कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देहातमा कोरोना

कोरोनाको चर्चा सुदूर देहातसम्म पुगेको छ । कोही फागुको हास्य थप्दै कोरोना भाइरसलाई ‘करोनावाली भउजी’ त कोही ‘कोरोना भइया’ भन्ने गर्छन् । तर यस्तो परिहासले पनि विदेसिएका आफन्तको चिन्ता घटाउन सकेको छैन । खाडी मुलुकतिर कमाउन गएकाहरूको सुर्ता पनि कम छैन ।
चन्द्रकिशोर

भैया लोग सुरक्षित हैं ।’ भारतीय राज्य पन्जाबमा बाहिरिया मजदुरलाई प्रायः ‘भैया’ भनेर बोलाइन्छ । त्यता काम गर्न गएकाहरूको हालचाल बुझ्न यताका आफन्तले फोन गर्दा तिनका साहू जवाफिने गर्छन्— भैयाहरू सुरक्षित छन् । कोरोना भाइरसको कोलाहलमाझ बांँचिरहेका आफन्तहरूका अनुहार कोलाजको स्वरूपमा त्रस्त देखिन्छन् ।

देहातमा कोरोना

यताका आफन्त भन्छन्, ‘साहूको भनाइ नै हाम्रा लागि सबुर (धैर्य) हो ।’ फागु मनाइसकेपछि गाउँहरू रित्तिन थाल्छन् । खास–खास मौका मात्रै हुन्छ, गाउँ फर्किने । अहिले गएकाहरूमध्ये धेरैजसो असारतिर फर्किने गर्छन् । कोरोना महामारीका रूपमा फैलिने त्रासले भारतकै ठूला सहरहरूको गति मत्थर हुन थालेको छ ।


सीमान्त गाउँ बलरा–४ का देवधारी सहनीका छोराले पनि फागुलगत्तै गाउँलेहरूसंँग पन्जाब जाने रेल समाते । सहनी भन्छन्, ‘बाहिर जांँदैन भने खान्छ के ?’ मजदुरहरूका जत्था यसै गरी विभिन्न गाउँदेहातबाट निस्किएका छन् । ‘आइसोलेसन’ जस्ता शब्दले यिनीहरूका लागि अर्थ राख्दैनन् । रेलको साधारण डिब्बाको भीडमा कतिपय सामान राख्ने ठाउँ वा शौचालयको नजिक कोचिएर यात्रा गर्न बाध्य हुन्छन् । मजदुरहरूको विस्थापन देहातका लागि नयांँ होइन । सीमावर्ती भारतीय रेलवे स्टेसन बैरगनियामा भेटिएका यस्तै एक भैया मजदुर गीतिलयमा सुनाउँदै थिए, ‘वाग्मती रे बकया की धार नयनवां से नीर बही ... ।’ रौतहट जिल्लाको मुख्य नदी वाग्मती र बकैया क्षेत्रका खेतीहर मजदुरहरूको पीडा यी शब्दहरूले देखाउँछन् ।


पन्जाबको अर्थव्यवस्था, त्यहाँको सहरी–ग्रामीण जीवनमा नेपालको मधेश वा भारतीय राज्य बिहारका ‘भैया मजदुर’ अनिवार्य अंग बनिसकेका छन् । मधेशका पिछडिएका इलाकाहरूमा जीवन र विकास जुरमुराउनुमा तीन–चार दशकदेखि पन्जाबको कमाइ एउटा आधार बन्दै आएको छ । दुःखमा पनि सुखको अंश खोज्ने यी भैया मजदुरहरूले पन्जाबका गाउँदेहातका खेत–खलिहानमा भोजपुरी गीत ‘बगल बाली जान मारेली’ घन्काउँदै त्यहाँको कृषि र औद्योगिक जीवनमा प्राण भर्ने गरेका छन् ।


कोरोनाको चर्चा सुदूर देहातसम्म पुगेको छ । कोही फागुको हास्य थप्दै कोरोना भाइरसलाई ‘करोनावाली भउजी’ त कोही ‘कोरोना भइया’ भन्ने गर्छन् । तर यस्तो परिहासले पनि विदेसिएका आफन्तको चिन्ता घटाउन सकेको छैन । खाडी मुलुकतिर कमाउन गएकाहरूको सुर्ता पनि कम छैन ।


कोरोनाले हस्तक्षेप गर्दै गएको सामाजिक–आर्थिक बदलावका क्रममा भयमुक्त समाजको अवधारणाको प्रासंगिकता र अर्थ निश्चय नै महत्त्वपूर्ण छ । पीँधमा रहेकाहरू बाहिर खटिँदा वा आफ्नै थलोमा प्रतीक्षा गरिरहँदा उत्तिकै तनावमा छन् । पारिवारिक र सामुदायिक स्वास्थ्यबारे थोरबहुत बुझ्न थाले पनि कोरोना कोलाहलमाझ काम गर्न जानु त छँंदै छ, बजारको असरले समेत यिनै वर्ग चेपुवामा छन् । अनौपचारिक स्थानीय अर्थतन्त्रमा रहने यिनै वर्गको साझेदारी र सरोकार अहिले संकुचित हुन थालेको छ । काम गरेर दैनिक गुजारा गर्ने मजदुरहरूलाई कोरोनाको हल्लाले नै हल्लाइदिएको छ । नेपालकै सहरबजारमा जो रिक्सा चलाउँछन्, कवाड वा भवन निर्माणका काम गर्छन्, साइकल गुडाएर व्यापार वा तरकारी र फलफूल बेच्छन्, अनि समूहमै बस्छन्, तिनीहरूले आफ्नो काम कसरी रोक्न सक्लान् ? सडकमै बसोबास गर्नेहरू कहाँ ओत लाग्लान् ? यी प्रश्नलाई उपेक्षा गर्न सकिँदैन, किनभने कोरोना–कहर कुनै वर्गविशेषमा मात्र पर्ने होइन । अनि भुइँमान्छेहरू कसरी जोगिन्छन् ?


तेस्रो मुलुक आउजाउ गर्नेहरूको लेखाजोखा गरिन्छ । विमानस्थलमा चेकजाँंचको प्रणाली छ । तर मजदुरीका लागि भारतका विभिन्न राज्यमा आवतजावत गर्नेहरूको अभिलेख छैन । को, कहाँ, कसरी बसेका छन् वा को, कसरी, कुन अवस्थामा फर्किए भन्ने कुराको हेक्का राखिएको छैन । खुला सीमा भएका कारण यो चुनौती व्यवस्थापन गर्न कतिपय नाका क्षेत्रमा आपत्कालीन प्रबन्ध गरिए पनि काफी छैन । यस्तोमा कोही भारतीय राज्यबाट फर्किंदा अनेक अफवाह फैलिन थालेका छन् । जरुरी सूचनाहरू थिचिन पुगेका छन् । झुटको संक्रमण कुनै भाइरसको जोखिमभन्दा कम हुँदैन । आत्तिएर भारतीय राज्यहरूबाट फर्किनेहरूले त्यहाँ आफ्नो पूरै पारिश्रमिक लिन त भ्याएका थिए ? फेरि मजदुरी कसरी पाउने ? यी मजदुरहरूले ब्यहोरेको क्षतिको आकलन कसरी हुने ? भुइँतहका यस्ता सरोकारबारे कसले बोलिदिने ? नेपालकै विभिन्न हिस्सामा मजदुरी वा अनौपचारिक व्यवसाय गर्नेहरूका लागि अन्तरप्रदेश प्रवासी मजदुर अधिनियम बनाउनुपर्ने आवश्यकता अहिले देखिएको छ ।


कोरोनाको त केवल हल्ला छ, तर यहाँ घरेलु उत्पादन मदिरा नै ‘ज्यानमारा’ देखियो । फागुको छेउछाउमा धनुषामा केही मान्छेको ज्यान गयो । यसरी अवैध उत्पादन भएको मदिरा सेवन गरेर मान्छेको ज्यान गएको धनुषा न त पहिलो जिल्ला हो न अन्तिम नै । तर यस पटक के भइदियो भने, कोरोनाको कोलाहलले यो खबर थिचिन पुग्यो । यसरी ज्यान गुमाउनेहरू कुन तह र तप्काका थिए ? अवैध घरेलु मदिरा उत्पादन गर्नेहरू कुन वर्गका हुन् ? केही पहिला त बारा जिल्लामा उत्पादन गर्ने परिवारकै सदस्यहरूले ज्यान गुमाए । यस प्रकारको मदिरा उत्पादनलाई कसले संरक्षण दिइराखेको छ ? बेलाबेला मदिरा नष्ट गर्ने अभियानको अभीष्ट के हो ? छिमेकी बिहारमा मदिरा बेचबिखनमा रोक लागेपछि सीमावर्ती नेपाली क्षेत्रमा फस्टाएको रक्सी व्यापारको अर्थराजनीतिबारे सोच्न ढिलो हुँदै छ । भुइँमान्छेको दैनिकीमा यो आफ्नै खालको कोरोना कहर छ । मृत्युका अनन्त विकल्पमध्ये एउटा हो— कोरोना । दैनिक बांँच्नका लागि गरिरहनुपर्ने संघर्षमाझ सम्भावनाहरूको दीयो जोगाइराख्ने विजयगाथा नै हो, भुइँमान्छेहरूको दैनिकी । यो तप्काका लागि अनेक कहरले पलपल पछ्याइराखेका हुन्छन् । भुइँमान्छेहरू रुँदै रहे फुनगी (टुप्पी) मा बस्नेहरूले समेत चैन पाउँदैनन् ।


फेरि पनि स्थानीय सरकारको भूमिका भुइँतहमा खोज्नुपरेको छ । यथार्थ के हो भने, ग्रामीण स्वास्थ्य संरचना आफैंमा बिरामी छ । यस्तोमा घरछेउको सरकारले को–को, कहाँ–कहाँबाट आए, त्यसको सही सूचना राख्न सक्छ । बाहिरबाट फर्केकाहरूको स्वास्थ्य निगरानीमा समुदायको सहयोग बटुल्न सक्छ । कोरोना भाइरस नेपाली माटाको उत्पत्ति होइन । यो हाम्रा लागि सुखद अवस्था हो । संक्रमणको जोखिम बाहिरबाट आउनेहरू वा तीसँग सम्पर्कमा रहनेहरूलाई बढी छ । यस्तोमा बाहिरबाट फर्किएकाहरूको स्वास्थ्य निगरानी र सूचनाले नै हामीलाई जोगाउन सक्छ । संक्रमणबाट उम्किने उपाय भनेकै स्वयंको सजगता हो । परिवारका सदस्यहरू नै यस्तोमा पहिलो सूचनादाता बन्न सक्छन् । सूचना लुकाए सबै चौपट । सूचना दिए रोकथामका अनेक बाटा खुल्न सक्छन् ।


महामारीको जोखिम होस् वा प्राकृतिक विपदा, त्यससंँग जोडिएर आउने सावधानी र रोकथाममा स्थानीय सरकारहरू संलग्न हुँदै रहे प्रादेशिक एवं संघीय सरकारलाई टेवा पुग्न सक्छ । स्थानीय सरकारहरूको सक्रियताबिना सामानको कृत्रिम अभाव वा महँंगी नियन्त्रण दिवास्वप्न हो । कोरोनाले शक्तिसम्पन्न मुलुकहरूलाई अप्ठ्यारो पार्दै लगेको यो समय सही सूचनामाथिको पहुँचले नै हामीलाई जोगाउन सक्छ । बहुतहका सरकारले कोरोना त्रास व्यवस्थापनमा आआफ्नो हिस्साको कार्यभार पूरा गर्नमा अकर्मण्यता देखाए पनि आममजदुर दिनभरिको काम सकेर राति मस्तसँंग निदाउनुपूर्व चैतावरको राग अलाप्छन्—

आयल चइत उतपतिया हो रामा...

प्रकाशित : चैत्र ६, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?