कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकले चाहे सहर सफा

बिन्दु अधिकारी ढकाल

ऊबेला स्कुलमा पढेको काठमाडौं उपत्यका हेर्न/देख्न पाए कस्तो होला भनी हजार जिज्ञासा थियो । सांस्कृतिक सम्पदादेखि देवतै–देवताका मन्दिर र कलाभित्रको कला तथा शिल्पको वर्णन जति पटक पढ्दा पनि कहिल्यै धीत मर्दैनथ्यो ।

नागरिकले चाहे सहर सफा

हाम्रा पूर्वजले अनेक दु:ख–कष्ट खपेर प्राचीन धरोहरको निर्माण गर्नाले नै सभ्यताको विकास भयो । त्यसका लागि खर्चेको श्रम र पसिनाको मूल्य देशी/विदेशी कलाकर्मीहरूको कौशलले सिँगारिएको यस थलोलाई सोही समयदेखि खुला सांस्कृतिक संग्रहालयका हिसाबले चिन्न थालियो ।


राजधानीमा विभिन्न कालखण्डमा भिन्नाभिन्नै वंशको शासन चल्यो । तीमध्ये मल्लकालको राजकाजलाई कला र संस्कृतिका हिसाबले स्वर्णयुग नै मानिन्छ । त्यसताका मौलिक कलाको विकास र प्रबर्द्धन भएको थियो ।


तर, अहिले ‘हाम्रो काठमाडौं, सुन्दर र सफा काठमाडौं’ भनेर होर्डिङ बोर्डमा लेखिएको बाहेक सहरको सौन्दर्य हेर्नलायक छैन । विभिन्न गोष्ठीमा सहभागी भएर भाषणबाहेक महानगरका पदाधिकारीहरूले काठमाडौं बचाउन खासै योगदान गरेजस्तो लाग्दैन । अलपत्र छन् समस्याहरू । अलिकति ठूलो पानी पर्नेबित्तिकै उपत्यका मानौं डुबानमा पर्छ । पानीसँगै बगेर आउने फोहोरका कारण वातावरण झनै प्रदूषित बन्ने गर्छ । यत्रतत्र थुप्रिएका फोहोरका कारण हैजाको महामारी फैलिएला भन्ने त्रास भइरहन्छ । धूवाँ, धूलो र हिलोबाहेक उपत्यकाको रूपरङ्गमा खोइ अरू अनुभूति ? जताततै जोडिएका तर पिच नगरिएका सहायक कच्ची सडकले सहरको सुन्दरतालाई हरण गरेका छन् ।

सहरमा घर बनाउनेहरूले आफ्नै सिमाना (कम्पाउन्ड) मा वर्षातको पानी निकासको व्यवस्था नगरेर घरको छतबाटै सडकमा पठाउने कारण पैदलयात्रीलाई असुविधा भएको छ । अरू त अरू, आफ्नो पसल अथवा घरको फोहोर सडकमा फाल्न कसरी होलान् ? भए/पाएको सुखसुविधा जति पनि उपभोग गर्ने तर जिम्मेवार नहुने नागरिक चरित्रकै कारण सहरमा फोहोरको डङ्गुर बढ्दै छ ।


आफूले पालेको कुकुर डुलाउन सडकमा पुर्‍याएर मलमूत्र त्याग गराउने चर्तिकला अचम्मको छ । आम नागरिकको नजरमा लाज, घिन अथवा संकोच केही त हुनुपर्ने हो । पशुबाट हुने फोहोर–मैला व्यवस्थापनको पाटो हो— स्वयं सचेत हुनुपर्नेमा त्यस किसिमको वातावरण नभएपछि दण्ड/जरिवाना तोक्ने जिम्मा कसको ? आफ्नो क्षेत्राधिकार बुझेर/देखेर पनि नदेखेझैं गर्नु महानगरको ठूलो कमजोरी हो । खानेकुरा खाएपछि पुन: प्रयोगमा नआउने झोला, खोल, बट्टा, बोतल, अति हानिकारक चुरोट, खैनी, गुट्खा, पान आदि जहाँ पनि किनेर खाने अनि भाँडो रित्तिएपछि खोल वा बट्टा जे हुन्छ, सडकपेटीमै मिल्काइहिँड्ने प्रवृत्ति देख्दा भद्रभलादमी मानिनेहरूको पनि विवेक हराए जस्तो लाग्छ ।


उपत्यकाका सडकमा अव्यवस्थित सामानको पसारो नहटाएसम्म कसरी पैदलयात्रीको गन्तव्य सहज होला ? लाखौं–लाख रुपैयाँ बजेट खर्चेर बनाएका आकासे पुलमा जताततै पसलै–पसल छन् । त्यो देख्दा अचम्म लाग्छ । नियम पालना गराउन नसक्दा महानगरपालिकालाई लाज लाग्नुपर्ने हो ।


साँघुरो–अँध्यारो, धूलो–हिलो अथवा महँंगो जस्तो पनि खपेर बाँचेकाहरू नदी किनार लगायत जहाँ खाली ठाउँ त्यहाँ टहरा ठड्याएर सार्वभौम हुने प्रवृत्तिले गर्दा उपत्यकाको सौन्दर्य दिन–प्रतिदिन कुरूप र प्रदूषित बन्दै गएको छ ।


सडक कसैको पनि निजी सम्पत्ति हुन सक्दैन । तर यहाँ बसोबास गर्ने धेरैको सोच सडकै मिचेर पनि घर बनाउने छ । निर्माण सामग्री खरिद गरेर ल्याइन्छ, छरपस्ट हिसाबले निजी कम्पाउन्डमा झैं सकड छेउमा राख्ने/थुपार्ने र त्यहींबाट ओसार्ने गरिन्छ । आफ्नो घर निर्माण गर्दा निस्केको डङ्गुर फोहोरलाई महँंगो ढुवानी तिरेर अन्यत्र व्यवस्थापन गर्नुभन्दा सडकछेउमै थुपारिन्छ । यस्तो विघ्न गैरजिम्मेवार कार्यलाई महानगरले दण्डित गर्दै लैजाने हो भने भविष्यमा समस्या अलि घट्थ्यो कि ?

राजधानी उपत्यकालाई बिजुली, टेलिफोन, केबलका गुजुल्टेतारले पनि कुरूप बनाएका छन् ।


मक्किएर ढल्नै आँटेका पोलहरू हेर्दा सम्भावित दुर्घटनाको त्रासले जीउ नै जिरिङ्ग हुने अवस्था छ । सार्वजनिक शौचालयको अवस्था नाजुक छ । अझै पनि फुटपाथ र आकाशेपुल मानव मलमूत्र विसर्जनस्थल बनेका छन् । अब नागरिक स्वयम्ले उचित र नियमित सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सहर अथवा राजधानी बस्ने रहरसँगै प्रथमत: नागरिकलाई नै सफासुग्घर वातावरणमा बस्नुपर्छ भन्ने जिम्मेवारी बोध हुनु जरुरी छ । तर सबै काम सरकारले गरिदिइहाल्छ भनेर हेरिबस्नाले काम हुँदैन, नागरिक आफैले सरसफाइमा ध्यान दिनुपर्छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?