कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राध्यापकको सुरक्षा

गत मङ्सिर ९ गते देशको पहिलो उच्च शैक्षिक संस्था त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख तथा रसायनशास्त्रका प्राध्यापक प्रदीपबहादुर न्यौपाने विद्यार्थीबाट निर्ममतापूर्वक पिटिए । क्याम्पसले बीएस्सी र बीए शैक्षिक कार्यक्रममा शुल्क बढाएको विरोधमा विद्यार्थीले उनीमाथि आक्रमण गरेका थिए । त्रिभुवन विश्वविद्यालयले २०६५ सालमा नै सम्पूर्ण आङ्गिक क्याम्पसहरूलाई व्यवस्थापकीय निर्णयबाट शुल्क बढाउन निर्देशन दिएको थियो ।

प्राध्यापकको सुरक्षा

त्रिविको उक्त निर्देशन अनुसार २/४ वटा आङ्गिक क्याम्पसले मात्र शैक्षिक शुल्क समायोजन गरेका छन् । बाँकीले विद्यार्थी सङ्गठनहरूको दबाबका कारण शुल्क वृद्धि गर्ने जोखिम मोल्ने आँट गरेको पाइँदैन । परिणामस्वरूप त्रिविको आर्थिक दायित्व आङ्गिक क्याम्पसमा प्रतिवर्ष बढ्दै गएको छ । र त्यसको प्रत्यक्ष असर शैक्षिक गुणस्तर र अनुसन्धानमा परेको छ । त्रिचन्द्र क्याम्पस प्रमुखले शुल्क वृद्धिको जोखिम मोलेका कारण विद्यार्थीबाट अमानवीय किसिमले पिटिए । स्मरण रहोस्, त्रिविका सबै आङ्गिक क्याम्पसमा शैक्षिक शुल्क ज्यादै कम छ ।


सिसिटिभी फुटेज तथा मोबाइलमा खिचिएको भिडियोमा विद्यार्थीको हुलले शौचालय गएका प्रमुखलाई ढोकामा कुरेर बाहिर निस्किनासाथ लछारपछार गर्दै हात र खुट्टाले बेस्सरी हान्दै भर्‍याङबाट लडाउँदै क्याम्पस भवन बाहिर निकालेको देखिन्छ । विद्यार्थीले यति अमानवीय र निर्दयी भएर प्रमुखलाई पिटेका छन् कि जसको शब्दमा बयान गर्न गाह्रो छ । क्याम्पस प्रमुखलाई पिटेर डङ्ग्रङ्ग सडकमा विद्यार्थीले पछारेको उक्त भिडियोमा देखिन्छ । सायद यस्तो जङ्गली र उच्छृंखल गतिविधि विश्वका कुनै पनि शैक्षिक संस्थामा भएको छैन । साथै यो घटनाले विद्यार्थी राजनीतिको कारण नेपालमा उच्चशिक्षा सुधार सहज छैन भन्ने सन्देश दिएको छ ।


त्रिविले स्नातकोत्तर तहमा वार्षिक प्रणाली हटाएर सेमेस्टर प्रणाली लागू गरेको भए पनि विदेशी विश्वविधालयको जस्तो सेमेस्टर प्रणालीको अभ्यास नेपालमा लागू हुनसकेको छैन । विद्यार्थी राजनीतिसँग डराएर नेपालका सबै विश्वविद्यालयले आन्तरिक र बाह्य परीक्षा भनेर सेमेस्टर प्रणालीको नौलो प्रयोग गरिरहेका छन् । सेमेस्टर प्रणालीको आत्मा भनेको विद्यार्थी केन्द्रित शिक्षण र मूल्याङ्कन हो । तर जब विद्यार्थी प्राध्यापक कुटपिटमा ओर्लिन्छन्, तब कुनै शैक्षिक संस्था व्यावहारिक सेमेस्टर प्रणाली लागू गर्ने जोखिम लिन तयार हुँदैनन् । जसको कारण उच्चशिक्षाको गुणस्तरमा सम्झौता हुँदै आएको छ ।


विगतमा जस्तै यसपटक पनि वार्षिक शुल्क वृद्धिको विद्यार्थी सङ्गठनहरूले विरोध गर्ने सम्भावना देखेर नै होला, क्याम्पस प्रमुख न्यौपानेले अघिल्लो दिन नै प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन भनेका रहेछन् । घटना भएको दिन बिहान प्रहरीले सुरक्षा व्यवस्था राम्रो छ भनेकाले न्यौपाने क्याम्पस गएका रहेछन् । तर क्याम्पसमा सुरक्षाको व्यवस्था केही पनि थिएन । क्याम्पस प्रमुखको आग्रह अनुरूप सुरक्षा व्यवस्था गरिदिएको भए यो हदसम्मको मानवता विरोधी घटना हुने नै थिएन । त्रिचन्द्रमा विगतमा पनि पटक–पटक विद्यार्थीले प्राध्यापक पिट्ने र पछि घटनालाई मेलमिलापमा टुङ्गाउने बानी प्रहरीलाई परेको देखिन्छ । शुल्क वृद्धिको विरोधस्वरूप उक्त दिन नेपाल विद्यार्थी सङ्गले क्याम्पस प्रमुखको कार्यकक्षमा बिहान ८ बजे नै ताल्चा लगाएको रहेछ । क्याम्पस प्रमुखलाई कुटपिट गर्ने काम साढे ११ बजेतिर अनेरास्ववियुको नेतृत्वमा भएको रहेछ । उक्त घटनामा प्रहरीले त्रिचन्द्रका अनेरास्ववियु अध्यक्ष लगायत ३ जनालाई हिरासतमा लिए पनि हाल उनीहरू हिरासतमुक्त भइसकेका छन् ।


शुल्क वृद्धिको निर्णय पनि फिर्ता भइसकेको छ । वास्तवमा त्रिचन्द्रमा यसरी प्राध्यापकहरू पिटिँदै आएको दुई दशक भइसकेको रहेछ । माइक्रोबायोलोजी विभागमा एक शिक्षक विद्यार्थीबाट केही वर्षअघि पिटिएछन् ।


रसायनशास्त्रको प्रयोगात्मक परीक्षामा गार्ड बसेका एक उपप्राध्यापक पनि केही समयअघि पिटिएछन् । विगतमा सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रमुख पिटिएको घटना त अनगिन्ती रहेछन् । तर यी सबै घटना ढाकछोप र मेलमिलापमा टुङ्गिदै आएको रहेछ । प्राध्यापकलाई विद्यार्थीले कुटपिट गरेको जघन्य अपराधको फाइल यसरी मेलमिलापमा टुङ्गाउँदा प्राज्ञिक क्षेत्रमा गलत नजिर स्थापित भएको छ । नेपाल प्रहरीले राजनीतिक दबाबमा प्राध्यापक पिटिएको घटनालाई ढाकछोप गर्दा सम्पूर्ण प्राज्ञिक जगतको शिर निहुरिएको छ भने नेपाल प्रहरीको पेसागत इमानदारितामा गहन प्रश्न उठेको छ ।


हाल त्रिचन्द्रमा ४० जना विद्यार्थीको क्षमता भएको विज्ञानको प्रयोगशालामा दुई सय जनाले अध्ययन गरेको तथ्य सजिलै भेटिन्छ । प्रयोगशालाहरू उपकरणविहीन छन् । बीएस्सीका विद्यार्थीले पाठ्यक्रम अनुसार १० प्रतिशत पनि प्रयोगात्मक ज्ञान हासिल गर्नसकेका छैनन् । नियमित क्याम्पस जाने विद्यार्थीले पनि बागबजारको कोचिङ सेन्टरमा नपढी पास गर्न सक्दैनन् । तर विडम्बना, विद्यार्थी सङ्गठनहरू त्यस्ता विषयलाई शैक्षिक मुद्दा बनाउन असफल छन् । उल्टो बीएस्सीको प्रयोगात्मक परीक्षामा विद्यार्थीलाई बढी नम्बर दिन पनि ती सङ्गठनहरूले शिक्षकलाई दबाब दिने रहेछन् । विडम्बना, विद्यार्थीबाट पिटिइने डरले प्राध्यापकहरू पनि गलत किसिमले प्रयोगात्मक परीक्षामा नम्बर दिन पछि पर्दैनन् । कक्षामा विद्यार्थीलाई प्राध्यापकले सिकाउने क्रममा केही भन्न सक्ने स्थिति छैन । सही सुझावलाई पनि गलत अर्थ लगाएर विद्यार्थी नेताबाट पिटिने डरले उनीहरू चुपचाप छन् । देशको सबैभन्दा ठूलो क्याम्पसमा यस्तो कहालीलाग्दो स्थिति भएपछि गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु निरर्थक छ ।


सधैं ससाना विषयमा समेत नाराबाजी र जुलुस हुने देशमा त्रिचन्द्रका प्राध्यापकहरू पटक–पटक पिटिँदा पनि मौनता छाएको छ । द्वन्द्वकाल होस् वा शान्तिकाल शैक्षिक संस्थामाथि आक्रमण गरिनु हुँदैन भन्नेहरू प्राध्यापक पिटिँदा मौन छन् । अन्यत्रको कुरै छाडौं, त्रिचन्द्रकै प्राध्यापकहरूसमेत बोल्नसकेका छैनन् । यो घटनापछि अब प्राध्यापकहरू कसरी र कुन आत्मविश्वास बोकेर कक्षाकोठामा प्रवेश गर्लान् ? एउटा क्षमतावान प्राध्यापकले हरेक प्रकारको दु:खकष्ट सहन सक्छ । तर आफ्नै विद्यार्थीबाट अपमानित भएको कदापि सहन सक्दैन । दु:खद पक्ष, देशका ठूला दैनिकहरूमा पनि यो समाचारले प्रमुख स्थान पाएन । अधिकारका वकालत गर्न खोलिएका संस्थाहरूले एउटा प्राध्यापकको पनि सुरक्षित रूपले पढाउन पाउने र बाँच्न पाउने अधिकार हुन्छ भन्ने बुझेनन् ।


त्रिचचन्द्रको बीएस्सीमा पहिलो वर्षका विद्यार्थी चौथो वर्ष पुग्दा पढाइ छाड्ने क्रम तीव्र देखिएको छ । करिब ४० प्रतिशत विद्यार्थीले मात्र पढाइ पूरा गर्छन् । यस क्याम्पसमा बीएस्सीमा दक्षिण एसियामा नै सबैभन्दा बढी अर्थात् १८ वटा फरक समूह (विषय) मा अध्ययन–अध्यापन हुने गरेको छ । त्रिविले उक्त १८ वटा फरक बीएस्सीको समूहमा विद्यार्थीको निश्चित कोटा निर्धारण गरेको छैन । जसको कारण प्रयोगशालादेखि सैद्धान्तिक कक्षासम्मको पढाइ प्रभावित भएको देखिन्छ । विश्वविद्यालय अनुदान आयोगको एक अध्ययन समितिको प्रतिवेदन अनुसार त्रिचन्द्रमा बीएस्सी शैक्षिक कार्यक्रमको क्षमता एक हजारभन्दा बढी छैन । तर कुनै समय यहाँ चार हजारभन्दा बढी विद्यार्थी भर्ना भएको पाइन्छ । विद्यार्थी राजनीतिको चरम दुरुपयोग हुँदै आएको त्रिचन्द्रमा त्रिविले बीएस्सीमा पच्चिस सय विद्यार्थीको कोटा तोकेको छ । त्यतिबेला यसरी अवैज्ञानिक किसिमले त्रिविले कोटा नतोकेको भए सायद त्यतिबेलाका विज्ञान संकायका डिन पनि पिटिन्थे होलान् ?


यस क्याम्पसमा आंशिक शिक्षकको संख्या डरलाग्दो छ । करिब दुई सय आंशिक शिक्षक विज्ञानतर्फ मात्र भएको अनुमान छ । त्यति हुँदा पनि बायोकेमेष्ट्री, न्यानो प्रविधि, बायोटेक्नोलोजीसँग सम्बन्धित नयाँ कोर्स पढाउने शिक्षकको चरम अभाव छ । बीएस्सीमा प्राणीशास्त्र, वनस्पतिशास्त्र र माइक्रोबायोलोजीमा पाठ्यक्रम अनुसार मलिक्युलर बायोलोजीको सैद्धान्तिक र प्रयोगात्मक शिक्षण गुणस्तरहीन छ । यस्ता समस्यामा विद्यार्थी सङ्गठनले चासो देखाएको पाइँदैन । त्रिचन्द्रमा आम्दानी र खर्चबीच पनि गहिरो अन्तर छ । विगत एक दशकदेखि विद्यार्थीको शुल्क समायोजन हुन नसकेकोले हाल त्रिचन्द्र ६ करोड रुपैयाँ घाटामा रहेको सुनिन्छ । यसबाट के प्रस्ट हुन्छ भने पछिल्लो समय शैक्षिक रूपमा मात्र होइन, त्रिचन्द्र कलेज आर्थिक रूपले पनि धराशायी हुँदै गएको छ ।


अन्त्यमा, त्रिविले आङ्गिक क्याम्पसमा विद्यार्थी भर्नाको कोटा निर्धारण गर्न नसक्नु, विज्ञानका प्रयोगशाला सुधारमा सार्थक प्रयास नगर्नु र वैज्ञानिक उपकरण खरिदमा चासो नदेखाउनु गलत हो । क्षमता अनुसार त्रिचन्द्रमा अब बीएस्सीको कोटा एक हजारमा सीमित गर्नुपर्छ । क्याम्पस प्रमुख लगायत अन्य प्राध्यापकहरू पिटिएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले तत्काल छानबिन गर्नुपर्छ । र पटक–पटक भएका यस्तो घटनालाई ढाकछोप गर्ने मतियार र नेपाल प्रहरीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ । त्रिचन्द्रमा बीएस्सीको प्रयोगात्मक कक्षा र परीक्षा सम्बन्धमा त्रिविले विशेष संयन्त्र बनाएर गुणस्तरको सुनिश्चितता गर्नुपर्छ । र प्राध्यापकको मनोबल गिर्ने र गलत नजिर स्थापित हुने घटनाले उच्चशिक्षा सुधार उन्मुख हुँदैन । त्यसैले विद्यार्थी र प्राध्यापक बीचको सम्बन्धमा हार्दिकता कायम गर्न दुवै पक्षका गलत आचरणलाई नियन्त्रण गरी मर्यादित बनाउन सरकारले छुट्टै ऐनको तर्जुमा गर्नुपर्छ ।


पराजुली त्रिवि रसायनशास्त्रका प्राध्यापक हुन् ।

प्रकाशित : पुस ५, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?