शुक्रराजलाई सम्झेर

मल्ल के. सुन्दर

राणाविरुद्ध १९९७ सालको राजनीतिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने प्रथम व्यक्ति थिए— शुक्रराज ! आजैका दिन अर्थात् माघ १० गते काठमाडौंको पचली घाटको एक छेउमा रहेको रूखमा उनलाई झुन्ड्याइएको थियो । 

ZenTravel

पारिवारिक पृष्ठभूमि
भारतको सिकन्दराबादस्थित विद्याव्रत स्नातक महाविद्यालय गुरुकुलबाट शास्त्री तह सकेका शुक्रराज आफ्नो परिचयमा ‘शास्त्री’ लेख्ने गर्थे । त्यही आधारमा उनको पारिवारिक पृष्ठभूमिबारे केही अलमल उब्जिँदै गयो । कतिपयले शुक्रराज ब्राह्मण परिवारका भएको बुझे । वास्तवमा उनी ललितपुरका चार नेवार जोशी खलकहरू (बकुं बहाल, टंगल, इल्हन र इखालखु) मध्ये बकुं बहाल जोशी खलकका माधवराजका माइला छोरा थिए । कुनै समय मल्ल दरबारको सेवामा रहेको त्यस परिवारलाई ‘राजदैवज्ञ’ उपाधि दिइएको थियो ।

Meroghar


भारतका दयानन्द सरस्वतीबाट प्रभावित माधवराज आफै विद्रोही स्वभावका थिए । कर्मकाण्ड, अन्धविश्वास, कुसंस्कार तथा पुरोहितवादको विरोधमा रहेका उनले बाबुको मृत्युमा समेत कुलपरम्पराको अनुसरण गरेनन् । ललितपुरको कुलस्थान छाडेर काठमाडौंको बाङ्गेमुढा, खिउँलमा स्थायी डेरा जमाइसकेपछि उनले त्यहीँ आर्य समाजको कार्यालय खोलेर जनचेतना फैलाउँदै हिँंडे । उनको त्यो व्यवहार पचाउन नसकेका सनातनपन्थीहरूले चन्द्रशमशेरकहाँ उजुरी हाले ।

राजा पृथ्वीवीरविक्रम समेतको उपस्थितिमा सिंहदरबारभित्र चन्द्रशमशेरले अन्य भाइभारदारसहित इजलास बसाए । १९६२ साउन १२ को कुरा हो यो । बडागुरुजु प्रयागराज पाण्डेको नेतत्वमा थुप्रै पण्डितजनले अभियुक्तसरह उभ्याइएका माधवराजसँग शास्त्रार्थ थाले । प्रत्येक प्रश्नको जवाफमा माधवराजले निर्धक्कसाथ मूर्तिपूजाको विरोध गर्दै ‘पशुपतिको शिवलिङ्ग ढुङ्गाको मूर्ति हो, ईश्वर होइन’ भनेपछि इजलास क्रुद्ध बन्यो । ‘राजादेखि प्रजासम्मले ईश्वर मानिआएका पशुपतिलाई ढुङ्गाको मूर्ति भन्नेलाई कुट्न पाऊँ’ भन्दै बडागुरुजुले आज्ञा मागे र पाएपछि लौरो र छाताले माधवराजलाई रक्ताम्य हुने गरी चुटे । माधवराजलाई दुई वर्षको जेल सजाय दिइयो ।

दरबार स्कुलका प्रधानाध्यापक बटुक बाबुलाई लगाएर माधवराजका छोराहरू अमरराज र शुक्रराजलाई कक्षाभित्र पानी नचल्ने बनाइयो । पछि स्कुलबाटै निकालियो । त्यसबाट आफन्त र फुकी खलकबीच एक खाले सामाजिक बहिष्कारको स्थिति सिर्जना भयो । आखिर माधवराजकी धर्मपत्नी रत्नकुमारी त्यही महिना छोराहरू अमरराज, शुक्रराज, वाक्पतिराज र चैतन्यराज तथा छोरी चन्द्रकान्तासहित उपत्यका छाड्न बाध्य भइन् । उनीहरू झन्डै डेढ वर्षभन्दा बढी वीरगन्जमा रूखोसुखो खाएर बसे । १९६४ चैतको एक दिन माधवराज बन्दी अवस्थाबाट फरार भई वीरगन्ज पुगे, श्रीमती र छोराछोरी भए ठाउँ । लगत्तै सपरिवार भारततिर लागे ।

भारतमा राम्रो सम्पर्क र सम्बन्ध भएका माधवराजले ठूला छोरालाई मेरठमा स्वामी तुलसीरामकहाँ पढ्न पठाए ।

वाक्पतिराजका लागि सिकन्दराबादको गुरुकुलमा व्यवस्था गरियो भने शुक्रराजलाई देहरादून पठाइयो, स्वामी अच्युतानन्दको गुरुकुलमा । छोरी चन्द्रकान्ता डा. रामचन्द्रले स्थापना गरेको मेरठको कन्या पाठशालामा पढ्न थालिन् । भर्खर पाँच वर्ष पुगेका कान्छा छोरा आमाबुबासँगै रहे ।

राजनीतिक भूमिका
उच्च शिक्षा हासिल गरिसकेपछि शुक्रराज केही समय इलाहबादमा आर्य समाज विद्यालयको प्रधानाध्यापकका रूपमा क्रियाशील रहे । त्यसपछि विशेषतः भारतकै देहरादून, पटना, कलकत्ता, दार्जिलिङ, खर्साङका अतिरिक्त सिक्किम र भुटानसम्म पुगेर नेपालीभाषीहरूलाई संगठन गर्नतिर लागे ।

‘ब्रह्मसूत्र शङ्कर भाष्य’ को भाषा अनुवाद गरेर छाप्न बसेका बेला कलकत्तामा शुक्रराजले महात्मा गान्धीलाई भेटे । उनी आफ्नो पुस्तकमा गान्धीको मन्तव्य राख्न चाहन्थे, तर गान्धीले भने, ‘मलाई संस्कृत भाषाको त्यति साह्रो ज्ञान नभएकोले थप अध्ययन गर्न पुस्तक छाडेर जानू, म हेर्छु ।’ नीलिमा घोष तथा बाबुलाल प्रधान लिखित ‘मानिस मानिसजस्तै’ पुस्तकमा उल्लेख भए अनुसार, शुक्रराज गान्धीलाई भेट्न नेपाली युवाहरूको प्रतिनिधिमण्डल लिएर गएका थिए, जसमा विश्वेश्वरप्रसाद कोइरालासमेत थिए । शुक्रराजले गान्धीसँग विशेषतः नेपालमा सामाजिक सुधारबारे कुरा उठाएका थिए । यसबारे कलकत्ताको ‘अमृत बजार’ पत्रिकाले समाचार लेखेको थियो । सोही भेटघाटबाट फर्कंदै गर्दा नेताजी सुभाषचन्द्र बोससँग पनि शुक्रराजको जम्काभेट भयो र अलग्गै भेट्ने चाहना राख्दा उनले भोलिपल्ट बिहान नौ बजेको समय पाए । यसरी १९३८ मार्च १८ का दिन नेताजी र शुक्रराजबीच भेट भएको थियो ।

भारतीय भूमिमा शुक्रराजको त्यस खाले राजनीतिक सक्रियताबारे राणाशासकसम्म कुरा पुगिहाल्यो । काठमाडौं फर्केपछि शुक्रराजलाई उपत्यकाभित्र नजरबन्दमा राखियो । तर उनी चुप लागेर बसेनन् । वीरगन्जका आर्य समाजी राजलाल कलवारसँग मिलेर असनको एउटा घरमा शुक्रराजले वि.सं. १९९४ मा नागरिक अधिकार समिति गठन गरे, जसको अध्यक्ष उनै भए । संगठन सचिव केदारमान व्यथित तथा प्रचार सचिव शङ्करप्रसाद नेपाल थिए ।

सदस्यहरूमा गङ्गालाल श्रेष्ठ (शहीद), राजलाल कलवार, मुरलीधर भट्टराई र आनन्दराम श्रेष्ठ थिए । नेपालमा नागरिक अधिकारका लागि अभियन्ताहरू संगठित रूपमा क्रियाशील भएको सम्भवतः यही पहिलो थियो । त्यो निरंकुश समयमा त्यस किसिमको चेष्टा कम साहसी थिएन ।

संयोग, शुक्रराज बस्ने बाङ्गेमुढा, खिउँलको घरको ठीक सामुन्ने चिनियाँलाल सिंह र फत्तेबहादुर सिंहको निवास थियो, जसले आफ्नै घरमा १९९३ फागुनदेखि महावीर इन्स्टिच्युट खोलेर मानिसहरूलाई सचेत तुल्याउने काम थालिसकेका थिए । गङ्गालाल श्रेष्ठले त्यहाँ पढाउँथे । शुक्रराजले पनि त्यहीँ शिक्षण थाले ।

जनचेतना जागृत गराउने उद्देश्यसहित शुक्रराज नागरिक अधिकार समितिमार्फत खुला कार्यक्रम लिएर हिँड्ने भए । त्यस क्रममा सर्वप्रथम १९९५ मंसिर १३ गते काठमाडौंको इन्द्रचोकमा शुक्रराज जनसमक्ष उभिए । गीताका श्लोकको उच्चारणबाट मन्तव्य थालेका उनले जनताको दुरवस्थालाई लिएर शासकहरूको आलोचना गरे तथा सबैलाई जागरुक बन्न आह्वान गरे । गङ्गालाल श्रेष्ठले पनि राणाशासनको भन्डाफोर गर्दा जोसिलो भाषण गर्न भ्याए ।

राणाशासनको विरोधमा क्रियाशील रहेका कारण शुक्रराजहरू पक्राउ परे । १९९७ माघ ७ गते सिंहदरबारको फुटबल मैदानमा विशेष इजलास बस्यो । राजा त्रिभुवन र जुद्धशमशेर सहितको उपस्थितिमा शुक्रराज, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र पूर्णनारायण प्रधानलाई सर्वस्वहरणसहित ज्यान सजाय सुइनाइयो । पछि पूर्णनारायणको सजाय भने आजन्म कैदमा बदलियो ।

भनिन्छ, शुक्रराजले मृत्युदण्ड पाउने समय माघ १० गते राति वाग्मतीमा नुहाएर पवित्र भइसकेपछि ‘ओम्’ उच्चारण गर्दै मन्त्र पाठ गरेका थिए । हातको घडी फुकालेर फाँसी चढाउन सँगै उभिएको पोडेलाई दिए । अनि फाँसीको पासो आफैले घाँटीमा लगाउँदै प्रसन्नताका साथ शुक्रराजले भनेका थिए, ‘युद्धशमशेर आज मेरो प्राण लिन बडो उत्सुक छ । तर म मर्दिनँ, मेरो आत्मा अमर रहनेछ । यो नश्वर देह मातृभूमिका चरणमा अर्पण गर्न पाउनु मेरो ठूलो सौभाग्य हो ।’

मातृभाषा शिक्षामा योगदान
शुक्रराजको अर्को योगदान हो— मातृभाषा शिक्षा, जसका बारेमा धेरैलाई हेक्का छैन र त्यति चर्चा गरिंँदैन पनि । आफ्नो ‘नेपालभाषा व्याकरण’ पुस्तकको भूमिकामा उनले लेखेका छन्— ‘...जसरी महाराष्ट्र भाषा तथा बङ्गाली भाषा आदि प्रान्तीय भाषाको उन्नति भइरहेको छ, सोही अनुरूप नेपाल देशभाषा पनि लोप हुन दिनु हुन्न । आ–आफ्नो प्रान्तीय भाषाबाट आ–आफ्नो प्रान्तमा शिक्षा प्रचार गर्न सहज हुने भएकोले नेपालभाषाको पनि उन्नति यथासाध्य हुन सकोस् ... ।’

झन्डै नब्बे वर्षअगाडि नेपालमा साधारण पुस्तकहरू त त्यति प्रकाशित हुँंदैनथे भने नेपालभाषामा पुस्तक लेख्नु र निकाल्नु झनै सहज थिएन । वि.सं. १९८४ मा उनले व्याकरणजस्तो चुनौतीपूर्ण विषयमा पुस्तक निकाल्ने प्रयत्न गरे । कलकत्ता पुगेर छपाए । व्याकरण पुस्तक लेख्ने पहिलो व्यक्ति बन्ने रहर पूरा गर्नभन्दा पनि मातृभाषाको माध्यमबाट शिक्षा प्रसार गर्नु प्रभावकारी र सहज हुन्छ भन्ने व्यावहारिक पक्षबाट उनी अभिप्रेरित थिए । उनले लेखेकै पनि छन्—
कर्म न्ह्योने तया नित्य भगवान नुगले तया ।
नेपालभाषा समुद्रे जि फल तोता क्वब्वाय्त्यना ।।
अर्थात्, कर्मलाई साक्षी राखेर, नित्य भगवान् हृदयमा राख्दै नेपालभाषा समुद्रमा मैले फल त्यागेर डुबुल्की मारें ।

यथार्थतः शुक्रराज मातृभाषा माध्यमबाट शिक्षा प्रसार–प्रसारमा प्रतिबद्ध थिए भन्ने कुरा उनले लेखेको ‘नेपाली वर्णमाला’ ले अझ बढी पुष्टि गर्छ । सानो तर देवनागरी वर्णमालासहित रोमन लिपि परिचय, गणितका लागि पहाडा पनि समावेश गरिएकाले त्यो निकै उपयोगी थियो । मातृभाषा शिक्षाप्रतिको दायित्वबोधमा उनले पछि ‘नेपालभाषा रिडर’ प्रथम र द्वितीय भाग पनि निकालेका थिए । सचित्र त्यो रिडर कुनै बेला उपत्यकाभित्र प्राथमिक तहको आधारभूत सामग्री थियो । त्यसको द्वितीय भागको तेस्रो पाठमा एउटा श्लोक थियो—
हे मचात ! दँ दँ, मिखा निगलं कँ कँ ।
तुटि न्यिपाँ चुचु, आखः ब्बोँवने नु नु ।।
अर्थात्, हे बालकहरू ! जागृत बन, जागृत बन । दुवै दृष्टि खोल, खोल । दुवै खुट्टामा उभिऊ, शिक्षा हासिल गर्न हिंडौं ।

उपर्युक्त श्लोक तेस्रो पाठको अन्तिम अंश हो, तर श्लोकको पूर्वार्द्धमा लाक्षणिक रूपमा मुलुकको दुर्दशालाई अन्धकारमय रात भन्दै त्यसको अन्त्य तथा दुनियाँको सुख–समृद्धिका लागि सबै जागृत बन्न आह्वान गरिएको थियो, जुन शुक्रराजले चाहेको शिक्षा प्रसारको भित्री उद्देश्य थियो ।

प्रकाशित : माघ १०, २०७६ ०८:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दृष्टिविहीनसित केको दुश्मनी ?

सम्पादकीय

काठमाडौंका सडकहरूमा हिजोआज दृष्टिविहीनहरूले निर्बाध गीत गाएर माग्न पाउँदैनन् । महानगरको आदेशमा आएका प्रहरीहरूले उनीहरूको माइक र स्पिकर खोस्छन्, झपार्छन् र आइन्दा यसरी सडकमा नगाउन चेतावनी दिन्छन् । महानगरले बुधबार मात्रै रत्नपार्क र सुन्धारा क्षेत्रका सडक छेउमा गीत गाउने सात दृष्टिविहीन समूहको माइक र स्पिकर खोसेको छ ।

त्यसपछि ‘ह्वाइट केन’ को सहारामा महानगरपालिका पुगेको दृष्टिविहीनको समूहलाई त्यहाँका कर्मचारीले सडक छेउछाउमा गीत गाएर नमाग्न सतर्क गराएका छन् ।

सडकबाट उठाइएका दृष्टिविहीनले सोधेका छन्, ‘हामीलाई उठाएर सरकारले के पाउँछ ?’ सरकारसित यसको चित्तबुझ्दो जवाफ छैन । सडकमा गीत गाएर माग्न नपाइने र यस्तो काम कानुनविपरीत हुने महानगरको जिकिर छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा सडकमा बसेर भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था छ । महानगरले कानुनको यही व्यवस्थामा टेकेर दृष्टिविहीनमाथि अन्यायपूर्ण दृष्टि राखेको छ । महानगरपालिकाले गत मंसिर २९ मै सडकमा बसेर गीत गाउनेहरूलाई विकल्प खोज्न भन्दै अटेर गरे पक्राउ गरिने चेतावनी दिएको थियो । त्यही दिन प्रहरी परिसर काठमाडौंले बौद्ध परिसरबाहिर माग्न बसेका र गीत गाइरहेका करिब २२ दृष्टिविहीनलाई पक्रेको थियो ।

यो भिडियो पनि पनि हेर्नुहोस् :


वैकल्पिक व्यवस्थाबिनै ‘सहर व्यवस्थित बनाउने’ नाममा कानुनको एउटा टेको टेकेर महानगरले मानवताको खम्बा भाँचेको छ । सरकारले चाल्ने कदम त दृष्टिविहीनको हितमा पो हुनुपर्छ । उनीहरूलाई चित्त बुझाएर मात्रै सडकबाट हटाइनुपर्छ । आखिर, उनीहरूले के–के न अपराध गरेका पनि होइनन्, राज्यलाई ठूलै हानि हुने गरी कुनै कानुन मिचेका पनि होइनन् । सडकमा आफ्नो कला देखाएर ‘माग्ने’ प्रचलन संसारमा जहाँतहीँ छ, यो काठमाडौंमा मात्र नौलो होइन । फेरि, उनीहरू चिच्याएर, कसैको पिछा गरेर जबर्जस्ती कोट्याएर माग्ने पनि गर्दैनन्, कुनै थलोमा बसेर आफ्नो प्रतिभा देखाएर मनकारीहरूसित भाँडो थाप्ने मात्रै हुन् । एक हिसाबले उनीहरूले मागेको भन्दा पनि आफ्नो प्रतिभा बेचेका हुन्। व्यावसायिक गायक–गायिकाभन्दा फरक यति हो, उनीहरूले प्रतिभा बेच्ने मञ्च सडकपेटीलाई बनाएका छन् ।

सरकारले बुझेजस्तो जारी नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सबभन्दा ठूलो अवरोध सडकमा गाएर माग्न बसेका दृष्टिविहीनहरू होइनन् । पर्यटकहरूलाई नमज्जा धूलो उडिरहेको, जताततै फोहोर थुप्रिरहेको र खाल्डैखाल्डा भएको सडक देख्दा लाग्छ कि पेटीमा गीत गाएर मागिरहेका दृष्टिविहीनहरू भेट्दा ? पर्यटकहरूलाई दुःख मिटरमा जान नमान्ने र लाग्दोभन्दा बढी भाडा लिने ट्याक्सी अनि आउने–जाने ठेगान नहुने र कोच्चिएर यात्रा गर्नुपर्ने सार्वजनिक माइक्रो/बस देख्दा लाग्छ कि सडकमा माग्नेहरू भेट्दा ? सायद सरकार यसमा अलमलमा छ, उसले सही खुट्याउन सकेजस्तो देखिँदैन ।

सहरलाई सहरजस्तै बनाउने अनि पर्यटकहरूको चित्त आकर्षित गर्ने सयौं उपाय छन्, सरकार ती सबै बाटाहरूलाई छोडेर निरुपाय भई सडकमा आएकाहरूलाई हतोत्साही गर्न लागिपरेको छ, जुन शोभनीय र मानवोचित दुवै देखिँदैन । यी दृष्टिविहीनहरूले भनेका छन्— हामी गरिखाने कुनै विकल्प नभएर सडकमा आएका हौं, सडकको धूलो खाने रहरले होइन । यस्तो अवस्थामा सरकारले उनीहरूलाई हठात् सडकबाट हटाउने भन्दा पनि सडकसम्म आउनै नपर्ने विकल्प पो दिनुपर्छ । सरकारले त्यस्तो वैकल्पिक व्यवस्था गर्नुपर्छ, जसले दृष्टिविहीन खुसी होउन्, उनीहरूको परिवारले भरोसा पाउन् र सडक पनि सरकारले चाहेजस्तै होओस् ।

महानगरपालिकाले काम गरेर खान नसक्नेलाई आश्रममा राखेर खाने–बस्ने व्यवस्था मिलाइदिने त भनेको छ । तर, घरपरिवार भएका कतिपय दृष्टिविहीनहरूलाई त्यति गर्नु मात्रै समाधान होइन, उनीहरूमा आश्रित परिवारबारे पनि सोच्नुपर्छ । सडकमा बसेर गीत गाउने दृष्टिविहीनका अनुसार उनीहरूको संख्या करिब दुई सय छ । अधिकांश कमजोर आर्थिक हैसियतका र गीत गाएर जम्मा भएको पैसाले गुजारा चलाउने छन् । त्यसैले, आश्रित परिवारलाई धान्न सक्ने गरी विकल्पको व्यवस्था नगरी सरकारले दृष्टिविहीनहरूलाई सडकबाट चलाउनु उपयुक्त हुँदैन ।

उचित विकल्प नदिई गरिखाने मेलो बन्द गरिदिनु कानुनको कुनै एउटा दफाअन्तर्गत सही भएको व्याख्या गर्न सकिएला, तर लोक कल्याणकारी राज्यको मर्म र समाजवादउन्मुख संविधानको भावनाअनुकूल ठहर्‍याउन सकिँदैन । पूर्ण दृष्टिविहीनहरूले सरकारबाट मासिक १६ सय रुपैयाँ भत्ता पाउँछन् तर त्यतिले उनीहरूको गर्जो टर्दैन । त्यसैले, सरकारले उनीहरूका लागि कि रोजीरोटीको व्यवस्था गर्नुपर्छ कि पुग्दो भत्ता दिनुपर्छ अनि मात्रै सडक खाली गर भन्न सुहाउँछ ।

प्रकाशित : माघ १०, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×