कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीले गरेको ढकढक

पुरानो पुँजीवादले कम्तीमा जनसरोकारका अत्यावश्यक चीज राज्यको नियन्त्रणमा राख्थ्यो, तर नवउदारवादी आजको पुँजीवादले जनसरोकारका सबैजसो विषय निजी र बहुराष्ट्रिय नाफाखोर पुँजीपतिको जिम्मा लगायो ।
आहुति

आज कोरोना महामारीबीच जति भयानक आतंक, पीडा र स्तब्धता मानव जातिले बेहोर्नुपरे पनि यो अवस्था अन्तत: साम्य हुने नै छ । विश्वमा यसअघि फैलिएका व्याधिमय महामारीहरू जसरी क्रमश: हराउँदै गए, कोरोनाको नियति पनि त्योभन्दा गुणात्मक रूपमा फरक हुने देखिँदैन ।

महामारीले गरेको ढकढक

नाफाखोर वा सेवामूलक सबैजसो स्वास्थ्य संगठनले प्रचार गरेको जानकारीलाई आधार बनाउँदा विश्वका ७ अर्ब ५० करोड मानिसमै संक्रमण भए पनि उपचारतिर ध्यान दिनैपर्ने अवस्था केवल २० प्रतिशत अर्थात् १ अर्ब ५० करोडको मात्र हुनेछ, ८० प्रतिशत स्वत: निको हुन्छन् । संक्रमितमध्येको मृत्यु ३ प्रतिशतसम्म पुग्न सक्ने अनुमान पनि आजको मृत्युदरलाई हेर्दा धेरै फरक परेको देखिन्न । त्यसमाथि साढे ४ अर्ब जनसंख्या ओगट्ने ठूलो जनसंख्या भएका दश देशहरूमध्ये अमेरिकाबाहेक अरूमा भयावह संक्रमण दर छैन । यी सबै परिदृश्यका आधारमा भन्न सकिन्छ— कोरोनाले मानव जातिमाथि थप एउटा नयाँ चुनौती त थप्नेछ, तर मानव जातिको अस्तित्वकै निम्ति चुनौती सिर्जना गर्न सक्ने ल्याकत भने राख्नेछैन । तर यस प्रकारका महामारीको प्रभाव जनस्वास्थ्यसम्म मात्र सीमित रहने गरेको छैन, बरु त्यसले आर्थिक, राजनीतिक र वैचारिक संकट एवं त्यसमाथि नयाँ बहसहरू लिएर आउने गरेको छ र त्यो स्वाभाविक छ ।

विश्वव्यापी रूपमा लिइएको ‘सामाजिक दूरी’ र ‘बन्द’ को रणनीतिका कारण आर्थिक जर्जरताको सिकार बनेको श्रमिक वर्गको स्थिति र भविष्यबारे ठूलो बहस तत्काल नदेखिए पनि भविष्यमा ठूलो बनेर आउने नै छ । अहिले अमेरिका र युरोपबाट विश्व पुँजीवादी व्यवस्थाको नेतृत्व चीनको पकडमा आउन यस महामारीले गम्भीर भूमिका खेल्न सक्ने प्रक्षेपण भने सुरु भैसकेको छ । तर केही अर्ब डलरको स्वास्थ्य सामग्रीको व्यापारबाट मात्रै त्यो स्थिति उत्पन्न भैहाल्ला भन्नु हतारो नै हुनेछ । महामारीपछिको भविष्यका विभिन्न आयामसम्बन्धी प्रक्षेपणबाहेक यो महामारी के हो र कसरी आयो भन्ने विषयमा मूलत: तीन प्रकारका बुझाइ, अनुमान र बहसहरू चलिरहेका छन् ।

एक, प्रकृतिको विकृत दोहनको परिणाम । विश्व पुँजीवादको नेतृत्वमा भैरहेको पर्यावरण विनाशका विरुद्ध लगातार आवाज उठाइरहेकाहरूले कोरोना भाइरसलाई त्यही मानव क्रियाविरुद्ध प्रकृतिको प्रतिक्रियाका रूपमा व्याख्या गर्न थालेका छन् । पर्यावरण विनाशले स्वाभाविक वातावरणमा आइरहेको घातक विकृति त अनुसन्धानहरूबाट पुष्टि भएको कुरा हो, तर नयाँ भाइरस नै उत्पन्न भयो भन्ने अनुसन्धान त भएको छैन । वातावरणीय विनाशको प्रतिक्रियास्वरूप जंगली र घरेलु जनावर पनि यस प्रकारको कुनै महामारीबीच फस्न थालेका तथ्यहरू नदेखिनुले मानवलाई मात्र निसाना बनाउने प्रकृतिको प्रतिक्रिया कसरी सम्भव होला भन्ने प्रश्न स्वत: जन्मिन्छ । कतिपयले विभिन्न जनावरको मासु खाने चिनियाँ संस्कृतिलाई पनि दोष थुपार्न थालेका छन्, तर त्यो संस्कृति त एकाध वर्षको होइन । जनावरकै मासुबाट सरेको न कुनै प्रमाण छ, न अहिले मात्र किन सर्‍यो भन्ने अनुसन्धान । प्रकृतिको प्रतिक्रियासम्बन्धी यो दाबी तत्कालै पुष्टि नभए पनि खारेज गरिहाल्न सजिलै सकिने खालको चाहिँ होइन, किनभने प्रकृतिका करोडौं नखुलिसकेका रहस्यमध्ये यो एक हुन पनि सक्छ, जसरी प्लास्टिक खाने ब्याक्टेरिया पनि पृथ्वीमा सम्भव हुन सक्छ भन्ने कुरा पत्ता लाग्नुभन्दा पहिले असम्भव नै त मानिन्थ्यो । सम्भावनाहरूमाथि टेकेर नै यथार्थको गन्तव्यसम्म पुगिने हुँदा बहसको यस प्रवृत्तिलाई प्रोत्साहित गर्नु नै सही हुन्छ ।

दुई, प्रकृतिको स्वाभाविक प्रक्रिया । व्याधिमय महामारीहरू प्रकृतिमा बेलाबेला आइरहन्छन् र यो एक स्वाभाविक प्राकृतिक प्रक्रिया मात्र भएको बताउने यो मत आदर्शवादी प्रकारको देखिन्छ । यसले महामारीका सामाजिक कारणहरू खोज्ने वा औंल्याउनेतिरभन्दा भवितव्यमा सीमित पार्ने कोसिस गर्छ । कुनै परिघटनाको भवितव्य नै कारण बताएपछि मानिससँग त्योबाट बच्ने वा त्यसलाई रोक्ने कुनै उपाय बाँकी रहन्न । यही प्रकारको धूमिल मानसिकताबीच नै तमाम धर्मपन्थीहरूले मानिसहरूलाई थप धार्मिक बनाउने, ईश्वरको सर्वसत्ता स्विकार्न लगाउने खेल खेल्छन् । कोरोनाकै सन्दर्भमा पनि विभिन्न धार्मिक टुकडीहरूले आआफ्नो मतलबका ईश्वरको शरणमा जाँदा ठीक हुने भनी गरेका हर्कतहरू सर्वत्र धेरथोर देखा परेकै छन् । कोही यशुलाई पुकार्न, कोही होम गर्न र गौमूत्र ख्वाउन त कोही अल्लाह डाक्न लागिपरेकै छन् । तर यो कुनै बहस होइन, यो त केवल अन्धविश्वास वा ‘धन्दा’ भएकाले यसलाई भने खारेज गर्नतिर लाग्नु जरुरी छ ।

तीन, नाफाखोरहरूको षड्यन्त्र । कोरोना महामारीलाई षड्यन्त्रका रूपमा व्याख्या गर्ने दुइटा प्रवृत्ति पनि सतहमा उत्रिएका छन् । तीमध्ये एउटा पक्षले भनेको छ— यो चीन वा अमेरिकाले बनाएको नयाँ युद्ध हतियार हो । यो आरोप अनुमानबाहेक धेरै देखा पर्दैन, यदि त्यसै हो भने पनि भविष्यको अनुसन्धानले विषय स्पष्ट पार्दै जाला । यस तर्कलाई खारेज नै गरिहाल्नुपर्ने नलागे पनि कोरोनाको आजको विश्वव्यापी चरित्रलाई हेर्दा त्यस अनुमानमाथि धेरै घोत्लिनु आवश्यक देखिँदैन । आजको महामारीलाई षड्यन्त्रका रूपमा प्रस्तुत गर्दै त्यसको सजिलो समाधानसमेत अगाडि सारेर अर्को प्रवृत्तिका रूपमा प्राकृतिक चिकित्साकर्मी एवं ‘न्युट्रिसियन’ हरूको जमात उपस्थित भएको छ । यसको नेतृत्व छिमेकी भारतमा विश्वरूप राय चौधरीले गरिरहेका छन् । यस प्रवृत्तिले प्राकृतिक चिकित्सा विधिको मान्यतामा टेकेर नभई आजसम्मको वास्तविक स्वास्थ्य विज्ञानमा भएका अनुसन्धानहरूमा आधारित भएर आफ्नो दाबी प्रस्तुत गरेको छ । यो त्यही प्रवृत्ति हो जसले एचआईभी/एड्स, डेंगु, एचवानएनवानलगायतका महामारीलाई केवल स्वास्थ्य क्षेत्रका माफियाको खेल भएको दाबी गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका तमाम औषधिलाई बहिष्कार गर्दै गैरनाफामूलक विधिबाट दर्जनौं घातक रोगका लाखौं रोगीको सफल उपचार गरिसकेको यो प्रवृत्तिले तथ्यहरूसहित दाबा प्रस्तुत गरेको छ— कोरोना साधारण रुघाखोकी ल्याउने भाइरसबाहेक केही होइन, तर विश्व स्वास्थ्य माफियाहरूले विश्व स्वास्थ्य संगठनसँग मिलेर महामारीको डर बेचिरहेछन् † तर मान्छेहरू किन यति मरिरहेछन् भन्ने स्वाभाविक प्रश्नको उत्तर दिने कोसिस

गर्दै रुघा–ज्वरोजन्य रोगबाट हरेक वर्ष अमेरिकामा ६० हजार, इटालीमा २५ हजार र पूरै संसारमा १ करोड ६० लाख मर्ने गरेको विश्व स्वास्थ्य संगठनकै तथ्यांक अघि सार्दै तीमध्ये केही हजारलाई कोरोनाको खातामा हालेर नयाँ डरको व्यापार सुरु भएको बताइरहेछ यसले । यो प्रवृत्ति सानो छ र विश्वको सत्ताधारी वर्गले यसतिर ध्यान दिएको छैन । यस प्रवृत्तिले स्वास्थ्यलाई नाफाबाट अलग पार्ने भएकाले स्वाभाविक छ— तत्काल यस प्रवृत्तिको कुरा थोरै सुनिनेछ । यो प्रवृत्तिसँग सबै विषयको समाधान नहोला, तर कोरोनासहित धेरै विषयमा सबैले गम्भीरतापूर्वक ध्यान दिनैपर्ने एउटा प्रवृत्तिका रूपमा भने अवश्य अगाडि आएको छ ।

समाजवादका लागि अझै संघर्षरत क्युबाबाहेक चीनसहित सम्पूर्ण विश्व आज पुँजीवादी नाफाको होडमा छ । यो त्यही पुँजीवादी व्यवस्था त हो, जसले नाफाका निम्ति पहिलो र दोस्रो विश्वयुद्धमा मानवसंहार मच्चायो । त्यही घरानाका पुँजीपतिहरू हुन्, जसले आज पनि सिरिया, इराक, अफगानिस्तान र अफ्रिकाका कैयौं मुलुकमा रगत पिइरहेका छन्, नाफाका लागि । पुँजीवादलाई सर्वोत्तम मान्नेहरूको कुरा बेग्लै भयो, तर पुँजीवादी विश्वव्यवस्थालाई गलत ठान्नेहरू पनि स्वास्थ्य क्षेत्रमा चाहिँ निरपेक्ष मानवतावादी दृष्टि अपनाउने गर्छन्, जुन कदापि सही मान्न सकिंदैन । नाफाका लागि अन्धो बनेर मानव जातिलाई संकटमा पार्ने गरी पर्यावरण सिध्याउन क्रियारत पुँजीपतिहरू के स्वास्थ्य क्षेत्रमा चाहिँ गौतम वुद्धका असल शिष्य बनेर ध्यानरत होलान् ? विश्व स्वास्थ्य संगठनका अधिकारीहरू कथित भगवान्हरूको अवतार त होइनन्, तब उनीहरूबाट गल्ती हुन सक्दैन ? उनीहरू आजको विश्व पुँजीवादकै तलब खाने जागिरे होइनन् ? त्यो त्यही संगठन त हो, जसका अधिकारीहरूमाथि दुनियाँभरिबाट जनताको छाक काटेर जम्मा पारिएको बजेटको आधाभन्दा बढी हिस्सा भ्रमणका नाममा सक्छन् भन्ने आरोप लगातार लाग्दै आएको छ । संयुक्त राष्ट्र संघका जागिरेहरू विश्वव्यापी विकासका नाममा विनाशको मोडेल सिफारिस गर्न लाग्दा रहेछन् भने त्यसकै विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले नियोजित अपराध गर्दैनन् भन्ने ग्यारेन्टी के, त्यस ग्यारेन्टीको वैचारिकी के ? आज आँधीमय एकोहोरो प्रचारबीच यस्तो भय र मानसिक संकुचनको माहोल बन्न पुगेको छ, महामारी प्रचारबाट उत्पन्न त्रासबाट पृथक् रहेर उठाइएका प्रश्न र कदमहरूतिर समेत ध्यान जान छाडेको छ । ब्राजिलका राष्ट्रपतिले महामारीलाई अस्वीकार गरे । स्विडेन, बेलारुसलगायत बन्दको रणनीति लागू गर्न पटक्कै तयार भएनन्, तर पनि ती देशमा कोरोना विस्फोट भएन, किन ? के ती देशका नेताहरू पटमूर्ख हुन् या तिनका कदमहरूको अन्तर्यमा कुनै सत्य लुकेको छ ?

जतिसुकै विपत्का बेला पनि सत्ताले उरालेका अवधारणाहरूमाथि संशयसहित प्रश्न गर्ने होस गुमाउनु कदापि सही हुन सक्दैन । विश्वव्यापी श्रमिकवर्गीय स्वास्थ्य शिविर नभएका बेला नाफाखोर पुँजीपतिहरूका राज्यहरूले नियुक्त गरेका कर्मचारीहरूको सिफारिस अकाट्य र निर्विकल्प स्विकार्नुपर्ने बढीमा बाध्यता मान्न सकिन्छ, अन्तिम सत्य कसरी मान्न सकिएला ? त्यसैले विश्व पुँजीवादको विकल्पमा नयाँ विश्व व्यवस्था खोज्ने यात्रामा स्वास्थ्य क्षेत्रलाई सबैभन्दा अग्रिम पंक्तिमा राख्ने वैचारिकी अब सुरु गर्नैपर्छ । यो कुरा बेग्लै हो कि पुँजीवादी भुलभुलैयाबीच निर्मित आजका कतिपय बौद्धिक कोरोनामा षड्यन्त्रको आशंकालाई समेत हास्यास्पद कुतर्क ठान्छन् । उनीहरूले त्यस्तो

सोच्नु स्वाभाविक छ, किनकि पुँजीवादले सबैभन्दा बढी बौद्धिक रोगी र कुण्ठाग्रस्त मानिस उत्पादन गर्छ ।

कोरोना माहोलको समग्र बहसबीच कम्युनिस्टबाहेक आज नवउदारवादी रणनीति अख्तियार गर्ने पुँजीवादी व्यवस्थाको आलोचनामा प्रसिद्ध अमेरिकी चिन्तक नोम चोम्स्की फेरि अगाडि आए । उनले पुँजीवादी व्यवस्थाको आजको तारतम्यले महामारीको उद्गम र निवारणमा घिसेपिटे भूमिका खेल्ने विषय साहसपूर्वक बोले, जुन बिलकुल सत्य देखिन्छ । पुरानो पुँजीवादले कम्तीमा जनसरोकारका अत्यावश्यक चीज राज्यको नियन्त्रणमा राख्थ्यो, तर नवउदारवादी आजको पुँजीवादले जनसरोकारका सबैजसो विषय निजी र बहुराष्ट्रिय नाफाखोर पुँजीपतिको जिम्मा लगायो । आज औषधी उत्पादन र बिक्री विश्वव्यापी रूपमा नाफाखोर पुँजीपतिको हातमा पुग्यो । यथार्थमा आधारित अनुसन्धानहरू सजिलै छोपछाप पार्न सकिने परिस्थिति उत्पन्न भयो । सेवामूलक विज्ञान प्रतिष्ठानहरू पनि निजी पुँजीद्वारा प्रभावित हुन सक्ने वातावरण बन्यो ।

सरकार केवल नाफाखोर तथा माफिया पुँजीपतिहरूको चन्दामा बन्ने अनि ढल्ने पर्यावरणको निर्माणले गर्दा स्वास्थ्य क्षेत्रमा न नयाँ भाइरसलगायतका चुनौतीमा ध्यान जान सक्यो, न त उपस्थित महामारीकै ठीक व्यवस्थापनको रणनीति बनाउने जिम्मेवारीमा निष्ठा । चोम्स्कीले औंल्याएको यो यथार्थ र आज भोगिरहेको महामारीको कहरले मानव समाजलाई ब्युँझाउन समयले गरेको ढकढक यही नै हो— पुँजीपति हावी हुने र समाज निरीह बन्नुपर्ने पुँजीवादी विश्व व्यवस्थाको विकल्पमा समाजप्रति समाज नै जिम्मेवार हुने समाजवादी विश्व व्यवस्थातिर अघि बढ्ने बहस र पहललाई तीव्र बनाउनुको विकल्प छैन ।

प्रकाशित : चैत्र २३, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?