कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा वर्ग निर्माणको कथा

आहुति

पोखरा — माछापुच्छ्रे हिमालले मात्रै पोखरा बनेजस्तो लाग्दैन । फेवातालभन्दा गहिरो लाहुर जानुपर्ने नेपालीहरुको कथाले पनि पोखरा बनायो । त्यो लाहुर जाने प्रथा नेपालको पुरानो जात व्यवस्था, जातीय उत्पीडनले बनाएको हो ।

नेपालमा वर्ग निर्माणको कथा

लेखक तथा राजनीतिज्ञ आहुति लामो समयदेखि नेपाली समाजको अध्ययन र विश्लेषणमा लागिरहेका छन् । खासगरी नेपाली समाजमा वर्गको निर्माणमा वर्ण व्यवस्थाको कस्तो भूमिका छ भन्नेमा उनको दखल छ । उनले लेखेको टेलिफिल्म 'दलन' एक समय निकै चर्चित भएको थियो । पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतबार उनले यस विषयमा दिएकाे प्रस्तुति :

भारतीय लेखक यशपालले लेखेको 'दुःख' शीर्षकको एउटा कथा छ । सम्पन्न व्यापारी बिहान काममा निस्कनुअघि श्रीमतीले भन्छिन्, ‘म भरे माइत जानु छ । मलाई हिराको हार ल्याइदिनुस् ।

व्यापारीको निम्ति त्यो कुनै ठूलो कुरा थिएन । उनले हुन्छभने । तर दिनभरि काम गर्ने सन्दर्भमा साँझ आउँदा उनले हिराको हार ल्याउन बिर्सिए । श्रीमतीले खोइ भनेर सोध्दा उनले बिर्सिएँभन्ने जवाफ दिए ।

रात परिसक्यो । सबै पसलहरू बन्द भइसकेका थिए । अहिलेजस्तो मोबाइलको समय थिएन त्यतिबेला । उनले भोलि ल्याउँलाभने । उनको श्रीमतीलाई यति धेरै पीर पर्‍यो कि उनलाई लाग्यो संसारको सबैभन्दा दुःखी मान्छे मै हुँ । चित्त दुखाएर उनले श्रीमानसँग भनिन्, 'म कति दुःखी मान्छे एउटा हिराको हार पनि लगाएर माइत जान पाइनँ ।' त्यसपछि उनी आँसु खसालेर माइततिर गइन् ।

उनको श्रीमानलाई पनि असाध्यै पीर पर्‍यो । उदास भएर उनी डुल्न बाहिरतिर निस्के । राति १० पनि बजेको थिएन । सुकुम्बासी बस्ती नजिकैमा बच्चाहरू भुटेका बदाम बेच्न बसिरहेका थिए । उनलाई अचम्म लाग्यो, ‘यति राति बदाम कसले किन्छ ?’

उसले बच्चालाई कति रुपैयाँ हो भनेर सोध्यो । बच्चाले भन्यो, ‘३ रुपैयाँ ।उसले सयको नोट दिएर भन्यो, ‘म यो सबै किनिदिन्छु । तिमी घर जाऊ ।

बच्चाले भन्यो, ‘हैन, मैले यो भोलि पनि बेच्नु छ । म पैसा साटेर ल्याउँछु ।

सुकुम्बासी बस्तीभरि १ सयको नोट साट्न बच्चा घर घर गयो । ऊ पनि बच्चाको पछि पछि गयो । कुनै घरले साट्न सकेनन् । त्यो साट्ने क्षमता कुनै घरसँग थिएन ।

अनि ऊ बच्चातिर नगई हिँड्यो । उसले बाटोमा सोच्यो, ‘मेरी श्रीमती हार लगाउन नपाइ माइत गइ । ऊ कति दुःखी छे । यो बस्तीमा १ सय साट्न सक्ने कोही छैनन् । यो बस्ती कति दुःखी छ ।

त्यो कथामा उनको निश्कर्ष थियो, वर्गीय समाजमा दुःख र सुख वर्गका छन् ।

हामी विभिन्न वर्गका छौं । हाम्रा दुःखहरू फरक छन् । नेपाली समाजमा सबै कुरा वर्गले निर्धारण गरेका छन् । आफ्नो भाषामा जीवन चलाउन पाउने र आफ्नो भाषामा जीवन चलाउन नपाउनेहरू बीचको समस्या हो यो । सम्मानपूर्वक पुरुष जसरी बाँच्न पाउनु र जहिले पनि पुरुषभन्दा पछाडि बसेर यात्रा गरिराख्न बाध्य हुनु, त्यो पनि वर्गको अर्को रुप रहेछ । आजको मान्छेको दुःख सुख कहाँबाट निर्माण हुन सुरु भयो ? कहाँबाट सुरु भयो त्यहाँ पुग्नुपर्ने रहेछ ।

जंगबहादुरको विसं १९१० को मुलुकी ऐन प्रत्येक मानिसहरूका निम्ति उसको जातका आधारमा उसलाई सजाय तोकिएको छ । जात व्यवस्था नै वर्ग निर्माणको निर्णायक तत्व हो । अहिले पनि वर्ग निर्माणमा भूमिका खेल्ने जात हो ।

इतिहासमै फर्किने हो भने त्यो बेलामा मुख्य कुरा जमिन थियो । जमिन जातको आधारमा बाँडियो । विर्ता जातको आधारमा पाउने भइयो । नेपालमा दलितहरूले विर्ता कहिल्यै पाएनन् । किनकि उनीहरूलाई दिनै मिल्दैन थियो । नेवार, गुरुङ, मगर, लिम्बु राई र सुनुवार बाहेकका सबैलाई मासिन्य मतवालीमा राखिएको थियो । जसलाई जमिन दिन मिल्दैन थियो । नमासिन्या मतवालीहरूले जमिन पहिल्यैदेखि राखे र केहीले अपवादको रुपमा पाए । सबै जमिनमा काम गर्ने रैति थिए । राज्यले नै स्पष्ट किटान गरेर यो यो जातका मान्छे गरिब र यो यो जातका मान्छेचाहिँ धनी हुन पाउने भनेर किटान गरिएको समाज थियो । त्यसैले निर्णायक कुरा जमिन थियो र जमिनमा कुन जातको हक हुने भनेर व्यवस्थाले नै वर्गको सिर्जना गर्‍यो ।

त्यसपछि वर्ग निर्माणमा जातीय उत्पीडनले भूमिका खेल्यो । आज धेरैजसो अपराध गर्नेहरूको नाम अखबारमा खोज्यो भने धेरैजसो अपराध गर्ने आरोपीहरू तामाङ हुन्छन् । केही वर्षदेखि एउटा नाम दलित पनि थपिन थालेको छ । अपराधको कोणबाट हेर्‍यो भने पनि सर्लक्कै देखिने रैछ समाज कहाँ छ । मैले बलात्कारका धेरै घटना आइसकेपछि विगत १० वर्षको तथ्यांक हेरेको थिएँ । कुन कुन जातिका महिला बलात्कारमा पर्दा रैछन् त । नेपालमा १३ प्रतिशत दलितहरूको संख्या छ । बलात्कृत हुने दलित महिलाहरूको संख्या १६ प्रतिशत छ । ३६ प्रतिशत जनजाति महिलाको जनसंख्या छ । तीमध्ये ३२ प्रतिशत महिलाहरू बलात्कृत छन् । अपराध गर्नेहरूबाट हेर्दै गयो भने पनि निश्चित जात व्यवस्था देखिन्छ । अपराधमा पर्नेहरूको कोणबाट हेर्दा पनि निश्चित जात व्यवस्था देखिन्छ ।

नेपालमा वर्ग निर्माणको प्रमुख कारण जात व्यवस्था र जातीय उत्पीडन हो । तेस्रो रहेछ नेपालमा क्षेत्रीय उत्पीडन । भेरी र कर्णाली नदी पारिको । भेरी नदी पारीका मान्छेहरूमाथि बेवास्ता गरिएको रहेछ । कर्णाली नदी पारीको उत्पीडन गरिएको रहेछ । कर्णालीको बाहुनसँग काठमाडौंको दलितसँग दाँजिन्छ । कर्णालीको बाहुनसँग कर्णालीको दलित कसले दाजिदिएला ? त्यो प्रश्न, प्रश्नभित्रै हराएको छ ।

अर्कोतर हिमाली क्षेत्रमा पनि उत्पीडन गरियो । उत्पीडन कुटेर मात्र हुन् वास्ता गरिदिएन भने पनि हुँदो रहेछ । छिमेकीको घरमा चा छ । सबैलाई बोलाइयो र आफूलाई बोलाइएन भने त्यो अपमान हुन्छ ।

अर्को मधेशमाथि तीन किसिमको उत्पीडन देखेँ । क्षेत्रीय, त्यो क्षेत्रको भएको हुनाले । अर्को भाषिक सांस्कृतिक । ०२७ सालभन्दा अगाडि नेपालमा सबैभन्दा धेरै शिक्षितहरु भएको जिल्ला सप्तरी थियो । जब नयाँ शिक्षा भन्ने आयो पहाडवादी शिक्षा । निश्चित संस्कृतिलाई अगाडि लैजाने । आज सप्तरीको शिक्षाको हालत नाजुक छ । भाषिक सांस्कृति, उत्पीडत मात्रै नभएर केही प्रतिशत बडो तिखो गरी मधेशमा रंगको उत्पीडन पनि भयो । यी सबैले वर्ग निर्माणमा भूमिका खेल्दै आए ।

विगतदेखि जात व्यवस्था, जातीय उत्पीडन र क्षेत्रीय उत्पीडनले नेपालमा जुन वर्गहरु निर्माण भए । सामन्त वर्ग, किसान उत्पीडित वर्ग त्यसैले भने यो प्रक्रिया अगाडि बढ्ने क्रममा केही परिघटना यस्ता देखा परेका छन् नेपालमा जसले नेपालको शासनले थाहा नपाइकन जात व्यवस्था र जातीय क्षेत्रीय उत्पीडनबाट निर्धारित भएको वर्ग निर्माणको प्रक्रिया भत्किन पुगेको छ । जस्तो कि पश्चिम नेपालका दलितहरुसँग जमिन थिएन । दलितहरु अधिकांश पश्चिम नेपालबाट पूर्वतिर आएका हुन् ।

बागमती उपत्यकाको नेवार जातिभित्रका दलितहरु बाहेक केही बालीप्रथा थियो, जमिन दिने कुरा होइन । बाली दिएर उसको ज्यान बचाउने कुरा हो । रैकर जमिनको कुनै स्रोत नै थिएन । तर उनीहरु मुग्लान जान्थे । विष्टको घरमा फलाम ठटाउन नपरेको वा हलो जोत्न नपरेको बेला मुग्लान गए । मुग्लानमा उनीहरुलाई दलित भनेर चिन्दैनथें । उनीहरु बाली पाउँदैनथे, नगद नै पाउँथे । त्यो नगद ल्याएर उनीहरुले जमिन जोड्न थाले । भेरी नदीपारीका अधिकांश पहाडी बस्तीका दलित बस्तीका धान खाने खेत कतैबाट आयो भने त्यो मुग्लानबाट आयो । त्यो गजबको अर्थशास्त्र छ नेपालको । बाली प्रथाले जमिन नहुने भन्या कुरालाई थोरै तुहायो । मुग्लानबाट कमाएर ल्याएको कति नै हुन्थ्यो र ! धेरै पाखो जोड्न पुग्दैनथ्यो । धान फलाउने जति जमिन दलितको हातमा देखियो त्यो मुग्लानको कमाइले आएको भन्ने सम्झिनुपर्थ्यो ।

अर्को, राणाहरुले नेपालका केही जातिलाई भारतीय सेनामा पठाउने सन्धी गरे । जनजातिको आन्दोलनको तर्फबाट भन्ने हो भने जनजातिको जनसंख्या घटाउन पठाए भन्ने तर्क आउँछ । त्यो मैले अध्ययन गर्न पाएको छैन । अध्ययन गरौंला । जेहोस् अंग्रेजहरुको सेवा गर्न गोर्खा भर्ति सन्धी भयो र नेपालीहरु गए । एकातिर हेर्दा यो नेपालको निम्ति अपमानको विषय छ । अर्कोको निम्ति भाडाको सिपाही बनेर जानुपर्ने । गल्लावालाले छान्दैछान्दै लग्नुपर्ने । हामी मरिदिनुपर्ने ! उनीहरुको निम्ति मरिसकेपछि हाम्रो छातीमा ल्याएर तक्मा झुण्ड्याइदिने र हामीलाई वीर भन्ने । हामी वीर बनेर रेडियो नेपालबाट गीत बजाउने । दुःख कति भन्नु छ र नेपालीहरुको, धेरै नै दुःख छ संसारभरि । त्यसको उल्टो एउटा फाइदा भयो । यो तन्नम गरिब देशमा उनीहरुले विदेशी पैसा बोकेर आए । धेरै मोल भएको विदेशी पैसा । आईसी भएपनि, पाउन्ड स्टर्लिङ भएपनि । त्यसपछि तिनीहरुले पूर्वलाई बल्छी थापेर बसेको धरानमा पक्की घर बनाउन थाले लाहुरेहरुले । फर्केर आएर भैरहवा, बुटवलमा धुर्काधुर्की पनि किन्न थाले र पोखरा सहरपनि यसरी जन्म्यो ।

माछापुच्छ्रे हिमालले मात्रै पोखरा बनेजस्तो लाग्दैन । फेवातालभन्दा गहिरो लाहुर जानुपर्ने नेपालीहरुको कथाले पनि पोखरा बनायो । त्यो लाहुर जाने प्रथा नेपालको पुरानो जात व्यवस्था, जातीय उत्पीडनले बनाएको हो । वर्गीय समाजलाई विस्तारै विस्तारै बीचमा चर पारेर काट्दै जाने अचम्मको तरबार भयो । केही सहरहरु नै लाहुरेहरुले बनाए ।

यदि राणाहरुलाई थाहा हुन्थ्यो एउटा चटक्क परेको घर लिम्बुले बनाउने छ । पोखरामा ५ तलाको होटल एउटा मगरले बनाउने छ । एउटा गुरुङले बनाउने छ । मलाई लाग्दैन, गोर्खा भर्ति सन्धी गरिन्थ्यो । काम गलत थियो तर त्यसको उल्टो फाइदा भनेको पुरानो वर्ग संरचनालाई यसले खल्बलाइदियो ।

त्यसपछि सुनारहरुको गजबको वर्ग जन्मियो । यहाँका सुनारद्वारा बाली प्रथामै सुन बनाइन्थ्यो । नगद कसले दिन्थ्यो र ! लाहुरबाट नगद लिएर लाहुरेहरु आए । बेलायती सेना भनेपनि उनीहरु भारतमा थिए । भारतमा गहना लगाउने संस्कृति धेरै थियो । उधुम गहना लाउने रहर पनि उनीहरुले बोकेर आए । खल्तीमा पैसा बोकेर आए । बाली दिन धेरै सिकेका थिएनन् जनजातिले । उसले सुनको काम गर्ने सुनारलाई भैरहवामा बोलाएर सुन बनाउन लगायो । धरानमा बोलाएर सुन बनाउन लगायो ।

सुन व्यापार हामीलाई थाहा छँदै छ । १२ प्रतिशत हाकाहाकी भनेरैं खान पाइन्छ । सुनको काम गर्ने ज्यासलमा गयो भने त्यो धुलो काम गर्ने खेतालाहरुको हक लाग्छ । सुनको काम गरेपछि बेलुका बढार्ने धुलो । सुन त सुन भैहाल्यो ।

सुन त सुन भइहाल्यो । नेतालाई पनि मन पर्ने, जनतालाई पनि । लाहुरेहरुले सुनारलाई बेस्सरी काम दिए । जसका कारण भैरहवामा सुनारहरुले पाँच तलाका घर बनाउन थाले । अहिले जंगबहादुर आउने हो भने त्यो घर बनाउन कहाँ दिन्थे ? भयो के भने जात व्यवस्थाबाट बनेको त्यो बन्धनलाई लाहुरे प्रथाबाट आएको पैसाद्वारा थोरै टुट्ट पुग्यो । दलितहरुको सानो खलकलाई मध्यमवर्गमा लगिदियो । भत्काइदियो । कतै न कतै चर्काइदियो । एउटा म यहाँनेर देख्छु ।

अर्को कहाँनेर चर्कियो भने । नेपालमा दुईवटा जातिले अचम्मले छल्दिए यो जात व्यवस्था र जातीय उत्पीडनलाई । एउटा तराईको कायस्थ र अर्को थकाली । थकाली त मासिन्याभित्र हो नि । केको यत्रो थकाली खानाको देशभरी रेस्टुरेन्ट खोल्नु ? थकालीको जनसंख्या यति थोरै छ, कामको निम्ति नै मन्त्री नि त्यै हुनुपर्‍या छ, अमेरिका त्यै जानुपर्‍या छ । मान्छे नपुगेर हैरान छ । जंगबहादुरले मासिन्या भित्र राखेको कसरी यहाँ आइपुग्यो ?

तराईको कायस्थ पनि जनजाति हो । त्यो अहिले नेपाली समाजको सबैभन्दा पहिलो लहरमा आइपुग्यो । जात व्यवस्थाले कजाउन खोलेको मुन्सी बनाएर । तर मुन्सी बनाउन हिसा पढ्नुपर्‍यो । त्यतिबेला पो शिक्षाको महत्व थिएन । आजको समाज शिक्षाको महत्वमा आइपुग्यो । त्यो मुन्सी बनाउन पढाएको मान्छे त्यहीं शिक्षाको घोडा चडेर अहिले सबैभन्दा अगाडि आइपुयो । त्यसले जात व्यवस्थाको मतवाली भनेर तल बस्न बाध्य पार्ने कायस्थको स्थीतिलाई भत्काइदियो ।

चीन र भारतको बीचमा थाकखोलामा बसेर व्यापार गरेको कसैले नचिनेको थकाली, काठमाडौंले पत्तो नपाइकन अगाडि आइपुग्यो । यदि त्यतिबेलाको राणा शासनले त्यहाँ बसेर थकालीले सम्पत्ति कुम्ल्याउने काम गरिरहेको छ, ढुकुटीप्रथा अन्तर्गत आफ्नो समुदायको रक्षा गर्ने काम गरिहेको छ भन्ने थाहा पाएको भए अर्कै कुरा हुन्थ्यो त्यहाँ । त्यसले पनि त्यो पुरानो परम्परालाई छलेर अगाडि आयो ।

अर्को दुईवटा प्रसंग छ । एउटा प्रसंग छ, सगरमाथाको । युरोपियनहरुले सुरु गरे एड्भेन्चर, साहसिक यात्रा । त्यसपछि हिमाल चढे । उनीहरुले नै आएर एभरेस्ट भन्ने नाम राखे । भारी बोकाए शेर्पालाई । बाटो देखाउन शेर्पा चाहियो । उसकै फोक्सोको प्वाल धेरै फुक्यो । त्यहाँ बस्दाबस्दा फोक्सोको प्वाल उसकै धेरै फुलाथ्यो र सबैभन्दा माथि सास उसैले लिन सक्थ्यो । उसलाई नलगि त भएन । उसलाई हिमाल चढाउँदै जाँदा यस्तो स्थिति आयो, शेर्पाहरुको एउटा सानो खलक काठमाडौंदेखि अमेरिकासम्म पुग्यो । त्यसले पनि भत्काइदियो । यो कुनै नेपालको समाजको डिजाइनमा भत्केको होइन । हिमाल चढ्ने यात्रा अरुले सुरु गरे, त्यसबाट फाइदा शेर्पालाई पुग्यो ।

अर्को एउटा प्रसंग छ, मनाङको । मनाङमा पाँच गाउँले थिए । मनाङमा भोट हाल्नुपर्‍यो भने मनाङका पाँच गाविसका मान्छे हेलिकप्टर रिजर्भ गरेर आउँछन् भन्थे । सबैजसोको काठमाडौंमा घर छ । त्यो कसरी भयो ? अचम्मको कुरा । मनाङको मान्छेको काठमाडौंमा घर ! स्थानीय बुढापाकासँग छलफल गर्दा यसको पनि गजबको कथा छ ।

महेन्द्र सिंगापुर गएका रहेछन् । नेपालकै मनाङ मुस्ताङकै अनुहारका मान्छे जडिबुटी बेचिरहेको देखेछन् । नेपालबाट आएका रहेछन् कि भनेर सोधखोज गरेछन् । महेन्द्रको कामै यस्तो, बर्मासम्म नेपाली खोज्न जाने उनी । बर्मामा पनि खस नेपाली भाषा बोलेका छन् भने झापातिर ल्याएर एक दुई रोपनी जमिन दिएर राखिहाल्ने उनको चलन थियो । पहाडिया खोज्ने, ल्याउने, नेपाली बनाउने । सिंगापुरमा उनले खोजविन गर्दा मर्स्यांदीको शिरबाट हामी आएको भनेछन् । त्यतिबेला न पासपोर्ट न के । भारत गएर जहाज चढेर सिंगापुर जाने त्यतिबेलको चलन रहेछ । उनीहरुले भनिसकेपछि नेपाल आओ, म तिमीहरुको देशको राजा हुँ भनिसकेपछि हामीलाई के मतलब, तिमीलाई राजा मानेर हामीलाई के हुन्छ । हामीलाई लुकेर यहाँ आउँनुपर्‍याछ , तिमीलाई राजा मानेर के हुन्छ ?’ भनेछन् ।

महेन्द्रले तिमीहरु नेपाल फर्केर आएपछि सबै व्यवस्था गर्छु । तर तिमीहरुको माथिल्लो मर्स्यांदीमाथिको ५ गाउँले मेरो शासन मान्नुपर्छभनेछन् । उनीहरु फर्केर आइसकेपछि विशेष अधिकार दिइयो । नेपाली भएवापत्, नेपालको राजा र शासनलाई मानेवापत् । उनीरुको के अधिकार पाए भने विदेश गएर आएर सामान ल्याउँदा भन्सार छुट हुने । अधिकार नपाउँदा कलकत्ताबाट जहाजमा लुकेर गएर सिंगापुरमा जडिबुटी बेच्न भ्याउन मान्छेलाई पासपोर्ट बनाएर भन्सार छुट दिने जिम्मा राज्यले लिनेभएपछि कति मजा भयो होला ? त्यहाँबाट एउटा माथिल्लो मनाङको एउटा खलक विशेषाधिकार पाएर ह्वात्तै मध्यम र मध्यम वर्गभन्दा माथि आउने स्थीति बन्यो ।

नेपालको परम्परागत राज्यले वर्गमानको जुन खालको प्रक्रिया निर्माण गरेको थियो, सबैलाई तोडेर, छलेर, छिर्के हानेर, बीचमा घुसेर वर्ग बनावटको ढाँचालाई उनीहरुले केही न केही बदले । बदलियो । तर मूल चरित्र बदलियो त भन्यो भने मेरो अध्ययनमा अहिले पनि मूल चरित्र वर्ग निर्माणको उही नै छ ।

म कहिलेकाहीं घरमा चार पत्रिका पढ्ने गर्छु । दैनिक पत्रिका । कहिलेकाही म पत्रिकाभरि ककसले लेख लेखेका छन् भन्ने हेर्छु, एकदुई घण्टासम्म । सम्पादक, व्यवस्थापक, पहिलो पातोमा, दोस्रो पातोमा लेख्ने को छ, महिला को छ भनेर पाना पल्टाउँदै १८ पानासम्म पल्टायो, मलाई त्यो दिनको पत्रिका पढ्नै मन लाग्दैन । ४५ वटै पत्रिका । यसो भन्दा कतिपय मान्छेले मलाई बाहुनविरोधी भइस् भन्छन् । मैले सधैं भन्ने गरेको छु, नेपालमा बाहुनहरुको ठूलो योगदान छ । सहिद पनि त्यत्रा छन् । कहिले पनि बाहुनहरु सबै शासक भनेको हुँदै होइन, क्षेत्री ब्राह्मणभित्रबाट शासक जन्म्यो भनेको मात्रै हो । कुरा त्यति मात्रै हो । त्यहाँभन्दा बढी कुरै होइन । त्यसभित्रबाट मात्रै बन्ने स्थीति आयो । त्यसभित्र दमित कति छन्, कति छन् ।

भारतीय सेनामा गएका क्षत्रीहरु कुन हालतमा छन् ? बम्बइमा गयो भने गल्लीगल्लीमा क्षेत्री बाहुन भेटिन्छन् । काठमाडौंका भरिया हेर्‍यो भने काभ्रे र रामेछापबाट आएका ब्राह्मणक्षेत्रीहरु भरिया भएर बाँचिरहेका छन् । तल्लो वर्गमा क्षेत्रीबाहुन छैनन् भन्ने कुरा होइन । त्यो हास्याँस्पद कुरा हो । त्यो विशुद्ध जातवादी कुरा हो । त्यो दृष्टिकोण गलत हो । त्यो जातबाट मात्रै मुख्य शासक आउने प्रणाली बन्यो । अरुबाट आउन नपाउने बन्यो ।

टेलिभिजन कार्यक्रम पनि हेर्छु । कहिलेकाहीं झोक चल्यो भने बिहानदेखि बेलुकासम्म बसेर टेलिभिजन कार्यक्रम कसकसले चलाउँदो रहेछ भनेर हेर्छु । हेरे पनि समाचारमा एउटा आउँछ, अर्को आउँछ, कसैले के भन्दा कसैले के भन्दा दिनभरिको नाम टिप्दै गयो भने राति सुत्न गाह्रो हुन्छ ।

अहिले पनि बनावट त्यहीं छ । पार्टीमा हुने यसो मन्त्रीको नाम हेर्‍यो । १, २....८.... कसरी सुत्ने ! हेर्दाहेर्दै हालत त चौपट देखिन्छ । अहिले म सबैभन्दा धेरै च्याम्बर अफ कमर्श, उद्योग वाणिज्य महासंघको नाम हेर्छु । उद्योग वाणिज्य संघको नाम हेर्दा झुक्किएर कहिले उपेन्द्र महतो रुस पुगेका रहेछन् । कहिले एकजना गुरुङ अस्ट्रेलिया पुगेका रहेछन् । अरु त एनआरएन भने पनि फेरि नाम त त्यहीं दोहोरिन थालिहाल्यो । एयरपोर्टमा आएर झगडा गर्छन् तिनै ।

यो के भयो ? के भएको हो भन्दा अहिलेसम्म जति राजनीतिक परिवर्तन हामीले गर्‍यौं (भयो) तर नेपाली समाजको वर्ग निर्माणको जुन मुख्य प्रक्रिया थियो त्यसलाई हामीले अन्दाज नगरिकिन, त्यसलाई राजनीतिको निश्चित कार्यदिशाभित्र नसमेटिकिन अगाडि गयौं । हामीले नेपाली समाजलाई रुस र चीनजस्तो समाज ठान्यौं । चीनमा माओ थर भएको मान्छे राजा पनि हुन पायो, रैति पनि हुन पायो । नेपालमा त्यस्तो हुँदैन । रामबहादुर ठकुरी भन्यो भने त्योसँग कति जमिन छ भन्ने थाहा हुँदैन तर हलिया प्रथा अन्तर्गत उसको शाखा सन्तान कोही पनि छैन । यो कुरा प्रस्टै छ ।

असर्फी सदा वा मुसहर भन्यो भने त्योसँग कति जमिन छ त थाहा छैन तर उसको शाखा सन्तान कोही पनि सामन्त थिएन भन्ने थाहा हुन्छ । निश्चित जातअनुसारको वर्ग निर्माणको प्रक्रिया हो नेपालमा । न कम्युनिस्ट भन्नेहरुले न लोकतन्त्र भन्दै आउनेहरुले । न पुष्पलालले न बीपी कोइरालाले । नेपाली समाजलाई सर्लक्कै जात व्यवस्था नभएको समाजजस्तो विश्लेषण गर्दै आइयो । जसको कारणले अहिले पनि पत्रिका पढेपनि, निबन्ध हेरे पनि, पार्टी हेरे पनि, टेलिभिजन हेरे पनि हुँदाहुँदा एनआरएन हेरे पनि हाम्रो वर्गको निर्माणमा जात प्रकट भयो । यो गहिरो प्रकट भएर निरन्तर जारी हुने प्रक्रियामा छ । जारी हुने प्रक्रिया सानो कुरा छैन ।

किन जारी हुँदै छ त यो भन्दा नेपालमा अहिले जो शासक वर्ग जन्मियो, त्यो शासक वर्ग बन्न उ के कारणले पायो भन्दा जात व्यवस्थाको कारणले पायो । जातीय, क्षेत्रीय उत्पीडनको कारणले पायो । उ त्यो कारणले शासक बन्न पाएको हुनाले अब उसले के गर्ने भयो त भने आफ्नो शासनलाई फेरि निरन्तर गर्नका निम्ति त्यो जात व्यवस्थालाई केही न केही गरेर टिकाइराख्नुपर्ने भयो । नयाँ नयाँ तरिकाले टिकाइराख्नुपर्ने भयो । जस्तो कि आजको पुरुष शासक किन भयो भन्दा महिलामाथि उत्पीडत गर्न पाउने पितृसत्तात्मक संरचनागत विचारका कारणले भयो । आजको पुरुष कस्तो नक्कलबाजी गर्छ । महिलालाई ल्याउनुपर्छ सरकारमा सत्तामा तर सधैंभरि उपाध्यक्षमा बस्नुपर्छ भन्छ । महिलाहरु अगाडि आउनुपर्छ नआइ हुँदैन भनिन्छ । किनकी आउनुपर्दैन भन्यो भने भोटै पाउनेवाला छैन । हिजो पो भोटै नपाई शासन गर्न पाइन्थ्यो र पो नभनेपनि हुन्थ्यो । अब महिलाको पनि भोट लिनुपर्‍यो । अब त भन्नैपर्‍यो महिला पनि आउनुपर्छ तर कहाँसम्म आउनुपर्छ भन्यो भने मोटरसाइकलको पछाडि बस्न आउनुपर्छ । मोटरसाइकलचाँहि चढ्नुपर्छ तर पछाडि बस्नुपर्छ । श्रीमतीले स्कुटर चलाउँदा आफैंले चलाउने, लोग्ने पनि चढ्नुपर्‍यो भने पछाडि बस्नुपर्ने ।

पितृसत्तावादी विचार र संरचनाको कारणले पुरुष सत्ताधारी भएको अब महिलामाथिको उत्पीडन सबै अन्त्य गर्‍यो भने आफू सत्ताधारी नहुने भयो । जसको कारणले महिलामाथिको उत्पीडन नयाँनयाँ कलेबरमा नयाँ रंग लगाएर फेरि जारी राख्न खोज्दो रहेछ । ठी, जात व्यवस्थामा पनि आफ्नो सत्ता निरन्तर जारी राख्न पनि त्यो व्यवस्था जारी रहँदो रहेछ ।

प्रकाशित : मंसिर २९, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?