तर पुँजीवादी राज्यहरू परिवार टुक्र्याएर सामान बेच्न सजिलो पारेको फर्मुला नै महामारीमा पनि लागू गर्न लागिरहेछन्, जुन बिलकुल गलत छ । निश्चितै रूपमा जमघटको तरिका, समाजको अन्तर्क्रियाको तरिकामा सरुवा रोगका कारण फरक पार्नुपर्छ नै, तर सिंगै समाजलाई सामूहिक उपायहरू खोज्न उत्प्रेरित गर्ने कि चुपचाप एक्लिएर बस भन्ने ? वास्तवमा जनसमुदायलाई भयभीत रूपमा निष्क्रिय बनाउने, उनीहरूको सुरक्षासहित विशेष सक्रियता एवं सिर्जनशीलताको उपाय नखोज्ने वैचारिकी निकै डरलाग्दो छ । आज कोरोना भाइरस महामारीमा पनि पुँजीवादी राज्यहरू समाजलाई शक्तिशाली बनाउन तयार भएनन् । छिमेकको व्यापारीले अभाव र महँगी सिर्जना गरिरहेछ, तर समुदायलाई पहल लिने बाटो राज्यले दिँदैन बरु राज्यको मुख ताकेर निरीह हुन बाध्य पार्छ । आजको महामारीको त्रासबीच आम मानिस नाफाखोरहरूको टाङमुनि बाँच्न विवश परिस्थितिले पुँजीवादी व्यवस्थाको विकल्पको बहस, संगठन र परिकल्पनालाई थप अनिवार्य बनाइदिएको छ । मानव समाजमाथि सबैभन्दा ठूला संकट आउँदा बहुसंख्यक मानिस सक्रिय हुन पाउनुको साटो मुठीभरको खटनमुनि निष्क्रिय रहनुपर्ने अवस्था कदापि वैधानिकता होइन, बरु पुँजीवादी व्यवस्थाद्वारा अनिवार्यतः सिर्जित हुन पुग्ने दुर्भाग्यपूर्ण चक्र मात्रै हो ।

थुप्रै प्रकारका अवसरवादी प्रवृत्तिहरू मारामारीको माहोलमा डुक्रिन थालेका छन् । धार्मिक पन्थहरू विशिष्ट ढंगले प्रार्थना, होम आदि गर्न प्रेरित गर्दै छन् । महामारीपछि बाँचेका जति आफ्नो ईश्वरको प्रतापले भनी व्यापार सजिलो हुनेछ भनी धार्मिक धन्दा सुरु भएको छ । सिंगै मानव जातिमाथि संकट आएका बेला खास सम्प्रदायको संस्कृतिलाई अब्बल र अरूकोलाई कमसल प्रमाणित गर्न मन लाग्ने अहंकार पनि यति बेलै देखिँदै छ । यस साम्प्रदायिक अहंकारवाद प्रकट भएको छ नमस्कार संस्कृतिमा । विश्वको हरेक सभ्यता र जातिमा शिष्टाचारका आआफ्नै तरिका र विधि निर्मित भएका हुन्छन् । तिनले लामो समयदेखि त्यस सभ्यता वा जातिलाई अगाडि बढाउन भूमिका खेलिरहेका हुन्छन् । यो कुरा बेग्लै हो कि, कुनै पनि संस्कृतिमा कमजोरी पनि सँगसँगै आएका हुन्छन्, तर कुनै सभ्यता वा जातिको अब्बल र अरूको कमसल भन्न मिल्ने कुरा होइनन् ।

आज कोरोना भाइरसका सन्दर्भमा टाढैबाट नमस्कारको विधि सही हुन सक्छ, तर नमस्कारको विधि सदादेखि नै वैज्ञानिक र सही थियो, अरू विधि बेठीक र कमसल थिए भन्नु हास्यास्पद हो । वास्तवमा हिन्दू समाजमा कोही पनि व्यक्ति एकअर्कासँग समान मर्यादाको नहुने हुनाले, जात व्यवस्थाका कारण एक जातको व्यक्तिले अर्कोलाई छुनै नहुने भएकाले र एउटै परिवारमा पनि व्यक्तिहरू समान नहुने भएकाले त्यस समाजमा टाढैबाट नछोईकन शिष्टाचारका रूपमा नमस्कार गर्ने विधि विकास हुनुबाहेक अरू के सम्भव थियो र ? दाबी गरिएकै नमस्कारले अरूको पनि कल्याण होस् भन्ने मान्यता राख्ने ठानिएको हुन्थ्यो भने शूद्रहरूलाई हत्केला माथि फर्काएर पुकारा वा जदौ गर्न किन बाध्य पारिन्थ्यो अनि छोरी र बुहारीलाई बाबु वा सासूको खुट्टामै ढोग्ने संस्कार किन विकास गरिन्थ्यो ? अर्को कुरा, कहिलेकाहीँको संकटबाहेक आम रूपमा त मानिसहरू एकआपसमा आत्मीय हुने संस्कार नै ठीक हुन सक्छ र स्वाभाविक कुरा हो कि आत्मीय हुने प्रक्रिया शारीरिक स्पर्शबाट तीव्र हुन्छ । तब हात मिलाउने वा इस्लामको अँगालो हाल्ने संस्कार कसरी कमसल साबित हुन्छन् ? यसको अर्थ यो पनि कदापि निकाल्नु होइन कि, नमस्कार संस्कृति कमसल हो । नमस्कारसहित नेपालीभित्रका दर्जनौं शिष्टाचार संस्कृति पनि आआफ्नो भूमिकामा महत्त्वपूर्ण छन् ।

पुँजीवादी साम्राज्यवादको उपनिवेशवादी युग सुरु भएपछि युरोपले आर्थिक र राजनीतिक रूपमा मात्र विश्वलाई आफ्नो ढर्रामा कुल्चिएन, बरु सांस्कृतिक रूपमा समेत विश्वसभ्यतालाई ध्वस्त पार्न सुरु गर्‍यो, त्यो क्रम आज पनि जारी छ । त्यस सिलसिलामा औषधि विज्ञानका क्षेत्रमा एलोप्याथिक चिकित्सा प्रणालीलाई एक मात्र अब्बल शास्त्रका रूपमा संसारभरि लादियो । युरोप एउटा सभ्यता थियो र त्यसले एउटा औषधि विज्ञान एलोप्याथिक अगाडि ल्याएको हो तर एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका सबै सभ्यताले पनि आआफ्नै आवश्यकता र चेतनामा आधारित औषधि विज्ञान त विकास गरेकै थिए । उपनिवेशवादी सांस्कृतिक हस्तक्षेपद्वारा अरू सभ्यताको औषधि विज्ञानलाई नालायक बनाइयो र केवल साम्राज्यवादी देशको औषधि विज्ञानलाई मात्र अब्बल मान्न बाध्य पारियो । उपनिवेशवाद व्यापारका निम्ति अगाडि आएकाले औषधि बेच्न यस्तो रणनीति बनाउनु आवश्यक थियो । यस्तो हस्तक्षेपले एलोप्याथिक बाहेक सयौं औषधि विज्ञान उपेक्षा र दमनमा पर्दै हराउँदै गए, जुन क्रम आजसम्म जारी छ । सिटामोल आउनुभन्दा पहिले पनि नेपालीलाई ज्वरो आउँथ्यो र ज्वरो आउँदा खाने प्रत्येक समुदायका आफ्नै औषधि थिए, तर करिबकरिब ती सबै बिर्सिइए ।

आज प्रमाणित भएको छ, एलोप्याथिक वा कुनै खास औषधिशास्त्र मात्र सर्वगुणसम्पन्न छैन । फरकफरक सभ्यतामा विकसित औषधिशास्त्र र उपचार विधिमा फरकफरक रोगका निम्ति शक्तिशाली उपचारहरू छन् । हरेक केही वर्षमा देखा पर्ने नयाँनयाँ महामारीमा संसारका विभिन्न भागका वैज्ञानिकहरूले फरकफरक अनुसन्धान र प्रयत्नका माध्यमले जुक्ति निकालेबाट पनि सजिलै बुझ्न सकिन्छ, हजारौँ वर्षदेखि फरकफरक सभ्यताका मान्छेले औषधिशास्त्रमा गरेको विकासलाई जोगाउनु कति महत्त्वपूर्ण छ । आजको कोरोना वा भविष्यमा आइलाग्ने महामारीका विरुद्ध एकीकृत रूपमा लड्न संसारका सबै मानव सभ्यता वा जातिले जोगाइआएको चिकित्सा विधिको रक्षा, परिमार्जन र एकीकरणको आवश्यकता सर्वाधिक महत्त्वको विषय हो । नेपालकै हकमा भन्दा एलोप्याथिकपछि केबल आयुर्वेद विश्वविद्यालय खोल्नेभन्दा माथि चेतना उठ्न सकेको छैन । आयुर्वेद दक्षिण एसियाको एउटा प्रणाली मात्र हो । नेपालभित्रको प्रत्येक जातिसँग भएको परम्परागत उपचार र औषधि प्रणाली आयुर्वेद प्रणालीभित्रको होइन । तिनको रक्षा, खोज, परिमार्जन र एकीकृत उपचार प्रणालीमा समायोजन गर्ने दिशामा अग्रसर हुन पनि आजको महामारी संकटले नेपाली समाजलाई झकझकाइरहेको छ ।

समग्रमा, आजको संकटको समयमा सबै प्रकारका रुढिवाद, भ्रमहरू एवं मानिसहरूबीच फुट पार्ने सोचहरूको खण्डन र सही सूचना तथा अवधारणाहरूको निरन्तर प्रसार आवश्यक छ । त्यस्तो तब नै सम्भव हुनेछ, जब पिँधको सिंगै समाज, सामाजिक संगठनहरू र राजनीतिक पार्टीहरू सक्रियतापूर्वक पहल लिन थाल्नेछन् । भीडबद्ध नहुने भनेको एकताबद्ध नहुने अर्थमा बुझिनु घातक हुनेछ । प्रविधि र अन्य वैकल्पिक तरिकाहरूमार्फत सामूहिक रूपमा सिंगै समाजले पहल लिनैपर्छ । त्यसो हुँदा मात्र बजारको नाफाखोर प्रवृत्तिलाई न्यून पार्न सकिन्छ, आम मानिसलाई उत्साहित गर्न सकिन्छ र राज्यमाथि आवश्यक दबाब सिर्जना हुन सक्छ ।

प्रकाशित : चैत्र ९, २०७६ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×