कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्‍चारमा ‘मी टू’ बहस

यौन हिंसामुक्त परिवार र समाज निर्माण गर्ने उद्देश्यले सुरु भएको ‘मी टू’ अभियान जनमानसमा पुर्‍याउन नेपाली सञ्चार माध्यमहरूले होस्टेमा हैँसे गर्नुपर्ने देखिन्छ ।
मधु राई

कान्तिपुर मिडिया ग्रुपले माघ २५गते ‘मी टू किन अगाडि बढ्न सकेन ?’ भन्ने विषयमा बहस कार्यक्रम सञ्चालन गर्‍यो । बहसमा सहभागी राजनीतिक अभियन्ता मानुषी यमी भट्टराई, अधिवक्ता दुर्गा कार्की र रङ्गकर्मी आकांक्षा कार्कीले यसबारे आ–आफ्ना अनुभव र धारणा अघि सारे ।

सञ्‍चारमा ‘मी टू’ बहस

राजनीतिक अभियन्ता भट्टराईले ‘मी टू’ राजनीतिक मुद्दा बन्न नसकेकोले अगाडि बढ्न नसकेको धारणा अघि सारिन् । तथापि भट्टराईले त्रिभुवन विश्वविद्यालयमा ‘मी टू’बारे बहस चलाउन तथा प्रभावकारी संयन्त्र निर्माण गर्न विद्यार्थीहरूले पहलकदमी गरिरहेको र विश्वविद्यालयलाई प्रतिवेदन बुझाएको कुरा जनसमक्ष ल्याइन् ।


अधिवक्ता दुर्गा कार्की र रङ्गकर्मी आकांक्षा कार्कीले ‘मी टू’ अभियानलाई अघि बढाउन तथा पीडितलाई न्याय दिलाउन सामूहिक प्रयास चाहिने बताए । ढिलै भए पनि कान्तिपुर मिडिया ग्रुपले ‘मी टू’बारे बहस चलाएर यसका अभियन्ताहरूलाई मञ्च र अवसर प्रदान गर्‍यो । साथै सञ्चार माध्यमहरूले अन्य विषयजस्तै ‘मी टू’बारे राष्ट्रिय बहस चलाउनुपर्ने सन्देशसमेत दिए । विगतमा पनि अन्य मूलधारे छापाको तुलनामा काठमान्डु पोष्टले ‘मी टू’बारे समाचार सामग्री प्रस्तुत गरेर सर्वसाधारणको ध्यानाकर्षण गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यसबीच कतिपय आरोपित रङ्गकर्मी लगायत अन्य पनि साविकको काममा फर्किसकेको कुरा जनसमक्ष आयो । यसरी सञ्चार माध्यमहरूले विशेषगरी पोष्टले जसरी र जुन रूपमा ‘मी टू’बारे समाचार सामग्री पस्कने साहस गर्‍यो, सम्बन्धित निकायले आरोपितलाई दण्ड–सजाय वा नसिहत दिएको बारे अनुगमनका समाचार भने त्यति आएनन् ।


केही छापामार्फत कतिपय पीडितले आफूमाथि भएको यौन हिंसाबारे खुलेर जनसमक्ष ल्याउने प्रयास गरे । तीमध्ये लेखक शिवानीसिंह थारुले आफूले कार्यस्थल र विद्यालयमा भोगेको अनुभव जनसमक्ष ल्याएर धेरै पाठकको ध्यानाकर्षण गराइन् । थारु जस्ता धेरै पीडितका कुरा सञ्चारमा आउनसकेको छैन । विशेषगरी बालिका, किशोरी र महिलाले प्रत्यक्ष र परोक्ष रूपमा भोगेका यौन दुर्व्यवहारका कुरा हत्तपत्त बाहिर आउँदैन पनि । यसका लागि ठूलै साहस चाहिन्छ, जुन पीडितहरूसँग हुँदैन । बालिका र किशोरीहरूलाई यसबारे सचेत गराउने संयन्त्र छैन भने पनि हुन्छ, हाम्रोजस्तो पितृसत्तात्मक समाजमा ।


वास्तवमा बालिका, किशोरी र महिलामाथि हुने यौनहिंसाले समग्र विकासमै बाधा पर्छ भन्ने अध्ययन, अनुसन्धानले देखाएको छ । घरपरिवारमा होस् वा कार्यस्थलमा पीडकहरूबाट यौनहिंसा भोगेका वा भोग्न बाध्य बनाइएका किशोरी र महिलाहरूको आत्मसम्मानमा गहिरो चोट पुग्छ र आफूले भोगेका पीडा बाहिर नल्याउँदा उनीहरूको व्यक्तित्व र कार्यक्षमतामा नकारात्मक असर पर्छ । लामो समय पीडकबाट यस्ता यौनहिंसा सहन बाध्य बनाइएकाहरूबारे खोजमूलक सञ्चार सामग्री जनसमक्ष ल्याउने विषयमा सञ्चारगृहहरू संवेदनशील हुन जरुरी छ । त्यतिमात्र होइन, सञ्चार माध्यमहरूले यस्ता विषयमा खोजमूलक समाचार सामग्री लगायत अनुगमन समाचारलाई महत्त्व दिई सम्प्रेषण गर्न जरुरी छ ।

के गाउँ, के सहर ? शिक्षित र अशिक्षित दुवैथरीबाट हुने यौन दुर्व्यवहारका घटना हत्तपत्त बाहिर आउँदैन । कथंकदाचित आइहाले पनि आरोपित सम्बद्ध निकायमा यसबारे न त छलफल हुन्छ, न कारबाही नै । उदाहरणका लागि रश्मिला प्रजापतिलाई वाग्मती प्रदेशका पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले यौन दुर्व्यवहार गरेको कुरा बाहिरियो । आरोप लागेपछि नेकपाले यसबारे के कस्तो पहलकदमी गर्‍यो भन्नेबारे अनुगमन समाचार बाहिरिएन । यसो हुनुमा फेरि पनि ‘मी टू’बारे छापिएका समाचारलाई राजनीतिकवृत्तले नपत्याएको देखियो । अथवा आफ्ना नेताको बचाउ गर्न यसबारे तैँ चुप मै चुपको सिद्धान्त अपनाए, नेताहरूले ।


यौन दुर्व्यवहारमा संलग्न पुरुषहरूबारे बोल्न र लेख्न बन्देज गरिँदाको परिणाम भन्नुपर्छ, आज समाजमा यौनजन्य हिंसा लगायत बलात्कारजस्तो जघन्य अपराध सामान्य घटना–सरह भएको छ । वास्तवमा यौन दुर्व्यवहारमुक्त परिवार र समाज निर्माण गर्न सुरु भएको ‘मी टू’बारे पर्याप्त बहस र छलफल नहुँदा आज यो अभियान सेलाए जस्तो देखिन्छ । र, यस्तो बहस र छलफल चलाउन सञ्चार जगतको अहम् भूमिका हुन्छ । विडम्बना भन्नुपर्छ, पुरुषमैत्री सञ्चारगृहले ‘मी टू’बारे सञ्चार सामग्री सम्प्रेषण गर्न कञ्जुस्याइँ गरेकाले आरोपितहरूको मनोबल बढेको देखिन्छ ।


सर्वप्रथम सन् २०१७ मा अमेरिकाबाट सुरु भएको यो अभियान भारत हुँदै २०१८ मा नेपाल प्रवेश गरेपछि यसले धेरथोर नेपालीको ध्यानाकर्षण गराएको देखिन्छ । तथापि अधिकांश सञ्चार माध्यमले यसलाई त्यति महत्त्व नदिएको कारण बहस नै सेलाउँछ कि भन्ने आशंका बढेको छ । यस अभियानलाई विश्वव्यापी बनाउन ‘न्युयोर्क टाइम्स’ र ‘न्युयोर्कर’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविदितै छ । ऊ बेला यी पत्रिकाले हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टिनलाई यौनहिंसाको आरोप लगाउने महिलाहरूबारे सामग्री छापेर विश्वको ध्यानाकर्षण गराएपछि यसले बल्ल अभियानको रूप लिएको हो । र, न्युयोर्कस्थित एक न्यायालयले वाइन्स्टिनलाई बलात्कार र यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै सजाय सुनाएको छ ।


यौन हिंसामुक्त परिवार र समाज निर्माण गर्ने उद्देश्यले सुरु भएको ‘मी टू’ अभियान जनमानसमा पुर्‍याउन नेपाली सञ्चार माध्यमहरूले होस्टेमा हैँसे गर्नुपर्ने देखिन्छ । किनभने हामीकहाँ यौनजन्य व्यवहार र यौनहिंसाबारे पर्याप्त बहस र छलफल नहुँदा यौनजन्य हिंसा चुलिएको छ । यसबारे समाचार सामग्री लगायत अनुगमन सामग्री सम्प्रेषण गर्न सञ्चारगृहहरूले आफू मातहतका सञ्चारकर्मीहरूलाई प्रोत्साहित गर्न जरुरी छ । विशेषगरी महिला सञ्चारकर्मीहरूले कार्यस्थलमा भोग्नुपर्ने यौनहिंसालाई न्युनीकरण गर्न पनि सञ्चारगृहहरूले यस अभियानमा ऐक्यबद्धता जनाउन जरुरी छ ।

प्रकाशित : फाल्गुन १९, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?