जता पायो उतै नथुकौं- विचार - कान्तिपुर समाचार

जता पायो उतै नथुकौं

अरुणा उप्रेती

काठमाडौँ — कोरोना भाइरसका कारणले हात मिलाउनेहरू नमस्ते गर्न र ठेलमेल गरेर लाइनमा बस्नेहरू केही दूरी राख्न थालेका छन् ।

कोरोनाका कारण घरमा बस्न बाध्य भएकाहरू घरमै आफैंले पकाउन पनि बाध्य छन् । ‘पत्रु’ खानाको सट्टा स्वस्थकर खाना खान थालेका छन् । बालबालिकालाई पनि प्याकेटको सट्टा स्वस्थ खाना दिन्छन् । हात फोहोर भएको वास्ता नगर्नेहरू अहिले बारम्बार साबुन पानीले हात धुन थालेका छन् । अर्थात् हाम्रो धेरै बानी कोरोनाले परिवर्तन गरिदिएको छ । आशा गरौं, यस्तो स्वस्थकर बानी पछिसम्म पनि रहिरहला । कोरोना संक्रमित व्यक्ति धेरै नै बिरामी पर्छन् । कोरोना भाइरस लागेपछि मरिहालिन्छ भन्ने मान्छेमा त्रास छ । कोरोना संक्रमित भएर अस्पतालको भेन्टिलेटरमा बस्नुपर्छ कि ? मरी पो हालिन्छ कि भन्ने त्रासले नै यस्तो बानी विकसित भएछ ।

यस्तै परिवर्तन गर्नैपर्ने अर्को बानी हो– जथाभावी ख्याक्क गर्ने र थुक्ने । यस्तो लाग्छ, मानौं यो राष्ट्रिय चरित्र हो । ‘कोरोना’ को छलफलमा ‘खोक्दा’ रुमालले नाक, मुख छोप्नुपर्छ त भनियो तर कसैलाई पनि जथाभाबी थुक्नु, ख्याक्क र खुक्क गर्नु हुँदैन भनिएन । यो बानी असभ्य मात्र होइन, रोग सर्ने कारण पनि बन्न सक्छ । यो बानीका कारण कोरोना मात्र होइन, क्षयरोग पनि सर्न सक्छ । क्षयरोगले नेपालमा हरेक दिन २० जना मर्छन् । तर प्रायः मानिसहरूले यो तथ्यांकलाई खासै वास्ता गर्दैनन् । सामान्य निरोगी मानिसले जथाभाबी थुक्नु लज्जाको विषय हुनुपर्ने हो । सिंगापुरमा जाने नेपालीले त्यहाँको सडकमा ‘ख्याक्क’ थुक्दैन न त युरोप जाने विद्यार्थीले नै । तर नेपालमा त जसले जहाँ पनि थुकिरहन्छन् । मानौं यो ‘गिनिज बुक अफ वर्ल्ड’ मा लेखिन योग्य चरित्र हो । अरूको देशमा फोहोर गर्न डराउनेले नेपालमा किन फोहोर गर्ने होलान् ? यहाँको हावापानी नै फोहोर भएकाले वा देशमा क्रान्ति ल्याउँछु भनेर ठूलो स्वरले चिच्याउने नेताले कहिल्यै ‘सफाइ क्रान्ति’ का बारेमा नबोलेर पो हो कि ?


चार जना पुरुष वा युवाहरू चिया पसलको वरिपरि उभिएर चिया खाइरहेको दृश्य १० मिनेट हेरिरहनुभयो भने पक्कै पनि दुई–दुई मिनेटमा सबै जनाले एक–दुई पटक थुकी नै हाल्छन् । पान पसलअघि उभिएर पान खाइरहेको वा सुर्ती माडेका मान्छे देख्नुभयो भने पक्कै तिनका वरिपरि रातो थुक र सुर्ती पनि देख्नु हुनेछ ।


मधेसतिरको अफिसमा त प्रत्येक कुनाकुनामा थरीथरीका चित्रहरू बनाउँदै थुकिएको हुन्छ । त्यहाँ कसैले पनि यसरी थुक्नेविरुद्ध आवाज उठाउँदैन किनभने यो त त्यहाँको चरित्र नै हो । पान खाने मानिसले पान थुक्ने, चुइगम खानेले जताततै थुक्ने र सडकको छेउमा पानीपुरी खाएर मुख कुल्ला गर्दै पिच्च थुक्ने बेलामा कसैलाई पनि ‘मैले थुकेको थुक कसले सफा गर्छ होला ?’ भन्ने प्रश्न मनमा आउँदैन ।


पशुपतिको मन्दिरमा सालिक अगाडि एक व्यक्तिले खकार्दै थुके । मलाई रिस उठ्यो । ती व्यक्तिको अगाडि गएर ‘हेर्दा सुट लगाएर हिँड्ने अनि भगवान्को मन्दिर अगाडि आएर थुक्ने ? लाज लाग्दैन’ भनेर हकारें । मेरो चर्को स्वर सुनेर वरिपरिका बटुवा पनि जम्मा भए र के भयो भनेर सोध्न लागे । मैले पनि रिसाएर ती मानिसले थुकेको खकार देखाउँदै भने, ‘भगवान्को दर्शन गर्न जाने मानिसले मन्दिर अगाडि नै खकार थुक्ने हो ?’ यति भनेपछि ती व्यक्तिले रातो मुख लगाए । मैले कागजको टुक्रा उनलाई दिएर ‘त्यो थुक पुछ्नोस्’ भने । मन्दिर अगाडि थुकेको हुनाले सायद अन्य भत्तजनलाई पनि थुक्ने मानिसप्रति सहानुभूति थिएन क्यारे ।

अरू भक्तजनले ‘हो त नि । त्यसरी थुक्ने हो ?’ भनेर थुक्ने व्यक्तिलाई कराए अनि ती व्यक्तिले खकार पुछेर छेउको नालामा हाले ।


हामीमध्ये कतिले जथाभाबी थुक्नेलाई किन थुकेको भनेर सोध्ने साहस गर्छौं ? माइक्रो चालकलाई बाहिर नथुक भन्न सक्छौं र ? ४ वर्षअघि दसैंका बेला काठमाडौंबाट दोलखा जाँदाको ७ घण्टा (४२० मिनेट) समयमा बस चालकले झन्डै २०० पटक थुके । चालकले थुक्दा बाटोमा मोटरसाइकल चढेर गइरहेका कतिपय महिला र पुरुषको लुगामा थुक र खकार लागेको उनीहरूले थाहै पाएनन् । सायद अफिस वा घर पुगेपछि थाहा पाए कि । थाहा पाएपछि रिसाए होलान् तर गर्न पो के सकिन्थ्यो र ?


त्यसबेला मैले बस चालकलाई ‘कति थुकिरहेको, मान्छेको जीउमा परेको देखेनौ’ भन्छु भन्ने विचार गर्दै थिएँ, मसँगैको साथीले मेरो विचार बुझेर भनिन्, ‘तिमी चालकलाई केही नभन, रिस उठायो भने कतै लगेर बस ठोकाइदिन्छन्, त्यसैले थुकेको हेर्न मन छैन भने आँखा चिम्ल ।’ मैले साथीको कुरा सुनेर केही बोलिनँ । अहिले पनि माइक्रोबस वा ट्याम्पोमा चढ्दा चालकले थुकेको देखे पनि म केही बोल्न सक्दिनँ ।


हरेक देशका व्यक्तिहरूको राष्ट्रिय चरित्र हुन्छ । जस्तो जर्मनहरूको चरित्र कसैलाई समय दिएपछि ठीक समयमा पुग्नु हो । त्यस्तै इजरायलीहरूको चरित्र धेरै मिहिनेत गर्नु, फ्रेन्चहरूको चरित्र जीवनमा आनन्द लिनु हो । यस्तै नेपालीहरूको राष्ट्रिय चरित्र फोहोर गर्नु र थुक्नु हो भन्ने जस्तो लाग्दैन ? के कोरोनाविरुद्ध कदम चाल्दा ‘साबुनले हात धोउ र जता पायो उतै नथुकौं’ भन्ने नारा नेपालीले मान्लान् ?

प्रकाशित : चैत्र २०, २०७६ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

गालीले नहुने काम प्रशंसाले !

अरुणा उप्रेती

झन्डै ५० वर्षअघिको कुरा । पढ्नमा औसत ५ कक्षाकी एक छात्रालाई स्कुलकी शिक्षिकाले केही प्रश्न सोधिन् । छात्राले जवाफमा आफैंले लेखेको ‘विद्या’ शीर्षक निबन्धबाट केही हरफहरू सुनाइन्— 

राजाको मान हुन्छ, राज्यमा
विद्वान्‌को मान हुन्छ, संसारमा
सानैसँग भए पनि सिक्नू विद्या
खेर नजाने, रहन्छ आफैंसँग यो सदा ।

शिक्षिकाले भनिन्, ‘यस्तो राम्ररी विद्याको महत्त्व बुझाउने छात्राले त भविष्यमा धेरै पढ्ने पक्का छ । यो कविताबाट देखिन्छ, तिमी बाहिरका किताब पनि धेरै पढ्ने गर्छ्यौ ।’ शिक्षिकाका यी शब्दले छात्रालाई पढाइप्रति यति प्रेरणा दियो, उसको जीवन नै बदलियो । ऊ किताबप्रेमी भई । उच्च शिक्षा हासिल गरी ।

जिब्रो नचपाऊँ । ५० वर्षअघिकी त्यो छात्रा मै थिएँ र गुरुमा चन्द्रकला गुरुङको त्यो भनाइ अहिलेसम्म अक्षरशः याद छ । म गुरुमाप्रति अनुगृहीत नै छु । शिक्षकले विद्यार्थीका गल्तीलाई ढाकछोप गर्दै प्रशंसा गर्नुपर्दैन, नचाहिने स्याबासी दिनुपर्दैन । तर विद्यार्थीले अलिकति मेहनत गरे पनि ‘कस्तो राम्रो गरेको ! अझ राम्रो गर्ने क्षमता छ तिम्रो !’ मात्र भनिदिने गरे पनि उसको उत्साह चुलिँदै जान्छ । शिक्षकशिक्षिकाका प्रेरक शब्दहरूले विद्यार्थीलाई अघि बढ्न जति प्रेरणा दिन्छन्, त्यति नै विद्यार्थीलाई अझ नयाँ कुरा सिक्न उत्साहित गराउँछन् । ‘लद्दू’, ‘काम नलाग्ने’, ‘केही गर्न नसक्ने’ शब्दावली सुन्नुपर्‍यो भने विद्यार्थी पढाइप्रति गल्दै जान्छ । कसैलाई त्यस्ता शब्दावली प्रयोग गर्दै उसका साथीहरूका अगाडि गाली गरियो भने त झन् ऊ अपमानले भुतुक्कै हुन्छ । स्कुल आउने, पढ्ने जाँगर मर्दै जान्छ । अहिले कति दलित विद्यार्थीले स्कुल छोड्नुको एउटा प्रमुख कारण शिक्षकशिक्षिकाले गर्ने व्यवहार पनि हो । गृहकार्य नगर्दैमा दलित विद्यार्थीलाई ‘पढ्न नसक्ने’, ‘कामचोर’ आदि भन्दै सजाय दिने गर्दा शिक्षकले त्यो विद्यार्थीले स्कुल आउँदा पेटभरि खान पाएको छ कि छैन भन्ने पनि विचार गरेका हुँदैनन् । भोको पेट आएको विद्यार्थी अपमानजनक शब्द सुन्नुपर्दा झनै पीडित हुन्छ । अनि ऊ स्कुल आउनै छोड्छ ।

अपमान भोग्नुपरिरहेका विद्यार्थीहरू जीवनभर दुःखित भइरहन्छन् । अपमान गर्ने शिक्षकशिक्षिकाबाट पछिसम्म तर्किइरहन्छन् । ‘उसैको भलाइको लागि मैले गाली गरेको, पिटेको’ भन्ने शिक्षक अब काम लाग्दैनन् । अचेल सरकारी स्कुलमा पहिलेको तुलनामा लट्ठीले पिट्ने वा झापड हान्ने काम त गरिन्न, तर शब्दहरूले पिट्ने काम चाहिँ छुटेको छैन ।

हरेक विद्यार्थीमा केही न केही गुण हुन्छ । त्यो गुणको प्रशंसा गर्दै पढ्न उत्प्रेरित गरिरहने हो भने ‘लद्दू’ मानिएको विद्यार्थीले पनि मेहनत गर्न थाल्छ । प्रशंसाबाट नफुर्किने मानिस संसारमै हुन्न भन्दा हुन्छ । १९ औं शताब्दीको सुरुतिरको कुरा । लन्डनका एक युवक लेखक बन्न चाहन्थे । तर उनले स्कुलमा पनि राम्रोसँग पढ्न पाएका थिएनन् । उनका बुबा ऋण तिर्न नसकेर जेलमा थिए । युवक एउटा कारखानामा काम गर्थे । दिनहुँ केही न केही लेख्न कोसिस गरिरहन्थे र लेखेका कथा पत्रिकामा पठाइरहन्थे । आफूले पत्रिकामा चिठी पठाएको देखेर कोही नहाँसून् भनेर उनी राति मात्रै पोस्ट बक्समा हाल्थे । तर कथा अस्वीकृत हुन्थे र युवक निराश बन्थे । एक दिन सम्पादकले कथा राम्रो लागेकाले छापिन स्वीकृत भएको ब्यहोरासहित प्रत्युत्तर पठाए । यस्तो जवाफ पाएपछि ती युवकका आँखा भिजिरहे, खुसीले । उनी बाटामा बेपर्बाह हिँडिरहे । त्यो कथा छापिएपछि युवकमा ‘आफू लेखक बन्न सक्छु’ भन्ने विश्वास झन् दृढ भयो । उनले अथक मेहनत गरिरहे । कालान्तरमा उनी अंग्रेजी भाषाका प्रसिद्ध लेखक भए । ती थिए— चार्ल्स डिकेन्स । सम्पादकले स्वीकृतिको चिठी नपठाएका भए चार्ल्स डिकेन्स यसै हराउन पनि सक्थे कि, के थाहा ? प्रशंसाले मान्छेमा आत्मविश्वास जगाइदिन्छ, ऊर्जा दिन्छ ।

विभिन्न संघसंस्थामा काम गरेपछि मैले पनि सिकेँ, साँच्चै प्रशंसाले मानिसलाई काम गर्न प्रेरणा दिने रहेछ, अझ मेहनत गर्न जागरुक गराउने रहेछ । कुकुर वा कुनै घरपालुवाले भनेको मान्यो, सिकाएको काम गर्‍यो भने हामी माया देखाउँछौं, केही खान दिन्छौं । त्यस्तै मायालु शब्दहरू काम गर्न कोसिस गरिरहेका विद्यार्थीसँग पनि गर्नुपर्छ भन्ने भावना शिक्षकशिक्षिकामा आउनुपर्छ, अभिभावकहरूमा आउनुपर्छ । आफ्ना छोराछोरीलाई हकारे, तिनका कामको बेवास्ता गरे ती तह लाग्छन् भन्ने कति अभिभावक सोच्ने गर्छन्, जुन गलत हो ।

लन्डनकै अर्को प्रसंग । एक युवक किरानापसलमा काम गर्थे । युवकले पसलमा चौध घण्टा खट्नुपर्थ्यो । उनलाई बिस्तारै त्यो काममा वाक्क लाग्दै गयो । पक्कै पनि उनले मालिकबाट अपहेलनाका शब्दहरू सुन्नुपर्थ्यो होला । उनी एक दिन भागेर गाउँ गए, आमा भए ठाउँ । उनलाई पसलमा फेरि काम गर्नु थिएन र आफ्नो स्कुलका एक शिक्षकलाई हृदयविदारक चिठी लेखे, मर्न मन लागेको भन्दै । ती शिक्षकले युवकलाई गाली गर्नुको साटो ढाडस दिए, ‘तिमी धेरै योग्य छौ । मसँगै स्कुलमा काम गर्न आऊ ।’ ती युवक स्कुल गएर काम थाले । शिक्षकको प्रेरणाका कारण उनको जिन्दगी नै बदलियो । अनि त उनी पनि अंग्रेजी भाषाका प्रसिद्ध लेखक बने— एचजी वेल्स । ती शिक्षकले सान्त्वना नदिएका भए एचजी वेल्सको जिन्दगीले कस्तो मोड लिन्थ्यो होला ?
प्रवेशिका परीक्षामा असफल भएर आत्महत्या गर्नेहरूलाई असफल भएपछि अरूले गाली गर्लान्, अपमान गर्लान् भन्ने भयले नै यस्तो काम गर्न उस्काउँछ । असफल भए पनि केही छैन, फेरि अर्को समय आउँछ भनेर भन्नेछन् वा फेरि मेहनत वा सल्लाह दिनेछन् भन्ने विश्वास भए कुनै पनि विद्यार्थीले त्यस्तो कदम चाल्दैनन् ।
नेपालमा प्रायः अभिभावक शिक्षकशिक्षिकाले गाली गरे मात्र बालबालिका तह लाग्छन् भनी सोच्छन् । म पनि त्यस्तै सोच्थें । ठूली छोरी ४ कक्षामा पढ्थी । एक दिन गणित पढाउँदा उसले बुझ्नै सकिन । जति कोसिस गर्दा पनि उसले पारा नल्याएपछि मैले पिटें, गाली गरें । उसको टाउकामा कलमको टुप्पो गाडिएर रगत नै आयो । छोरी रोई । अनि बल्ल मलाई आफूले गल्ती गरेको बोध भयो । अहिलेसम्म मलाई त्यो अपराधबोध छ । ठूली भइसकेकी छोरी कहिलेकाहीँ त्यो घटना सम्झाएर मलाई लज्जित तुल्याउने गर्छे ।

मेरा एक परिचित डाक्टर छन्, जो आफ्ना आमाबुबासँग बस्न उति रुचाउँदैनन् । कारण सोध्दा उनले भने, ‘मलाई सानोमा बुबाआमाले सानो–सानो कुरामा गाली गर्नुहुन्थ्यो । घाँसको भारी धेरै ल्याएन भने पनि गाली गर्ने, बजार गएर बिस्कुट ल्याउँदा ढुसी परेको बिस्कुट ल्यायो भनेर गाली गर्ने, पानीमरुवा भन्ने गर्नुहुन्थ्यो । मलाई घरबाट भागिहालूँ जस्तो लाग्थ्यो । डाक्टरी पढ्न नेपालबाहिर बस्दा कहिले पनि छुट्टीको समयमा घर जाऊँ जस्तो लागेन । आमाबुबालाई गर्ने कर्तव्य त म गर्छु, तर एकदम माया–स्नेहले पलाउनचाहिँ सकेको छैन ।’ अर्थात्, छोराले धेरै पढोस् भनेर झपार्ने बानीले छोरालाई नै टाढा गराइदियो ।

हो पनि, अभिभावक र शिक्षकले बालबालिकालाई माया–स्नेह गर्ने, प्रशंसा गर्ने गरे धेरैको भविष्य राम्रो हुने थियो, धेरैले सही बाटो समाउने थिए ।

प्रकाशित : चैत्र १०, २०७६ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×