गालीले नहुने काम प्रशंसाले !- विचार - कान्तिपुर समाचार

गालीले नहुने काम प्रशंसाले !

अरुणा उप्रेती

झन्डै ५० वर्षअघिको कुरा । पढ्नमा औसत ५ कक्षाकी एक छात्रालाई स्कुलकी शिक्षिकाले केही प्रश्न सोधिन् । छात्राले जवाफमा आफैंले लेखेको ‘विद्या’ शीर्षक निबन्धबाट केही हरफहरू सुनाइन्— 

राजाको मान हुन्छ, राज्यमा

विद्वान्‌को मान हुन्छ, संसारमा

सानैसँग भए पनि सिक्नू विद्या

खेर नजाने, रहन्छ आफैंसँग यो सदा ।


शिक्षिकाले भनिन्, ‘यस्तो राम्ररी विद्याको महत्त्व बुझाउने छात्राले त भविष्यमा धेरै पढ्ने पक्का छ । यो कविताबाट देखिन्छ, तिमी बाहिरका किताब पनि धेरै पढ्ने गर्छ्यौ ।’ शिक्षिकाका यी शब्दले छात्रालाई पढाइप्रति यति प्रेरणा दियो, उसको जीवन नै बदलियो । ऊ किताबप्रेमी भई । उच्च शिक्षा हासिल गरी ।


जिब्रो नचपाऊँ । ५० वर्षअघिकी त्यो छात्रा मै थिएँ र गुरुमा चन्द्रकला गुरुङको त्यो भनाइ अहिलेसम्म अक्षरशः याद छ । म गुरुमाप्रति अनुगृहीत नै छु । शिक्षकले विद्यार्थीका गल्तीलाई ढाकछोप गर्दै प्रशंसा गर्नुपर्दैन, नचाहिने स्याबासी दिनुपर्दैन । तर विद्यार्थीले अलिकति मेहनत गरे पनि ‘कस्तो राम्रो गरेको ! अझ राम्रो गर्ने क्षमता छ तिम्रो !’ मात्र भनिदिने गरे पनि उसको उत्साह चुलिँदै जान्छ । शिक्षकशिक्षिकाका प्रेरक शब्दहरूले विद्यार्थीलाई अघि बढ्न जति प्रेरणा दिन्छन्, त्यति नै विद्यार्थीलाई अझ नयाँ कुरा सिक्न उत्साहित गराउँछन् । ‘लद्दू’, ‘काम नलाग्ने’, ‘केही गर्न नसक्ने’ शब्दावली सुन्नुपर्‍यो भने विद्यार्थी पढाइप्रति गल्दै जान्छ । कसैलाई त्यस्ता शब्दावली प्रयोग गर्दै उसका साथीहरूका अगाडि गाली गरियो भने त झन् ऊ अपमानले भुतुक्कै हुन्छ । स्कुल आउने, पढ्ने जाँगर मर्दै जान्छ । अहिले कति दलित विद्यार्थीले स्कुल छोड्नुको एउटा प्रमुख कारण शिक्षकशिक्षिकाले गर्ने व्यवहार पनि हो । गृहकार्य नगर्दैमा दलित विद्यार्थीलाई ‘पढ्न नसक्ने’, ‘कामचोर’ आदि भन्दै सजाय दिने गर्दा शिक्षकले त्यो विद्यार्थीले स्कुल आउँदा पेटभरि खान पाएको छ कि छैन भन्ने पनि विचार गरेका हुँदैनन् । भोको पेट आएको विद्यार्थी अपमानजनक शब्द सुन्नुपर्दा झनै पीडित हुन्छ । अनि ऊ स्कुल आउनै छोड्छ ।


अपमान भोग्नुपरिरहेका विद्यार्थीहरू जीवनभर दुःखित भइरहन्छन् । अपमान गर्ने शिक्षकशिक्षिकाबाट पछिसम्म तर्किइरहन्छन् । ‘उसैको भलाइको लागि मैले गाली गरेको, पिटेको’ भन्ने शिक्षक अब काम लाग्दैनन् । अचेल सरकारी स्कुलमा पहिलेको तुलनामा लट्ठीले पिट्ने वा झापड हान्ने काम त गरिन्न, तर शब्दहरूले पिट्ने काम चाहिँ छुटेको छैन ।


हरेक विद्यार्थीमा केही न केही गुण हुन्छ । त्यो गुणको प्रशंसा गर्दै पढ्न उत्प्रेरित गरिरहने हो भने ‘लद्दू’ मानिएको विद्यार्थीले पनि मेहनत गर्न थाल्छ । प्रशंसाबाट नफुर्किने मानिस संसारमै हुन्न भन्दा हुन्छ । १९ औं शताब्दीको सुरुतिरको कुरा । लन्डनका एक युवक लेखक बन्न चाहन्थे । तर उनले स्कुलमा पनि राम्रोसँग पढ्न पाएका थिएनन् । उनका बुबा ऋण तिर्न नसकेर जेलमा थिए । युवक एउटा कारखानामा काम गर्थे । दिनहुँ केही न केही लेख्न कोसिस गरिरहन्थे र लेखेका कथा पत्रिकामा पठाइरहन्थे । आफूले पत्रिकामा चिठी पठाएको देखेर कोही नहाँसून् भनेर उनी राति मात्रै पोस्ट बक्समा हाल्थे । तर कथा अस्वीकृत हुन्थे र युवक निराश बन्थे । एक दिन सम्पादकले कथा राम्रो लागेकाले छापिन स्वीकृत भएको ब्यहोरासहित प्रत्युत्तर पठाए । यस्तो जवाफ पाएपछि ती युवकका आँखा भिजिरहे, खुसीले । उनी बाटामा बेपर्बाह हिँडिरहे । त्यो कथा छापिएपछि युवकमा ‘आफू लेखक बन्न सक्छु’ भन्ने विश्वास झन् दृढ भयो । उनले अथक मेहनत गरिरहे । कालान्तरमा उनी अंग्रेजी भाषाका प्रसिद्ध लेखक भए । ती थिए— चार्ल्स डिकेन्स । सम्पादकले स्वीकृतिको चिठी नपठाएका भए चार्ल्स डिकेन्स यसै हराउन पनि सक्थे कि, के थाहा ? प्रशंसाले मान्छेमा आत्मविश्वास जगाइदिन्छ, ऊर्जा दिन्छ ।


विभिन्न संघसंस्थामा काम गरेपछि मैले पनि सिकेँ, साँच्चै प्रशंसाले मानिसलाई काम गर्न प्रेरणा दिने रहेछ, अझ मेहनत गर्न जागरुक गराउने रहेछ । कुकुर वा कुनै घरपालुवाले भनेको मान्यो, सिकाएको काम गर्‍यो भने हामी माया देखाउँछौं, केही खान दिन्छौं । त्यस्तै मायालु शब्दहरू काम गर्न कोसिस गरिरहेका विद्यार्थीसँग पनि गर्नुपर्छ भन्ने भावना शिक्षकशिक्षिकामा आउनुपर्छ, अभिभावकहरूमा आउनुपर्छ । आफ्ना छोराछोरीलाई हकारे, तिनका कामको बेवास्ता गरे ती तह लाग्छन् भन्ने कति अभिभावक सोच्ने गर्छन्, जुन गलत हो ।


लन्डनकै अर्को प्रसंग । एक युवक किरानापसलमा काम गर्थे । युवकले पसलमा चौध घण्टा खट्नुपर्थ्यो । उनलाई बिस्तारै त्यो काममा वाक्क लाग्दै गयो । पक्कै पनि उनले मालिकबाट अपहेलनाका शब्दहरू सुन्नुपर्थ्यो होला । उनी एक दिन भागेर गाउँ गए, आमा भए ठाउँ । उनलाई पसलमा फेरि काम गर्नु थिएन र आफ्नो स्कुलका एक शिक्षकलाई हृदयविदारक चिठी लेखे, मर्न मन लागेको भन्दै । ती शिक्षकले युवकलाई गाली गर्नुको साटो ढाडस दिए, ‘तिमी धेरै योग्य छौ । मसँगै स्कुलमा काम गर्न आऊ ।’ ती युवक स्कुल गएर काम थाले । शिक्षकको प्रेरणाका कारण उनको जिन्दगी नै बदलियो । अनि त उनी पनि अंग्रेजी भाषाका प्रसिद्ध लेखक बने— एचजी वेल्स । ती शिक्षकले सान्त्वना नदिएका भए एचजी वेल्सको जिन्दगीले कस्तो मोड लिन्थ्यो होला ?

प्रवेशिका परीक्षामा असफल भएर आत्महत्या गर्नेहरूलाई असफल भएपछि अरूले गाली गर्लान्, अपमान गर्लान् भन्ने भयले नै यस्तो काम गर्न उस्काउँछ । असफल भए पनि केही छैन, फेरि अर्को समय आउँछ भनेर भन्नेछन् वा फेरि मेहनत वा सल्लाह दिनेछन् भन्ने विश्वास भए कुनै पनि विद्यार्थीले त्यस्तो कदम चाल्दैनन् ।

नेपालमा प्रायः अभिभावक शिक्षकशिक्षिकाले गाली गरे मात्र बालबालिका तह लाग्छन् भनी सोच्छन् । म पनि त्यस्तै सोच्थें । ठूली छोरी ४ कक्षामा पढ्थी । एक दिन गणित पढाउँदा उसले बुझ्नै सकिन । जति कोसिस गर्दा पनि उसले पारा नल्याएपछि मैले पिटें, गाली गरें । उसको टाउकामा कलमको टुप्पो गाडिएर रगत नै आयो । छोरी रोई । अनि बल्ल मलाई आफूले गल्ती गरेको बोध भयो । अहिलेसम्म मलाई त्यो अपराधबोध छ । ठूली भइसकेकी छोरी कहिलेकाहीँ त्यो घटना सम्झाएर मलाई लज्जित तुल्याउने गर्छे ।


मेरा एक परिचित डाक्टर छन्, जो आफ्ना आमाबुबासँग बस्न उति रुचाउँदैनन् । कारण सोध्दा उनले भने, ‘मलाई सानोमा बुबाआमाले सानो–सानो कुरामा गाली गर्नुहुन्थ्यो । घाँसको भारी धेरै ल्याएन भने पनि गाली गर्ने, बजार गएर बिस्कुट ल्याउँदा ढुसी परेको बिस्कुट ल्यायो भनेर गाली गर्ने, पानीमरुवा भन्ने गर्नुहुन्थ्यो । मलाई घरबाट भागिहालूँ जस्तो लाग्थ्यो । डाक्टरी पढ्न नेपालबाहिर बस्दा कहिले पनि छुट्टीको समयमा घर जाऊँ जस्तो लागेन । आमाबुबालाई गर्ने कर्तव्य त म गर्छु, तर एकदम माया–स्नेहले पलाउनचाहिँ सकेको छैन ।’ अर्थात्, छोराले धेरै पढोस् भनेर झपार्ने बानीले छोरालाई नै टाढा गराइदियो ।


हो पनि, अभिभावक र शिक्षकले बालबालिकालाई माया–स्नेह गर्ने, प्रशंसा गर्ने गरे धेरैको भविष्य राम्रो हुने थियो, धेरैले सही बाटो समाउने थिए ।

प्रकाशित : चैत्र १०, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट बच्‍ने उपाय

अरुणा उप्रेती

अहिले विश्वका विभिन्न देशले कोरोना भाइरस रोक्न ‘युद्धस्तरमा काम’ थालेका छन् । कोरोना भाइरसले विश्व अर्थव्यवस्था हल्लाएको छ । यस्तो लागिरहेछ, मानौं तेस्रो महायुद्ध भइरहेको छ र कोरोना भाइरस सबैको शत्रु हो । हामीले यही शत्रुलाई पराजित गर्नुपरेको छ । कोरोना भाइरस यति सूक्ष्म छ कि, एक मिलिमिटरको दस हजार भाग लगाउँदा एक भाग जति पनि यो छैन ।

तर यो जीवाणुले आकाश, धर्ती, समुद्रका अनेक रहस्य पत्ता लगाएको मानव मस्तिष्कलाई आच्छु–आच्छु पारिरहेको छ । यस्तो ‘खराब’ अवस्थामा कतिपय विज्ञ भन्छन्,‘यदि हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति छ भने यो जीवाणुसँग हाम्रो शरीर लड्न सक्छ ।’

हातमार्फत भाइरस सर्न सक्ने भएकाले पूर्वीय संस्कृति अनुसार हात मिलाउनुको सट्टा नमस्ते गर्ने चलन फेरि सुरु भएको छ । विभिन्न देशका नेताले एकअर्कोलाई भेट्दा हात नमिलाउनु, चुम्बन नगर्नु भनेका छन् । यसको विकल्पमा खुट्टा–खुट्टा वा कुइना–कुइना जोडेको दृश्य देखिन्छ । हेर्दा रमाइलो लाग्ने यी दृश्यले हाम्रो ‘नमस्ते’ संस्कृति विभिन्न रोगबाट बच्न बनाएको रहेछ भन्ने तथ्य उजागर गरेको छ । त्यसैगरी रोगसँग लड्नका लागि हाम्रा केही परम्परागत खानाले मद्दत गर्छ । तथ्यांकले कोरोना भाइरसको संक्रमितबाट पहिले नै विभिन्न किसिमका रोग लागिसकेका वृद्धहरू धेरै छन् भन्ने देखाउँछ । तथ्यांकमा संक्रमितमध्ये थोरै प्रतिशतको मात्र मृत्यु हुने देखिएको छ । केही वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरसको कारणले असाध्यै आत्तिनुपर्ने स्थिति छैन ।’ रोगसँग लड्ने आन्तरिक शक्ति बलियो छ भने रुघाखोकी कम लाग्छ भन्ने सबैलाई थाहा छ । यही कुरा कोरोना भाइरसको सन्दर्भमा पनि लागू हुन्छ । रुघाखोकी लाग्ने बित्तिकै मृत्यु हुँदैन । तर रुघाखोकी जटिल भयो भनेमात्र मृत्यु हुने सम्भावना बढ्छ । पर्याप्त निद्रा, पौष्टिक भोजन, शारीरिक सक्रियताले रोगसँग लड्ने शक्ति बढाउँछ । त्यसैले यिनै कुरामा बढी ध्यान दिनुपर्छ । मैले बिहान कागतीको चियामा मरिच र अदुवाको धुलो मिसाएर बेसार पनि थप्न थालेको छु । चिया र चिनीको मात्रा दुवै मैले कम गरेको छु ।

खानपिनमा ख्याल नगर्दा रोगसँग लड्ने शक्ति कम हुन्छ । कोरोना भाइरसको संक्रमणको जोखिम रोगसँग लड्ने शक्ति कम हुनेलाई बेसी हुन्छ । रोगसँग लड्नका लागि भिटामिन ‘सी’ले मद्दत गर्छ । हरेक घरमा कागती, आलस, गोलभेँडा आदिको प्रयोग गर्दा पर्याप्त मात्रामा भिटामिन ‘सी’ प्राप्त हुन्छ । त्यसैगरी बजारमा सहजै पाइने अम्बा, अमला लगायतका फलफूलले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । फलफूलका महँंगा बट्टाको रसले फाइदा गर्दैन । तराईतिर पाइने वनस्पतिले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । चाकु, तिल, दही, खिचडी आदिले शरीरमा कम हेमोग्लोबिन (रगतको कमी) हुन दिँदैन । शरीरमा रगतको कमी हुँदा रोगसँग लड्ने शक्ति घट्छ । रोगसँग लड्न ‘प्रोटिन’ आवश्यक पर्छ । यसका लागि गेडागुडी, क्वाँटी, गहत, मास उपयुक्त हुन्छ । कालो मरिच, खुर्सानी, अदुवा, लसुन र प्याजले स्वाद र स्वास्थ्य दुवै दिन्छन् ।

गेलभेँडा र टिमुरको अचारसँगको भात, रोटी र ढिँंडोले खाना पचाउन र पेट सफा राख्न मद्दत गर्छ । पाचनतन्त्र स्वस्थ्य भए शरीरका अन्य अंग पनि स्वस्थ हुन्छ र रोगसँग लड्ने शक्ति बढ्छ । पुदिना, बाबरी, तुलसी, हरियो धनियाँ पनि स्वाद र स्वास्थ्य दिने साधन हुन् । बालबालिकालाई गुलियो र ‘चिसो’ पेय पदार्थ दिएर खुसी पार्ने बुबाआमाले यस्तो ‘मायालु तरिका’ नअपनाएकै वेश ।

घरमै बनाएको दही, मोही, कागती पानी र अदुवा हालेर बनाइएका शर्वत उत्तम पेय पदार्थ हुन् । यसले पैसा बचाउँछ । गर्मीका दिनमा चाहिने पानी पनि शरीरमा पुग्छ । खासै ध्यान नदिएका हाम्रा भान्छाका वस्तुको उचित उपयोग गरेर रोगसँग लड्ने शक्ति बढाउन सकिन्छ । सामान्य संक्रमण र विभिन्न किसिमका रुघाखोकीसँग लड्ने शक्ति पनि बढ्छ । यी तथ्य हाम्रा लागि नयाँ होइनन्, खाली बेवास्ता मात्र गरिएका हुन् । कोरोना भाइरससँग डराउने होइन, रोगसँग बच्ने उपाय खोज्नुपर्छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×