कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रणालीविहीन बनाइँदै राज्य

अच्युत वाग्ले

चेक मूलका हार्वर्ड विश्वविद्यालयका राजनीतिशास्त्री कार्ल डचले सन् १९५३ मा प्रकाशित आफ्नो पुस्तक ‘नेस्नालिजम एन्ड सोसल कम्युनिकेसन’ मा राष्ट्र (नेसन) लाई यसरी परिभाषित गरेका थिए— ‘राष्ट्र भनेको आफ्नो पुर्ख्यौलीको साझा गल्ती र तिनका छिमेकीहरूको साझा अरुचिका कारण एकै ठाउँमा जोडिन आइपुगेका मानिसहरूको एउटा समूह हो ।’ अथवा, कोही मानिस कुन भूखण्डमा जन्मिने भन्ने छनोट त्यसरी जन्मिने मानिसको नियन्त्रणमा हुँदैन । पुर्खाले जहाँ जन्माउने ‘गल्ती’ गर्छन्, त्यहीँ जन्मिने हो ।

प्रणालीविहीन बनाइँदै राज्य

सामान्यतः आफू जन्मिएको भूभागमा जीविकोपार्जन एवं जीउधनको सुरक्षाको उचित व्यवस्था र सन्ततिका लागिसमेत सहज जीवनयापनको सम्भावना देखियो भने मानिस सामान्यतः त्यहीँको बासिन्दा (डोमिसाइल) बन्छ ।यस्तो व्यवस्था र सम्भावनाको प्रावधान जुटाउनका लागि राज्य (स्टेट) को आवश्यकता परेको हो । राज्यले सार्वभौमसत्ता र व्यवस्थित राज्यप्रणालीलाई सुचारु गरेर त्यहाँका बासिन्दालाई सभ्य नागरिकको दर्जा दिलाउने हो । धेरै ‘राष्ट्र’ को राज्य नहुन सक्छ र एउटै ‘राज्य’ मा धेरै राष्ट्र समाहित भएका हुनसक्छन् । त्यसैले मुलुक अथवा ‘नेसन’ र ‘स्टेट’ को समुच्च समायोजनले मात्र मानिसहरूलाई नागरिकको दर्जा, जीवनयापन र त्यही अनुरूपको सम्मानजनक पहिचान दिनसक्छ भनेर ‘नेसन–स्टेट’ को आधुनिक अवधारणा विकसित भएको हो ।


नेपाल वास्तवमै मुलुक अथवा ‘नेसन–स्टेट’ कहिल्यै बनेन । अहिलेको मूल चिन्ता यो कहिल्यै एउटा सुरक्षित, सम्मानजनक र समृद्धिको समभावनायुक्त ‘नेसन–स्टेट’ बन्नै नसक्ने हो कि भन्ने हो ।


भनिरहनुपरेन, नेपाल एउटै ‘राज्य’ मा धेरै ‘राष्ट्र’ समाहित भएका छन् । यही राज्यप्रणालीको प्रभावकारिताले सुनिश्चित गर्ने जनताको जीवनयापन लगायतको प्रामाणिक रूपबाट प्रदर्शित सुव्यवस्थाले मात्रै नेपाल वास्तवमै ‘नेसन–स्टेट’ बन्छ कि बन्दैन भन्ने निर्क्योल गर्छ । यसर्थ नेपाल ‘राष्ट्र’ त हो, तर ‘राज्य’ को अभाव भने सर्वथा, सर्वत्र खट्किएको छ । यतिखेर चाहिए को त्यही राज्य र त्यस अन्तर्गत सुचालित राज्यप्रणाली होÙ त्यो प्रणालीले प्रभावकारी बनाउने आम जनताको सहज पहुँचयुक्त सार्वजनिक सेवाप्रदाय हो ।


राज्य र प्रणाली


प्रणाली आफैमा बृहत् निहितार्थयुक्त अवधारणा हो । यसमा परिभाषित प्रक्रिया, अवयवहरूको परिपूरकता एवं पारस्परिकता र सिङ्गो संरचनाको परिणामदेयिता अन्तर्निहित हुन्छ । राज्य प्रणालीमा तिनै अवयवहरू संस्था, विधि र तिनको रचनात्मक अन्तरक्रिया (कन्स्ट्रक्टिभ इन्टरप्ले) ले मुलुक र जनताको हितमा अपेक्षित परिणाम दिने हो । यसको व्यवस्थापन सरकार र त्यसका सञ्चालक राजनीतिक नेतृत्वले गर्ने हो ।


तर दुर्भाग्यवश, संसारको इतिहासले के देखाएको छ भने जब–जब अत्यधिक शक्तिशाली सरकारहरू मुलुक सञ्चालनको जिम्मेवारीमा अउँछन्, तब–तब राज्यप्रणाली कमजोर हुन्छ । राष्ट्रको पहिचानको नारा राजनीति बन्छ । राज्यप्रणाली संस्थागत भएका देशहरूमा यो दुरवस्था अल्पकालीन हुन्छ । तर विधि, प्रक्रिया र पारदर्शिताजस्ता अभ्यासहरू परम्परा नबनिसकेका देशहरूमा भने सरकारको अति शक्तिप्रयोगले राज्यप्रणाली नै तहसनहस भइदिन्छ । शक्तिको यस्तो अतिप्रयोग वा दुरुपयोग कुनै राजनीतिक विचारधारा वा दर्शननिरपेक्ष भएको देखिन्छ । परम्परागत राजसंस्थाका उत्तराधिकारी, लोकतान्त्रिक निर्वाचनबाट आएका शक्तिशाली सरकारहरूदेखि स्वतन्त्रता सेनानीहरूसम्मले राज्यशक्तिको दुरुपयोग गरेर राज्यप्रणाली भत्काउने र आफ्नो ठाडो आदेशमा शासन चलाउने मनसाय राखेको देखिन्छ । जुनसुकै राजनीतिक झुकाव वा पृष्ठभूमिका भए पनि अति शक्तिशाली राज्य सञ्चालकहरूले सामान्यतः शक्तिको सदुपयोगभन्दा दुरुपयोग गरेका उदाहरण अधिक छन् ।


नेपालकै कुरा गर्ने हो भने पनि, शक्तिको दुरुपयोगमा अहिलेका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र आरोपित गर्नुपर्ने कारण छैन । उदाहरणका लागि, प्रजातन्त्र पुनर्बहालीपछिका शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कर्मचारी पजनीदेखि संसद विघटनसम्मका लागि शक्तिको दुरुपयोग गरे । संक्रमणकालीन सरकारका प्रमुख भएका खिलराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई विराजमान गराए । शान्ति प्रक्रियापछि प्रधानमन्त्री भएका पुष्पकमल दाहालले पद्धतिबाहिर गएर नेपाली सेनाको नेतृत्वमा चलखेल गर्ने असफल प्रयास गरे । शेरबहादुर देउवाले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको हतियार अनावश्यक ढंगले चलाए । फरक के हो भने, मुलुक संघीय गणतन्त्रमा रूपान्तरण भएपछि चरम संसदीय बहुमत पाएका प्रधानमन्त्री ओलीले राज्य प्रणालीमार्फत शासन गर्छन् र राज्यलाई बलियो पार्छन् भन्ने जुन अपेक्षा थियो, अहिलेका गतिविधिहरू निरन्तर त्यसविपरीत भइरहेका छन् । त्यसले क्षणिक रूपमा राज्य, खास गरी प्रधानमन्त्रीलाई शक्तिशाली त देखाउनेछ, तर दीर्घकालमा लोकतन्त्रसम्मत शासन सञ्चालनका लागि आवश्यक शासकीय मान्यता, शैली र संस्थाहरूको अस्तित्वलाई अपरिवर्तनीय ढंगले संकटमा पार्छ । पार्दै छ ।


अहिले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियारले तजबिजी ढंगले, सम्भवतः सरकारको योजना अनुरूप प्रत्यक्ष दोषीलाई उन्मुक्ति दिएको र असम्बन्धितहरूलाई पनि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको आरोप लागेको छ । निष्पक्ष ढंगले काम गर्नुपर्ने, त्यही अनुरूपको विश्वसनीयता आर्जन गर्नुपर्ने एउटा शक्तिशाली संवैधानिक संस्थामाथि यस्तो प्रश्न उठ्नु नै राज्यका संस्थाहरूको साख क्षयीकरणको चरम नमुना हो । यसले आर्थिक अपराधमाथिको दण्डहीनतालाई महामारीको गतिमा फैलाउनेछ । यसले मुलुकले अवलम्बन गरेको राजनीतिक प्रणालीको भविष्यलाई नै जोखिममा पार्दै छ ।


योभन्दा पेचिलो अर्को प्रश्न छ । अहिले अख्तियार मात्रै होइन, न्यायालयजस्ता राज्यका निर्णायक संस्थाहरू निष्पक्ष हुनुपर्‍यो र ती सरकारको इसारामा मात्र काम गर्ने कठपुतली हुनु भएन भन्नु सैद्धान्तिक दृष्टिमा अत्यन्त आदर्श अपेक्षा हो । तर, संसदमा दुईतिहाइ मत प्राप्त दलको प्रधानमन्त्रीले आफ्नो इच्छा मुताबिक परिचालित नहुने संवैधानिक अङ्गका पदाधिकारीहरूमाथि महाभियोग समेतको डन्डा बर्सार्उने भय जीवित सत्य हो । उनीहरूमाथि नियुक्तिको अनुग्रह त त्यसै पनि छँदै छ । यी कारणहरूले गर्दा संस्था र व्यक्तिहरूको निष्पक्षता क्रमशः शून्यको निकट पुगेको छ । परिणामतः राज्य कमजोर भएको छ ।


सामन्ती शैली


त्यस्तै, विधि निर्माणको अलोकतान्त्रिक एवं सामन्ती संस्कार र कानुनको तजबिजी प्रयोगले राज्यको अस्तित्वलाई दुर्दशा–उन्मुख बनाएको छ । पहिलो, लोकतन्त्रमा सम्भावित कानुनको रूपरेखाको परिकल्पना राजनीतिक दलहरूको घोषणापत्रले गर्नुपर्छ । चुनावमा विजय प्राप्त गर्ने दलको घोषणापत्र जनअनुमोदित मानिन्छ । धेरै कानुन त्यसकै आधारमा बन्नु सर्वोत्तम हो । दोस्रो, संसदीय पद्धतिमा सरकारी वा निजी विधेयकमाथि सम्बन्धित तहका संसदले बृहत् छलफल र परामर्शपछि तिनलाई कानुन बनाउनुपर्छ । तेस्रो, संसदबाट बन्ने कानुनहरू लोकतान्त्रिक मान्यता र मर्मविपरीत नहोऊन् भन्ने चेतका साथ निरन्तर खबरदारी गर्नु प्रतिपक्ष दल (हरू) को जिम्मेवारी हो । तर, यी तीनवटै अभ्यास समग्रमा खण्डित छन् । सत्तारूढ दलकै चुनावी घोषणापत्र र अहिले बनिरहेका कानुनहरूबीच फराकिलो विरोधाभास छ । संसदको हैसियत, प्रभावकारिता र सदस्यहरूकै उपस्थिति सबै दयनीय स्थितिमा पुगेका छन् । प्रतिपक्ष भूमिकाच्युत भएको छ ।


यसका अतिरिक्त कानुन निर्माण तीव्र सामन्ती मनोदशाको सिकार भएको छ । सत्तारूढ, प्रतिपक्ष वा नागरिक समाजका तथाकथित प्रबुद्धहरूलाई नेपालमा बन्ने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी, कर, सामाजिक व्यवहार आदि कानुनहरूको प्रयोग, प्रभावकारिता र असरबारे कुनै चासो छैन । किनभने उनीहरू र उनीहरूको अघिल्लो पुस्तासमेत व्यवहारतः ती सबै कानुनको घेराभन्दा माथि वा बाहिर छन् । उनीहरू त केवल कानुन बनाइदिने ‘सामन्त’ हुन् । ती कानुनको आवश्यकता उनका ‘कमैया’ आम मानिसका लागि मात्र हो । यस्तो अभ्यास बढ्दै जाँदा कानुनी राज्यको अवधारणा नै खण्डित भएको छ ।


मुलुकको नियति


यी विधि र संस्थाहरूको सार्थक अन्तरक्रियाको परिणाम मुलुकको अन्तर्राष्ट्रिय छवि र आन्तरिक समृद्धिमा प्रतिविम्बित हुनुपर्ने हो । यसमा सरकार सञ्चालकहरूका मुलुक असल र आशाप्रद मार्गमा भएका निरन्तरका आलापहरूबीच कुनै तादात्म्य छैन । योग्य, राम्रो शिक्षा पाएका र मूलतः मुलुकको राजस्व खर्चेर आफ्ना लागि अवसर सिर्जना गर्ने अभिजात्य तप्काका सन्ततिहरू बेलायत, अमेरिका, अस्ट्रेलियातर्फ लाखौं रुपैयाँ बोकेर हजारौंको संख्यामा स्थायी पलायन भइरहेका छन् । त्यो अवसरबाट वञ्चित दीनहीन र सीपहीन लाखौं युवा सस्तो

श्रम बेच्न मध्यपूर्व या मलेसिया हान्निएका छन् । मुलुकको राहदानीको हैसियत संसारका सबभन्दा खराबमध्ये पाँचमा

परेको छ । संसारकै विशिष्ट राजनीतिक क्रान्ति गरेको भाषण गर्नेहरूले द्वन्द्वकालका मुद्दाहरूको विश्वव्यापी मापदण्ड अनुरूप निरूपण गरेनन् भने, विश्वको कुनै पनि विमानस्थलबाट सीधै पक्राउ पर्ने जोखिम ज्युँदो छ । र, मुलुक तिनीहरूबाटै शासित छ ।


२० देखि ५० वर्ष उमेरबीचका पूरै तीन पुस्ता मुलुकबाहिर रहेकाले राज्यप्रणालीको स्वरूपलाई सुदूर भविष्यमा समेत प्रभावित गर्ने गरी भइरहेका गतिविधिहरूमाथि प्रश्न उठाउने र हस्तक्षेप गर्ने वास्तविक सरोकारवाला पङ्क्ति अनुपस्थित छ । यो अवसरलाई सरकारले राज्यप्रणालीलाई कमजोर र सत्तालाई बलियो पार्नका लागि उपयोग गरेको छ । संघीय राज्यप्रणालीको परिकल्पना संविधानका पानाबाट व्यवहारमा उत्रिन सकेको छैन । सारमा, नेपाल यतिखेर सक्रिय राज्यप्रणाली सहितको मुलुक नबन्ने जोखिमतिर उन्मुख भएको छ । त्यसैले प्रत्येक नागरिक यो भूमिमा जन्मिने ‘गल्ती’ गरेकामा प्रत्येक नौलो दिनमा थप पछुताउन बाध्य छ । त्यसको धुन सत्ताले सुनेको छैन ।

प्रकाशित : माघ २७, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?