कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लैंगिक समता र होलिकादहन

राजेन्द्र महर्जन

हेक्का रहोस्, हामी महिलाहरू आज, प्रत्येक दिन, समानता चाहन्छौं, बधाई र उत्सव होइन ।’ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा वातावरणीय न्यायका लागि संघर्षरत किशोरी ग्रेटा थनबर्गको भनाइ मार्मिक लागेको छ । स्विडेनकी अभियन्ता ग्रेटाको विचारमा महिलाका लागि प्रत्येक दिन, प्रत्येक क्षण खोजिरहेको समानतासँग न्याय जोडिएको छ । आजको समाजमा पनि पुरुषको तुलनामा महिलाको समानता टाढै रहेको तथ्य स्विकार्दै उनी भन्छिन्, ‘हामीले लैंगिक समताबिना वातावरणीय न्याय पाउन सक्दैनौं ।’ 

लैंगिक समता र होलिकादहन

नि:सन्देह, लैंगिक समता होस् या वातावरणीय न्याय दिवस, उत्सव, बधाई र शुभकामनाबाट मात्रै प्राप्त हुँदैन । उत्सवधर्मी संस्कृति र प्रदर्शनप्रिय मानसिकता बलवान् रहेको समाजमा हरेक दिनलाई उत्सवमय दिवसमा फेर्ने क्रम जारी छ । हरेक मुद्दालाई दिवसमा फेर्ने र एकदिने प्रदर्शनमा सीमित गर्ने उपक्रमकै सिकार भएको छ, श्रमिक महिला दिवस पनि । संसारका सबैभन्दा उत्पीडित रहेका गरिखाने महिलाका मुद्दा र संघर्षलाई अन्तर्राष्ट्रियकरण गर्न थालिएको यस अभियानलाई आज ‘नारी दिवस’ वा ‘महिला दिवस’ मा खुम्च्याइएको छ ।


‘नारी दिवस’ का नाममा पुरुष–सत्ताका सञ्चालक र महिलाविरोधी राज्यका राजाले आफ्नी रानीलाई देशका सबै महिलाको प्रतीक बनाएर पूजाअर्चना गर्न लगाउने विगत त्यति पुरानो भएको छैन । लोकतान्त्रिक गणतन्त्रको कालखण्डमा भने यस दिवसलाई गरिखाने महिलाका ज्वलन्त मुद्दाबाट विमुख गरी उत्सवमा परिणत गरिएको छ । आम रूपमा महिलालाई संवैधानिक रूपमा दोस्रो दर्जाका अधीनस्थ अवस्थामा राख्ने र गरिखाने महिलाका मुद्दालाई समृद्धिको आकर्षक ब्यानरले छोप्ने शासकहरूका लागि यो झारा टार्ने औपचारिक दिवस मात्रै हो । यो खासमा एकदिने बिदा पाइने दिवस हो, जसका नाममा महिलासँग सम्बन्धित आदर्श वचन दान दिन पाइन्छ, नारीहरूलाई बधाई र शुभकामनाको वर्षा गर्न पाइन्छ ।


‘शब्दमा देवी : कर्ममा दासी’

उत्सवधर्मी संस्कृतिले ज्वलन्त मुद्दालाई खरानी बनाउँछ । प्रदर्शनप्रिय मानसिकताले आफ्नै पाखण्डलाई देख्दैन । महिला समताको मामिलामा हाम्रो संस्कृति र मानसको संसार पाखण्ड प्रदर्शनको विश्वभन्दा धेरै माथि छैन, जो ‘शब्दमा समानता : व्यवहारमा विभेद’ का लागि खप्पिस छ । हाम्रो एउटै जिब्रोले पनि बोल्ने बेला महिलालाई ‘देवी’ का रूपमा पूजाअर्चना गर्छ, आचरणमा भने महिला–पुरुष समानतालाई मजाले चपाइदिन्छ । महिलालाई ‘शब्दमा देवी : कर्ममा दासी’ को पाखण्ड–पर्व पुरुष–सत्ता चलिरहेका राज्य र समाजदेखि घरपरिवार अनि व्यक्तिसम्म प्रभावशाली छ । जहाँ देवीका नाममा महिलाहरू सबैभन्दा बेसी पुजिन्छन्, त्यहीं उनीहरूले असमता, अपमान, विभेद र हिंसा भोग्नुपर्ने विडम्बनालाई ‘पाखण्ड प्रदर्शन’ शब्दले पनि धान्न सक्दैन ।


प्राचीन इतिहासमा कृषि पेसा थाल्ने र समान अधिकार–हैसियत उपभोग गर्ने महिलालाई दासीजस्तै बनाउने क्रममा लादिएका असमता, अपमान, विभेद र हिंसालाई छोपछाप गर्न नै देवीको मिथक वा दन्त्यकथा गढिएको हुनसक्छ । दक्षिण एसियामा आदिवासी जनजातिमा, अनार्य र असुरमा प्रचलित देवीहरूलाई हिन्दुकरण गरिएको र अनेक देवतासँग बिहे गराइएको तथ्य जगजाहेर नै छ । यिनै देवीहरूको मिथक महिला–हिंसालाई अदृश्य बनाउने सांस्कृतिक वर्चस्व (हेजिमोनी) का लागि दुरुपयोग गरिएको हुनसक्छ ।


यसको मतलब महिलाहरूको दासीकरण र देवीकरण एकै अभियानका दुइटा पाटा हुन् । महिलाको अधीनस्थ र शक्तिहीनताको टेकोमा टिकेको पुरुष–सत्ताका बलिया अस्त्र हुन्— दासीकरण र देवीकरण । महिलालाई भौतिक रूपमा दासीकरण गर्ने, त्यसलाई भरथेग गर्न र दिगो बनाउन अभौतिक (सांस्कृतिक) रूपमा देवीकरण गर्ने यस्तो दोहोरो कामबाट महिलालाई कज्याउने अभ्यास सयौं वर्षदेखि जारी छ । युद्धमा जितिएका र सहवरण गरिएका पुरुष र महिलालाई वर्ण–जात–लिंगको श्रेणीमा तल राखेर कज्याउन अनेक पुराण, माहात्म्य र साहित्य लेखिएका हुन् । मानसिक दासता थोपर्ने यस्ता नीति, निर्णय र नियतको नेपथ्यमा अरूलाई पनि प्रकृतिलाई जस्तै सम्पत्ति मान्ने र आफूलाई स्वामी मान्दै उनीहरूको श्रम र शरीर भजाइखाने स्वार्थ निहित छ ।


इतिहासमा भौतिक रूपमा दासीकरण गर्ने अभियानविरुद्ध महिलाहरूले संघर्ष नगरेका होइनन्, तर स्वामी पुरुषहरूका साम, दाम, दण्ड, भेद नीतिसँगै साहित्य र प्रचारबाट सांस्कृतिक वर्चस्व कायम गर्ने तौरतरिकाका कारण उनीहरूले जित्न सकेका छैनन् । ती सबै पाटामा निरन्तर प्रतिरोधका आधारमा स्रोतसाधन, सत्ता–शक्ति र सम्पत्तिमा समान अधिकारको स्थापना वा ‘लैंगिक समता’ ले भरिएको संसारको निर्माणक्रमले मात्रै यस अभियानलाई तोड्न सक्छ । हालको अवस्थामा प्रकृतिदेखि संस्कृतिसम्म, समग्र मानव, विशेषत: महिलादेखि लिएर मानवनिर्मित राज्यसम्म सीमित पुँजीपति पुरुषको प्रभुत्व सबैभन्दा खतरनाक पाटोका रूपमा देखिएको छ, जसको प्रतिकार गरिएन भने कोरोना भाइरसको महामारीभन्दा सर्वनाशी हुनसक्छ ।


सहिष्णुता र अहिंसाको पाखण्ड

पुरुष–सत्ताका अभ्यासकर्ता र भोक्ताहरूले हेक्का राख्नैपर्ने पक्ष हो— प्राकृतिक साधन, राजनीतिक सत्ता–शक्ति, आर्थिक स्रोत र अन्य व्यक्ति–समुदायका शरीरमाथि स्वामित्वले उत्पीडन, हिंसा, द्वन्द्व र विनाश मात्रै निम्त्याउँछ । न्याय, समता र समानता र समृद्धिलाई आमन्त्रण गर्दैन । अहिलेको युगमा हामीमध्ये धेरैजसोका जिब्राले शब्द वा नारामा न्याय, समता र समानता र समृद्धिको वकालत गर्छन् नै, यसमा शंका छैन । तर हाम्रा आचरणले भने प्राकृतिक र मानवीय स्रोतसाधनमाथि स्वामित्वका लागि उत्पीडन र हिंसाको अभ्यास गरिरहेका हुन्छन् । जसरी केही मानिसलाई अछूत, अस्पृश्य, नीच, हीन वर्णमा राखेर धार्मिक उत्पीडन र वर्ण–हिंसाको बलमा तिनका श्रम र शरीरको दोहन गर्दै छौं, त्यसरी नै महिलाहरूलाई पनि लैंगिक हिंसा र अन्य शोषण गर्ने क्रम जारी राखेका छौं । त्यसैलाई अदृश्य र अगोचर बनाउन हाम्रा जिब्राले सद्भाव र सहिष्णुताको पाठ–अर्चना गर्छन् भने साहित्य र प्रचारबाजीले न्याय, समानता र अहिंसाको वकालत गर्छन् । वर्ग, वर्ण, लिंगका आधारमा उच–नीच, शोषण–उत्पीडन र हिंसा–दमनबीच ठूलठूलो स्वरमा सद्भाव, सहिष्णुताको पाठ र प्रचारबाजी स्वयम्मा पाखण्ड प्रदर्शनबाहेक के हुनसक्छ ?


इतिहासकार रोमिला थापरका अनुसार, सुरुआतमा ‘पाषंड’ शब्दको प्रयोग स्पष्ट रूपमा ब्राह्मणविरोधी सम्प्रदायलाई निन्दा गर्न प्रयोग भएको देखिन्छ । अब अहिंसा र सहिष्णुतालाई आफ्नो विशिष्ट धार्मिक मूल्य–मान्यता दाबी गर्नेहरूले पाखण्ड नै आफ्नो खास आचरण भएको हो कि भनी आफ्नै धार्मिक–अधार्मिक बहिखाता पल्टाउने बेला आएको छ । सबैले आफ्नो धर्म, पन्थ, सम्प्रदायबाट नि:सृत हिंसा, असहिष्णुता र उत्पीडनले कति महिला र ‘अछूत’ लाई सिकार बनाए, देश, समाज र परिवारलाई कति युग पछि धकेले, स्वमूल्यांकन गर्ने समय भएको छ । र, अहिंसा र सहिष्णुताको पूजाअर्चनाका बावजुद जनजीवनमा जारी हिंसा, असहिष्णुता र उत्पीडनले आफ्नै पाखण्डमाथि पुनर्विचारका लागि दबाब दिइरहेका छन् । उदाहरणका लागि, समान अधिकारका लागि भएको संघर्षलाई याद राख्दै थालनी भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवससँगसँगै मनाइने होली पर्वमा हुने महिलामाथि उत्पीडन र हिंसालाई मात्रै हेरे पनि धेरै प्रश्न उठ्छ ।


‘सामाजिक सद्भाव र सहिष्णुताको पर्व’ का रूपमा मनाइने होलीमा महिलामाथि हुने अश्लील व्यवहार, अनेक खालका उत्पीडन र हिंसा सम्पादकीय र एकाध लेखमा आलोचना गरिने विषयमा मात्रै सीमित छन् । ती आलोचना पनि व्यक्तिका तात्कालिक आचरणमा मात्रै सीमित छन्, जरोतिर पसेका छैनन् । पूजाअर्चनाका क्रममा देवीको स्थानमा राखेर माहात्म्य गाइने महिलामाथि होलीका नाममा गरिने उच्छृंखल व्यवहार र अश्लील हर्कतले आठ मार्चको दिवसलाई लज्जित पार्छन् । त्यस्ता हर्कतको पृष्ठभूमिमा महिलालाई आफ्नो सम्पत्ति ठान्ने र हिंसाका लागि सबैभन्दा उपयुक्त सिकार मान्ने संस्कार र संस्कृति त दोषी छैन ? विचारणीय छ । पक्कै पनि कृष्णले पुतनालाई, विष्णुले होलिकालाई मारेको घटना सम्झेर अहिलेका पुरुषले महिलालाई उत्पीडन र हिंसा गर्छन् भन्न खोजेको होइन । तर आज पनि शास्त्र र मिडियामा त्यस्ता मिथकको प्रचारबाजी र पर्वको सांस्कृतिक औचित्य पुष्टि गर्ने कामले मानिसमा पीडक र हिंस्रक मानसिकता बनाउँछ कि बनाउँदैन, मननीय छ ।

प्रश्नको घेरामा होलिकादहन

रावण र महिषासुरको हत्याबारे बहस छेडेका भारतका असुर अगुवाहरूले होलिकादहनबारे उठाएको सवाल पनि यहाँ उल्लेखनीय छ । भारतमा बस्ने असुर जातिका मानिसहरूले आफ्नो समुदायकी होलिकाको दहनका आधारमा मनाइने वसन्त–उत्सवको सांस्कृतिक व्याख्याबारे, अन्य समुदायका महिलामाथि जारी हिंसाको औचित्यबारे गम्भीर प्रश्न उठाउन थालेका छन् । भिन्न धर्म, पन्थ र सम्प्रदायलाई दैत्य, दानव र म्लेच्छ मान्दै, उनीहरूका अगुवा वा नेताहरूको हत्यालाई न्यायोचित सिद्ध गर्दै अनेक पर्व मनाउनु तथा हत्या–हिंसालाई जायज ठहर्‍याउने खालका प्रचारबाजी राज्यस्तरबाट समेत गर्नु आजको समयमा कत्तिको ठीक छ, पुनर्विचार गर्नु जरुरी छ ।


यसै सन्दर्भमा ‘स्त्रीत्व का मानचित्र’ की लेखक अनामिकाले महिलाको कोणबाट उठाएको सवाललाई होलिकादहनको मामिलामा पनि बेवास्ता गर्न सकिँदैन । लुकीछिपी पढ्ने र त्यसका आधारमा पाइएको ज्ञानको प्रभुत्व अरू मानिसमा जमाउने महिलालाई राम्रो नजरले हेरिँदैन । उनीहरूलाई बोक्सी र डंकिनी (डायन) भन्दै जाति–च्युत गरिन्छ, समाजबाट बहिष्कृत गरिन्छ, अनेक आरोप लगाइन्छ । उसको विद्यालाई कालो विद्या ठहर्‍याइन्छ । उसलाई छोराछोरी खाने र पति मार्ने भन्दै कुटपिट गर्ने, मार्ने र जिउँदै जलाउने गरिन्छ । आज पनि पढेलेखेकी तेजस्वी महिलालाई आजीवन प्रताडित गर्ने क्रममा होलिकादहनको मिथकले काम गरेको हुनसक्छ । विडम्बना, एक महिलालाई कुनै न कुनै निहुँमा जिउँदै जलाएर, त्यसको खरानी घसेर खुसियाली मनाइने क्रममा फागु पर्व आयोजना गरिएको भए त्यसको औचित्यमाथि प्रश्न उठ्छ नै ।


खासमा होलिकादहनको मिथक धेरै समयपछि जोडिएको रहस्य खुलाउँदै इतिहासकार दामोदर धर्मानन्द कोसंबी लेख्छन्, खोज नै गर्ने हो भने होलीजस्तो वसन्तोत्सवको स्रोत आदिम जंगलीमा भेट्टाउन सकिएला, जतिखेर जीवित रहन निकै कम आहार फेला पर्थ्यो, अन्न खोज्दै जम्मा गर्नु सामान्य चलन थियो र बच्चा जन्माउन काफी उत्तेजना जरुरी थियो । यस्तो मूल आदिम अनुष्ठानलाई नै अन्य समुदायकी महिलाको हत्यासँग जोडेको देखिन्छ । यस्तो तोडमरोड देख्दादेख्दै पनि प्रश्न नउठ्नु आफैमा एउटा सवाल हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदा दक्षिण एसियाली समाजमा गडेर रहेका महिलाद्वेषी व्याख्या र उत्पीडनकारी हिंस्रक व्यवहारबारे पनि विमर्श गर्नु जरुरी देखिन्छ, जसले महिला हिंसा र उत्पीडनलाई फ्रश्रय दिइरहेको हुनसक्छ ।

ट्वीटर : @rmaharjan72

प्रकाशित : फाल्गुन २७, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?