कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रत्याक्रमण र प्रतिरक्षा

ओली-प्रचण्ड मतभेद नेकपाको सत्ता-संघर्ष, षड्यन्त्र र घात-प्रतिघात तथा अन्तर्घातपूर्ण राजनीतिको पूर्वार्द्ध मात्रै हो ।
गेजा शर्मा वाग्ले

राष्ट्रियता, समृद्धि र राजनीतिक स्थायित्वका लागि एमाले र माओवादीबीच एकीकरण घोषणा गर्दै इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी बनाएर विश्वलाई नै नयाँ सन्देश दिने ‘सङ्कल्प’ तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए, २०७५ जेठ ३ गते । राष्ट्रिय सभागृहको विजयोत्सवमय वातावरणमा उक्त घोषणा र ‘सङ्कल्प’ गरेको दुई वर्ष पनि बित्न नपाउँदै स्वयं नेकपाकै शीर्षनेताहरूले नै एकीकृत पार्टीको भविष्यमाथि प्रश्न गरेका छन् ।

प्रत्याक्रमण र प्रतिरक्षा

नेपाल र अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने विषयदेखि प्रारम्भ भएको ओली–प्रचण्ड असहमति सभामुख प्रकरणमा गम्भीर आरोप–प्रत्यारोपमा परिणत भएको थियो । ओलीको इच्छाविपरीत नेकपा सचिवालयबाट संविधान संशोधन कार्यदल गठन भएपछि र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरिएपछि ओली–प्रचण्डबीच जारी वाक्युद्ध मल्लयुद्धमा रूपान्तरण भएको छ ।


यद्यपि राजनीतिक दलहरू, बौद्धिक समुदाय, नेकपाकै पार्टी पङ्क्ति, सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि गर्भमै तुहिएको कार्यदल विघटनको घोषणा गरिएको छ, तथापि उक्त प्रकरणबाट नेकपाभित्रको द्वन्द्व र सत्ताको अस्वस्थ खेलको आयतन, परिधि र घनत्व सार्वजनिक भएको छ । ओली र प्रचण्ड दुवैले प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण संवाद गरेको समाचार सार्वजनिक हुनुबाट नेकपाभित्रको विवाद निकै पेचिलो भइसकेको पुष्टि हुन्छ । गौतमलाई सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन नगर्ने तर आवश्यक परे निर्णायक कदम चाल्ने सन्देश ओलीले माधवकुमार नेपालमार्फत दिएपछि पार्टी दुर्घटना–उन्मुख भएको विश्लेषण गरिएको छ । किनभने नेकपाका शीर्षनेताहरूले नै सार्वजनिक रूपमा सगौरव निर्णायक कदम, दुर्घटनाको संघार, विभाजन र विघटनजस्ता कटु शब्दावली प्रयोग गरेका छन् । के नेताहरूले विश्लेषण गरेजस्तै नेकपा विभाजन–उन्मुख भएकै हो ? अन्तर्राष्ट्रिय तथा नेपालको कम्युनिस्ट इतिहास, एकीकरणको सैद्धान्तिक आधार, ओली र प्रचण्डको रणनीति तथा विकसित समीकरण र नयाँ ध्रुवीकरणको सापेक्षतामा यसलाई विश्लेषण गरिनुपर्छ ।


ओलीको आत्मघाती खेल

एकीकरणपछि माओवादीको एमालेकरण भएको हो कि एमालेको माओवादीकरण बहस गरिँदै आएको छ । एकीकृत पार्टी अध्यक्ष ओली प्रधानमन्त्री तथा विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि प्रारम्भमा माओवादी एमालेमा विलय भएको निष्कर्ष निकालिएको थियो । पार्टी एकीकरणपछि ओली सबैभन्दा शक्तिशाली देखिएका थिए । एकातिर उनी दुईतिहाइ सरकारको प्रधानमन्त्री थिए भने, अर्कातिर नेकपाको अध्यक्ष । यद्यपि प्राविधिक रूपमा ओली र प्रचण्ड दुई अध्यक्ष भए पनि पार्टी सञ्चालनका दृष्टिले ओली नै निर्णायक थिए । वास्तवमा प्रचण्ड आलङ्कारिक अध्यक्ष र ओलीका सहयोगीजस्ता मात्रै देखिएका थिए । प्रचण्डलाई प्रयोग गरी एमालेका सहकर्मीहरू नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई किनारा लगाएपछि तथा घनश्याम भुसाल र योगेश भट्टराईजस्ता नेकपाभित्रका वैकल्पिक भनिएका नेता तथा ओलीका स्थायी आलोचकहरूसमेत ओलीधाममा अभिषेक गर्दै मन्त्री भएपछि ओलीको एकछत्र साम्राज्य स्थापित भएको थियो । ओली भनेको नेकपा र नेकपा भनेकै ओलीजस्तो देखिएको थियो वा ओलीको प्रोपोगान्डा संयन्त्रले त्यसरी चित्रण गरेको थियो ।


सत्ता राजनीतिका कुशल खेलाडी ओली शक्तिशाली प्रधानमन्त्री र नेकपा अध्यक्ष हुँदाहुँदै अहिले आकस्मिक रूपमा कमजोर र प्रतिरक्षात्मक भएका छन् । सचिवालय, स्थायी समिति, केन्द्रीय समितिजस्ता पार्टीका सबै निकायमा अल्पमतमा परेपछि ओली कमजोर र निरीह देखिएका छन् । अहिले पार्टीका आधिकारिक दस्तावेज, प्रतिवेदन र निर्णय प्रक्रियामा ओलीभन्दा प्रचण्ड हावी भएका छन् । प्रचण्ड–नेपाल समूहको समीकरण कायमै रह्यो भने संसदीय दलमा समेत ओली अल्पमतमा पर्ने सङ्केत देखिएको छ । ओलीको अलोकप्रियता र पतनका अनन्त कारणहरू भए पनि पार्टी एकीकरणपछि प्रचण्डलाई प्रयोग गरी नेपाल, खनाल र गौतमलाई प्रतिशोध लिने उनको रणनीति अहिले आत्मघाती भएको छ । यसैगरी दुईतिहाइको दम्भ, सरकारका अलोकप्रिय निर्णय, एकपछि अर्को भ्रष्टाचारका शृंखला, सामन्तवादी र अनुत्तरदायी कार्यशैली एवं विवादास्पद अभिव्यक्तिका कारण ओलीले शासन गर्ने वैधानिकतासमेत गुमाइसकेका छन् । दुईतिहाइको दम्भको सिकार स्वयं ओली भएका छन् ।


अहिले ओली प्रतिशोधको भावनाले ग्रस्त देखिन्छन् । तर अब प्रचण्ड वा नेपाल कुनै एउटा शक्तिकेन्द्रसँग सम्झौता नगरी प्रतिशोध लिन सक्ने एकल हैसियतसमेत ओलीमा छैन । त्यसैले प्रचण्ड–नेपाल समीकरणका कारण पार्टीका सबै निकायमा अल्पमतमा परेपछि गत केन्द्रीय समिति बैठकपछि ओलीले ‘फुटाऊ र शासन गर’ रणनीति अनुसरण गरे । पूर्व एमालेका सहकर्मी नेपाल, खनाल र गौतमसँग सम्बन्ध सुधार गर्ने उद्देश्यले ‘डिनर डिप्लोमेसी’मार्फत एमाले, जनताको बहुदलीय जनवाद र मदन भण्डारीका भावनात्मक प्रसंगसहित उनीहरूलाई फकाउने अधिकतम प्रयास गरेका थिए । नेपाली राजनीतिमा चट्टानी अडान राख्ने छविका ओली अहिले कुनै पनि बेला कोहीसँग पनि सम्झौताका लागि आतुर छन् । तर ओलीको कुटिल र प्रतिशोधपूर्ण शैलीको पटक–पटक सिकार भएका नेपाल, खनाल र गौतमहरू विश्वस्त हुन नसकेका कारण ओलीको सम्झौता प्रयास सफल हुन सकेको छैन । आकस्मिक रूपमा कुनै घटनाक्रम विकसित भएन भने नेपाललाई प्रयोग गरी प्रचण्डलाई प्रहार गर्ने ओली रणनीति सफल हुने सम्भावना क्षीण देखिन्छ ।


प्रचण्ड रणनीति

दुई अध्यक्षात्मक प्रणाली भए पनि पार्टी एकीकरण भएको डेढ वर्षसम्म पनि पार्टीमा भूमिकाविहीन भएपछि प्रचण्डले ओलीसँग सुमधुर सम्बन्ध स्थापित गरी शक्ति आर्जन गर्ने रणनीति अख्तियार गरे । जब ओलीसँग गठबन्धन गरी कार्यकारी अधिकार प्रयोग गर्ने अध्यक्ष हुन प्रचण्ड सफल भए तब सक्रिय र निर्णायक भूमिका निर्वाह गर्न थाले । एकीकृत पार्टीमा पूर्वमाओवादी समूहलाई एकताबद्ध गरी पूर्वएमाले समूहमा परिस्थिति र उपयोगिताका आधारमा कहिले ओलीसँग त कहिले नेपालसँग रणनीतिक गठबन्धन गर्दै आइरहेका छन् । त्यसैले कहिले ओलीनिकट भएर तथा कहिले नेपाल, खनाल र गौतमसँग गठबन्धन गरी आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गर्दै आएका छन् । नेकपामा प्रचण्डको गठबन्धन वा समीकरण स्थायी छैन, उपयोगिता र आवश्यकताका आधारमा रणनीतिक गठबन्धन वा समीकरण गर्दै आएका छन् । हिजो ओलीसँग गरेका थिए, आज नेपाल, खनाल र गौतमसँग गरेका छन् । भोलि कोसँग गर्छन् ? प्रचण्डको स्वार्थ, सत्ता र समयले निर्धारण गर्नेछ ।


पार्टीको आन्तरिक द्वन्द्व र शक्ति–संघर्षमा कुशलतापूर्वक खेलेर अधिकतम राजनीतिक लाभ लिन सक्ने प्रचण्ड सबैभन्दा निपुण खेलाडी हुन् । पूर्व माओवादी पार्टीमा बाबुराम भट्टराई र मोहन वैद्य बीचको द्वन्द्व र ध्रुवीकरणलाई उपयोग गरी प्रचण्ड सधैं नेतृत्वमा रहन सफल भएका थिए । अहिले पूर्व एमालेका दुई ध्रुवका नेताहरू ओली र नेपाल बीचको द्वन्द्व, प्रतिशोध र शक्ति–संघर्षबाट अधिकतम लाभ हासिल गर्ने रणनीति अख्तियार गरेका छन् । वास्तवमा ओली र नेपाल बीचको शक्ति–संघर्षलाई स्थायी द्वन्द्वमा रूपान्तरण गरी नेकपामा निर्णायक हुने रणनीतिलाई प्रचण्डले मूलमन्त्रका रूपमा अनुसरण गरेको देखिन्छ । राजनीतिक तथा सैन्य क्षमता कमजोर भए पनि सशस्त्र द्वन्द्वकालमा राज्यपक्ष तथा सुरक्षा निकायहरूसँग रणनीतिक सन्तुलन कायम गर्न प्रचण्डले जुन छापामार सैन्य रणनीति अख्तियार गरेका थिए, अहिले नेकपामा स्थापित हुन सोही प्रकृतिको रणनीति अनुसरण गर्न खोजेका छन् । कार्यकारी अधिकारसहितको अध्यक्ष हुन प्रचण्डले ओलीको साथ लिए, तर कार्यकारी अध्यक्ष भएपछि सबैभन्दा पहिले ओलीलाई कमजोर बनाउने उद्देश्यले भूमिगत शैलीमा नेपालसँग गठबन्धन गरी छापामार शैलीमा सांघातिक आक्रमण गरेका छन् । नेपालसँग गठबन्धनपछि पार्टीको आन्तरिक समीकरणमा ओलीभन्दा शक्तिशाली भएको विश्लेषण गर्दै प्रचण्डले ओलीलाई आकस्मिक रूपमा घेराबन्दीमा पारी रणनीतिक प्रत्याक्रमण गरेका छन् । ओलीको इच्छा विपरीत प्रचण्डले अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख मात्रै बनाएनन्, गौतमलाई शिखण्डी बनाएर संविधान संशोधन कार्यदल गठन गरी ओलीलाई ‘एम्बुस’मा पार्ने प्रयास गरे, जसलाई अहिले ओलीले ‘डिफ्युज’ गरे पनि भविष्यमा कुनै पनि बेला पुनः प्रहार हुनसक्छ ।


प्रचण्डले नेपाल, खनाल र गौतमको प्रतिशोधपूर्ण मानसिकताको अधिकतम उपयोग गरिरहेका छन् । ओलीको अवसान नै आफ्नो राजनीतिक उत्थानको विन्दु भएको निष्कर्ष निकालेका प्रचण्डले विकसित परिस्थितिको अधिकतम फाइदा लिने निश्चित छ । प्रचण्डले अहिले आर्जन गरेको राजनीतिक हैसियतले भविष्यमा ओली वा पूर्वएमाले समूहलाई थप शक्तिशाली प्रहार गर्न सक्ने छन् । त्यसैले तत्कालका लागि अस्थायी युद्धविराम भए पनि भविष्यमा कुनै पनि बेला प्रचण्डले ओलीलाई ‘एम्बुस’मा पार्न सक्छन् ।


पार्टी कि संयुक्त मोर्चा ?

वास्तवमा नेकपा पार्टी भइसकेको छैन, यो ओली र दाहालको सत्ता स्वार्थको दृष्टिले बनेको संयुक्त मोर्चा मात्रै हो । जहिलेसम्म दुवैको सत्ता स्वार्थका लागि संयुक्त मोर्चा आवश्यक रहनेछ, यसको अस्तित्व रहनेछ । होइन भने यसको औचित्य समाप्त हुनेछ । यदि नेकपा पार्टी हुन्थ्यो भने किन नेताहरूले सगौरव विवाद, विभाजन र विघटनको सैद्धान्तीकरण गरिरहेका छन् ? उत्तर सरल छ । हिजो एमाले र माओवादीको एकीकरण सैद्धान्तिक र नीतिगत आधारमा नभई सत्ताको गणितीय हिसाबले गरिएको थियो । हिजो ओली र प्रचण्डको सत्ता स्वार्थको हिसाब–किताबका कारण चुनावी गठबन्धन र पार्टी एकीकरणको घोषणा गरिएको थियो । आज ओली र प्रचण्डबीच सत्ता स्वार्थमा आँच आयो । त्यसैले अहिले विवाद चर्किएको छ । विवाद चर्किंदै जाँदा दुवै पक्षले सिद्धान्तको फेरो समातेर वैतरणी तर्ने प्रयास पनि गर्लान् । तर एकीकरणको क्रममा नै ओली र प्रचण्ड दुवैले सिद्धान्तलाई तिलाञ्जली दिएका थिए ।


तर ओली–प्रचण्ड मतभेद नेकपाको सत्ता–संघर्ष, षड्यन्त्र र घात–प्रतिघात तथा अन्तर्घातपूर्ण राजनीतिको पूर्वार्द्ध मात्रै हो । नेकपामा जारी शक्ति–सङ्गर्ष र घात–प्रतिघातको नतिजा के होला ? निकट भविष्यमा पटाक्षेप हुनेछ । घात–प्रतिघात र प्रतिशोधको भुमरीबाट अन्ततः सत्ता हत्याउन को सफल होला ? यो ओली र प्रचण्डको रणनीति वा शक्तिकेन्द्रको भूमिकामा निर्भर रहनेछ । तर विजय वा पराजय जसको भए पनि नेकपाको ‘एकीकृत’ भविष्यमाथि भने गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?