कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्बन्ध पढाइ र खाजाको

मधु राई

सन् ७० को दशकमा भारतमा प्रावि तहको शिक्षा हासिल गर्ने मजस्ता धेरैलाई पढाइले भन्दा विद्यालयले निःशुल्क बाँड्ने खाजाले आकर्षित गर्ने गर्थ्यो । दिउँसो चार स्लाइस पाउरोटी र एउटा उसिनेको अन्डा तथा बेलुकी बिदाको घण्टी लागेपछि सबैलाई भुइँमा बसाएर लिटो बाँडिन्थ्यो ।

सम्बन्ध पढाइ र खाजाको

लिटोका लागि सबैले घरैबाट बटुका, मग वा कप लिएर जानुपर्थ्यो । मेरो गाउँबाट म सबैभन्दा जेठोपाको भएकीले छिमेकी भाइबहिनीहरूले लिटो खाने सामग्री बोके–बोकेनन् भनेर सधैं हेरिदिनुपर्थ्यो । त्यति मात्र होइन, उनीहरूलाई भुइँमा बसाएर खुवाउने जिम्मा पनि मेरै थियो ।


भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले तिनताक प्रावि तहका बालबालिकालाई शिक्षा हासिल गर्ने अवसर प्राप्त होओस् भनेर सुरु गरेको खाजा कार्यक्रमले अहिले माविसम्मका विद्यार्थीलाई आकर्षित गरेको पाइन्छ । उस बेला ससाना विद्यार्थीको रुचि अनुसार खाजा बाँडिन्थ्यो भने, अचेल ठूला विद्यार्थीलाई लक्षित गरी साताको एक दिन दिउँसो मांसाहारी खाना दिने गरेको केही वर्षअघि आफू पढेको विद्यालय जाँदा मैले थाहा पाएँ ।


पछिल्लो समय भारतैभरि सरकारी विद्यालयमा मात्र होइन, गाउँटोलमा सञ्चालित आँगनबाडी अर्थात् बालविकास कक्षामा आउने विद्यार्थीका लागि छुट्टै कर्मचारी राखी स्थानीय निकायले खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसरी प्रावि तहमा विद्यालयले दिने निःशुल्क खाजा खाँदै स्कुले शिक्षा हासिल गरेकीले हुनुपर्छ, मैले पनि आफूले स्थापना गरेको पूर्वप्राविका बालबालिकालाई स्थापनाकालदेखि नै खाजा खुवाउने गरेकी छु ।


विद्यार्थीले सकेसम्म बाहिरको तयारी खाजा नखाऊन् भन्ने मुख्य उद्देश्य राखी सञ्चालन गरिएको खाजा कार्यक्रमसँगै हामीले मैदा हटाऊ अभियान थालेका छौं । साप्ताहिक ‘मेनु’ बनाई मैदाका परिकारलाई विस्थापित गर्न आफैले बनाएको आँटाको चाउचाउ, थुक्पा, जाउलो, खीर र कोदाको सेलसँगै बेलाबेला कोदाकै मम खुवाउने गरेका छौं ।


सहरका कतिपय शिक्षित र हुनेखाने अभिभावकमा आफ्ना ससाना छोराछारीलाई पौष्टिक खाना खुवाउनुपर्छ भन्ने चेत पलाउँदै गएको छ । साना विद्यार्थीलाई के पढाउनेभन्दा पनि कस्तो पौष्टिक खाजा र खाना खुवाउने भन्ने चासो, चिन्ता प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अभिभावकहरूमा बढ्दै जानु राम्रो हो । नयाँ विद्यार्थीले फाट्टफुट्ट रूपमा तयारी खाजा ल्याए पनि पुराना विद्यार्थी र अभिभावकलाई विद्यालयले तयारी खाजा बन्देज गरेको छ भन्ने थाहा पाउँदै छन् । तयारी खाजाको धमाकेदार विज्ञापन र बजारीकरणले बालबालिकालाई नराम्ररी आकर्षित गर्दै छ । के हुनेखाने, के हुँदा खाने, सबै अभिभावक निरीह बन्दै छन्, तयारी खाजाको मामिलामा ।


अहिले सहरी क्षेत्रका कतिपय विद्यालयले तयारी खाजा ल्याउन बन्देज गरेका छन् । साथै कतिपय पूर्वप्रावि र मन्टेसरीले खाजा कार्यक्रम सुरु गरेकाले थोरै भए पनि तयारी खाजा खानु हुँदैन भन्ने सचेतना बढ्दै छ, विद्यार्थी र अभिभावकहरूमा । तथापि अधिकांश मन्टेसरीले खाजा र खाना गरी दैनिक तीन पटकसम्म साना विद्यार्थीलाई खुवाउने गरेका छन् भने, कतिपय यस्ता मन्टेसरीले दिने खाजामा बट्टाको जुस, बिस्कुट तथा मैदाकै चाउचाउ लगायतका परिकार हुने गरेका छन् ।


मन्टेसरीहरूले अभिभावकहरूसँग पौष्टिक खाजा र खाना खुवाउने वाचा गरेर तयारी खाजा खुवाउनु भनेको विश्वासघात गर्नु हो । किनभने अधिकांश यस्ता मन्टेसरीमा उमेर नपुगेका विद्यार्थीहरू भर्ना गरिने हुनाले उनीहरूको सम्पूर्ण स्वास्थ्यको ख्याल गरी पोषिलो र परम्परागत खाजा र खाना दिनुपर्ने हुन्छ । यस्ता साना बालबालिकालाई के पढाउनेभन्दा पनि कसरी स्वस्थ राख्ने भन्ने चासो–चिन्ता महत्त्वपूर्ण हुन्छ ।


पूर्वप्रावि र प्रावि तहका बालबालिकालाई पढाइसँगै पौष्टिक खानेकुरा खुवाउने विषयमा विद्यालय व्यवस्थापनले शिक्षक, सहजकर्ता, कर्मचारी र अभिभावकबीच अभिमुखी कार्यक्रम गर्न जरुरी छ । किनभने कतिपय अभिभावकले तयारी खाजाको नकारात्मक प्रभावबारे थाहा नपाएर पनि तयारी खाजा खुवाउने गरेको अध्ययन–अनुसन्धानले देखाएका छन् ।


अझै पनि परम्परागत र पोषिलो खानाको महत्त्व ओझेलमा परेको छ भने, परम्परागत र पोषिलो खानाको प्रबर्द्धन गर्न राज्यसमेत चुकेको छ । यसैको परिणाम भन्नुपर्छ, सहरी क्षेत्रका कतिपय हुनेखाने र शिक्षित अभिभावकहरू कोदाको परिकारलाई हेला गर्छन् । विगतमा यस्तै अन्न खाएर हुर्केका कतिपय अभिभावकले सहरबासी हुनेबित्तिकै कोदो र फापरका परिकारलाई हेयको दृष्टि लाउनु भनेको फेरि पनि मैदाजस्तो मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने अन्नको पैरवी गर्नु हो ।


केही समययता दुर्गम जिल्लाका कतिपय सामुदायिक विद्यालयमा सरकारले खाजा कार्यक्रम सुरु गरेको समाचार आउने गरेको छ । तथापि यस्ता खाजा कार्यक्रम अन्तर्गत केकस्ता अन्न र परिकार खुवाइन्छन् भन्ने अझै जनसमक्ष आउन सकेको छैन ।


ससाना बालबालिकालाई विद्यालयमा टिकाइराख्न भारत सरकारले जस्तै नेपाल सरकारले पनि सामुदायिकका प्रावि तहसम्म खाजा उपलब्ध गराउने हो भने विद्यालय छाड्ने विद्यार्थीहरूको संख्यामा कमी आउनेछ । यसका लागि जनप्रतिनिधिहरूले आफ्ना वडामा सञ्चालित सामुदायिक विद्यालयहरूलाई भौतिक संरचना निर्माण गर्नमा जस्तै खाजा कार्यक्रम सञ्चालन गर्न पनि बजेट विनियोजन गर्न जरुरी छ ।

प्रकाशित : पुस १०, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?