ओलीतन्त्रको प्रतिगमन उत्सव

युग पाठक

मिडियाले ‘उनी’ लेखेको उनलाई मन पर्दैन । फगत चाकरी, चाप्लुसी र हनुमानचालिसा मन पर्छ । पराक्रमको भाषण फ्लप भयो, त्यसैले नैतिकताको भाषण मन पर्छ । ‘लुट्न सके लुट्’ बोलको गीत अश्लील लाग्छ, तर आफ्नै किचेन क्याबिनेटको ‘लुट’ बिलकुल श्लील । गणतन्त्र मन पर्दैन, त्यसैले राजसी ठाँट मन पर्छ ।

आफू उड्दा अरू जहाज उडेको मन पर्दैन, मन पर्छ त आदेशद्वारा खाली गरिएको आकाश । भ्रष्टतन्त्रको आलोचना मन पर्दैन, तर यति समूहको हेलिकप्टरले ढुवानी गरेको बर्थडे केक मन पर्छ । गरिब जनता मन पर्दैन, तर गरिब गाउँमा राजसी उत्सव मनाउन मन पर्छ । ‘उनी’ हाम्रा प्रधानमन्त्री हुन्, जसलाई लोकतन्त्र मन पर्दैन, तर ओलीतन्त्र खुब मन पर्छ ।


यो प्राक्कथन होइन, ओलीतन्त्रको अन्तिम अध्याय हो । ओलीतन्त्र यतिखेर प्रतिगमनको चरमोत्सव मनाइरहेको छ । त्यसैले स्खलन उसको नियति बन्न पुगेको छ । गोकुल बाँस्कोटा काण्ड त्यसैको पछिल्लो पटाक्षेप हो । काण्डैकाण्डले भरिएको ओलीतन्त्रको दुईवर्षे शासन गणतन्त्रको लज्जा बन्यो । यही लज्जाको भार थेग्न नसकेर प्रधानमन्त्री ओली तेह्रथुम पुगे । तर उनको जन्मदिन स्वयंमा अर्को लज्जाको विषय बन्यो । गणतन्त्रको कोखमा छुरा धसिसकेपछि उनले गणतन्त्रलाई नै बयलगाडामा लोड गरेका थिए । उनका कुनै धनकुवेर मित्र वा दलालले चक्कामा तोरीको गेडा हाल्ने कुरा भएन । त्यो बयलगाडा बालुवाटारको हिलोमा नराम्रोसँग फसिरहेको छ ।


विचारमा बिर्को

न्युरोडको पीपलबोट पञ्चायतकालमा वैचारिक छलफलको चौतारी हुने गर्थ्यो । हिजोआज त्यहाँ कुनै चहलपहल छैन । पीपलबोटमा पुस्तक–पत्रिका बेच्ने एक मित्र भन्छन्— इकोनोमिस्ट, फ्रन्टलाइन जस्ता पत्रिका त आउनै छाडिसके । किताबमा पनि कर थोपरिएको हुनाले त्यस्ता पत्रिका र पुस्तकहरू या त आउँदै आउँदैनन्, आए पनि बिक्री नै हुँदैनन् । विभिन्न विदेशी म्यागेजिन, पत्रिका खोज्नुपरे पीपलबोटको सम्झना आउँथ्यो । विज्ञ अर्थमन्त्री युवराज खतिवडाको किताबमा कर लगाउने नीतिले पढ्ने संस्कृतिमाथि नै धावा बोलेपछि बदलिएको दृश्य हो यो ।


संकेतहरू सामान्य नै हुन्छन्, परिणाम एकत्रित भएपछि असामान्य देखिने हो । विचारमा बिर्को लगाउने उद्यम ओली सरकार गठन भएदेखि नै सुरु भएको थियो । आमसञ्चार र सामाजिक सञ्जाललाई प्रत्यक्ष–अप्रत्यक्ष नियन्त्रण गर्ने प्रयत्न सुरुदेखि नै जारी छ । कानुन बनाएर, पुलिस लगाएर र अरिंगाल सेना परिचालन गरेर गायक, कलाकार, लेखक, पत्रकार सबैलाई तह लाउने कोसिस पनि देखिएकै छ । प्रतिगमनको ओरालो झर्न थालेपछि भूतकालका दृश्यहरू दोहोरिन थाल्छन् । शाहीकाल, संकटकाल, भ्रष्ट बहुदल र पञ्चायतकालको क्रमिक झझल्को बल्झाउने राजसी तामझाम, भ्रष्टाचार, अत्याचार, धरपकड र सेन्सरसिपका एक–एक घटना द्रुत प्रतिगमनका झर्रा प्रमाण हुन् ।


त्यसो त समृद्धि नामको बुख्याँचा देखाएर पूरै मुलुकलाई विचारशून्यतामा झार्ने प्रयत्न अझ चहकिलो छ । समृद्धिको रटान लगायो, रेल–पानीजहाजको फुस्रो गफ छाँट्यो, सक्कियो ! सामाजिक न्यायको कुरै गर्नुपरेन, काम त परैको कुरा भो ! समृद्धिकै पनि एउटा वैचारिक धरातल हुन्छ । त्यतातिर त झन् सोच्नैपरेन । अन्धाधुन्द ठूला परियोजनाका नाममा विदेशी ऋणको भारी जनताका टाउकामा बोकाइदियो, आफूलाई कमिसनको डिल गर्न पाए पुग्यो । पहिचानका कुरा गर्ने मूर्ख हुन् भनेर भाषण गर्‍यो, आफू दौरा–सुरुवालमा ठाँटिएर शासकीय पोज देखायो, भैगो । शासकीय शक्ति र पुलिसको डन्डा लगाएर समाजलाई विचारशून्यतामा ठिँगुर्‍याएपछि सञ्चार माध्यममा दिनदिनै र मिनेट–मिनेटमा छाउने कुरा पो के होला र भन्ने हुन्छ । त्यसैले भ्रष्टाचार, नौटंकी जन्मदिवस, अनेक काण्ड र दम्भी पोज आदि खजाना आफैले मिडियालाई दियो । अनि कुर्लिनलाई मसला भैहाल्यो, विचार किन चाहियो ?


पेलानमा जनता

सिद्धान्ततः राज्य भनेकै जनतामाथि शासन र दमन गर्ने औजार हो । तैपनि लोकतन्त्रमा राज्य र जनताबीच आदानप्रदानको सम्बन्ध हुन्छ भन्ने मानिन्छ । जनताले चुनावमार्फत आफ्नो सार्वभौमसत्ता राज्य चलाउने सरकारलाई दिन्छन् । कर तिर्छन्; श्रम गरेर जीवन, शक्ति र सम्पत्तिको उत्पादन पनि गर्छन् । बदलामा राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्छ र काम गर्ने वातावरण निर्माण गर्छ भन्ने विश्वास गरिन्छ । अर्थात्, राज्य अभिभावकको भूमिकामा हुन्छ । हाम्रो राज्य अभिभावकको भूमिकामा छ कि शासकको ?


चल्तीमा रहेको खोटो संविधानले नै पनि सिंहदरबारमा केन्द्रित शासकीय शक्तिलाई विकेन्द्रीकरण गर्नका लागि प्रदेश र स्थानीय तहको परिकल्पना गरेको छ । तर प्रधानमन्त्री ओलीको दिमागमा पञ्चायतकालीन नारायणहिटीले बास गरेको छ । त्यसैले उनले सबै शक्ति बालुवाटारमा केन्द्रित गरे । संग्रहालयमा परिणत भइसकेको नारायणहिटीलाई गणतन्त्रको धरातलमा जबरजस्ती रोप्न खोजेपछि हुने प्रतिगमन हो । पेलानमा पर्ने जनता नै हुन् । फलस्वरूप प्रदेश र स्थानीय तह फगत सेतो हात्ती बन्नु अस्वाभाविक भएन । कानुनी र प्रशासनिक व्यवस्थापन नै नगरिदिएर यो सरकारले प्रदेश र स्थानीय तहलाई केवल दोहनको औजार बनाइदिएको छ ।


चौतर्फी दोहनको सिकार भएका जनताको हालत के छ त ? सबैभन्दा डरलाग्दो दोहनको माध्यम भएको छ— कर । करको दायरा विस्तार गर्ने नाममा संघीय सरकारले अनेक किसिमका कर थोपर्‍यो । स्थानीय तहले पनि विभिन्न नामका कर थपेको छ । एउटा आम नेपालीले दैनिक कति कर तिर्छ होला ? दाल, चामल, तरकारी, साबुन, स्याम्पुदेखि चियाचमेनासम्म दैनिक उपभोग्य सामग्रीमा अप्रत्यक्ष कर । फोन, इन्टरनेटदेखि सञ्चारका साधनमा पनि कर तिर्नुपरिहाल्यो । लत्ताकपडा होस् वा मेसिनरी सामान, पेट्रोलियम होस् वा आवागमनका साधन, शिक्षा होस् वा स्वास्थ्यका सेवा र सामग्री, कर नतिरेको कुनै विषय छैन । मालपोत, घरजग्गा वा पर्यटन सबैतिर कर ह्वात्तै बढाइएको छ ।


दैनिक करको यति ठूलो रकम जनताबाट निचोरेर लिने राज्यले जनताका निम्ति कुनै जिम्मेवारी वहन गर्छ ? जनता त कर तिर्दा–तिर्दा कागतीझैं निचोरिने भए, राज्यले भने न शिक्षा न स्वास्थ्य न आवागमन न अरू कुनै सुरक्षा ठीकसँग दिएर जनतालाई आश्वस्त तुल्याउँछ । आफ्नै मुलुकमा अडिने कुनै सम्भावना पनि दिँदैन । अनि विदेश जान तयार भएको एउटा नागरिकलाई गाउँकै साहू, सहकारी, बैंक, राज्यकै वैदेशिक रोजगारीसँग सम्बन्धित निकायदेखि वैदेशिक रोजगारीका दलाल र म्यानपावर कम्पनीसम्म सबैले कानुनी, गैरकानुनी दुवै तरिकाले लुट्छन् । तिनैले विदेशबाट कमाएर पठाउने पैसामा बल्छी थाप्न हाइफाइ बैंक, रेमिटान्स कम्पनी, टेलिकम कम्पनी लगायत विदेशी झिलिमिली सामग्री आयात गर्नेहरू पसल थापेर बसेका छन् ।


राज्य र राज्यले काँध चढाएर राखेका सबै नाफाखोर र दलालहरू पोस्नुपरेपछि एउटा आमनेपाली निचोरिएर दुब्लो हुनु अस्वाभाविक होइन । त्यति धेरै रगत–पसिना बुझाइसकेपछि पनि बचेको पैसा रहेछ भने घडेरी र घरवाला सपनाको पासो थापेर अर्का थरी दलाल र सरकारी एजेन्टहरू नै बसेका छँदै छन् । त्यसै गरी राम्रो शिक्षा बेच्ने नाममा खुलेका शिक्षाका पसल, औषधीदेखि आईसीयुसम्म बेच्न बसेका स्वास्थ्यका पसल पनि छँदै छन् । गाउँबाट जरा उखेलेर मान्छेलाई सहरको पासोमा तान्ने अनेक सपना, तर्क र तथ्य बेच्नेहरूको धन्दा पनि चलेकै छ । आम जनताले यो भ्रमपूर्ण दलाल अर्थतन्त्र टिकाइदिएका छन् । अभिभावक ठानिएको राज्यसँग त्यो जनताले कुनै कुरामा पनि भर पर्न सक्दैन । बच्चाको शिक्षाका बारेमा सोच्दा होस् वा परिवारका सदस्यको उपचार वा मर्दापर्दा, अप्ठ्यारो पर्दा ‘मेरो राज्य छ नि’ भन्ने कुनै भरोसा छैन ।


प्रतिगमन उत्सव

ओलीतन्त्रलाई सबैको भार थेगिरहेको यो जनताको भरोसा बन्नु छ त ? त्यसो हुन्थ्यो भने बर्थडेदेखि पोस्टरसम्मका अनेक प्रपञ्चमा ढुकुटी रित्त्याउँदा छाती चस्स हुन्थ्यो होला । प्रतिगमनको ताण्डव नृत्यमा मग्न ओलीतन्त्रको प्राथमिकता जनता होइनन् । ऊ एमसीसी वा विश्व बैंकको भरोसा बन्न सक्छ, तर जनताको भरोसा बन्न सक्दैन । प्रतिगमनको विचारबाट जन्मिएको ओलीतन्त्रले प्रगतितिर समाजको नेतृत्व गर्न कसरी सकोस् ? स्मरण रहोस्, यो केही काण्डको सतही कुरा होइन, विचारको प्रश्न हो । सफ्टवेयर नै प्रतिगमनको भएपछि त्यसले प्रगतिको मेसिन चलाउन सक्दैन । आलुको जरामा तरुल फल्दैन । त्यसैले ओलीतन्त्र प्रतिगमनकै चरमोत्सवमा झुमिरहनु अनौठो होइन ।

ट्वीटर : @YugPathak प्रकाशित : फाल्गुन १५, २०७६ ०८:३४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खप्तड गोल्डकप : नवजागृतिलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

मोहन बुढाऐर

धनगढी — थ्रीस्टार क्लबले बुधबार नेपाल आइस चौथो खप्तड गोल्डकप फुटबलको बुधबार जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको छ । धनगढी रंगशालामा सिमराको नव जनजागृति क्लबविरुद्धको क्वाटरफाइनलमा जित हात पार्दै थ्रीस्टार अन्तिम चारमा पुग्यो ।

पहिलो चरणमा वाइ पाएको थ्रीस्टारले २–० को नतिजा निकाल्यो । ललितपुरे क्लब थ्रीस्टारको जितमा संजोग राई र आशिष राईले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्रीस्टारले दुई गोल गर्‍यो ।

खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गरेर थ्रीस्टारको जित सुनिश्चित गरे । आशिषले पनि निशान खड्काकै पास सदुपयोग गरे । खेलको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान विक्रम लामा चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टीमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल हुन गाह्रो भएको बताए । ‘हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यौं,’ उनले भने, ‘त्यही भएर हामीलाई स्कोर निकाल्न गाह्रो भयो ।’

नव जनजागृतिका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टिमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएको बताए । ‘अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो । टप कम्पिटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन,’ उनले भने, ‘अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं । पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौ ।’ थ्रीस्टारले फाइनल पुग्नका लागि हिमालयन शेर्पा र गोर्खा ब्वाइज क्लब रूपन्देहीबीचको विजेतासँग खेल्नेछ । बिहीबार नेपाल पुलिस र एपीएफ क्लब भिड्ने छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×