विपत्तिमा घरघरमै पढ्ने–पढाउने कि ?

घर र घरजस्तै विगतको चलन
विद्यानाथ कोइराला

काठमाडौँ — पुर्खाले घरमै पढे । घरमै पढाए । शास्त्रीय शब्दावलीमा लैंगिक विज्ञता सिकाए । बाबुले छोरालाई पढाएर । आमाले छोरीलाई पढाएर । उनीहरूको रहर हो —आफ्नोपनाको निरन्तरता दिनु ।

अहिलेकाकेटा मात्रै पढ्ने स्कुल तिनै हुन् । केटी मात्रै पढ्ने स्कुल तिनै हुन् । लैंगिक समतावालाले यो कुरा पचाउन्ननौं । त्यसमा लैगिक विभेद देख्छौं । मुस्लिमहरूले स्वागत गर्छौं । यहीनेरको छनोट हो— संस्कारमा चल्ने कि कथाले मागेको कुरा गर्ने ? विवादको गेडो त्यति नै हो ।


आचार्य, गुरु, खेन्पो, रिम्पोछे, लामा, मौलवी, मौलानाहरूले पठनपाठनका लागि बाहिरी संस्था बनाए । आचार्यकुल, गुरुकुल, आश्रम, गुम्बा/गोन्पा, मख्तव, मदरसा संस्था हुन् । तिनले घरमै पढ्ने पढाउने कुरा बदले । त्यहाँ बाबु शिक्षक भएन । आमा शिक्षक भइनन् । तर पनि उनीहरूले लैंगिक विज्ञताकै अनुशरण गरे । केटीहरूको आचार्यकुल । केटाहरूको गुरुकुल । केटीहरूको आश्रम । केटाहरूको आश्रम ।


आनी गुम्बा । लामा गुम्बा । आइसा मदरसा । केटा मदरसा । यी सबै प्रबन्धहरू लैंगिक विज्ञताकै निरन्तरता हुन् । तीमध्ये केहीले बाकसबाहिर (आउसाइड द बक्स) हेरे । तिनले उमेरको पनि ख्याल राखे । साना कक्षामा सहशिक्षा । ठूला कक्षामा लैंगिक भिन्नता । यो पनि शास्त्रीय रिवाज हो । पिँढी शिक्षा हुँदा पनि हामीले त्यही नियति भोग्यौं । पश्चिमी शैलीका स्कुल भित्र्याउँदा पनि हामीले त्यो बुद्धि छोडेनौं । पद्मोदय स्कुल केटाको । पद्मकन्या स्कुल केटीको । सोच त्यही हो ।


घर छोडाउने अनिवार्य शिक्षा

पुँजीवादी देशहरूले अनिवार्य शिक्षाको अभ्यास गरे । साम्यवादी देशले त्यसको विस्तार गरे । अहिले अनिवार्य शिक्षा सबैको एजेन्डा बनेको छ । तर स्कुललाई नपत्याउने अमेरिकीहरूले अभिभावकले घरैमा पढाउने प्रबन्ध (होम स्कुलिङ) गरे ।


बेलायतीहरूले त्यसैलाई घरैमा शिक्षा (होम एजुकेसन) भन्ने नाम दिए । स्कुल भत्काउ अभियानवाला (डिस्कुलर्स) हरूले प्रविधि, प्रकृति, तथा समाजसँग सिक्ने बाटो खोले । अनौपचारिक शिक्षावालाले प्रविधिको सहारामा पढाउने चिन्तन ल्याए । खुला शिक्षालयवालाहरूले चाहिँ घरैमा पढाउने शिक्षा (होम स्कुलिङ), बाकसमा शिक्षा (स्कुल इन ए बक्स), स्वाध्याय (अटोनोमस लर्निङ), तथा घरैमा पढाउनेहरूको सहकारी (होमस्कुल कोअपरेटिभस) को चिन्तन मिसाए । अर्थात् बाकसमा शिक्षा दिँदा औपचारिक विद्यालयको संरचना छोडेनन् । स्वाध्याय शिक्षाको कुरा गर्दा विद्यार्थीको रुचिगत शिक्षालाई पनि क्रडिट दिने प्रबन्ध गरे । पढाउनेहरूको सहकारीमार्फत विद्यालयको जस्तो जमघटमा सिक्ने प्रबन्धलाई निरन्तरता दिए ।


अर्थात् खुला शिक्षावालाले गुरुकुलको चिन्तनलाई आत्मसात गरे । एक चौथाइ गुरुसँग सिक भनेर । दोस्रो चौथाइ साथीसँग सिक भनेर । तेस्रो चौथाइ कहलिएका विज्ञसँग सिक भनेर । चोथो चौथाइ आफ्नै अनुभवसँग सिक भनेर । श्रेय आफूले लिए । तरिका हाम्रै गुरुकुलका लगे ।


घरमै चलेका विपत्ति बेलाका शिक्षालयहरू

नेपालले अनेक विपत्तिहरू भोग्यो । बाढी पहिरोको । भूकम्पको । स्वाइनफ्लुको । अहिले कोरोनाको । भोलि अर्को कुनै विपत्ति आउन सक्छ । त्यसको । हामीले मधेसको बाढीमा आधुनिक प्रविधि प्रयोग गर्‍यौं । रेडियोबाट पढाएर । टेलिभिजनबाट पढाएर । अनलाइनबाट पढाएर । भूकम्पमा त्यसो गरेनौं । छिमेकी चीनले बुहानका तीन करोडलाई आधुनिक प्रविधिबाटै पढायो । बेलायतले चाहिँ ६ कक्षासम्मका बालबालिकालाई घरमै स्कुल (स्कुल एट होम) पुर्‍याउने प्याकेज बनायो । त्यो प्याकेजको नाम राख्यो— एक प्याकेटमा अनेक विषय भएको थैली (अल इन वान होम स्कुलिङ प्याकेज) ।


यो थैलीमा विद्यार्थीका लागि दैनिक समय तालिका छ । स्कुलको पाठ छ । विद्यार्थीको रुचिको सिकाइ छ । अभिभावक नभएका, विपन्न तथा हिंसामा परेका वा पर्न सक्ने बालबालिकाहरूका लागि एकीकृत शिक्षा दिने शिक्षकको प्रबन्ध गर्‍यो । कक्षा ६ भन्दा माथिका बालबालिकालाई माइक्रो सफ्ट किङ नामक सफ्टवेर बनायो । त्यसैबाट पढ्ने पढाने प्रबन्ध गर्‍यो । उच्च शिक्षाका विद्यार्थीलाई अनुसन्धानमा लगायो । पाठ्यक्रम उनैसँग छ । पढ्ने उनीहरूले नै हो । आवश्यक परे सम्पर्क राख्ने शिक्षक तथा प्राध्यापकहरूको टुंगो गरिदियो । स्काइप कक्षा । भर्चुअल कक्षा ।

भेटघाट कक्षा । फोन इन कक्षा । यसको अर्थ हो— विपत्तिले उनीहरूको क्यालेन्डर बिथोलिएन । विद्यार्थीलाई के गर्ने भन्ने समस्या रहेन । सबै व्यस्त बनाइए ।


अभिभावक सिकाउनमा । विद्यार्थी जहाँबाट पनि सिक्नमा । दूर शिक्षणको तरिकाले परीक्षा लिए । अर्थात् विद्यार्थीले आफैं बसेको ठाउँबाट जाँच दिने प्रबन्ध मिलाए । अन लाइन जाँच गरे । घरैमा लेख्ने (टेक होम) जाँच गरे । माओको सोचमा पनि विद्यार्थीले महिनादिनअघि नै प्रश्न पाउँथ्यो । पाउनु पर्थ्यो । त्यसैको आधारमा उसले आफूलाई तयार गर्थ्यो । अर्थात् आधुनिक प्रविधि नपुगेको ठाउँमा पनि माओको बुद्धि काम गर्थ्यो ।


घरको पढाइ नबुझेका निर्णायकहरू

हाम्रा निर्णयकहरू पदीय विज्ञ हौं । परम्परावादी पनि छौं । कुरामा क्रान्तिकारी । काममा परम्पराभन्दा पनि पछाडि । त्यसैले दर्शक हेरेर बोल्छौं । त्यही बोलीमा अल्झिन्छौं । माकुराजस्ता । त्यसैमा मर्छौं । मारिन्छौं । शिक्षामन्त्री , कर्मचारी, प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीहरू, शिक्षक महासंघ, विश्वविद्यालयका पदाधिकारीहरू, प्राध्यापक संघ, अगैसस, मानव अधिकारवादी, बालअधिकारवादी सबै एउटै कोटिका देखियौं । त्यसैले हामीले बन्द भन्न जान्यौं । परीक्षा बन्द । पढाइ बन्द ।


बन्दको बेलामा के गर्ने के गराउने भन्ने कुरामा चासै लिएनौं । चिन्तित बनेनौं । चिन्तनशील पनि देखिएनौं । विद्यार्थी तथा अभिभावकका संघ संगठनहरू, देशको ठेक्का लिएका राजनीतिक दलका नेताहरू पनि त्यसभन्दा भिन्न रहेनौं । त्यसको एकल कारण हो— हामीहरू जिम्मेवार व्यक्ति होइनौं । बनेनौं । बनाइएनौं । बरु पत्रकारहरू जिम्मेवार देखियौं । कमसेकम चासो त लियौं । हल्ला त मच्चायौं ।


घरघरमै पढ्ने पढाउने तर्किव

विपत्तिमा शिक्षा दिने अनेकन तर्किवहरू छन् । चिनियाँ तर्किवले भन्छ— आधुनिक प्रविधिमार्फत विद्यार्थीलाई पढाऔं । बेलायती तर्किवले भन्छ— संरचनात्मक औपचारिक शिक्षा, अनौपचारिक शिक्षा तथा निजात्मक शिक्षाबीच समन्वय गरी बालविकास तथा आधारभूत तहका बालबालिकालाई हुने गरी कक्षागत अनेक विषय भएको थैली (अल इन वानको प्याकेज) बनाऔं । माध्यमिक तहका लागि सफ्टवेरमार्फत पढ्ने पढाउने प्रबन्ध गरौं । त्यसका लागि मिदास, कुल्याब तथा खुला विश्वविद्यालयको अनुभव लिन सक्छौं ।


बालविकासको प्याकेज बनाउन कार्टुनिस्टहरूको सहायता लिन सक्छौं । फेसबुकेहरूका तस्बिर तथा भिडियो बटुल्ने वेबसाइट बनाउन सक्छौं । सोलार सिनेमा बनाउने युवाहरूको सहायता लिन सक्छौं । डा. महावीर पुनहरूले त्यसमा ज्यान भर्न सक्छौं । विद्यालय तथा विश्वविद्यालयका शिक्षक/प्राध्यापक, एवं विद्यार्थीहरू काम लाग्न सक्छौं । केवल तिनलाई ललकार्ने बुद्धि भएको नेतृत्व भए पुग्छ । घरघरैबाट यो काम हुन सक्छ ।


माथिका तर्किवहरूले ललकार खोज्छन् । त्यसैले भन्छु— फेसबुक नचलाउने शिक्षक छैनौं । तिनलाई खोई ललकारेको ? प्राध्यापकहरूलाई खोई चुनौती गरेको ? कार्टुनिस्टहरूलाई खोई बोलाएको ? पदीय सर्वज्ञ मानिएका मन्त्रीहरूको कुरा पनि रिठ्ठो नबिराई प्रसार गर्ने सञ्चारकर्मीहरूलाई खोई सर्जक बनाएको ? जसले जसलाई र जहाँ फोन गरे पनि कोरोनाको सन्देश दिन सक्ने दूरसञ्चार कार्यालयलाई खोई लयमा ल्याएको ? जहाँको एफएम तथा टेलिभिजन खोले पनि आ–आफ्नै दलका गीत तथा भजन गाउने रेडियो एवं टेलिभिजनलाई खोई उपयोग गरेको ? अनलाइन तथा सामाजिक सत्त्जालहरूलाई खोई सिर्जनात्मक काम दिएको ? देश विकासको डिङ हाँक्ने विश्वविद्यालयका विद्यार्थीहरूलाई खोई अनुसन्धानमूखी बनाएको ?


उनकै घरको अन्तरपुस्तेनी ज्ञान (इन्टर जेनरेसनल नलेज) को अनुसन्धान गर्न । उनकै खेतबारीको बालीनालीको बदलिँदो जानकारी लिन । पुर्खाका ज्ञानमारा हाम्रा पुस्तालाई बाटो देखाउन पुर्ख्यौली ज्ञान, आधुनिक ज्ञान तथा शास्त्रीय ज्ञानबीच के कस्तो सम्बन्ध छ भनी खोज्न खोजाउन । विश्वविद्यालयका प्राध्यापक तथा तिनका नेतृत्वहरूले यो काम किन नगरेको ? किन नगराएको ? आफ्नै शरीरको ध्यान गरेर पनि ज्ञान आर्जन गर्ने पुर्खाका सन्ततिमा खोई त्यो चेत पलाएको ? आफ्नै अनुभवले अनुसन्धाता बनेका दलित तथा जनजातिका विज्ञहरूबाट सिक्ने सिकाउने वुद्धि खोई बनाएको ?


घरमै पढ्ने पढाउने चेत

चेत खुले हामी घरघरमा पढ्ने पढाउनेहरूको समूह बन्न सक्छौं । पहिले एकल रूपमा । क्रमशः सहकारीको रूपमा । यसमा घरबसुवाहरू कामयावी हुन्छौं । हामी अन्तर पुस्तेनी शिक्षा दिन्छौं । नयाँ पुस्तासँग शिक्षा लिन्छौं । सेवानिवृत्तहरू यो काम गर्न सक्छौं । बालविकासका शिक्षकहरू सामग्री बटुल्न सक्छौं । आ–आफ्ना संस्कारका । आ–आफ्ना समाजका । ती सामग्रीहरूको डोको बनाउन सक्छौं । घरायासी डोको । त्यही डोकोमा बालविकासका बालबालिकाहरूलाई खेलाउन सक्छौं ।


खेलखेलमैं सिकाउन सक्छौं । आधारभूत शिक्षाका शिक्षकहरू अनेक विषय भएको थैली बनाउन सक्छौं । बाकसमा स्कुल (स्कुल इन ए बक्स) का लागि चाहिने सामग्री बनाउन सक्छौं । फेसबुकबाट विद्यार्थीलाई दिनको एउटा प्रश्न दिन सक्छौं । उत्तर खोज्न तथा खोजाउन सक्छौं । केहीलाई पिँढी शिक्षा दिन सक्छौं । माध्यमिक तहका शिक्षकहरू सफ्टवेरमार्फत पढ्ने पढाउने प्रबन्ध गर्न सक्छौं । आवश्यकताअनुसार पिँढी शिक्षा दिन सक्छौं । विद्यार्थीलाई सिकाइमा लगाउन सक्छौं । प्राध्यापकहरू उच्च शिक्षाका विद्यार्थीहरूलाई अनुसन्धाता तथा सिद्धान्तकार बनाउन सक्छौं । सञ्चारकर्मीहरू आ–आफ्ना सञ्चारका साधनहरूमार्फत विद्यार्थी तथा शिक्षकमा पुग्ने सामान पठाउन सक्छौं । कसले के सिक्यो भनी अनुगमन गर्न सक्छौं । सबै तहका वैतनिक तथा भत्तावाल जनप्रतिनिधिहरू आवश्यक उपकरण तथा प्रबन्ध मिलाउन सक्छौं । सबै समूहका संघसंगठनहरू चहिँ आ–आफ्ना झण्डाका मानिसलाई शिक्षा दिन सक्छौं । दीक्षा दिन सक्छौं ।


सघाउने तथा तर्साउनेहरूलाई रकम दिन सक्ने प्याब्सन तथा एनप्याब्सनका हस्तीहरू पैसा दिन सक्छौं । विकास बजेट खर्चिन नसक्ने सबै तहका जनप्रतिनिधिहरू थप लगानी गर्न सक्छौं । शिक्षक तालिम , समुदायमा विद्यालय व्यवस्थापन, नमुना विद्यालय, स्वायत्त क्याम्पसजस्ता खानैपर्ने तर पखाला लाग्ने ऋण तथा दान दिन जानेका विदेशीहरूले पनि चाहिने ठाउँमा लगानी गर्न सक्छौं । संस्कृतिगत सिकाइ नजानेका तर विदेशीका प्रक्रियागत सिकाइको रट लगाउने अगैससहरूले प्राविधिक तथा आर्थिक सहायता दिन सक्छौं । पढाउनुको सट्टा सिकाउनुपर्छ भन्नेहरू स्वाध्याय सामग्री बनाउन सक्छौं । निर्देशित सामग्री (गाइडेड म्याटेरियल) बनाउन सक्छौं । पुलेसा सामग्री (ब्रिज म्योटेरियल) बनाउन सक्छौं ।


घरमै पढ्ने पढाउने पुर्ख्यौली मन्त्र/स्तोत्र जाग्रत पुर्खाले भनिदिए— मन्त्र नहुने अक्षर छैन । औषधि नहुने बिरुवा छैन । अयोग्य व्यक्ति छैन । योजक मात्रै हाम्रो खाँचो हो । योजकको भूमिकामा रहेकाहरूमा यो चेत आउला त ? किनकि अहिलेको विपत्तिले त्यस्तै योजक खोजेको छ । शिक्षा मन्त्रालयमा योजक । विश्वविद्यालयमा योजक । संघसंगठनहरूमा योजक । सञ्चारकर्मीमा योजक । आधुनिक प्रविधि प्रयोगकर्ताहरूमा योजक । विभिन्न विद्हरूमा योजक । ती स–साना योजकहरूको पनि योजक । अर्थात् महायोजक । तलको संस्कृत मन्त्र/स्तोत्रले त्यही कुरा खोजेको छ ।


अमंत्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्‌ ।

अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः॥


संस्कृतको अर्को मन्त्र/स्तोत्रले भन्छ:


अमंत्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्‌ ।

अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः॥


सबै तहका हाम्रा विद्यार्थी तथा शिक्षक/प्राध्यापकहरूमा यो मन्त्र/स्तोत्र लागू गर्ने अभियान चलाऔं । विपत्ति साम्य भएपछि पहिलो चौथाइको काम गरौंला । बाँकी तीन चौथाइ काम (नजिकका साथीसँग संवाद गर्ने, पैताले विज्ञ (बेयरफुट एक्स्पर्ट) सँग कुरा गर्ने तथा आफ्नै अनुभवबाट सिक्ने) घरघरमै सम्भव छ । आधुनिक प्रविधिमार्फत । दूरी कायम राख्ने संवादमार्फत । नभए सम्भव बनाउन सकिन्छ । प्रश्न हो— विपत्तिकै गीत जप्ने कि विपत्तिमा पनि शैक्षिक क्यालेन्डर नबिगारी काम गर्ने तर्किव खोज्ने ? योजक तथा महायोजकहरूको मर्जीमा छोडें । प्रकाशित : चैत्र १५, २०७६ १०:५५

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अलपत्र विद्यार्थी डोल्पा लगियो 

घरमै क्व‍ारेन्टाइनमा बस्‍नुपर्ने
हरि गौतम

रुकुम पश्चिम — कोरोनाको फैलने त्रास बढ्दै गएपछि ठाउँ छाडेर अलपत्र विद्यार्थीको उद्धार गरिएको छ । डोल्पाका विभिन्‍न स्थानीय तहका विद्यार्थीलाई नेपालगन्जबाट उद्धर गरी डोल्पा पठाइएको छ । 

बिहीबार राति नेपालगन्‍जबाट उनीहरुलाई डोल्पा पठाइएको हो । काठमाडौं, सुर्खेत तथा अन्य ठाउँमा रहेका तथा नेपालगन्‍जमै रहेका १ सय ९ विद्यार्थीलाई कर्णाली प्रदेश सरकारका सहयोगमा रुकुम पश्चिमको आठबीसकोट राडी हुँदै डोल्पा पठाइएको हो ।

घर पुगेपछि क्‍वारेन्टाइनमा बस्‍ने गरी विद्यार्थीलाई डोल्पा पठाइएको हो । डोल्पाका लागि हिँडेका विद्यार्थीहरु नेपालगन्‍ज पुग्दा नपुग्दै लकडाउन भएपछि उनीहरु बाटोमै अलपत्र थिए । लकडाउनको ख्याल गरेर जिल्लामा पुगेपछि क्वारेन्टाइनमा बस्ने गरी विद्यार्थीलाई डोल्पा पठाइएको हो ।

ठूलीभेरी नगरपालिका, त्रिपुरा सुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, शे फोक्सुण्डो, डोल्पोबुद्ध गाउँपालिका छार्काताङसोङ गाउँपालिका लगायतका विद्यार्थीलाई गृह जिल्ला पठाइएको हो ।

कति विद्यार्थी शुक्रबार नै सम्बन्धित ठाउँ पुगेका छन् भने कति विद्यार्थी शनिबार सम्म पुग्‍ने अनेरास्ववियूका नेता जय रोकायले बताए । उनका अनुसार सम्बन्धित स्थानीय तहले बनाएका क्वारेन्टाइनमा विद्यार्थीहरु बस्नेछन् । डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका विद्यार्थीहरु भने सदरमुकाम दुनैको क्वारेन्टाइनमा बस्ने नेता रोकायले बताए ।

प्रकाशित : चैत्र १५, २०७६ १०:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×