कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीविरुद्ध युद्ध 

सौरमण्डलको यो नीलो ग्रह आज कोरोना नामक नयाँ महामारीको चपेटामा परेको छ । पृथ्वीभर मानव समुदायमा सर्वत्र सन्त्रास बढ्दो छ । पहिलो त अहिले मानवजीवनकै सुरक्षाको प्रश्न छ । यसपछि आगामी समयमा यसको असर विश्व अर्थतन्त्रमा के पर्छ भन्ने रहेको छ । किनभने विश्वको दोस्रो ठूलो अर्थतन्त्रको प्रमुख स्तम्भका रूपमा उभिएको चीन नै यसको केन्द्रविन्दु भएका कारण उसलाई स्वस्थ हुन समय लाग्छ नै ।

महामारीविरुद्ध युद्ध 

चीन मन्दीमा गए यसको असर सबै देशका अर्थतन्त्रमा पर्नेछ र असर तात्कालिक मात्र हुनेछैन, विविध र दूरगामी हुनेछ । अहिले निश्चय नै सबैको ध्यान महामारीलाई थप फैलिनबाट कसरी रोक्ने भन्नेमै केन्द्रित हुँदाहुँदै पनि विशेष गरेर आर्थिक कोणहरूबाट समेत चर्चा भइरहेका छन् । त्यसैले हाललाई विश्वका नीतिनिर्माताहरूका सामु अरू प्राथमिकता स्थगित भएका र यसको न्यूनीकरण नै प्रमुख प्राथमिकतामा पर्न गएको छ र पर्नु अनिवार्य भएको छ । किनभने,


  • कोरोना भाइरस (कोभिड १९) केवल चीनको सरोकार र उसको अर्थ लगायत समग्र राष्ट्रिय स्वास्थ्यको मात्र नभई विश्वव्यापी चिन्ता र सतर्कताको विषय भएको छ ।
  • पछिल्ला दिनहरूमा कोरोनाको प्रभावक्षेत्र अरू विस्तारित भएर यसले पश्चिम एसिया (मध्यपूर्व) र युरोपलाई समेत ग्रस्त पारेको छ । एसियाका देशहरूलाई यसले छोएको मात्र होइन, कतिपयलाई लपेटामा लिइरहेको छ । यसले अफ्रिकालाई समेत स्पर्श गरिसकेको छ ।
  • यी हरफ लेखिरहँदाको समयसम्म दक्षिण कोरिया चीनपछि सबैभन्दा बढी लपेटामा आएको छ । चीनभन्दा धेरै पर इटालीमा यसका कारण १०० भन्दा बढीको ज्यान गइसकेको छ । युरोपका अरू कतिपय देश फ्रान्स, जर्मनी, स्विटजरल्यान्ड लगायतमा पनि भाइरस संक्रमितहरू फेला परिरहेका छन् ।
  • संयुक्त राज्य अमेरिकामा ९ जनाले ज्यान गुमाएका छन् र संक्रमितको संख्या बढ्दो छ ।
  • महामारी न्यूनीकरणका लागि अमेरिकाले १० करोड डलर सहयोग गर्ने प्रस्ताव गरेको छ ।
  • भारतमा थाहा पाइएका संक्रमितको संख्या २५ नाघिसकेको छ (थाहा नपाइएका कति छन्, अनुमानबाहिर छ) । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले होली पर्व नमनाउने घोषणा गरेका छन् ।
  • यी हरफ लेखिँदै गरेको बेलासम्म यद्यपि नेपालमा कोही संक्रमित भएको छ/छैन, यकिन छैन, तथापि विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि संक्रमणको उच्च जोखिममा छ ।


000

यसरी कोरोना भाइरसको संक्रमण महामारी (इपिडेमिक) बाट व्यापक स्तरको महामारी (पानडेमिक) भइसकेको छ । यो भाइरस उत्पत्तिको देशमा सीमित नरहेर वैश्विक चिन्ताको विषय बनेको छ । मध्य मंसिर अर्थात् डिसेम्बर २०१९ को प्रारम्भतिरै चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको यो महामारी विश्वका विभिन्न भूभागमा फैलिइसके पनि ठ्याक्कै यो कसरी सुरु भयो, अझै पत्ता लाग्न सकिएको छैन । अध्येताहरूको भनाइ छ, चीनको व्यवस्था नै निरंकुश र अपारदर्शी भएका कारण यसको मूल कारणसम्म पुग्न नसकिएको हो ।


उत्पत्ति भएको देशले पर्याप्त ‘डेटा’ उपलब्ध नगराउँदा उद्गमबारे राम्ररी विश्लेषण हुन सकिरहेको छैन र फलस्वरूप रोकथामका लागि गर्नुपर्ने अनुसन्धान सहज हुन नसकिरहेको हो । जबकि पछिल्लो औपचारिक जानकारी अनुसार चीनमा मात्रै यसले ३ हजारदेखि ४ हजार मानिसको ज्यान लिइसकेको छ र चीन लगायत विश्वभर करिब १ लाख संक्रमित भएका छन् । यसबाट चीनपछि सबैभन्दा बढी दक्षिण कोरिया प्रभावित भएको (करिब ६ हजार संक्रमित, ३५–४० मृत्यु) र युरोपको इटाली (३ हजार एक सय संक्रमित र १ सय ७ मृत्यु) समेत यसको आक्रामक चपेटामा आइसकेको छ । पछिल्लो जानकारी अनुसार करिब ८३ मुलुक परोक्ष/अपरोक्ष रूपमा यसबाट प्रभावित भएका छन् ।


निश्चय नै मानव इतिहासमा महामारी कुनै नयाँ घटना होइन । धेरै पटक विभिन्न किसिमका महामारी भएका र महामारीकै कारण करोडौं मानिसले ज्यान गुमाएका छन् । सय वर्षअघिसम्म महामारीका कारण लाखौं–करोडौं मानिसको मृत्यु हुने गर्थ्यो । १०२ वर्षपूर्व अर्थात् सन् १९१८ मा स्पेनिस फ्लुका कारण ५ करोड मानिसले ज्यान गुमाउनुपरेको थियो, जति बेला विश्वको जनसंख्या २ अर्ब मात्र थियो । मानव सभ्यताका पछिल्ला १२ हजार वर्षमा ठूला–साना महामारीहरूले मानव जीवनमाथि निरन्तर घात गर्दै आएका छन् र जनसंख्यालाई सीमित पार्ने गरेका छन् । पुनः नफैलियोस् भनेर अनेक उपाय अवलम्बन गरिएका कारण बीसौं शताब्दीका पछिल्ला दशकदेखि महामारी धेरै हदसम्म नियन्त्रित हुने गरेको छ ।


विशेष गरेर सय वर्षयता भने औषधोपचारका क्षेत्रमा क्रान्तिकारी आविष्कारहरू भएका कारण महामारीमा हुने मृत्युदर धेरै कम भएको छ । जीवनरक्षक औषधिहरूको आविष्कार र उत्पादनमा चामत्कारिक प्रगति भएको छ । नियन्त्रणका अनेक विधिको विकास भएको छ ।


आजको विश्वमा कुनै पनि महामारीको सम्भावनालाई सुरुकै अवस्थामा थाहा पाइए पूर्ण नियन्त्रण गर्न नसके पनि धेरै हदसम्म सीमित गर्न सकिन्छ । सुरुकै अवस्थामा थाहा पाउन सूचनाको निर्वाध प्रवाह हुनुपर्छ । किनभने कतिपय महामारीजन्य रोगको उत्पत्ति मानव शरीरमा नभएको भए पनि मानव शरीरमा प्रवेशपछि तिनको फैलावटमा थप मानवीय त्रुटि र असावधानी कारक रहेको हुन्छ । कोरोना प्रकरण यसैको ज्वलन्त दृष्टान्त हो । मंसिरमै वुहानका चिकित्सकले प्रकट गरेका आशंकालाई नदबाइएको भए आज विश्वमा निश्चय नै यति भयावह अवस्था उत्पन्न हुने थिएन ।


कामना गरौं, संक्रमण यहीँ रोकियोस् । तर यो यति व्यापक भइसकेको छ, यसको नियन्त्रणमा विश्वसमुदाय नै युद्धस्तरमा लागिपर्नुपर्ने अवस्था आएको छ । यसको प्रभावलाई सीमित पार्दै नियन्त्रण गर्न सकिएन, यसले अरू कति क्षति गर्ने हो भनिसाध्य छैन । निश्चय नै यस अवस्थामा चीनतिर औंला ठड्याउँदैमा कोरोनाको प्रभाव कम हुने होइन । तर सूचना प्रवाह नियन्त्रणमा उसले गरेको कृत्य कतिसम्म घातक हुन सक्दो रहेछ भन्ने जानकारीचाहिँ सबैलाई हुनुपर्छ । किनभने यस्ता महामारी देवता रिसाएर नभई मानवीय त्रुटि र असावधानीका करण सरहद पार दौडिन्छन् । तथापि सुरुकै अवस्थामा थाहा हुँदा धेरै हदसम्म सीमित र क्रमशः निर्मूल पार्न सकिन्छ ।


महामारी नियन्त्रण र न्यूनीकरण मानिसकै सामर्थ्यबाहिर होइन र के पनि थाहा हुन आएको छ भने, भाइरसले एक शरीरबाट अर्को शरीरमा सर्ने अवसर पाएन भने त्यसको आयु निश्चित समयमा आफै समाप्त हुन्छ । महामारी ल्याउने भाइरस एक किसिमको विषाणु हो र कुनै पनि विषाणुको उत्पत्ति हुन्छ भने त्यो नष्ट पनि हुन्छ । यसर्थ महामारीलाई अरू विस्तारित हुन नदिन स्वास्थ्य चेतना पहिलो आवश्यकता हो । त्यसका लागि विशेषज्ञहरूको सक्रियतामा सञ्चालन गरिने सचेतना अभियान अनिवार्य हुन्छ । मास्क लगाउँदैमा विषाणु अतिक्रमणबाट बच्न सकिन्छ भन्ने होइन । अपितु व्यापक जनचेतनाका साथै राज्यको तत्परता त्यतिकै जरुरी हुन्छ । नेपालका हकमा केही समयका लागि भेला, सभा–सम्मेलनमा रोक र स्कुल–कलेज बन्द गर्दा केही बित्दैन, बिग्रँदैन । बरु सावधानी अपनाइएन भने नेपालको भएभरको स्रोतसाधनले नभ्याउने अवस्था आउन सक्छ ।


नेपाल पनि उच्च जोखिममा रहेका कारण अधिकाधिक अस्पतालहरूमा जाँच सम्बन्धी प्रयोगशालाहरूको स्थापना, सबै अस्पतालमा निश्चित संख्यामा क्वारेन्टाइन र एकान्तवास (आइसोलेसन) को सुविधा उपलब्ध गराउनु राज्य र सम्बन्धित निकायको दायित्व हुन आउँछ । अहिले राज्याधिकारीहरूले अरू गफ गर्न छाडेर आफ्नो ध्यान यता केन्द्रित गर्नु बुद्धिमानी हुनेछ । विमानस्थल र सीमा–नाकाहरूमा अनिवार्य जाँचको व्यवस्था हुनु त पर्छ नै, देशभित्र हालै विदेशबाट आएका कति मानिस छन् र ती कहाँ के कसरी छन्, यसको तथ्यगत जानकारी राज्यलाई हुनुपर्छ ।


अझ भारतमा समेत कोरोना संक्रमणका केसहरू देखा परिसकेका हुँदा केवल हवाइमार्गबाट नेपाल आउनेलाई मात्र होइन कि, सिमानाका प्रवेश नाकाहरूमा जाँचको व्यवस्था विशेष तत्परतापूर्वक र अनिवार्य गरिनुपर्छ । हेलचेक्र्याइँ हुन गयो भने संक्रमणले पूरै देशलाई सोत्तर पार्न सक्छ । किनभने सामान्य मौसमी रुघाखोकीजन्य ज्वरो र झाडापखाला नियन्त्रण गर्न नसकेरै धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेका घटनाहरू हाम्रा सामुन्ने छन् । महामारी भित्रिएका खण्डमा यो राज्यको सामर्थ्य के कति छ, त्यसको हेक्का सबैजसोलाई छ । ठूलाठालुलाई बचाउन त देशमा उपलब्ध सम्पूर्ण संयन्त्र परिचालित होला निश्चय नै, तर सर्वसाधारण उपायहीन बन्न जानेछन् ।


कोरोनाको फैलिँदो व्यापक महामारीबाट यो मुलुक आक्रान्त नहुँदै विशेष सतर्कता अनिवार्य भएको छ । अलिकति पनि चूक भएमा देशमा उपलब्ध स्रोतसाधनले नभ्याउने आपत् आइलाग्न सक्छ । विश्व समुदाय नै महामारीविरुद्धको युद्धमा जुटिरहेका बेला अरू गफगफास्ट र यावत् आत्मालापको आवश्यकता छैन । आवश्यकता छ, राज्यको तत्परता र नागरिक सचेतनाको । विश्वभर अहिले स्वास्थ्य संकटकाल छ, त्यसको हेक्का राख्नुपर्छ ।

प्रकाशित : फाल्गुन २३, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?