कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुबेलाको भ्रमण

सम्पादकीय

विनाशकारी डढेलोको अभूतपूर्व संकट झेलिरहेको अस्ट्रेलियालाई अहिले सम्पूर्ण विश्वले सहानुभूति प्रकट गरिरहेको छ । यही बेला पर्यटनमन्त्री योगेश भट्टराई भने नेपाल भ्रमण वर्ष–२०२० को प्रवर्द्धन गर्न त्यहाँ पुगेका छन् । अस्ट्रेलियाको सिड्नी पुगेका मन्त्री भट्टराईले नेतृत्व गरेको भ्रमण वर्षको औपचारिक र्‍यालीलाई स्थानीय सुरक्षाकर्मीले रोकेको र त्यहाँको ओपेरा हाउस क्षेत्रमा झन्डा–जुलुससहित र्‍याली गर्न नदिएको खबर अहिले चर्चामा छ ।

अस्ट्रेलियाले जुधिरहेको डढेलो जोकोहीका लागि विष्मयकारी छँदै छ, नेपालीलाई भने पछिल्लो खबरले थप विस्मित तुल्याएको छ– नेपालले आवश्यक संवेदनशीलता देखाउन नसकेकोमा ।


भ्रमण वर्षको पूर्वनिर्धारित प्रचार कार्यक्रममा कुनै मुलुकमा मन्त्री जानु अस्वाभाविक घटना होइन । त्यहाँ उनी सहभागी हुने कार्यक्रममा सुरक्षा अवरोध आउनु निश्चय पनि राम्रो कुरा होइन । यसमा स्थानीय आयोजकबाट कमजोरी भएको हुन सक्छ । तर, यो आफैंमा त्यति ठूलो विषय होइन, ठूलो कमजोरी त त्यहाँ यसबेला यसखाले कार्यक्रम गर्नुचाहिँ हो । अस्ट्रेलियामा जारी डढेलोको घटनामा समवेदना र सहानुभूति जनाउँदै अघिल्लो दिनमात्रै काठमाडौंबाट परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको विषय आफैंमा जति अर्थपूर्ण थियो, त्यसको भोलिपल्टै पर्यटन वर्षको निम्तो दिन र्‍याली लिएर अर्का मन्त्री सिड्नी पुग्नु भने लाजलाग्दो देखिएको छ । यो भ्रमण वर्षको सफलता/विफलताभन्दा गम्भीर विषय हो ।


समयको जस्तो सामाजिक सम्बन्ध हुन्छ, मानिसको मनोभावना त्यही अनुसार विकास भएको हुन्छ । उदाहरणका लागि, बिहान उठ्नेबित्तिकै र राति शयनकक्षमा सुन्ने संगीत फरकफरक हुन्छन् । हर्ष, शोक, उत्सव र लडाइँमा गरिने व्यवहार पनि फरकफरक नै हुन्छन् । यस हिसाबले अस्ट्रेलिया अहिले संकटको जुन घडीमा छ, पक्कै पनि यो त्यहाँका नागरिकलाई हाम्रो पर्यटन उत्सवमा सहभागी भइदेऊ भन्नका लागि उपयुक्त थिएन/छैन । गत सेप्टेम्बरबाट फैलिएको डढेलोका कारण अस्ट्रेलियामा कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ भने दुई हजार घरहरू नष्ट भएका छन् । जीवजन्तुमात्रै दसौं लाख मारिएको अनुमान छ । आपत् नियन्त्रण गर्न पहिलोचोटि सेना नै प्रयोग गर्नुपरेको छ । डढेलो प्रभावित क्षेत्रका सयौंलाई स्थानान्तरण गरिएको छ । उक्त क्षेत्रमा केही नेपाली परिवार पनि त्रासमा भएको समाचार छ ।


यस्तो बेलामा नेपालले देखाउनुपर्ने चासो त्यहाँको घटना र आफ्ना नागरिकको अवस्थाप्रति थियो । तर, सम्बद्ध मुलुकको असहज अवस्था ख्यालै नगरी आफ्नो देशको प्रचारप्रसार गर्न जानु उदेकलाग्दो घटना हो । सहजै अक्कल राख्न सकिने यो मामिलालाई देशका जिम्मेवार संयन्त्रहरूले मनन गर्न नसक्नु विडम्बनापूर्ण छ । पूर्वनिर्धारित नै भए पनि पर्यटन मन्त्रालय र मन्त्रीले व्यावसायिक प्रवर्द्धनको यो कार्यक्रम स्थगन गर्नु वा रोक्नु बुद्धिमानी हुन्थ्यो ।


अस्ट्रेलियास्थित नेपाली कूटनीतिक नियोगका पदाधिकारीले आफ्नो सरकारलाई त्यहाँको यथार्थ अवगत गराई त्यसैअनुसार कार्यक्रम बदल्न सुझाव दिन सक्थे । राजनीतिक आशीर्वादसहित भर्खरै कूटनीतिक जिम्मेवारी लिएर क्यानवेरा पुगेका राजदूतले सामान्य कूटनीतिक मर्यादा र कार्यशैली अनुसरण गर्न नसकेको यस घटनामा प्रस्टै देखिन्छ । यसले शासनसत्ता र मन्त्रीगण भनेपछि ‘जी–हजुरी’ गर्नमै रमाउने कूटनीतिक नियोगको प्रवृत्ति उजागर गरेको छ ।


फेरि, भ्रमण वर्ष सुरु भइसकेपछि यसबारे प्रवर्द्धन गर्ने विषय त्यति तर्कपूर्ण देखिँदैन । यस्ता प्रचारमुखी कार्यक्रम र अभियान त भ्रमण वर्ष नलाग्दै सकिसक्नुपर्ने हो । हतारिँदै मन्त्री स्वयं गन्तव्य देशहरूमा कुद्न थाल्नु भ्रमण वर्षको बजेट सक्ने ‘घुमघाम पर्यटन’ मात्रै देखिन्छ । विदेशस्थित तीन दर्जन नेपाली कूटनीतिक नियोगले आ–आफ्नै ढंगमा भ्रमण वर्ष–२०२० को शुभारम्भ गरिसकेका छन् । तर, ‘अस्ट्रेलियाबाट गत वर्ष ३० हजार नागरिक नेपाल भ्रमणमा आएका र यो वर्ष यो संख्या १ लाख पुर्‍याइने’ भन्दै कुदाकुदमा सरकारी टोली निस्कनुको तुक देखिँदैन । सामान्यतया आफ्नो व्यस्त दैनिकीबाट भ्रमणका लागि समय छुट्याउन कुनै पनि देशका नागरिकले हठात् सक्दैनन्, यस्तो योजना निकै पहिल्यै बनाइन्छ । त्यसैले यसबेला मन्त्री टोली अस्ट्रेलिया जानुको औचित्य कुनै पनि हिसाबले पुष्टि हुँदैन ।


अर्कोतर्फ, पर्यटन संयन्त्र सारमा होइन, रूप पक्षमा बढी ध्यान दिएर देखावटी काममा केन्द्रित भएको देखिन्छ । अस्ट्रेलियाबाट एक लाख पर्यटक भित्र्याउन लाग्दै गर्दा त्यहाँको सरकारको नेपाल बुझाइ के छ, अस्ट्रेलियालीहरूले नेपालमा भोग्नुपरेका समस्या के छन्, तिनको सुधारमा भने ध्यान दिइएको छैन । अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकका लागि जारी गरेको ‘ट्राभल एड्भाइजरी’ मा नेपालका यस्ता समस्यासमेत औंल्याइएको देखिन्छ– सानातिना विस्फोट देशभर हुन्छन्, काठमाडौंमा पनि । कहिलेकाहीँ राजनीतिक प्रदर्शनी र हडताल हुन्छन्, आधारभूत सेवा नै अवरुद्ध हुन सक्छन् । पकेटमारी र सानोतिनो चोरी सामान्य हो । यौनलगायतका दुर्व्यवहारको समस्या छ । काठमाडौंबाहिर भरपर्दो स्वास्थ्य सेवा छैन । ट्याक्सीहरू मिटरमा जान मान्दैनन् र बढी रकम असुल्छन् । आन्तरिक उडान नियमित छैन । यसबाहेक अस्ट्रेलियाले आफ्ना नागरिकलाई एक्लै नघुम्न र सार्वजनिक बस र भ्यान नचढ्न पनि भनेको छ ।


गत डिसेम्बर ९ मा मात्रै अद्यावधिक गरिएका यी सुझावमध्ये केही अतिरञ्जित पनि छन्, यसबारे नेपालले त्यहाँको सरकारलाई प्रस्ट्याउन आवश्यक छ । र, नेपालमा विद्यमान खास समस्यालाई समाधान गर्न पनि उत्तिकै जरुरी छ । अनि पो नेपालमा पर्यटन विकास हुन सक्छ, नकि श्रृंगारात्मक पक्षमा मात्र ध्यान दिएर गरिने बेला–कुबेलाको विदेश भ्रमणले ।

प्रकाशित : पुस २४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?