निजगढको विकल्प भट्टेडाँडा- विचार - कान्तिपुर समाचार

निजगढको विकल्प भट्टेडाँडा

नवराज खतिवडा, शाश्वत ढुंगाना, सम्पदा ढुंगाना

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (निअवि) निर्माणका लागि रूख कटान गर्ने योजना यथास्थितिमा राख्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशसँगै कतिपयले यो विराट् यातायात पूर्वाधारको निर्माणमा ग्रहण लागेको अनुभूति गरेका छन् । यसैले यो विमानस्थल बन्ने या नबन्नेमा फेरि एक पटक आम जनताका मनमस्तिष्कमा शंकाका बादलहरू मडारिएका छन् ।

यसरी २५ वर्षअघिदेखि थालिएको र अहिलेसम्म शिलान्यासै हुन नसकेको परियोजनालाई सर्वोच्च न्यायालयले समेत प्रश्नको घेरामा राख्न सक्ने परिस्थिति सिर्जना भएबाट केही महत्त्वपूर्ण सवाल पुन: सतहमा आएका छन् ।


तीमध्ये पहिलो हो– के निअविले यात्रुहरूलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) ले दिएकै तहमा सेवा दिन सक्छ ? अर्थात्, के यो दोस्रो विमानस्थल पहिलोको पूर्ण विकल्प हुन सक्छ ? निजगढलाई चयन गर्नुका पछि दुई कारण मुख्य छन् भनी प्रस्तावक निकायहरूले बहस–पैरवी गर्दै आएका छन् । ती कारणमा छन्– साबिकको त्रिअविले यात्रुचाप थेग्न नसक्ने र काठमाडौं–तराई द्रुतमार्गको निर्माणपछि राजधानी र तराई दुवैलाई यसले सहज सेवा दिने तर स्मरणीय छ, काठमाडौंको केन्द्रबाट प्रस्तावित निअविको निर्माणस्थलको दूरी करिब ९० किमि छ । द्रुतमार्गको डिजाइनमा सवारी साधनको अधिकतम गति पहाडी भूभागमा ६५ किमि प्रतिघण्टा र समथरमा १२० किमि प्रतिघण्टा हुने अनुमान भएकाले काठमाडौंको केन्द्र भागबाट निअविसम्मको यात्रा समय डेढदेखि दुई घण्टासम्मको हुनेछ ।


अहिले काठमाडौं उपत्यकाकै विभिन्न स्थानबाट द्रुतमार्गको आरम्भविन्दु खोकनासम्म जान द्रुत गतिमा सवारी साधन चल्ने सडक निर्माणको योजना नभएकाले साबिककै सडक प्रयोग गर्नुपर्ने हुन्छ । यसो हुँदा भारदेउ, सिपाडोल, लप्सीफेदी वा बुढानीलकण्ठजस्ता उपत्यकाभित्रकै स्थानबाट निअवि पुग्न तीन चार घण्टा लाग्ने हुन्छ । यसको अर्थ, दूरदराजका उपत्यकावासीले समेत बिहानको उडान समात्न निजगढमै बास बस्ने गरी जानुपर्ने हुन्छ । यो कुरालाई मध्यनजर गरी पछिल्लो समय निर्माण गरिएका अन्य मुलुकका विमानस्थललाई सकेसम्म सहरबाट नजिकै राखिएको पाइन्छ । सामान्यत: सहरको जुनसुकै कुनाबाट पनि ‌औसत एक घण्टामा विमानस्थल पुग्न सकिने हिसाबले पूर्वाधार निर्माण गरिएको पाइएको छ । विमानस्थल जान निजी सवारी साधन, ठूला सवारी साधन र मेट्रो रेलको समेत सहज पहुँच हुने सोच राखिएको हुन्छ । महानगरको केन्द्रबाट १४ किमि पर रहेको भारतको इन्दिरा गान्धी (नयाँदिल्ली), ४७ किमि परको थाइल्यान्डको सुवर्णभूमि (बैंकक) र ५८ किमि परको हालसालै निर्माण सम्पन्न भएको चीनको बेइजिङ–ड्याकसिङ (बेइजिङ) विमानस्थलहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । यसरी परिकल्पना गरिएको हाम्रो दोस्रो विमानस्थल पहुँचका हिसाबमा त्रिअविको सिधा र सपाट विकल्प नहुने स्पष्ट देखिन्छ ।


निअविको निर्माण भए पनि आश्वासन धेरै बाँडेको बनेपा–सिन्धुली राजमार्ग ठूला सवारी साधनका लागि विकल्प नभएको जस्तो कालान्तरमा त्रिअविको भरपर्दो विकल्पका रूपमा राजधानीबाट तुलनात्मक रूपमा नजिकै अर्को विमानस्थल निर्माण गर्नुपर्ने हुन्छ । बैंककमा डोनमुआङको विकल्पका रूपमा निर्माण गरिएको सुवर्णभूमि र चीनको राजधानीमा हालसालै सञ्चालनमा आएको नयाँ विमानस्थल यसका ज्वलन्त उदाहरण हुन् । जापानमा पनि बृहत्तर टोकियोभित्रै हानेदा र नारिता विमानस्थल छन् ।


नेपाल विकास अनुसन्धान प्रतिष्ठानद्वारा प्रारम्भिक अध्ययन गरिएको एउटा वैकल्पिक प्रस्तावमा ललितपुरको भट्टेडाँडामा महाभारत पहाड सम्याएर विमानस्थल निर्माण गर्न सकिनेतर्फ औंल्याइएको छ । काठमाडौं उपत्यकावरिपरि रहेका लगभग ३,००० मिटर अग्ला महाभारत पहाडका कारण त्रिअविको गणना विश्वका कठिन अन्तर्राष्ट्रिय विमानस्थलहरूका रूपमा हुन्छ । यसकारण हाल राडारको टावर रहेको भट्टेडाँडाको ६ किलोमिटर पहाड सम्याउँदा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पर्याप्त समथर जमिन उपलब्ध हुने प्रस्तावमा उल्लेख छ । यो क्षेत्रको पश्चिम र दक्षिणमा वाग्मती नदी र भट्टेडाँडाको प्रशासनिक इकाइ वाग्मती गाउँपालिका भएका कारण प्रतिष्ठानले यस विमानस्थलको नामकरण ‘वाग्मती अन्तर्राष्ट्रिय विमानस्थल (वाअवि)’ उपयुक्त हुने समेत ठानेको छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१८ मा नेपालमा ३३,९३३ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए । यो हिसाबले औसत एक घण्टामा दुई जहाजले उडान भरेका थिए । वाअविको क्षमता एक घण्टामा छ वटा उडान भर्ने हुनेछ । यसको अर्थ हाल त्रिअविले प्रतिदिन सालाखाला १०,००० यात्रुलाई सुविधा दिएको छ तर पछिल्लो समय जहाज घण्टौं होल्डमा राखिने वा उडान समय फेरबदल हुने समस्याले त्रिअवि आक्रान्त छ । वाअविको क्षमता त्रिअविको भन्दा साढे दुई गुणाले बढी हुने भएकाले यसले प्रतिदिन २५,००० यात्रुलाई सुविधा दिन सक्नेछ । यो विमानस्थल काठमाडौंको रत्नपार्कबाट २५ किमि र पूर्वपश्चिम राजमार्गबाट ५०–६० किमि दूरीमा हुनेछ ।


हवाई, सडक र रेलजस्ता यातायात पूर्वाधारको रेखांकन गर्दा विचार गर्नुपर्ने पक्ष हो– यसले भविष्यमा सिर्जना गर्ने करिडोर सहर सञ्जाल । पूर्व–पश्चिम राजमार्ग रेखांकन हुनुअघि नामोनिसान नभएका बिर्तामोड, इटहरी, हेटौंडा, बुटवल, कोहलपुर र अत्तरिया अहिले प्रमुख व्यापारिक र बसोबास केन्द्र बनेका छन्  । विराटनगर–धरान, पथलैया–वीरगन्ज, बुटवल–भैरहवा र नेपालगन्ज–कोहलपुर खण्डमा दुवैतिर एकअर्कासँग जोडिएका सहर विकास भएका छन् तर सबैभन्दा अघि बनेको त्रिभुवन राजपथको नौबिसेबाट टिस्टुङ, पालुङ हुँदै हेटौंडासम्म पुग्दा पनि यस्ता करिडोर सहर बन्न सकेका छैनन् ।


तर नौबिसे छोएर काठमाडौं जाने पृथ्वीराजमार्ग र बनेपा–धुलिखेल–पाँचखाल हुँदै जाने अरनिको राजमार्गमा ८० किलोमिटर लामो सहर सिर्जना भएको छ । यो करिडोरमा चन्द्रागिरि, कीर्तिपुर, काठमाडौं, ललितपुर, मध्यपुर ठिमी, भक्तपुर, सूर्यविनायक, बनेपा, धुलिखेल र पाँचखाल गरी दस वटा नगरक्षेत्र स्थापित भएका छन् ।


त्रिभुवन राजपथको रेखांकन हुँदा या भविष्यमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना हुँदा सहर करिडोर सिर्जना हुने गरी समथर भूभागबाट राजमार्ग निर्माण भएको भए नौबिसे–पाँचखालजस्तै काठमाडौं–तराई करिडोर सहर सिर्जना हुने थियो । त्यसो भएको भए राजनीतिक हिसाबमा टाउको दुखाइरहने तराई र काठमाडौंबीचको मनोमालिन्य र भावनात्मक खाडलसमेत नहुने वा कम हुने थियो ।


वाअवि रहेको स्थानको दक्षिणमा वाग्मतीको किनारमा रहेको सानो उपत्यका माल्टाको उचाइ ९०० मिटर मात्र छ । यसको अर्थ काठमाडौं उपत्यकाकै अंश ललितपुरको टीकाभैरव (१,५०० मिटर) र माल्टाका बीचमा तगारोका रूपमा लगभग १० किलोमिटर लामो भट्टेडाँडो (२,३०० मिटर) छ । वाग्मती नदीका किनारामा रहेको समथर भूभागमा सडक सञ्जाल र स्मार्ट सहरहरूको विकास गर्दा काठमाडौं–वाअवि–माल्टा–कर्मैया एक सहर करिडोरका रूपमा समेत विकास हुन सक्ने सम्भावनालाई प्रतिष्ठानले ठम्याएको छ किनभने माल्टाभन्दा तल्लो भूभागमा वाग्मती नदीका दुवै किनारमा सहर बसाउन योग्य समथर जमिन प्रचुर मात्रामा छ ।


अहिले अन्तर्राष्ट्रिय बजारमा ढुंगा, गिट्टी र बालुवाको मूल्य प्रतिटन १,००० रुपैयाँ छ । भट्टेडाँडाको ६ किमि पहाडलाई २,००० मिटरको उचाइमा सम्याए त्यो उत्खनन गरिएको निर्माण सामग्रीको मूल्य ६ खर्ब बराबरको हुने देखिन्छ । सम्याउने काम गर्न लगभग १ खर्ब लागत लाग्नेछ र विमानस्थल निर्माण गर्न २ खर्बको । यसरी प्रतिष्ठानको प्रारम्भिक अनुमानअनुसार यो वाअविको निर्माण कार्यले ३ खर्बको राजस्व प्राप्त हुनेछ । यो परियोजना निर्माण गर्दा अहिलेको बेरोजगारी र विदेश पलायनको समस्या केही हदसम्म समाधान हुने पनि देखिन्छ । स्मरण रहोस्, नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलको दैनिक आय लगभग ३ करोड नेपाली रुपैयाँ बराबर छ । यसैको हाराहारी हिसाब गर्दा र पाँच वर्षको निर्माण अवधि राख्दा विगत २० वर्षमा हामीले निअविको निर्माण नगरेर लगभग ३ खर्बको राष्ट्रिय आम्दानी गुमाएका छौं ।


बहसको दोस्रो महत्त्वपूर्ण विषय निर्माण कार्यान्वयन गर्ने सरकारी निकायको रवैयासम्बद्ध छ । यो लेख तयार पार्दासम्म २ खर्ब लागतको विराट् पूर्वाधार निर्माण गर्ने सरकारी निकायको नामसम्म किटान नहुनु र संस्कृति, पर्यटन तथ नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा निअविसम्बन्धी कुनै सूचना नहुनुले हामी यसबारे कति गम्भीर छौं भन्ने तथ्य उजागर गर्छ । हाम्रा लागि सम्भवत: २ खर्ब लागतको परियोजनाको अहिलेसम्मकै विराट् कार्य हो तर यस्ता परियोजना निर्माण गर्ने ताल्लुक निकायको नाम संस्कृति र पर्यटन जोडिनु अर्को दुर्भाग्य हो । यस्तै, नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमा परियोजनाहरूको सूचीमा ‘सेकेन्ड इन्टरनेसनल’ शीर्षकमा एउटा श्वेतपत्र राखेर आफूसँग बृहत्तर परियोजना निर्माणको अनुभव नभएको दृष्टान्त पेस गरेको छ । यसरी पूर्वतयारीको यो दुरवस्थालाई पनि यो ग्रहण लागेको अवसरमा सम्माननीय अदालतले केही स्वस्तिशान्ति अवश्य नै गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।


विकास–निर्माणका लागि रूख काट्ने होइन कि कहाँको रूख किन काट्ने भन्ने विषय महत्त्वपूर्ण हो । निअविको वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको हुनाले रूखबिरुवा हटाएर त्यसको क्षतिपूर्ति गर्ने निराकरणका उपाय अवश्य उल्लेख भएका होलान् तर विमानस्थल कार्यान्वयन गर्ने निकायले सार्वजनिक महत्त्वका यस्ता विषयको उल्लेख भएको ईआईए प्रतिवेदन सर्वसाधारणको पहुँचमा नराखेको हुनाले अनेक तर्क–वितर्क हुनु अस्वाभाविक होइन । त्रिअविमा समेत चरा ठोक्किएका घटना देखेसुनेका सर्वसाधारणले पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएको वनमा निर्माण हुने विमानस्थलको चरा आतंक वा जंगली जनावरको आक्रमणबाट कसरी सुरक्षित हुने भन्नेबारे ध्यान केन्द्रित गर्नु बेठीक होइन ।


तर अदालतको आदेशसँग जोडिएको सिरानको विषयवस्तु झन् गहन छ । नेपालमा हाल ५० प्रतिशतजति जमिनमा या त वनजंगल छ या संरक्षण गरिएको क्षेत्र । यसका कारण अहिले बाँदर, चितुवा र मृगजस्ता जंगली जनावरको संख्या ह्वात्तै बढेको छ । बाँदर आतंकले किसानहरू बसाइँ सर्न बाध्य भएका छन् वा बाँदर आतंक मत्थर पार्न सक्ने प्रतिबद्धता भएका उम्मेदवारलाई मत हाल्ने चलन आइसकेको छ । बसाइँसराइ र सहरीकरणका कारण अर्कातिर दूध दिने गाई–भैँसी मासिएका छन् । आरक्षित क्षेत्रको विकास, सामुदायिक वनको फैलावट र गाउँघरबाट सहरमा भएको बसाइँसराइका कारण यो अवस्था आएको हो । संरक्षणको बहस–पैरवी गर्ने स्वार्थकेन्द्रहरूको तर्क हास्यास्पद रहेको भनाइ चीन र कोरियाको जस्तो आफ्नै जीवनकालमा द्रुत आर्थिक विकास भएको देख्न चाहने विकासवादीहरूले राख्दै आएका छन् । ‘बरु हिँडेरै जाने’ वा ‘गाई–भैँसीको सट्टा बाँदर वा मृगको दूध उत्पादन गर्ने प्रविधिको विकास गर्ने’ तर ‘जंगलको रूख काट्न नदिने’ जस्ता बेतुकका तर्क संरक्षणवादीले राखेका हुन्छन् भनी उनीहरूको कटु आलोचनासमेत गर्ने गरिएको छ ।


५० वर्षयता अन्य मुलुकका तुलनामा नेपालमा दाता राष्ट्र र विकास साझेदारी संस्थाहरू विकास–निर्माणका मूलधारका भन्दा किनाराका यस्ता मुद्दालाई अघि सारेर सरकारी निकाय, विकासकर्मी र अनुसन्धानकर्ताको कित्तामा आफ्नो हालीमुहाली गर्न सफल भएका छन् । अदालतमा हुने बहसमा पनि विकासवादीभन्दा संरक्षणवादी नै हावी भयो भने सम्भवत: खण्डग्रास ग्रहण बढेर खग्रास हुने र त्यो दीर्घायुको हुन सक्ने जोखिम छ । यसकारण यी विषयमा सम्पूर्ण सरोकारवाला र नागरिक समाजको समेत ध्यानाकर्षण हुन जरुरी छ ।


लेखकत्रय नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा आबद्ध छन् ।


प्रकाशित : मंसिर २९, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

मञ्चीय संस्कारको दिगमिग

आहुति

थुप्रै पटक वाग्मती उपत्यका आसपासमा हिउँ पारेको गतसालको चिसो याम फागुन महिनासम्म पनि ताजै थियो । त्यसमध्ये फागुनको एक साँझ वाग्मती उपत्यकामा क्रियाशील सात वटा नाट्य समूहको आयोजनामा अन्तर्राट्रिय नाटक महोत्सव भएको थियो । काठमाडौं, पोखरा, जनकपुरदेखि झापासम्मका आजका युवा नाट्यकर्मीहरू र तिनको जुझारु मेहनतलाई देख्दा रातमा जाल खेल्न रमाउने जलाहारीको सम्झना नआई छाड्दैन ।

पञ्चायत व्यवस्था, राजसंस्था र हिन्दू मिथकका पक्षमा जनमत बढाउनु थियो, त्यसैले पञ्चायतकालमा प्रज्ञा प्रतिष्ठान र नाचघरले बनाइरहन्थे नाटकहरू— कहिले ‘मालती मंगले’, कहिले ‘उर्वशी’ । आजको राज्यलाई त नाटकलाई राजनीतिक उद्देश्यका निम्ति उपयोग गर्ने स्तरसम्मको पनि चासो देखिँदैन । कोही चर्चाको साहित्यकार भेटिँदा नाट्यकर्मीहरू भनिरहेका सुनिन्छन्, ‘ल न एउटा नाटक लेख्नुपर्‍यो ।’ विदेशी नाटकको नेपाली रूपान्तरण गरेर नाटक गर्नु आफूहरूको रहर नभएको विषयलाई कुनै स्पष्टीकरण जसरी थपिरहेका हुन्छन् तर आज साहित्यकारहरूले नाटक लेख्न आवश्यक जाँगर चलाइरहेको अवस्था पटक्कै छैन, जतिले लेखेका छन्, त्यो ज्यादै अपर्याप्त रहेको छर्लङ्गै देखिन्छ ।

इतिहासतिर फर्किने हो भने नेपालका धेरैजसो जातिको आफ्नै नाट्य परम्परा थियो । त्यो नृत्य र संगीतमय थियो अर्थात् संगीतमय नृत्यमार्फत् संवाद गर्नु नेपालको रैथाने नाट्य परम्पराको आधारभूत मौलिकता र विशेषता हो । मधेस र भित्री मधेसका मधेसी तथा जनजाति समाजका प्रचुर नृत्यमा आधारित नाट्य परम्परा मात्र होइन, पूर्वको मुन्धुममा आधारित संस्कारगत अनुष्ठानजन्य नृत्यहरूदेखि वाग्मती उपत्यकाको कात्तिक नाच, भेरी नदीपारिको ढालतरबार नृत्य हुँदै कर्णालीपारिको देउडा गायनको सामूहिक नृत्यसम्मलाई नियाल्दा रैथाने नाट्य मौलिकताको बान्की भेट्टाउन मुस्किल पर्दैन ।

राणाहरूको ब्रिटिस शासनको दलाली र सांस्कृतिक रागात्मकतासँगै नेपालमा भित्रियो बेलायती संवाद प्रधान नाटक शैली । त्यसपछि त ‘नेपालका सेक्सपियर’ जन्मिन थालिहाले । नेपालका रैथाने नाट्य मौलिकता त्यसपछि नृत्य वा नाचमा सीमित हुँदै खुम्चिन थाले भने युरोपेली शैलीका नाट्यहरू चाहिँ नाटकका रूपमा सम्मानित भई नेपालको कला क्षेत्रमा अगाडि आए । रेडियो नेपालको स्थापनापछि खस नेपाली भाषाबाहेकका मौलिक संगीतहरूको ध्वस्तीकरणलाई बुझेर रैथाने संगीत खोज्ने जमर्को सुरु गर्न झुमा लिम्बूहरूलाई सत्तरी वर्ष लाग्यो । उनीहरूले रैथाने संगीतहरूका सग्लो रूप वा तिनका हाडखोर कति भेट्टाउलान् किटान गर्न सकिने अवस्था छैन । पूर्वको हाक्पारे र गायिका डिक्रा वादीलाई कामाडौं ल्याएर पश्चिमको देउडा संगीतको रैथानीयता प्रस्तुत गरेर झकझकाउने रैथाने संगीत अभियन्ताहरूले जस्तै नेपालका रैथाने नाट्य शैलीहरू खोजेर मौलिक नेपाली नाटक शैली पुनर्जीवित गर्ने अभियान कहिले सुरु होला भन्ने प्रश्नको उत्तर अझै समयको गर्भमै छ तर त्यस्तो रैथाने नाट्य अभियान सुरु गर्ने पात्रहरू पनि आजका सक्रिय नाट्यकर्मीहरूको निरन्तरता भए नै त्यसभित्रबाट जन्मिएलान् ।

यस्तै गहिरो आशाबीच आजका युवा नाट्यकर्मीहरूसँग भेट हुँदा भूमिगत विद्रोहीसँग भेटे जस्तै सुखद अनुभूति हुन्छ । विद्रोहीहरू क्रान्तिकारी बन्लान् नबन्लान् यत्तिकै अहिले किटिहाल्न सकिने अवस्था भने छैन । चिन्तनको यही सेरोफेरोको फेर समातेर अन्तर्राष्ट्रिय नाटक महोत्सवको समारोहको निम्तो मान्न तोकिएको अपराह्नको समयमा पुगिएको थियो अनामनगरको मण्डला थियटर । सिंहदरबारको पूर्वी ढोकाको ठीक विपरीत गल्छेंडामा ठूलो चहलपहल थिएन । नेपालका नाट्यकर्मीहरू नै सकसपूर्ण विद्रोही अवस्थामा छन् भने तामझामपूर्ण भव्यता नदेखिनु स्वाभाविकै लाग्थ्यो । उपभोक्तावादी बजारले उपयोग गरी पैसा फलाउने औजार बनाउन रुचि नदेखाएको नाटक विधाको महोत्सव विद्रोही खालकै हुनु ठीक भन्ने आग्रह पनि मनमा जन्मिएकै थियो । मण्डला थियटरसँगैको खाली जमिनमा निर्मित उद्घाटनको मञ्चअगाडि करिब तीन सय मानिस खचाखच भइसकेका थिए । सत्यमोहन जोशी, प्रचण्ड मल्ल, शकुन्तला शर्मा आदि नेपालका नाट्य क्षेत्रका इतिहासदेखि वर्तमानका प्रखर युवासम्म उपस्थित भइसकेका थिए । आयोजकहरू ओहोरदोहोर गरेको गर्‍यै तर कार्यक्रम सुरु हुँदैन ।

निमन्त्रणा गरिएको समय कटेर डेड घण्टा बितिसक्यो, चिसो पनि बढ्न सुरु भयो, नाटक विधामै इतिहास बुनेका उनान्सय वर्षसम्मका पाका व्यक्तित्वहरू कुरिरहेका छन् तर कार्यक्रम सुरु हुँदैन । आखिर किन कार्यक्रम तोकिएको समयमै सुरु भएको थिएन ? किनभने आयोजक युवा नाट्यकर्मीहरूलाई पनि परम्परागत नेपाली राजनीति र समाजमा राइँदाइँ गर्दै आएको मञ्चीय संस्कारले गुटुमुटु पारेर बाँधेको थियो । प्रधानमन्त्री प्रमुख अतिथि, शिक्षामन्त्री विशेष अतिथि अनि अन्य अतिथिहरूको विलम्बले सिंगै समारोह ढिला भएको थियो । निम्तो गरिएको ठीक समयमा उपस्थितहरूले अनावश्यक पट्यार बेहोरेपछि सुरु भएको कार्यक्रममा आयोजकले उनान्सय वर्षसम्म पुगेका नाट्यकर्मीहरूका निम्ति जसरी साधारण औपचारिक व्यवहार थोपरेका थिए, त्यसरी नै सत्ताधारी अतिथिहरूका निम्ति विशिष्ट खातिरदारी पस्केका थिए । नेपाली समाजमा मञ्चीय संस्कारको अनावश्यक तिक्तताबाट धेरैले प्रताडना महसुस गरेको अवस्थामा यस्तो प्रवृत्तिको संवाहक नाट्यकर्मीहरू भएकाले यो सन्दर्भ उल्लेख गरिएको होइन । असाधारण कल्पनाशीलताद्वारा सयौं वर्षअघिका कथालाई समेत वर्तमानका गलत सन्दर्भविरुद्ध उभ्याउन सिर्जनशीलता बुन्ने नाट्यकर्मीहरूसमेत यसरी परम्परागत मञ्चीय संस्कारको धरापमा कुँजिन पुग्ने अवस्था नेपाली समाजमा रोगका रूपमा जीवित छ भने अन्य क्षेत्रमा कस्तो अवस्था होला भनी अनुमान लगाउन सजिलो होस् भन्न उक्त सन्दर्भ उल्लेख गर्नु जरुरी भएको हो ।

मानवीय जीवनका व्यक्तिगत हुन् या सामाजिक राजनीतिक क्षेत्रका संस्कारहरू तत्कालीन समयका आवश्यकता, ज्ञानको सीमा र समस्या व्यवस्थापनको खाँचोबीच जन्मिएका हुन्छन्, आजको समयमा ती रूढिवादी ऊर्जाहीन भइसकेका हुन सक्छन् वा कम्तीमा परिमार्जन त अनिवार्य भइसकेका हुन्छन् नै तर ती जस्ताको तस्तै जारी राख्ने परम्परागत प्रवृत्तिले राजनीतिक तथा सामाजिक क्षेत्रका कार्यक्रमहरू आजको आवश्यकता र नयाँ पुस्ताको प्रगतिका निम्ति बाधक साबित भइरहेका छन् । त्यस्ता मञ्चीय गलत संस्कारहरूले नयाँ पुस्तामा अनावश्यक तिक्तता सिर्जना गरी आवश्यक विषयतिर ध्यान खिच्ने विषयमा समेत वितृष्णा उत्पादन भइरहेको देखिन्छ । राजनीतिक वा सामाजिक विविध क्षेत्रका कार्यक्रमहरूका मञ्चहरूमा गरिने संस्कारहरू किन त्यसरी गरिएको र त्यसले स्वयं त्यस कार्यक्रम वा सहभागीलाई कति फाइदा हुन्छ भन्ने कोणबाट भन्दा ‘हिजैदेखि यस्तै गर्दै आएको गर्नैपर्‍यो’ भन्ने रूढिवादी कर्मकाण्डी स्तरमा गिर्न पुगेको बढी पाइन्छ । मञ्चीय संस्कारहरूमा सबैभन्दा बढी उपयोगितावाद र सामन्तवादी उँचनीचको हदैसम्मको विकृति राजनीतिक पार्टीका मञ्चहरूमा प्रकट भइरहेका छन् । राजनीति र पार्टीहरूले समाजको आधारभूत भविष्य यात्रालाई दिशा र गति दिने हुनाले उनीहरूका मञ्चीय संस्कार अवैज्ञानिक हुनु सिंगै समाजका निम्ति दु:खद विडम्बना हो । मञ्चीय संस्कारमा दिगमिग लाग्ने केही सन्दर्भहरूबारे चर्चा गरौं ।

एक, आफ्नै पार्टीको तल्लो समितिको बैठक वा आयोजनाको कार्यक्रममा माथिल्लो समितिको नेता अतिथि बनेर पुग्छ । हैन, आफ्नै घरमा कोही कसरी पाहुना हुन्छ र ? सिंगै पार्टी नेतृत्व गर्ने केन्द्रीय नेता प्रदेश समितिको बैठकमा गएर अतिथि मात्र हुनु भनेको सांगठनिक हैसियतसमेतको परिभाषा गज्याङमज्याङ हुनु होइन र ?

दुई, एउटा कार्यक्रममा एक जना प्रमुख अतिथि, अर्को विशेष अतिथि, अर्को अतिथि र बाँकी सहभागी घोषणा गरिन्छ अर्थात् वर्णव्यवस्थाको तहगत संरचनाजस्तो एउटै कार्यक्रमका सहभागीको चार तह । छातीमा टाँस्ने ब्याच फरक, बस्ने कुर्ची फरक, स्वागत गर्दा माला वा खादा फरक इत्यादि । एउटै कार्यक्रममा यति धेरै उँचनीचको स्थानमानले राजनीति वा समाजलाई समानता र समतातिर दिशानिर्देश कदापि गर्दैन ।

तीन, कार्यक्रममा पार्टीभित्रका गुटगत भाग पुर्‍याउन उद्घोषक, सभापति, स्वागत भाषण, वक्ताहरू र अन्तिममा धन्यवाद ज्ञापनका निम्ति दर्जनौं पात्रहरू खडा गरेर न त कार्यक्रम चुस्त हुन्छ, न त सहभागीहरू लाभान्वित हुन्छन् । जसलाई चित्त बुझाउन यस्तो भागबन्डा गरिन्छ, तिनले समाजमा गर्दै जाने भागबन्डा कस्ता हुँदै जालान् ?

चार, नेताहरू वा अतिथिलाई मञ्चमा आसनग्रहण किन गराउनुपर्ने हो ? यसबारे न प्रश्न, न उत्तर कतै छ । आसनग्रहण त्यस सामन्तवादी युगको संस्कार थियो, जहाँ जन्म, जात वा पदका आधारमा आसन निश्चित हुन्थ्यो । आज त राजनीतिक वा सामाजिक समारोहमा व्यक्ति आफ्नो दायित्व पूरा गर्न उपस्थित हुने हो । दायित्व पूरा गर्न कार्यकर्ता वा नेता सबै उपस्थित हुने हो, तब आसन ग्रहणको अतिरिक्त मर्यादा किन ? जो दायित्व पूरा गर्न उपस्थित हुन्छ, उसले त आफ्नो उपस्थिति सभालाई जानकारी गराउनु पो पर्ने हो ।

पाँच, जसको मञ्चमा कुनै काम छैन, उनीहरूलाई मञ्चभरि किन बसाउनुपर्ने हो ? कतिपय कार्यक्रम यस्ता हुन्छन् कि कार्यक्रम सकिने बेलासम्म मञ्चमा आसनग्रहणका निम्ति उद्घोषकले बोलाइरहेको हुन्छ । यस्तोसम्म हुन पुग्छ कि सहभागीभन्दा बढी संख्या मञ्चमा विराजमान हुँदा पनि मञ्चमा आसनग्रहणको अत्याचार अन्त्य भइजाँदैन । योभन्दा निष्कृष्ट मञ्चीय संस्कारको दृश्य देख्न गाह्रो छ ।

छ, एउटै कार्यक्रमका अतिथिलाई फरक फरक माला, फरक फरक खादा किन ? हुँदा हुँदा त एउटै दुर्घटनामा मारिएकाहरूको श्रद्धाञ्जली कार्यक्रममा मृतकको पदीय हैसियतअनुसार फोटाहरू पनि सानाठूला राख्ने संस्कार सुरु भइसक्यो । हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको श्रद्धाञ्जली कार्यक्रममा मन्त्री रविन्द्र अधिकारीको तस्बिर ठूलो र अरू मृतकको सानो तस्बिर राखिनुले गम्भीर टिठलाग्दो स्थानमानलाई व्यक्त गरेको थियो ।

सात, आफू र आफ्नो पार्टीलाई भौतिकवादी बताउनेहरू नै सहिद वा मृतकलाई श्रद्धाञ्जली दिइरहेका छन् । फोटामा अबिर, माला र खादा खापिरहेका छन् तर मृतकले पाउँदै नपाउने श्रद्धाञ्जली हामी किन दिइरहेछौं ? मूर्ति पूजाको धार्मिकीलाई फोटो पूजामा किन पुनर्जीवित गर्दै छौं जस्ता आधारभूत प्रश्न गायब छन् ।

समग्रमा के प्रस्ट हुन्छ भने राजनीतिक वा सामाजिक कार्यक्रमहरूका मञ्चीय संस्कारहरूले आजको समय र पुस्ताको आवश्यकतालाई सम्बोधन नगरिरहेको मात्र होइन, बरु तिनले घातक भूमिका खेल्न थालिसकेका छन् । यस्ता हेर्दा र भोग्नै पर्दा दिगमिग लाग्ने सयौं मञ्चीय संस्कार आज पनि व्यवहारमा जारी छन् । तसर्थ, नयाँ पुस्ता र नयाँ युगको नयाँ राजनीतिले सामाजिक जीवनका संस्कारलाई जस्तै मञ्चीय संस्कारलाई पनि वैज्ञानिक र समतामूलक बनाउन चिन्तन र व्यवहार सुरु गर्नैपर्छ ।

प्रकाशित : मंसिर २९, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×