कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीयता, महोत्सव र हेजिमोनी

‘विश्व आकाशमा कहाँनेर छ, नेपाली साहित्य’ भन्ने छलफलमा मेरो उत्तर थियो— तपाईंले रचना गरिरहेको गतिलो रचना जहाँ छ, त्यहीं छ विश्व साहित्यमा नेपाली साहित्य ।
अभि सुवेदी

धनगढीमा भएको ‘विश्व नेपाली साहित्य महोत्सव’ (फागुन १४–२०, २०७६) ले नेपालको संघीय रचनामाथि एउटा मैले कहिल्यै विचार नगरेको सैद्धान्तिक रूपले महत्त्वपूर्ण कुरा उजागर गरेको छ । आफू यहाँ प्रस्तुत सबै ५२ वटा सत्रमा सामेल हुन नसके पनि छलफल भएका शीर्षक, आमसञ्चारमा आएका तिनका विश्लेषण, तिनमा सहभागी व्यक्तिहरूका नामको आधारमा हेर्दा यो एउटा अभूतपूर्व साहित्यिक र वैचारिक भेला भएको थियो । मेरो यो लेखमा विशेष छलफलहरूका सार प्रस्तुत गर्न ठाउँ भएन ।

संघीयता, महोत्सव र हेजिमोनी

तर यो साहित्यिक भेलामा आफू सहभागी भएको सत्रको कुरा राख्न चाहन्छु । त्यसलाई डा. अर्चना थापाले सञ्चालन गरेकी थिइन्, जसमा डा. गोविन्दराज भट्टराई र मैले ‘विश्व आकाशमा कहाँनेर छ, नेपाली साहित्य ?’ भन्ने विषयमा छलफल गरेका थियौं । मेरो उत्तर थियो, तपाईंले रचना गरिरहेको गतिलो रचना जहाँ छ, त्यहीं छ, विश्व साहित्यमा नेपाली साहित्य । प्रत्येक लेखकले आफ्ना भाषामा लेखेका रचना स्तरीय छन् भने ती विश्व साहित्यका अंग हुन् । तिनको अनुवाद हुनु र नहुनुसँग यसको खासै सम्बन्ध छैन भन्ने मेरा धारणा छ । योभन्दा अलिक भिन्न धारणा थियो, डा. भट्टराईको । उनको विचारमा गतिलो अनुवादद्वारा विश्वमा साहित्य पुर्‍याउनुपर्छ र त्यो सानै मात्रामा पनि भइरहेको छ । वैश्विक परिवेशमा नेपाली साहित्य कति अनुदित छ भन्ने चित्र दिए, डा. भट्टराईले ।


दर्शकदीर्घाबाट आएका सटिक विचारमा भाग लिंदै मैले भनें— सबैभन्दा ठूलो र अहं प्रश्न लेख्नु हो । हामी लेख्नु भन्नाले सहज कर्मलाई मात्र लिनलागेका छौं र सायद तिनै कुरा रत्यात्मक रूपले दोहोर्‍याई बसेका छौं कि त भन्ने पनि मेरो शंका छ । अहिले साहित्य लेखिएको छ, तर नलेखिएको र मौन पनि छ । हामी लेखन विश्वासले गर्दैछौं र असजिलो अवस्था भोग्दैछौं भन्ने बुझ्नु नै हामी विश्व साहित्यको मर्म अनुसार लेख्दैछौं भन्नु हो । त्यसक्रममा मैले फ्रान्सेली लेखक अल्बेर कामु (१९१३–६०) ले उप्सला विश्वविद्यालयमा डिसेम्बर १९५७ मा दिएको प्रवचन ‘क्रिएट डेन्जरस्ली’ भन्ने आलेखको प्रसङ्ग ल्याएँ । यस प्रवचनलाई शंकर लामिछाने दाइले ‘सिर्जना गर, खतरनाक रूपबाट’ शीर्षकमा अनुवाद गरेर उत्तम कुँवरले सम्पादन गरेको रूपरेखा साहित्यिक पत्रिकाको समालोचना विशेषाङ्कमा प्रकाशित गरेका थिए । कामुको विचारमा, बोल्न नसक्नेको निम्ति चुनौतीपूर्ण किसिमले बोल्नु लेखकको दायित्व हो । उनले भने, आज मौनताका पनि खतरनाक अर्थ बोल्छन् । आज लेख्नु भनेको खतरनाक रूपले सिर्जना गर्नु हो । यो भनेको लेखकले बोध गर्ने चुनौती हो, जसलाई वरण गरेर लेख्नु उसको दायित्व हो । कता पुग्यौं भन्ने चाहना राख्नु स्वाभाविक हो । तर ए ‘कत्ति पुगिनछु’ (वैरागी काइँलाको कविता) मात्रै भनिबस्नु पनि आत्मवञ्चना हो । कामुले भनेको फेरि सम्झिन्छु, ‘कुनै पनि प्रकाशन एउटा कर्म हो, अनि यो कर्मले केही कुरालाई पनि क्षमा नदिने युगको प्यासन बुझाउँछ ।’


यो बृहत साहित्य भेला नेपाली वाङ्मयको इतिहासमा एउटा अभूतपूर्व घटना मान्छौं । केही महिना अघि मलाई भेटेर निम्तो दिन काठमाडौंको एउटा कफी हाउसमा दुईजना उज्याला व्यक्ति आएको सम्झिन्छु । ती थिए, यज्ञराज उपाध्याय र रामलाल जोशी । उनीहरूको न्यारेटिभले किञ्चित चकित परेको थिएँ । तिनीहरूले एक वर्षदेखि बर्मादेखि लिएर नेपालका सबैजसो लेखक र संस्थासँग सम्पर्क गरिरहेको सुनाए । यो भेलामा गएपछि त्यो काल्पनिकीलाई यी एक दर्जनजति मानिसले साकार गरेको थाहा पाएँ । त्यताका कलेजहरूमा पढाउने मेरा पूर्वविद्यार्थीहरू दीपक जोशी, तपेन्द्र सिंह, नारायण अवस्थी र नरेन्द्र एयरले त्यो कसरी सम्पन्न भयो भन्ने सुनाएपछि मलाई नेपालको केन्द्रमुखी संघीयताका परिकल्पनाको विडम्बना मोफसलका क्षेत्रहरूको ताजा, सिर्जनशील चेतनासँग कहीं नमिल्ने कुरा बोध भयो ।


नेपाल अहिले संघीयताको कखरा पढ्न व्यस्त छ । अहिलेसम्म यो त्यति गम्भीर पाठ भैनसकेको अवस्था छ । संघीयता कि त एउटा इतिहासले सोझै जन्माएको पद्धति हो, कि त विचार गरेर पोखरीको अचल पानीजस्तो जमेको जलराशि हल्लाएर त्यसलाई नयाँ गति दिने चाहनाले तयार गरिएको योजना हो । पहिलो किसिमको संघीयता भारतको हो भने दोस्रो किसिमको संघीयता नेपालको हो । नेपालको संघीयता अढाई शताब्दी पुरानो राजतन्त्र विघटनसँग सोझै सम्बन्ध राख्छ । यसको अर्थ हो, राजाको नाममा तथाकथित जोडिएका अनेकौं विपरीत अवयवहरू, पहिचान र भूगोलहरूलाई संवैधानिक स्वायत्तता दिएर संघीयताको रचना गर्नु ।


यस अनुसार नेपालको संविधानले सातवटा प्रदेशको व्यवस्था गरेर संघीय प्रणाली बनाएको हो । त्यसमा असन्तुष्टिहरू छन्, जुन संशोधन गर्दै गएर समाधान गरिने हुन् । तर नेपाल वा काठमाडौं, किम्बा शासनको बागडोर लिएर केन्द्रबाट शासन गर्न चाहने औतारीहरूबाट मुक्त हुन नसकेको अवस्थामा नेपालको संघीयता पनि बनेको छ भन्ने कुरा अहिले हामीलाई लगभग थाहा भैसकेको अवस्था हो । काठमाडौं उर्फ राजधानी एउटा यस्तो चुम्बक मानिएको छ यो मुलुकमा, जसलाई कब्जा गरेर शासन गर्नेमात्र होइन, धन कमाउने र हैकम चलाउने सामन्ती सोच धेरैमा पाइन्छ । जङ्गलमा वर्षौं बसेर ग्रामीण आधार–स्तम्भको आधारमा क्रान्ति गर्नेहरूदेखि लिएर व्यापारबन्द, भौतिक सुविधाभोग गर्ने लिप्सा हुनेहरू सबैका गति ‘राजधानी केन्द्रित’ भन्ने अभिव्यक्तिबाट निर्देशित भएको देखियो । राजधानी केन्द्रित क्रान्ति गर्ने दल माओवादीको आह्वानमा २०१० मे दिवस पारेर लाखौं मानिसका जुलुसहरूले राजधानी ढपक्कै ढाकेको अनि त्यसको व्यवस्था हुन नसकेपछि अनि यहाँका मानिसहरूले सहयोग नगरेपछि फिर्ता भएको उदाहरण हामीसँग ताजै छ । त्यो राजधानी केन्द्रित राजनीतिक कार्यक्रमको एक उत्कर्ष भएकोले एकमात्र उदाहरण यहाँ राखेको हुँ । त्यो बेला मैले ‘कान्तिपुर’मा प्रकाशित लेखमा तिनीहरूको नजिक गएर देखेका कुरा यसरी राखेँ–


‘म मे एक तारिखदेखि हरेक दिन यिनका नाचगान र र्‍यालीहरूमा पुगेको छु । यिनका भिडमा चेपिएको छु । यिनीहरूसँग कुरा गरेको छु । यिनका गीतका गेडाहरू टिपेको छु । आफू पनि मादल बजाउने मानिस भएकोले यिनका मादलका द्रुतविलम्बित छन्द सुनेर नक्कल गरेको छु । यीसँग कुरा गरेको छु । यी सपनाको कुरा गर्छन् । यी सोझै प्रधानमन्त्रीको राजीनामा नआएसम्म सडकमा आइरहने भन्छन् । यी मकै छर्ने बेला भएकोले, खानपिनको व्यवस्था राम्रो नभएकोले फर्केर जाने भन्छन् । यी बिमारी भएर निको भएका छन् र फेरि सडकमा आएका छन्’ । तिनीहरू केही दिनपछि सबै गाउँ फर्के । त्यसो त तिनले राजधानी आएको अर्थ खासै बुझेका थिएनन् । यो मोफसलका जनताको काठमाडौं महायात्रा र जुलुस एउटा प्रयोग थियो । मेरो विचार र अनुभवमा त्यसले खासै केही भएन । तर त्यो नेपाली राजनीतिक इतिहासको एउटा घटना थियो, जसले आज अएर धेरै अर्थहरू बुझाएको छ । यहाँ छलफलको निम्ति ठाउँ भएन । तर नेपालमा संघीयताको चेतना हेजिमोनीबाट मुक्त भएको छैन । त्यो हेजिमोनी केन्द्रमा शासनको वागडोर लिने र शासन गर्ने ग्रन्थिले निर्देशित छ । त्यस ग्रन्थिबाट दलहरू र तिनका प्रशासनहरू कोही पनि मुक्त छैनन् । धनगढी भेलाजस्ता उत्कर्षले त्यसलाई चुनौती दिन्छ ।


तर त्यो चुनौती दिने मोफसल वा प्रदेशका चाहना पनि केन्द्रसँग सम्बन्ध राख्ने चाहनाले बनेका छन् । हेजिमोनीले बाध्यता सिर्जना गर्छ । राष्ट्रपतिले उद्घाटन नगरी त्यो ‘फोकस’मा आउँदैन, केन्द्रीय दलहरूलाई खुसी नपारी आयोजना गर्न सकिंँदैन भन्ने कुरा कति सत्य छन्, मलाई थाहा छैन । तर यति कुरा प्रस्ट छ, यो महोत्सवले राष्ट्रमा आज हामीले भनिआएका विषयहरूलाई नै छलफलमा ल्याएर फेरि तिनैमाथि सोच्न लगाएको छ । सबैतिर घुमिहिँड्ने, लगभग त्यस्तै विषयमाथि साहित्य उत्सवहरूमा गइबस्ने हामी रैथानेहरूकै बाहुल्य त थियो, त्यहाँ पनि । तर यो भेला गराउनेहरूले तिनै तिम्रा पुनरावृत्ति भइरहने विचारहरूमा अब के सोच्न र जोड्न सक्छौं भन्ने हामी सबैलाई चुनौती दिएको कुरा थियो त्यहाँ । हामीसँग पनि इतिहास छ, जुन नेपाल राष्ट्रको इतिहाससँग जोडिएको छ भन्ने उनीहरूको ब्रसरमा छापेका यी हरपले प्रस्ट पार्छन्— ‘यो भूमि अमर सहिद दसरथ चन्द, भीमदत्त पन्त, वीराङ्गना द्वारिकादेवी

ठकुरानी, मानवतावादी विचारक जयपृथ्वीबहादुर सिंह र साहित्यकार पहलमानसिंह स्वाँर जस्ताको....जन्मस्थल पनि छ ।’


काठमाडौंमा यी विविध विषयमा छलफल हुन र यसरी महोत्सव हुनसकेको देखिँंदैन । तर यो धनगढीले गरेको चेतना प्रवाह नेपालको संघीयताको हेजिमोनीलाई चुनौती दिने एउटा बलियो उदाहरण हो । सानो मात्रामा अन्त पनि भइआएका छन् । लेखक कलाकारदेखि राजनीतिमा बौद्धिकता कमजोर भएर जाँदैछ कि भन्ने विषयमा चिन्तित भएर छलफल गर्ने राजनीतिज्ञहरूसम्मका चेतनाका अभियन्ताहरूले गम्भीर भएर सोच्ने समय यही हो । लेखौं, अनि के लेखौं, कसले लेख्तैछौं र यसरी लेखेको बाहिर कसरी पुर्‍याउने भन्नेजस्ता चिन्ताका तरङ्गहरूले पल्लवित भएको छँदो म विचारशील भएको छु ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?