कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेती धान्ने महिलाहरू

सुजाता तामाङ

हाम्रो जीविका, संस्कृति र समाज धान्ने र प्रकृति जोगाउने कोही छन् भने ती स्वावलम्बी किसान हुन् । त्यसमा पनि रातोदिन कुप्री परेर घरदेखि खेतबारीसम्म हाड घोट्ने गाँउघरका महिला हुन् । विडम्बना, यिनै किसान महिला मुलुकमा सबैभन्दा बढी सीमान्तकृत र अपहेलित छन् । नेपालको कृषि बिग्रेकामा सबैभन्दा पीर उनीहरूलाई नै छ र चिन्तित पनि उनै छन् ।

खेती धान्ने महिलाहरू

किनकि खेतीपाती र पोषणयुक्त खानेकुराको मर्म उनीहरूले जति सायदै कसैले बुझेको छ । उनीहरू घरपरिवार चलाउन रातोदिन खेतबारीमा खट्ने श्रमिक मात्र होइनन्, प्रकृतिजस्तै विशाल मन भएका आमा पनि हुन् ।


अहिले नेपाली समाज सामाजिक, आर्थिक र राजनीतिक हिसाबले बदलिँदै गएको छ । खाडी मुलुकहरूमा बढेको रोजगारीको अवसरसँगै गाउँघरबाट युवाहरू, विशेष गरी पुरुषहरू बाहिरिने क्रम बढिरहेको छ, रेमिट्यान्समा निर्भरता बढेको छ र सँगै खेतीपातीबाट टाढिने सिलसिला पनि । सँगै, जमिन बाँझो छोड्ने, सहरतिर बसाइँ सर्ने प्रक्रिया पनि तीव्र हुँदै गएको छ । यस प्रक्रियाले समग्रमा सिंगो समाज र खेतीपातीका आधारमा जीविका गर्दै आएका परिवार, खास गरी महिलाहरूमा भिन्नभिन्न असर पारिरहेको छ ।


खेतीपातीमा पौरख देखाउने, आधा आकाश भनिने महिला किसानहरूको योगदानको कदर या उनीहरूको पहिचान त्यहीअनुसार भएको छ कि छैन, उनीहरूले सामाजिक, नीतिगत र व्यावहारिक हिसाबले सजिलो–अप्ठ्यारो के झेल्नुपरेको छ र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने प्रश्नको उत्तरले मात्र हाम्रो समग्र कृषि क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने बाटो पहिल्याउन सक्छ ।


खेतीपातीको परम्परामा महिला र पुरुषले गर्ने भूमिकाहरू तोकिएका हुन्छन् । खेतीपातीमा महिला भूमिकाको कुरा गर्नेबित्तिकै आमा, दिदीबहिनीको कडा मिहिनेत र श्रमको मात्र चित्र बन्छ, तर उत्पादक, उद्यमी, व्यवसायी या घरधनीकै रूपमा उनीहरूको हैसियत हुनुपर्ने विषयबारे चर्चा हुँदैन । हाम्रोजस्तो पुरुषप्रधान समाजमा पुरुषचाहिँ किसान हुन्छ भने, महिलाको योगदान किसानीभन्दा श्रमका रूपमा मात्र गणना हुन्छ । हामी धेरैले आफ्नै गाउँघर र समाजमा सानैदेखि देखेको र अझै पनि देखिने चित्र यही हो । महिला भूमिकाको पहिचान र उनीहरूको आवश्यकताको सम्बोधन परिवार, समाज या राज्यले कसरी गर्न सक्छ, महिला–पुरुष समानताका सन्दर्भमा अहिलेको मूल प्रश्न यही हो ।


माथि भनेजस्तो सामाजिक, आर्थिक र राजनीतिक कारणले विशेषतः पुरुषहरू घरपरिवार र गाउँमा कमै बस्ने भएका छन् । तिनकै कारण खेतीपाती छोड्ने र सहर पस्ने या पस्न आर्थिक हैसियत राख्ने या बाध्यताले सहर पस्ने महिलाबाहेक अन्यलाई कामको बोझ ह्वात्तै बढेको छ । त्यसै गरी विगतका तुलनामा महिलाहरूमा घरपरिवारसम्बन्धी निर्णय गर्ने अवसरमा केही हदसम्म भएको वृद्धिलाई सकारात्मक रूपमा लिन सकिन्छ, तर पुरुष हैकमको परम्परा भएका परिवारमा यो सुयोग खुद्राखुद्री र झिनामसिना निर्णयहरूमा मात्र सीमित छ । मुख्य या महत्त्वपूर्ण घरव्यवहार, खेतीपातीसम्बद्ध निर्णयहरू अहिले पनि अनुपस्थित पुरुषले नै गर्छन् या परिवारको बनोटअनुसार घरका अन्य पुरुष (ससुरा, देवर) या माइतमा बासँग सल्लाह गरेर गरिन्छन् । इन्टरनेट र मोबाइलको जमानामा फेसबुक मेसेन्जर, इमो, भाइबर आदिको उपलब्धताले यो नियन्त्रणमुखी प्रक्रियालाई अझै सहज बनाएको छ । अझ कतिपय महिला त नयाँ प्रविधिले आफूमाथि थप निगरानी बढेको गुनासोसमेत गर्ने गर्छन् । केही हदसम्म खेतीपातीसम्बद्ध या सामुदायिक कार्यमा महिला किसानको सहभागिता र प्रतिनिधित्व बढेको छ । तर यस्तो हुनुको कारण हो— घरमा प्रतिनिधित्व गर्ने पुरुष नहुनु वा पुरुष सदस्यहरूमा यसप्रति चासो नहुनु ।


महिला किसानको हिसाबले अर्को महत्त्वपूर्ण पाटो स्रोतमाथि उनीहरूको पहुँच र नियन्त्रण पनि हो । स्रोतसम्म महिलाको पहुँचमा खासै परिवर्तन आउन सकेको छैन । हुन त महिला किसानको कुरा गर्दा, रेमिट्यान्सका कारण तिनमा अलि बदलाव आएको छÙ नयाँ मोबाइल, नयाँ लत्ताकपडा, गरगहना लगाएका कुराले राम्रै चर्चा पाउने गरेका छन्Ù तर हाम्रो परम्पराअनुसार पैतृक सम्पत्ति पुरुषले नै पाउने भएकाले अहिले पनि जमिनको स्वामित्वको मुख्य हिस्सा पुरुष किसानमै छ । त्यसबाहेक रेमिट्यान्सबाट सहरबजारमा जुटाउन सकेका केही घडेरी महिलाहरूका नाममा राख्ने चलन बढे पनि बुझ्नुपर्ने तथ्य के हो भने, कागजी स्वामित्व हुँदैमा नियन्त्रण हुन्छ भन्ने छैन ।


प्रायः घडेरी प्रयोजनका लागि किनेको त्यस्तो जमिन श्रीमान्को अनुपस्थितिमा व्यवहार चलाउन (जस्तो— बैंकको ऋणका लागि धितो राख्न) सजिलो होस् भनेर श्रीमतीका नाममा गरिएको पाइन्छ । त्यसै गरी पुरुष बाहिरिएसँगै रेमिट्यान्सको केही अंशमा (घरखर्चका रूपमा चलाउन) महिलाहरूको पहुँच बढेको छ, तर जमिनमा जस्तै ठूलो लगानी वा ठूलो निर्णयको प्रसंग आउँदा पुरुषकै भूमिका मुख्य मान्ने गरिन्छ । तसर्थ रेमिट्यान्सले पनि, भविष्यको हिसाबले, उनीहरूको सम्पत्तिमाथिको पहुँच अनुभूति हुने किसिमले बढाउन सकेको छैन ।


अझ चाखलाग्दो कुरा के छ भने, उपर्युक्त फेरबदल अर्थात् महिलाकरणको प्रभाव महिलालाई नै धेरै परेको छ । तर यस्तो प्रभाव सबै महिला किसानमा समान रूपले पर्न सकेको छैन । किनकि महिला र पुरुषबीचका विभेदकारी अभ्यास, विभिन्न समूहबीच हुने तहगत सम्बन्ध र विद्यमान पितृसत्तात्मक अभ्यासहरूले पुरानै कुरालाई जोगाइराखेका छन् । अर्कातिर, घरपरिवारको वर्गीय हैसियतसँगै महिलाको आर्थिक–सामाजिक हैसियतसमेत फरक पर्ने हुँदा यस्तो प्रभाव लिंग, जातजाति र वर्ग समूहअनुरूप भिन्न हुन्छ नै । खास गरी स्रोत (जमिन, वित्त), सामाजिक निर्णय र नेतृत्वकारी भूमिकामा हुने पहुँच लगायतले यसलाई फरक पार्छ ।


महिलाहरूलाई मात्र सधैं खेतीपातीमै सीमित राख्ने हो र भन्ने प्रश्न पनि यदाकदा सुनिन्छ, जुन खेतीपातीको मर्मका हिसाबले निकै सतही छ । किनकि पारिवारिक कृषि श्रमिकका रूपमा रहेका महिलासहित समाजका

सबै क्षेत्र, वर्ग, लिंग र जातजातिले खेतीपातीको आधारभूत अभ्यास गर्न नहुने मानसिकता नै अहिले किसानी पेसा हेला हुनुको प्रमुख कारण हो । साथै, पुरुष पौरख भन्ने धारणाको पर्खाल भत्काएर महिला उत्तिकै सक्षम रहेको मान्यता स्थापित गर्न नसकेसम्म लैंगिक समानता र समावेशिताको मर्म समेटिँदैन । यस अर्थमा, खेतीपातीमै उद्यमशील हुन चाहने महिलालाई कसरी सघाउने भन्ने प्रश्न अहं छ । यसका लागि महिलाको किसानी अधिकार सुरक्षित गर्दै खेतीपातीका महत्त्वपूर्ण स्रोतमा उनीहरूको स्वामित्व बढाउनुपर्छ, जसबाट अहिलेसम्म वञ्चित छन् । उदाहरणका लागि, सम्पत्ति र खेतीपातीको मुख्य आधार जमिनमा उनीहरूको औपचारिक स्वामित्व २० प्रतिशत हाराहारी देखिन्छ, जसको ठूलो हिस्सा सहरमा भएका घरघडेरीले ओगट्छन् । विशेष गरी खेतीकिसानी नै गर्ने र ग्रामीण भेगमा बस्ने महिलाहरूको स्वामित्वमा यस्तो जमिन छैन भन्दा फरक पर्दैन । व्यावहारिक रूपमा यो अधिकारमा समेत पुरुषकै हैकम छ ।


पुरुषहरू, मुख्यतः युवाहरू एकातिर काम पाइएन भनेर विदेसिएका छन्, जमिन बाँझो छ, महिला किसानहरूको कार्यभार बढेको बढ्यै छ; अर्कातिर देशमा रोजगारी छैन, खेतीपातीमा श्रम अभाव छ या भएकाहरू पनि कृषि श्रमिक हुन तयार छैनन् । खाद्यान्न आयात पनि बढिराखेको छ । त्यसै गरी एकचौथाइ मान्छेहरूसँग, जो खेतीपाती गर्न चाहन्छन्, जमिन छैन । अनि त्यति नै या त्योभन्दा बढीले कृषियोग्य जमिन बाँझो छोड्दै छन् । यसले हाम्रो खेतीपातीको सवाल निकै जेलिएको छ भन्ने इंगित गर्छ, जसलाई राजनीतिक रूपमै सम्बोधन गरिनु आवश्यक छ । यसका लागि भूमिको प्रयोग, स्रोतमाथिको पहुँच र नियन्त्रण अनि निर्णयमा महिला सहभागिता आदिमा परिवर्तनकारी दृष्टिकोण अवलम्बन गर्नुपर्छ । नीतिगत सम्बोधनसहित, विशेष गरी सीमान्तकृत वर्ग, त्यसमा पनि महिला किसानको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।


हुन त सिंगो खेतीपातीको कुरा गर्दा सबै किसान या खेतबारीमा रातोदिन खट्नेहरू परिचयविहीन बन्दै, अपहेलित र उपेक्षित हुँदै मुग्लान पस्न विवश भएको अवस्थामा महिला किसानको अधिकार र आवाज कति सुनिएला ? तर त्यस्तो आवाज र अनुभव सुन्दै खेतीपातीमाथि उनीहरूको अधिकार सुरक्षित नगरे नेपालको खेतीपाती सुध्रिँदैन । कृषि कर्मसम्बन्धी सीप, दक्षता, सेवा र सुविधामा महिलाको अधिकार सुनिश्चित गर्न सक्नुपर्छ ।


महिला मात्र नभई आम किसानको हिसाबले पनि हाम्रो खाद्य र खेती प्रणाली कता जाँदै छ, रेमिट्यान्सले सधैं हाम्रो व्यवहार धानिन्छ कि धानिन्न, आयात गरेको खाद्यान्नले कति जनताले पेटभरि र पोषणयुक्त खान पाउलान् भन्ने सवाल अहिले ज्वलन्त बनेका छन् । यीसँगै महिला किसानहरूका मुद्दालाई सम्बोधन गर्नु अपरिहार्य भइसकेको छ ।


अन्त्यमा, नेपाली समाजलाई उन्नत बनाउन खेतीपातीको विकल्प छैन भन्ने तथ्यलाई आत्मसात् गर्दै त्यसैलाई उन्नत पार्न र त्यसैमा आधारित उद्यमशीलताको विकास गर्न सके महिला किसानहरूका लागि यो ठूलो सहयोग हुनेछ । यसो हुन सके अहिले जति महिला खेतीपातीमा संलग्न छन्, उनीहरू यही काममा उत्साहित भइरहन सक्नेछन् ।

प्रकाशित : पुस २०, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?