बहुआयामिक ‘हिमालय’

दुई साताअघि पंक्तिकारद्वय भारतको सिलिगुडीस्थित नर्थ बंगाल युनिभर्सिटीको सेन्टर फर हिमालयन स्टडिजले आयोजना गरेको ‘हिमालयमा राज्य–समाजको अन्तरसम्बन्ध’ शीर्षक दुईदिने गोष्ठीमा सहभागी थियौं ।

बहुआयामिक ‘हिमालय’

त्यहाँ २६ वटा महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत भएका थिए, जसलाई भारतीय राजनीतिशास्त्री समीरकुमार दासको उद्घाटन मन्तव्य र नेपाली समाजशास्त्री चैतन्य मिश्रको समापन अभ्युक्तिले थप प्रासंगिक बनाएको थियो । यस वर्षको गोष्ठीको शीर्षकले नै हामीलाई आकर्षित गरेको थियो, जुन सेन्टरका निर्देशक स्वतसिद्ध सरकारका अनुसार, प्रयागराज शर्माको पुस्तक ‘द स्टेट एन्ड सोसाइटी इन नेपाल ः हिस्टोरिकल फाउन्डेसन्स एन्ड कन्टेम्पररी ट्रेन्ड्स’ बाट प्रभावित थियो ।


प्राज्ञिक कल्पनामा हिमालय

उक्त सेन्टरले ‘हिमालय,’ ‘हिमालयन,’ ‘हिमालयाज’ र ‘क्रिटिकल (समालोचनात्मक) हिमालय’ जस्ता शब्दावली प्रयोगमा ल्याएको रहेछ । सायद त्यसैले गोष्ठीमा समावेश कार्यपत्रहरूलाई विषयका आधारमा विभाजन गरिएको थियो र सबै श्रेणीगत शीर्षकमा ‘हिमालय’ शब्द जोडिएको थियो । आश्चर्यको कुरो, समग्र गोष्ठीमा ‘साउथ एसिया’ (दक्षिण एसिया) शब्दावली सुन्नमा आएन । ‘साउथ एसिया’ भन्नासाथ दिल्लीको प्रभुत्व र प्रतिनिधित्व देखिने भएकाले यस भेगलाई जनाउन ‘हिमालय’ शब्द प्रयुक्त गरिएको हुन सक्छ । ‘हिमालय’ को व्याख्या आफैमा जटिल र अस्पष्ट छ । यस शब्दको बुझाइमा प्राज्ञिक एकरूपता पनि देखिँदैन । हुन त शाब्दिक रूपमा ‘साउथ एसिया’ पनि आफैमा विरोधाभासी नै छ । त्यसो भए, ‘हिमालय’ लाई कसरी लिने त ? धारणामा ? अवधारणामा ? सिद्धान्तमा ? संरचनामा ? परिभाषामा ? भावमा ? भावनामा ? उत्तेजनामा ? कि मानचित्रीय निरूपणमा ? उत्तर पाउन मुस्किल छ ।


उपनिवेशकालीन बेलायती लेखकहरूले ‘हिमालय’ (नेपालीमा ‘हिमाल’ र बंगालीमा ‘हिमोलोय’) को अवधारणालाई अति रोमाञ्चित र पर्यटकीय अतिरञ्जनामा प्रस्तुत गरे । यस्तो लेखन शैलीले लामो समयसम्म निरन्तरता पायो । यस अवधारणामा आधारित प्राज्ञिक कार्यहरूलाई मूलतः चार प्रमुख बुझाइमा श्रेणीबद्ध गर्न सकिन्छ— भौगोलिक, पर्यावरणीय, राजनीतिक र सामाजिक वा सांस्कृतिक । यी चारै आयाम समानान्तर रूपमा प्राज्ञिक अस्तित्वमा आएका छन् । यीमध्ये राजनीतिक धारणा बढी हावी छ ।


हिमालयको अस्तित्व प्रागैतिहासिक छ र बाँकी कुरा पछिल्ला निर्मित विकासक्रम मात्र हुन् भन्ने अवधारणा भौगोलिक मान्यतालाई जोड दिनेहरूको छ । हिमालय चिनाएकै त्यसको पर्यावरणीय आयामले हो अनि बाँकी निर्मित समाज र संस्कृति त्यसैको प्रतिफल हो भन्ने अर्को बुझाइ छ । राष्ट्रियता, देश, राष्ट्रिय पहिचान, राजनीतिक संघर्ष, सिमाना र राष्ट्र–राज्यको अवधारणाले नै समग्र हिमालयको पहिचान निर्मित भएको हो भन्ने राज्यकेन्द्रित मान्यता छ । यस भेगका बहुसांस्कृतिक समुदायहरूको बसाइँसराइ, भाषा, धर्म, दैनिक संघर्ष र अनुभवले नै हिमालयलाई प्रतिनिधित्व गर्छन् भन्ने सशक्त दृष्टिकोण सामाजिक–सांस्कृतिक अवधारणाका हिमायतीहरूको छ । त्यस्तै, अधिकांश सांस्कृतिक समूहमा हिमालयलाई धार्मिक र पवित्रताको प्रतीकका रूपमा लिने गरिएको छ । यी मान्यताले गर्दा पनि ‘हिमालय’ शब्दको सान्दर्भिकता रहेको तर्क गर्न रुचाउनेहरू त्यत्तिकै छन् ।


कार्यपत्रमा हिमालयको प्रतिनिधित्व

गोष्ठीको सुरुआतै, हामीले दैनिक प्रयोगमा ल्याउने ‘राज्य’ र ‘समाज’ जस्ता शब्दावली नै अस्पष्ट रहेको अवस्थामा ‘हिमालय’ को प्रयोग सुविचारित हुनुपर्ने समीरकुमार दासको विनम्र चेतावनीसाथ भएको थियो । लामो यात्रा तय गरेको ‘सभ्यता’ शब्द प्रयोगबाट एकाएक किन हरायो भन्ने कुरा पनि उनले उठाए । इतिहासकार सञ्जय सुब्रहमण्यम्को ‘कनेक्टेड हिस्ट्री’ (सम्बद्धताको इतिहास) लाई उल्लेख गर्दै दासले यस भेगका इतिहास एकअर्कासँग कुनै न कुनै रूपमा लामो समयदेखि जोडिएका र तिनलाई यही हिसाबले हेर्नुपर्ने बताएका थिए ।


प्राज्ञिक लेखन प्रायः पाश्चात्य पद्धति अनुरूप हुँदै आएकामा अब त्यसका लागि मौलिक र व्यावहारिक पद्धतिको निर्माण गर्नुपर्ने धारणा पनि गोष्ठीमा सुन्न पाइयो । सेन्टर निर्देशक स्वतसिद्ध सरकारले ‘क्रिटिकल हिमालय’ अवधारणालाई जोडदार रूपमा अघि सारे । पश्चिमा अवधारणाबिना हामीले सोच्ने क्षमता विकसित गर्नुपर्छ र पद्धतीय राष्ट्रवादबाट बाहिर निस्कनुपर्छ भन्ने आफ्नो ‘क्रिटिकल हिमालय’ अवधारणाको मर्मलाई उनले औपचारिक–अनौपचारिक जमघटमा साझा गरिरहे ।


कार्यपत्रहरूलाई निम्नलिखित सात बुँदागत श्रेणीमा राखिएको थियो— ‘हिमालयमा इतिहास र राज्य निर्माण’, ‘हिमालयमा पहिचानमाथिको संघर्षको बुझाइ’, ‘हिमालयमा मार्ग, सञ्जाल र स्थान’, ‘पुनर्विचारमा हिमालय अध्ययन’, ‘पूर्वी हिमालयमा संसदीय प्रजातन्त्र’, ‘हिमालयमा राज्य, समाज र प्रतिरोध’ र ‘हिमालयलाई प्रतिनिधित्व गर्ने चिन्तकहरू’ । इतिहासकार अंकित क्षत्रीको कार्यपत्र हिमालय भेगमा मुगल राज्यको उत्पत्ति र विस्तारमाथि थियो, जसमा अधिकांश शोधकर्ताले मुगल शासकको महत्त्वपूर्ण केन्द्रीकृत राज्य संरचनामाथि खासै ध्यान नदिएकोतर्फ औंल्याइएको थियो ।

इतिहासकार वसुधा पाण्डेको कार्यपत्रमा कुमाउ, नेपालको सुदूर पश्चिम र पश्चिम तिब्बतको विषयवस्तुलाई बेलायतीद्वारा निर्मित नक्साका आधारमा विवेचना गर्दै त्यसले कसरी भेगविशेषका केही प्रान्तलाई सीमान्त रेखा र प्रदेशमा विभाजन गरिदियो भन्ने उल्लेख गरिएको थियो । त्यो नक्साले राष्ट्र–राज्यको परिकल्पनालाई अघि सार्दै यी भूगोलका बासिन्दाहरूको अन्तरक्रियालाई क्रमभंग गरिदिएको उनको तर्क थियो । इतिहासकार सारा हिलेले बेलायती उपनिवेशमा असम र त्यसवरिपरिका राज्यहरूमा अपनाइएको नीति र प्रभावलाई बफर जोनको राजनीतिक परिशिष्टांकबाट केलाएकी थिइन् । सौन्दर्यको चस्माबाट दार्जिलिङको बढाइचढाइ त गरिन्छ, तर स्थानीय बासिन्दाको कष्टपूर्ण भोगाइका दृष्टिले यो कति युक्तिसंगत छ ? यो प्रश्नसहितको, त्यसै सेन्टरमा विद्यावारिधि गर्दै गरेकी अम्बिका राईको, भारी बेचेर जीविका चलाइरहेका भरियाहरूमाथिको कार्यपत्र हृदयस्पर्शी थियो ।


गोष्ठीको अन्तिम दिन हिमालयका चिन्तक (डोरबहादुर विष्ट, प्रयागराज शर्मा, इन्द्रबहादुर राई, गोपालसिंह नेपाली र महेशचन्द्र रेग्मी) तथा तिनीहरूका कामको समीक्षा भयो । पंक्तिकारद्वयले विष्ट र शर्मामाथि तदनुसारको कार्यपत्र प्रस्तुत गरेका थिए ।


निष्कर्ष

भारत–तिब्बत पर्वत श्रेणीको सीमामा रहेका केही राष्ट्र र तिनका केही प्रान्तलाई ‘हिमालय’ ले प्रतिनिधित्व गर्छ । यस भेगको मानवीय सम्बन्ध र विषयवस्तुको समग्रतामा हेर्दा भने, यो अवधारणा एकांगी देखिन्छ । हिमालयको विवेचना गर्दा पहाड र मैदान तथा त्यहाँका बासिन्दाहरूको भोगाइ, अनुभूति, अन्तरसम्बन्ध आदिलाई बेवास्ता गर्न मिल्दैन । स्वतसिद्ध सरकारको ‘क्रिटिकल हिमालय’ अवधारणा प्रशंसायोग्य छ । तर, ‘हिमालय’ शब्द आफैमा औपनिवेशिक अवधारणा हो (जसरी ‘साउथ एसिया’ अमेरिकाको हो), जसले भूगोल र त्यसका बासिन्दालाई वर्गीकृत र तिनको अन्तरसम्बन्धलाई विभाजित गरिदियो ।


गोष्ठीले नेपालबाट भारतलाई हेर्ने फरक दृष्टिकोण पनि दियो । काठमाडौंमा रहेका धेरैजसोको भारतबुझाइ दिल्लीकेन्द्रित देखिन्छ, जुन स्वाभाविक पनि हो । दिल्ली आफैमा एउटा शक्तिकेन्द्र हो । तर, बहुसंख्यक नेपालीको हिमचिम त लामो समयदेखि सीमावर्ती क्षेत्रहरू बिहार, पश्चिम बंगाल, उत्तरप्रदेश र उत्तराखण्डसँग छ । यी क्षेत्रका बासिन्दाहरूको सीमापार जनसम्पर्क निकै घनीभूत छ, ती सामाजिक–आर्थिक हिसाबले परनिर्भर पनि छन् । यति हुँदाहुँदै पनि यी क्षेत्रका आफ्नै राज्यकेन्द्रित जटिलता छन्, जसका कारण सीमावारिपारि बस्नेहरूबीच दूरी बढ्ने गर्छ ।

मानवशास्त्री जेम्स एफ फिसरले ‘हिमालयन एन्थ्रोपोलोजी ः दी इन्डो टिबेटन इन्टरफेस’ मा हिमालयलाई बुझ्ने सिलसिलामा प्रयोग गरेको शब्दावली सापट लिएर भन्नुपर्दा, ती बासिन्दा ‘नाइदर फिस नर फाउल’ अर्थात् न यता न उताको स्थितिमा छन् । त्यस्तै, ज्ञान उत्पादनमा भारतीय लेखक रोज्नुपर्दा, अधिकांश समाज विज्ञानीको छनोटमा दिल्लीकेन्द्रित लेखकहरू नै पर्ने गर्छन् । तर हिमालय भेगबाट पनि विधागत हिसाबले विविध विषयवस्तुमा स्तरीय प्रकाशन भएका छन्, जुन अध्ययन–अनुसन्धानका दृष्टिले निकै महत्त्वपूर्ण र मननीय पनि छन् ।


भारत विभाजित हुनुअघि वा सन् १९४७ को विकासक्रमले हिमालयलाई खासै छोएको थिएन । यहाँका बासिन्दाहरू कागजी पहिचानबिना नै आवतजावत गर्ने गर्थे । तर, बेलायतीहरू भारतबाट फर्केपछि त्यसमा कडाइ हुँदै गयो । राज्यले सीमांकनमा कडाइ गरेसँगै हरेक भूगोल र संस्कृति राष्ट्रिय पहिचानमा परिणत भयो । हामीले इतिहासमा राष्ट्र–राज्य, सहर, बस्ती, अर्थतन्त्र र सांस्कृतिक पहिचानको पुनर्निर्माणमा एकअर्काले खेलेको भूमिका र गुन कदापि बिर्सन मिल्दैन । तर पनि यी जटिलता र दैनिक भोगाइलाई हिमालयको फ्रेममा समेट्दा, सिमानाले छुट्ट्याइएका नागरिकहरूको भावना साटासाट गर्ने माध्यम मात्र पो बन्ने हो कि ‘हिमालय’ ?

प्रकाशित : माघ १५, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?