कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना कहर

केही दिनपूर्वको कुरा हो । ह्वाट्सएपमा कुराकानीका क्रममा मलाई हङकङ बस्ने एक चिनियाँ साथीले भने, ‘मेरो एउटा साथी छ, पोल्यान्डको । ऊ नेपाल भ्रमणको लागि आएको थियो । तुरुन्तै पोल्यान्ड नै फर्केछ ।’ मैले सोधें, ‘किन र ?’ उनले भने, ‘त्यो साथीले काठमाडौंमा धेरै चिनियाँ देख्यो रे, त्यसैले ।’

कोरोना कहर

000

शंका, आशंकाको कुनै सरहद हुँदैन । आजको जमानामा संक्रामक रोगको पनि सरहद हुँदैन । विगतमा पो मुलुकहरू दूरदराजका टापुजस्ता थिए । आज त्यस्तो अवस्था छैन । विश्वलाई यातायातले साँघुर्‍याइदिएको छ । वायुयान, जलयानले नजिक बनाएको छ । विश्व सडक र रेल सञ्जालमा दगुर्ने साधनहरूले जोडिएको छ । टापुहरूसमेत मुख्य भूभागजस्तै भएका छन् । चीनको वुहान र जर्मनीको फ्र्याङ्कफर्टले थुप्रै क्षेत्रमा सहकार्य गरिरहेका छन् । फेरि पछिल्ला चार दशकमा चीन नपुगेकै कहाँ छ र ! एसिया त घर नै भयो ! युरोप, अफ्रिका, ल्याटिन अमेरिका, उत्तर अमेरिका, यहाँसम्म कि अन्टार्टिकासम्मै, सबैतिर चीनका पदचापहरू सुनिन्छन् । तीव्र गतिमा उन्नतिशील राष्ट्रका रूपमा विश्वका सबै थरीका मानिसको आकर्षणको केन्द्र बनिरहेको चीन आज एउटा अनौठो रोगले आक्रान्त हुन पुगेको छ ।


यसले चीन त संत्रस्त हुने नै भयो । ऊ मात्र होइन, सँगै समस्त विश्व त्रस्त छ । चामत्कारिक उन्नति, प्रगति र समृद्धिको पर्याय बनिरहेको महादेशजस्तै त्यो देश आज एउटा संक्रामक रोगका कारण थलिए जस्तै भएको छ । धेरैजसो मानिस घरभित्रै उकुसमुकुसिएका, सडकहरू निर्जन भएका छन्, अस्पतालहरू भरिएका । एसियाका, प्रायः मुलुकसँग साँध जोडिएको हुँदा उसका छरछिमेक रोग सर्ला भनेर विशेष सतर्कता अपनाइरहेका छन् र छिमेकभन्दा परका पनि । आशंकावश चिनियाँ र चीनबाट आएकासँग सम्पर्कमा आउन डराइरहेका छन् । चिकित्सकहरूको भनाइ अनुसार, यो एक किसिमको ज्वरो (फ्लु) हो र यसलाई नाम दिइएको छ— नोवल कोरोना भाइरस । यसको उत्पत्ति चमेरामा भएको र चमेरो अरू जनावरसँग सम्पर्कमा आएको एवं त्यहाँबाट हुँदै मासुजन्य पदार्थबाट मानिसमा संक्रमित भएको भन्ने चिकित्सकीय अनुमान छ । यकिनका लागि वैज्ञानिकहरू कार्यरत छन् ।


करिब बाइस महिनापूर्व चीनको हुवेई प्रान्तको वुहान सहर चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक र अन्तरंग कुराकानीका लागि सुरक्षित थलोका रूपमा रोजिएको थियो । त्यहीं उनीहरूको लामो र अन्तरंग संवाद भएको थियो । त्यो संवादको पृष्ठभूमिमा चीन र भारतबीचको मनमुटाव थियो । विशेष गरी त्यसको केही समयपूर्व चीन, भारत र भुटानको त्रिकोणीय विन्दु दोक्लाममा चिनियाँ र भारतीय फौज आमनेसामने भएपछि दुई देशबीच सम्बन्ध अरू चिसिएको थियो (यहाँ ‘अरू’ किनभने यी दुई देशबीच सन् १९६२ यता सम्बन्ध कहिल्यै उल्लेख्य हिसाबले सुमधुर छैन) । त्यसै दोक्लाम परिप्रेक्ष्यमा सम्बन्धलाई न्यानो बनाउने प्रयोजनले दुई देशका दुई प्रमुख नेताहरूले अनौपचारिक कुराकानी गर्दै त्यहीं दुई दिन साथसाथै बिताएका थिए । त्यही वुहानमा गए मंसिरको तेस्रो साता अर्थात् डिसेम्बर २०१९ को प्रारम्भतिर अहिले व्यापक चर्चामा रहेको एउटा संक्रमणकारी र घातक रोग कोरोना भाइरस देखा पर्‍यो ।


देखा परेपछि स्थानीय अस्पतालका एक चिकित्सकले सतर्कता र जनसचेतनाका लागि सामाजिक सञ्जालमा आफ्नो आशंका पोस्ट गरे, तर स्थानीय प्रशासनले उनलाई उल्टै अफवाह फैलाएको आरोप लगाएर माफी माग्न लगायो । उनको त्यो पोस्ट हटाइयो । पोस्ट हटाउँदैमा भाइरसको प्रकोप रोकिनेवाला थिएन, किनभने संक्रामक रोगले सरकार चिन्दैन । शासक चक्रवर्ती नै किन नहोस्, कसैलाई टेर्दैन । भर डिसेम्बर मानौं कुनै संक्रमण नै छैन झैं गरियो । चिकित्सकहरू चिन्तित भए, छटपटाए, तर शासनले थाहा पाई–पाई थाहा नभएको अभिनय गर्‍यो । संक्रमण बढ्दै गयो र पुसको दोस्रो साता अर्थात् जनवरी प्रारम्भसम्ममा रोगले हुवेई र आसपासका प्रान्तहरूसम्म फैलिएर महामारीको रूप लिइसकेको थियो ।


एकलौटी, एकाधिकारवादी शासन भएका मुलुकमा सूचनामाथि कठोर नियन्त्रण हुन्छ । एकलौटी शासकले सूचना नियन्त्रण घातक हुन्छ भन्ने बुझ्दैनन् । शासकले चाहेका, तिनका अनुकूल सूचना मात्र प्रसारित हुन्छन् । कतैबाट सूचना चुहिए अथवा प्रवाहित भइहाले सेन्सर गरिन्छ, रोकिन्छ । जनसरोकारका सूचना रोक्ने र सबै ठीकठाक छ भनेर देखाउने भद्दा तर परन्तुमा जनस्वास्थ्य, जीविका र मानवीय मूल्यकै लागि घातक अभ्यास गर्ने गरिन्छ । चीनमा, विदितै छ, चिनियाँ कम्युनिस्ट पार्टीको एकलौटी शासन छ । त्यहाँ वैयक्तिक स्वतन्त्रता चरम नियन्त्रित र अभिव्यक्ति स्वतन्त्रता शून्य छ । त्यही वैयक्तिक स्वतन्त्रता र अभिव्यक्तिमाथि बन्देजको फलस्वरूप सुरुमै सतर्कता अपनाएर संक्रमण रोकथाम गर्न सकिने अवसर गुमेको हो । यद्यपि यता आएर हुन त चिनियाँ शासनले प्रारम्भमै आफूबाट गल्ती हुन गएको स्विकारेको छ ।


वैयक्तिक स्वतन्त्रता नियन्त्रित र अभिव्यक्तिमाथि बन्देजका बावजुद निश्चय नै चीनले पछिल्ला चार दशकमा चामत्कारिक भौतिक उन्नति र प्रगति गरेको छ । जबकि पछिल्ला कतिपय प्रकरणमा भौतिक उन्नति र प्रगति हुँदाहुँदै पनि नागरिक स्वतन्त्रताको अभावका कारण उसले जनधनको क्षति बेहोर्नुपरिरहेको छ । जस्तै— हङकङको सुपुर्दगी विधेयक सम्बन्धी असन्तोष समयमै सम्बोधन नगर्दा त्यसले झन्डै पूरै वर्ष व्यापक आन्दोलनको रूप लियो । फलस्वरूप, जीवन्त आर्थिक गतिविधिमा सक्रिय एउटा महत्त्वपूर्ण केन्द्रको अर्थव्यवस्था त खलबलियो नै, महिनौं जनजीवन नै अस्तव्यस्त भयो । बेइजिङप्रति अविश्वास र अनास्थामा अरू वृद्धि भयो । कतिपय चिनियाँले भनेजस्तै हङकङ प्रकरणमा कुनै–कुनै बाह्य शक्तिको चलखेल पनि भएकै होला । तर त्यस्तो चलखेलको अवस्था बेइजिङको नियन्त्रणमुखी कम्युनिस्ट शासन प्रणाली र जनभावनाका सामु झुक्न नचाहने शासकीय प्रबन्धनकै कारण उपस्थित भएको हो ।


एकलौटी शासकहरू अड्डी लिने, आफूले भनेकै ठीक भनेर जिद्दी गर्ने तथा असहमतलाई थुन्ने, यातना दिने र कतिपय अवस्थामा भने आफूसित असहमतको ज्यानैसम्म लिने काम गर्छन् । उनीहरूको असहमति सहने तन्तु कमजोर हुन्छ । कसै–कसैमा त कुनै बेलाको सोभियत संघका कम्युनिस्ट तानाशाह जोसेफ स्टालिनमा जस्तै त्यो तन्तु नै हुँदैन । असहमतिमा असन्तुष्टि हुन्छ र असन्तुष्टिमा समस्याको कारण निहित हुन्छ । त्यसैले भनिएको छ, असहमति लोकतन्त्रको सार हो । अलोकतान्त्रिक मुलुकहरूमा शासक र उसका व्यवस्थाको एकोहोरो प्रशंसा हुन्छ । आलोचना निषेध हुन्छ । नाम मात्रका होइन, जीवन्त लोकतन्त्र भएका मुलुकहरूमा भने असहमतिको उत्खनन गर्दै समस्याको जरोसम्म पुगिन्छ । कारणसम्म पुगिन्छ र उपचार सम्भव हुन्छ । प्रतिपक्षी वाणी यहाँनेर महत्त्वपूर्ण हुन्छ । जहाँ प्रतिपक्षी वाणीलाई निषेध गरिएको हुन्छ, त्यहाँ सही सूचना प्राप्त हुनै सक्दैन ।


सूचना प्राप्त नभए समस्या हुन्छ, तर देखिँदैन । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको आतंक सही सूचना समयमै प्रवाहित नहुँदाको नतिजा हो । चीनका सञ्चार माध्यमहरू यदि स्वतन्त्र हुन्थे भने समयमै सूचना प्रवाहित हुन्थ्यो । तत्कालै नियन्त्रणका उपायहरू खोजिन्थे । रोग अन्यत्र फैलिन पाउने थिएन । निश्चय नै यसमा दुईमत छैन— चीनले आर्थिक, प्राविधिक र सामरिक क्षेत्रमा अपार सफलता हासिल गरेको छ । राष्ट्र विशाल छ, भौतिक दृष्टिले उन्नत भइरहेको तर एउटा संक्रामक रोगलाई उत्पत्तिमै पहिचान नगरेको मात्र होइन, रोग सम्बन्धी आशंकामाथि नै चर्चा हुन नदिएका कारण उसको प्रतिष्ठामाथि नै प्रश्न उठेको र शासनले रक्षात्मक हुनुपर्ने अवस्था आएको छ ।


चीनमाथि आपत् आइलागेको छ । आपत्का बेला कठोर आलोचना अपेक्षित हुँदैन निश्चय नै, तर व्यवस्थामाथि प्रश्न त उठ्छ नै । बाहिर नआए पनि चीनभित्रै असन्तोष गुटमुटिएकै होला । मानिस उकुसमुकुसिएकै होलान् । निश्चय नै दुई दिनमै हजार बेडको अस्पताल बनाउन सक्ने चीनले संक्रमणमाथि ढिलोचाँडो नियन्त्रण प्राप्त गर्नेछ नै । रोगमाथि नियन्त्रण र जनजीवन पुनः सामान्य भएपछि पनि तर सूचना, सञ्चारमाथि नियन्त्रण र बन्देजका कारण हुन गएको मानवीय क्षति अपूरणीय नै रहनेछ । साथै संक्रामक रोगले विश्वसमुदायमा सिर्जना गरेको त्रास भने सधैंका लागि चीनको नकारात्मक खातामा जम्मा हुनेछ । कोरोनाको कहरमाथि विजय प्राप्त गरेपछि पनि विभिन्न कोणबाट चीनको एकलौटी व्यवस्थामाथि प्रश्न उठिरहनेछन् र चिनियाँ विकासको मोडलको अनुकरण गर्न चाहनेहरूले शासक–प्रशासक आलोचनामुक्त रहँदा मुलुकमा केकस्ता दुष्प्रभाव पर्न जाँदा रहेछन् भनेर मनन गर्नुपर्नेछ । साथै प्रकृतिको अत्यधिक शोषण गरेर हासिल गरिने समृद्धिले त्यसै अनुसारको मूल्य पनि चुकाउनुपर्छ । भौतिक समृद्धि चाहिन्छ, तर वृद्धितर्फको नेत्रबन्द दौडले धरतीको सन्तुलन नै बिग्रन्छ । वायु दूषित हुन्छ, घरपालुवा होऊन् अथवा वन्यजन्तु र चराचुरुंगीले प्राकृतिक आहार पाउँदैनन् । यसले नयाँ–नयाँ रोग उत्पन्न हुन्छन् र ती रोग परन्तुमा मान्छेमै सर्छन् ।


मान्छेको मात्रै होइन, यो धरती । यसमा सबै प्राणी समुदायको बराबरको हक छ । अरूको अधिकारमाथि अतिक्रमण गर्ने प्रकृतिशोषण अत्यधिक हुँदै जाँदा धरतीको सन्तुलन बिग्रन्छ र अहिले त्यही सन्तुलन बिग्रँदै छ । चीनको वुहानबाट फैलिएको भाइरस र प्रकृतिमाथि भइरहेका शोषणको सम्बन्ध कतै न कतै अवश्य छ । वातावरण प्रदूषण र दूषित खाद्यका कारण मान्छेको रोग प्रतिरोधक क्षमता कम भइरहेको छ । बेलैमा सचेत भइएन भने चीन मात्र होइन, मानिसको नेत्रबन्द समृद्धिको भोकले प्राणी जीवनमाथि नै कहर आउन सक्छ । पृथ्वीमाथि नै संकट आउन सक्छ ।

प्रकाशित : माघ २४, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?