निर्विकल्प इतिहासको फरक व्याख्या

नेपाल एकीकरण कुनै नश्ल वा रंग विशेषविरुद्धको अभियान थिएन । प्रविधि र शिल्पप्रति सेचत पृथ्वीनारायणकाे ध्यान आधुनिक काठमाडौंको बनावटले तानिएकाे थियाे ।
राम गुरुङ

बर्सेनि पुस २७ गतेको अघिपछि, नेपाल निर्माता पृथ्वीनारायण शाहमाथि विविध बहस हुन्छन् । राष्ट्र र राष्ट्रियतामाथि औंला सोझिन्छन् । उनको योगदानको पक्ष–विपक्षमा हुने बहसका आ–आफ्नै विशेषता छन् । कोही अति प्रशंसा त कोही निर्मम आलोचना । तर अति प्रशंसा र आलोचना दुवैले ऐतिहासिक घटनाको तथ्य र परिवेशलाई बुझ्न सघाउँदैन ।

ZenTravel

स्वतन्त्र वस्तुगत विश्लेषण पाखा लाग्न पुग्छन् । विश्लेषण पूर्वाग्रही हुन्छ । यसर्थ इतिहाससँग हिसाब–किताब खोज्ने कठिन काम हो । जसको यथोचित उत्तर अहिले भेटिन्न । देन हुँदाहुँदै पनि मानिस इतिहासको भारीले थिचिन्छ । र, यसकै पुच्छर समातेर भविष्य सकार्ने प्रयास गलत र असफल हुन्छ । जसले भविष्यलाई अलमल्याउँछ । अर्थात् इतिहास भविष्यको सन्दर्भ वा मानक दुवैबाट चल्दैन । यसका लागि इतिहासभन्दा वर्तमानको समीक्षा र उपयोगले बढी अर्थ राख्छ ।

Meroghar

विश्व अर्थराजनीति नबुझी पृथ्वीनारायण र उनको एकीकरण अभियान ठम्याउन गाह्रो हुन्छ । पृथ्वीनारायण यस्तो समयमा गोरखाका राजा भए, जतिखेर एकातिर युरोपियन उद्योगीहरू इष्ट इन्डिया कम्पनीमार्फत संसारभर आफ्नो उद्योगका लागि चाहिने कच्चा पदार्थ जोहो गर्न लागिपरेका थिए । सँगै उत्पादित वस्तुको बजार खोज्दै भारतसम्म आइपुगेका थिए । अर्कातिर काठमाडौंले निर्यात व्यापारलाई तिब्बत र हिन्दुस्तानसम्म विस्तार गरेको थियो । व्यापारिक कानुन र प्रतिस्पर्धा नभएकाले व्यापार अत्यधिक नाफामा चल्दै थिए । जसलाई इष्ट इन्डिया कम्पनीसँग सन् १७९२ मा भएको सम्झौताले खारेज गर्‍यो । हिन्दुस्तानी शासक, इष्ट इन्डिया कम्पनी र गोर्खासमेत काठमाडौंले तानिएका थिए । सबै काठमाडौंसँग जोडिन चाहन्थे । पृथ्वीनारायण र काठमाडौंलाई जोडेको नै व्यापारिक आकांक्षा र स्वार्थले हो । बाँकी परिघटना परिस्थितिजन्य सिलसिलाका परिणाम थिए ।

गोर्खाको भौगोलिक परिवेश, सामाजिक सम्बन्ध र आर्थिक यथार्थ जसले गोर्खाली राजा पृथ्वीनारायणको आर्थिक र सैन्य विस्तारको अभिष्टलाई ब्युँतायो । यसबाट सैन्य संगठनमा चुस्त र राजनीतिक दाउपेचमा परिपक्व पनि भए । छिमेकी राज्यसँगको आर्थिक रणनीति र वरपरका भौगोलिक बनावटले काठमाडौंलाई इष्ट इन्डिया कम्पनीसँग जोगाइराखेको भए पनि गोर्खा वरपरका राज्यहरूको आपसी साँठगाँठ, धन–सम्पत्तिको चुरिफुरी, गोर्खाको शासकीय क्षमता र आर्थिक हैसियतमाथि प्रश्न उठ्ने खालका थिए । लमजुङ, भिरकोट, पाल्पा, मालेवन र पिउठान आदि छिमेकी राज्यले आपसी सुरक्षाका लागि गठबन्धन गर्दासमेत गोर्खालाई सोधेन । जसले पृथ्वीनारायणलाई काठमाडौं पस्न थप उत्प्रेरित गर्‍यो ।

भारतमा दिन–प्रतिदिन बलियो हुँदै गरेको इष्ट इन्डिया कम्पनी, गोर्खा राज्य वरपरका सम्पन्न रजौटा र तिनको राजनीतिक गठबन्धन, काठमाडौं उपत्यकाको आर्थिक एवं सांस्कृतिक वैभवता र राजनीतिक असन्तुलन तथा काठमाडौं–तिब्बत व्यापार र यसले पृथ्वीनारायणमा पारेको आर्थिक र राजनीतिक प्रभावलाई नजोडी पृथ्वीनारायणको नेपाल एकीकरण अभियानको वस्तुगत बुझाइ आउँदैन । जुन नेपाल निर्माणलाई पुष्ट्याउने महत्त्वपूर्ण ऐतिहासिक आर्थिक एवं राजनीतिक पक्ष हुन् । जसले अति प्रशंसा वा आलोचनालाई अस्वीकार गर्छ ।

तत्कालीन क्षेत्रीय अर्थराजनीतिले पृथ्वीनारायण शाहको जन्म गराएको हो । उनीभन्दा अघिका धेरै शाह राजा, राजामात्र भएर अस्ताए । तर उनी बडामहाराजा भएर उदाए । यदि पृथ्वीनारायण जन्मिएका थिएनन् भने अर्को पृथ्वीनारायणले तत्कालीन अवस्थाको फाइदा उठाउने पक्का थियो । अर्को पृथ्वीनारायण सायद नेपाल बाहिरका पनि हुन सक्थ्यो । उनीभन्दा झन्डै पाँच सय वर्षअघि अर्थात् बाह्रौं शताब्दीतिरै हिन्दुस्तानी नजर काठमाडौंमा परिसकेको थियो । दिल्लीका राजा मुहम्मादेनको आक्रमणले काठमाडौंमात्र होइन, यस वरपरलाई समेत पिरोलेकाले उदयपुरको राजपुत वंश पाल्पा पुगे । नरभूपाल शाहको (नृभुपाल: कर्कप्याट्रिक) पहिलो रानी, पाल्पाली राजाकी छोरीले गोर्खा र पाल्पाको नातेदारी गाँसियो । पाल्पाली शासकले आफ्ना नातेदार पृथ्वीनारायणलाई तत्कालीन अर्थराजनीतिक उथल–पुथलबारे बताएनन् भन्न सकिन्न । जसले एकातर्फ सदैव पृथ्वीनारायणलाई इष्ट इन्डिया कम्पनीसँगसजग गरायो भने अर्कोतर्फ काठमाडौंको आर्थिक र राजनीतिक महत्त्वबारे बुझायो ।

पृथ्वीनारायण शाहमात्र होइन, उनीभन्दा पहिल्यै, इसाको सत्रौं शताब्दीको सुरुतिरै इष्ट इन्डिया कम्पनी, काठमाडौंको आर्थिक वैभवताबारे जानकार थिए । त्यतिबेलासम्म पृथ्वीनारायणले गोर्खाको शासन सम्हालेको २० वर्षभन्दा बढी भइसकेको थियो । चरम आर्थिक संकट झेलिरहेका र लामो शासकीय अनुभवले निखारिएका निडर र एकोहोरो स्वभावका उनले तत्कालीन भूराजनीतिलाई नबुझ्ने कुरै भएन । काठमाडौं एउटा राज्यमात्र नभई महत्त्वपूर्ण व्यापारिक नाका हो भन्ने उनलाई थाहा थियो । तर हिन्दुस्तानीलाई भने काठमाडौं, व्यापारिक नाकाभन्दा पनि ठूलो सुनखानी भएको उपत्यका हो भन्ने भ्रम थियो । काठमाडौंले विहार र कलकत्तालाई सुन, तामा र फलामजस्ता धातुमात्र बेचेर वर्षको १५–१८ लाखसम्म आम्दानी गरिरहेको कारण खोतल्ने चेष्टा इष्ट इन्डिया कम्पनीले नगरेको होइन । तर काठमाडौंको निषेधित व्यवहारले त्यो सम्भव भएन । यतिबेलासम्म नेपाल–तिब्बत व्यापारको यकिन हिसाब र फाइदाबारे कम्पनीलाई कमै जानकारी थियो । यससँग पृथ्वीनारायण भने पुरै जानकार थिए । (कर्कप्याट्रिक, २००७ । पृ. १७४–१७६)

नेपाल एकीकरण कुनै नश्ल वा रंग विशेष वा विरुद्धको अभियान थिएन । प्रविधि र शील्पप्रति सचेत पृथ्वीनारायणको ध्यान आधुनिक काठमाडौंको बनावटले तानिएको थियो । काठमाडौंको घर, मन्दिर र खानेपानीको व्यवस्थापन आदिमा उपयोग भएका उन्नत स्थपित ‘इन्जिनियरिङ’ तिब्बतसँग भइरहेको अत्यधिक नाफाको व्यापार, समथर तथा उब्जाउशील भौगोलिक बनावट नै काठमाडौंको पराजयको कारण हो । नेमुनि ऋषिको नामबाट नेपाल बनेको काठमाडौंको वैभवता नै युद्ध र पराजयको गर्भ थियो । सुनखानीबारे भ्रम पालेका हिन्दुस्तानी कस्सिम खानले त काठमाडौं हडप्ने असफल प्रयास नै गरेका थिए । जब उनले काठमाडौंबाट विहार र कलकत्तातिर गइरहेको सुन तिब्बतबाट आइरहेको कुरा थाहा पाए, तबमात्र उनी पछि हटेका थिए । जसले हिन्दुस्तानी हुँदै इष्ट इन्डिया कम्पनीको ध्यान त खिचियो नै । यो वैभवताले उपत्यकाका शासकलाई आपसमा मिल्नसमेत दिएन ।

गोर्खा राज्यको भौगोलिक अर्थतन्त्र अन्य राज्यको भन्दा कमसल र व्यापारसँग अमिल्दा थिए । क्षत्री तथा मगर लडाका र ब्राह्मणको खेतीले गोर्खाको अर्थतन्त्र धान्न मुस्किल थियो । यसभित्र न कुनै फलाम, तामा र सुनजस्ता धातुका खानी नै थिए । न त बेच्न मिल्ने कुनै उत्पादन नै हुन्थे । यसले गोर्खा राज्यलाई गरिब बनाएको थियो । पृथ्वीनारायणले गुज्रँदो परिस्थिति र व्यापारको महत्त्वलाई राम्ररी बुझेका थिए । बेच्ने कुरा नभएकाले गोरखा राज्य गरिब भयो भन्ने ज्ञान उनलाई भयो । यसैले युवावस्थामा नै उनी व्यापार जमाउन, पाल्पाली राजा मुकुन्द सेनको मद्दतमा बनारस पुगे । तर वाणिज्य कार्यालयका चौकीसँग (कारिन्दा) भएको झगडामा उनको कुटाइबाट चौकीवालाको मृत्यु भयो । वैरागीको मद्दतले गोर्खा फर्केका उनी त्यतिखेरै गोर्खाको वैभवता ल्याउन दत्तचित्त लागे । जुन नेपाल एकीकरणको परियोजना बनेर देखापर्‍यो । हतियार बन्दोबस्तदेखि व्यापारको चाँजोपाँजोमा निर्भर बन्ने कोसिस गरे । बनारसबाट बारुद आदि ल्याएर आफैंले फायरलक बनाए । यसबाट युरोपियनसमेत इर्ष्यालु बनेका थिए । इर्ष्यालु युरोपियनलाई राम्ररी बुझेका उनले आफ्ना भाइभारदारलाई युरोपियनसँग सजक रहन प्रेरित गरे । (बुकानन, २००७ । पृ. १७५–१८०)

काठमाडौंले आर्थिक समृद्धिको बलमा अन्य राज्यसँग सम्बन्ध गाँस्ने जाँगर देखाएन । व्यापार र सत्तामा अल्मलिएका यसका शासक नै काठमाडौंको सत्ता भत्किनुका कारण भए । बाहिरसँगको अन्तरराज्य व्यापार तथा सुरक्षा नीति सत्ता जोगाउन अपुग थियो । काठमाडौं हिन्दुस्तानसँग व्यापारले ज्यादा जोडिएको थियो । अन्य सम्बन्ध कमजोर थियो । यसले पृथ्वीनारायणलाई पटक–पटक हारेर पनि जित्ने ऐतिहासिक मौका दियो । काठमाडौं वा कीर्तिपुर, उपत्यकाका सबै राज्य एकै पटकको प्रयासमा हात लागेका राज्य होइनन् । आर्थिक वैभवता बाहेक सुरक्षाको मामलामा कमजोर, आपसी राजनीतिक गठबन्धनको विभाजन नै पृथ्वीनारायणका लागि जितको आधार बने ।

काठमाडौं उपत्यकाले पाल्पा, लमजुङ, मकवानपुर तथा विजयपुर जस्ता महत्त्वपूर्ण राज्यसँग राम्रो सम्बन्ध बनाउन नसक्दाको मूल्य पृथ्वीनारायणको जितमार्फत चुकायो । काठमाडौंसम्मको भूगोल र बाटोबारे राम्रो जानकारीसमेत नभएका इष्ट इन्डिया कम्पनी कमाण्डर किन्लकको भरोसा गर्नु नै कीर्तिपुर लगायत काठमाडौंमा तेह्र पुस्तासम्म चलेको ४४४ वर्ष लामो मल्ल शासन सकिने कारण बन्यो । किन्लकले पाटन काउन्सिलको अनुरोधमा काठमाडौं आउन, क्रमशः सन् १७६७, १७६९ र १७८१ मा गरेको प्रयास वाग्मती नदी र मकवानपुरको औलोले तुहाइदियो । यसले गोर्खाली अभियानलाई बल पुग्यो भने काठमाडौंलाई
निरीह बनाइदियो ।

काठमाडौंबासी, खासगरी कीर्तिपुरबासीको कमजोर संगठनात्मक बल, पृथ्वीनारायणले शासकीय वैधानिकता हत्याउने अर्को कारण बन्यो । बोल्ट डेभिड र वल्ड फिल्डका अनुसार २०० जनाब्राह्मण प्रयोग गरी फैलाइएको धार्मिक अफवाहलाई पर्गेल्नेतर्फ कीर्तिपुरबासीले सोच्न पनि भ्याएनन् । नुवाकोट दरबारमा बसेर दिएको निर्देशनले कीर्तिपुरमा शासन स्थापित गर्न सफल भए । निरन्तर सात वर्षसम्म पृथ्वीनारायणको सत्तालाई प्रतिरोध गरे पनि आपसी राजनीतिक खिचातानी र वैमनश्यताको परिणाम काठमाडौं उपत्यकाका नेवारले भोग्नुपर्‍यो।

प्रकाशित : पुस २८, २०७६ ०९:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पीआर प्रपञ्च

अस्ट्रेलियामा नेपालको पहिचान नै 'नक्कली बिहे गरेर भए पनि पीआर प्राप्त गर्न चाहने युवाहरुको देश' का रुपमा स्थापित हुन बेर छैन ।
उष्मा रिबेल

मेरी एक विद्यार्थीलाई अर्कै राज्यमा बसेको उनको प्रेमीले उनीहरूको नक्कली विवाहको प्रमाणपत्र बनाएर उनैको डिपेन्डेन्ट भिसामा बस्न निकै दबाब दिएको रहेछ । आफू यता मानसिक तनावमा रहेका बेला प्रेमीले जुवामा व्यस्त थिएँ भन्दै सन्ताप थपिदिएको पनि उनले मलाई सुनाएकी थिइन् । अचेल अस्ट्रेलियामा देखिएको एउटा प्रवृत्तिको उदाहरण हो यो । मान्छे र सम्बन्धको औचित्यै नभएजसरी गरिने पीआरको लोभ ।

अर्को सन्दर्भमा, केटीको डिपेन्डेन्ट भिसामार्फत पीआर लिएको पाँच–छ महिनापछि केटाले पाँच वर्ष पुरानो सम्बन्ध धरापमा रहेको कुरा आमाबाबुलाई सुनाउँछ । त्यसको प्रत्युत्तरमा आमाबाबुले भन्छन्, ‘के भो त ! एउटा गए दस वटा आउँछन् त्यस्ता अवसर । बच्चा पनि सय जना जन्मिन्छन्, पछि ।’

यति लामो सम्बन्ध कसरी टुट्यो वा बालबच्चाको भविष्य के हुन्छ भन्ने सोध्दै नसोधी ‘दस वटा अवसर आउँछन्’ भन्न कसरी सक्छन् नेपाली बाबुआमाले ? पीआरधारी महिला उनीहरूका लागि घरकी सदस्य नभई छोराका लागि पीआरको चिट्ठा मात्रै हुन् ? बच्चा जन्माउने योजना पनि पीआर प्राप्त गर्ने उद्देश्य अन्तर्गत नै थियो ? कुनै स्त्रीको प्रजनन अधिकारमाथिको खेलबाड होइन यो ? वरपरका मित्र, विद्यार्थी आफन्त र म स्वयंको पनि भोगाइ यस्तै छ । लामो समयदेखि विदेशमा बसिरहेकाले यस्ता घटना बारम्बार देख्दा र भोग्दा लाग्छ— विदेशमोहले नेपालीहरूलाई संवेदनहीन बनाइसकेको हो ? किन यसरी भिसा र पीआरका निम्ति नेपाली आमाबाबु, युवायुवती, कन्सल्टेन्सी र लमीहरू अनेक तिकडममा लागिरहेका हुन्छन् ?

फेसबुकमा ‘कन्फेसन अफ नेपाली इन अस्ट्रेलिया’ पेज सरसर्ती हेर्ने हो भने कहालीलाग्दा सत्यसँग साक्षात्कार हुन्छ । प्रायः गुनासा केटीहरूका हुन्छन्— पार्टनरले आफ्नो प्रजनन अधिकारको बेवास्ता गर्दै असुरक्षित यौनसम्पर्क गर्न राजी बनाएको, गर्भवती भएपछि फरार भएको, गर्भ रहेको खण्डमा बाबुका रूपमा बच्चाको जिम्मेवारी लिन सक्ने आँट नहुने गरेको, गर्भपातको खर्च नबेहोर्ने मात्रै होइन मानसिक, भावनात्मक र नैतिक आधार दिने संवेदनासम्म नदेखाउने गरेको ... ।

अचेल अस्ट्रेलियामा मानौं नक्कली विवाहको लहर चलेको छ । विदेश आएका र पीआरप्राप्त केटा वा केटीलाई पढ्नका लागि पैसा चाहिने, त्यसका लागि नेपालमा बिहे गरेका केटा वा केटीका परिवारले पैसा हालिदिने, पढाइ सकिएपछि केटा वा केटीले त्यही विवाहका आधारमा पीआर पाउने । भावनात्मक सम्बन्धबाट कोसौं पर हुन्छन् यस्ता विवाह । दुई–तीन वर्षको पढाइ सकेर भाषा परीक्षा आदि प्रक्रिया गर्दा पीआर आउन एक वर्षजति लाग्छ । पीआर लिएको दुई वर्षसम्म केटाकेटीले सम्बन्धमै रहिरहेको प्रमाण पेस नगरे, थोरै मात्र पनि शंका लागे सरकारले रद्द गरिदिन्छ । यसरी नक्कली विवाह गरेकाहरूका सक्कली पार्टनर पनि छन् भने पढाइ, नक्कली विवाह र पीआर प्राप्ति, त्यसपछि पनि दुई वर्ष कुरुन्जेल उनीहरूका सक्कली पार्टनरसँगको सम्बन्ध पनि धरापमा परिसकेको हुन्छ । कैयौं दाजु–बहिनी, मामा–भान्जी, अनेक आफन्त र नातागोताले समेत पीआरको लोभमा नक्कली विवाह गरेका किस्सा सुनिन थालेका छन् । कति त अझ चिनजानसम्म नभएका व्यक्तिलाई कन्सल्टेन्सीले पतिपत्नीका नाममा भिसा मिलाइदिएका हुन्छन् ।

मतभेद, पैसा र पीआरको कुरालाई लिएर पाएको धम्की, ब्ल्याकमेल वा आर्थिक–मानसिक दबाबका कारण भोग्नुपरेका स्वास्थ्य समस्या जस्ता कुरा पीआरको प्रपञ्चमा परेका युवायुवतीले उक्त पेजमा उल्लेख गर्ने गरेका छन् । त्यसमा कतिपय नेपाली युवाले निर्लज्जतापूर्वक ‘मलाई पीआर भएकी केटीको पर्खाइ छ, कृपया मेरो उद्धार गरिदेऊ’ सम्म लेखेको देखिन्छ । पढेलेखेका र अस्ट्रेलियन नागरिकको ट्याग झुन्ड्याएका महिलासँग जसरी पनि बिहे गर्ने, बच्चा जन्माउने, पीआर पाएपछि तुरुन्तै वैवाहिक सम्बन्ध तोड्ने, बच्चाको जिम्मेवारी नलिने, सम्बन्धलाई ‘अवसर’ का रूपमा लिने पुरुषका कारण घरबाहिरको काम र घरभित्र एकल अभिभावकको दोहोरो जिम्मेवारीमा परेका महिलाहरूको संख्या पनि ठूलो छ ।

यतिबेला मेरै वैवाहिक सम्बन्ध समाप्त भएको पनि धेरै भएको छैन । मेरो दोस्रो बच्चा निकै सानो छ । पहिलो बच्चा, १६ वर्षको छोराले त्यही उमेरका आम केटाले भन्दा निकै बढी जिम्मेवारी वहन गरिरहनुपरेको छ । आमाको अनुपस्थितिमा बहिनीको रेखदेखसहित घरको सम्पूर्ण काम उसैले गर्ने गरेको छ ।

फर्जी बिहा गरेर विदेश जान खोज्ने १८–२० उमेरका छोराछोरीलाई नरोक्ने, एउटा वैवाहिक सम्बन्ध टुटेर दोस्रो सम्बन्धका लागि राजी नहुँदा–नहुँदै उक्त महिलालाई पीआरका लागि बिहे गर्ने, छोराबुहारीको टुट्दो वैवाहिक सम्बन्धबारे ‘त्यस्ता सम्बन्ध हजार वटा आउँछन्’ आदि भन्ने स्थितिमा नेपाली समाज कसरी पुगिरहेको छ भन्ने कुरा सम्झिँदा कहिलेकाहीँ अत्यास लाग्छ मलाई । जसरी पनि विदेसिएर उतै अडिनुपर्छ भन्ने सोचमा हामी किन पुगिरहेका छौं ? यस्तै विवाहका कारण कतिपय व्यक्ति पक्राउ परेर स्वदेश फिर्ता पनि भइरहेका छन् । यो स्थिति बढ्दै गए, नेपालको पहिचान नै ‘नक्कली बिहे गरेर भए पनि पीआर प्राप्त गर्न चाहने युवाहरू भएको देश’ का रूपमा स्थापित हुन बेर छैन ।

आखिर कहाँ चुक्यौं हामी ? कसरी हाम्रा युवा यस्ता भए ? स्कुले पाठ्यक्रममा प्रजनन अधिकार शिक्षा भएको भए, आत्मनिर्भरता र जिम्मेवारीबोधबारे १२–१३ वर्षका विद्यार्थीलाई सिकाउन सकेको भए नेपाली सायद यति साह्रो गैरजिम्मेवार हुँदैनथे । कम्तीमा युवाहरूलाई अरूको अधिकार खोस्न हुन्न भन्ने चेत त आउने थियो ! कम्तीमा आफ्नो कर्मको फलको दायित्व आफैले बोक्नुपर्छ, अरू निर्दोषलाई आफूले लत्याएको दायित्वको भारी बोकाउन हुन्न भन्ने ज्ञान त आउने थियो !

धन्न, मैले चाहिँ आफ्नो छोरोलाई बेलैमा सबै जिम्मेवारी सिकाइछु ।

-उष्मा सिड्नीस्थित अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा नर्सिङ विषय पढाउँछिन् ।

प्रकाशित : पुस २८, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×