हामी यस्तै त हो नि कमरेड !

गंगा बीसी

काठमाडौँ — माफ गर्नुहोला, हामी यस्तै त हो नि कमरेड ! दुई तिहाइ सरकारको कुर्सीमा हुनुहुन्छ । छ प्रदेश सरकारमा पनि तपाईहरु नै हुनुहुन्छ । स्थानीय सरकारमा पनि तपाईहरुको वर्चस्व छ । जता पनि तपाईहरु सत्तामा हुनुहुन्छ । सत्तामा भएपछि भत्ता हुने नै भयो । त्यसैले तपाईहरु मत्त हुन भएको छ ।

ZenTravel

पक्कै पनि तपाईहरुले विगत भुल्नु भएको छैन होला। विगतको चालचलन कार्यशैलीचाहिँ भुल्नु भएको हो। यो कुरा तपाईहरुले देख्न सक्नु हुन्न, दखेर पनि नदेखेझै गर्नुहुन्छ। हामी त देख्छौं।

Meroghar

हामी देखेको कुरा भन्छौं। हामीले तीतो सत्य बोलेको कुरा भनेको तपाईलाई मन पर्दैन होला। तर पनि हामी यस्तै त हो नि कमरेड ! हामी देखेको कुरा लेख्छौं, भोगेको कुरा बोल्छौं।

विगतमा तपाईंले धेरै संघर्ष गर्नुभयो। पञ्चायत विरोधी आन्दोलनमा लाग्दा धेरै जेल, नेल, दुःख पाउनु भयो। माओवादी १० वर्षे युद्धमा लाग्दा ज्यानको बाजी पनि लगाउनु भयो। पछिल्लो जनआन्दोलनमा शाही सरकारको लाठी खानुभयो। बिभिन्न आन्दोलनमा तपाईंका धेरै साथी, कार्यकर्ता सहिद भए। केही अझै बेपत्ता नै छन्। मुलुकमा गणतन्त्र, संघीयता ल्याउनमा मुख्य भूमिका तपाईहरुकै छ। तीन तहको सरकार बनाउने डिजाइन पनि तपाईहरुकै हो। गणतन्त्र नेपालको संविधान पनि तपाईहरुले नै लेखेको हो।

जनताले तपाईका हरेक आन्दोलन, संघर्ष र युद्धमा साथ दिएको घाम जत्तिकै छर्लङ्ग छ। विगतमा गर्नु भएन भनेर हामीले भनेकै छैन। विगतका आन्दोलनमा करमेडले धेरै गर्नुभयो। गरेको कुरा गरेकै भन्छौं, नगरेको कुरा नगरेको भन्छौं। हामी यस्तै त हो नि कमरेड !

विगतमा तपाईको वर्ग के हो? तपाईले कुन वर्गका लागि आन्दोलन गर्नभुएको थियो? त्यो भनिरहनु पर्ने कुरा होइन। किनकी तपाईं निम्न र मध्यम वर्गको हितका लागि टाउकोमा कफन बाँधेर संघर्षमा लाग्नु भएको हो। तपाईं पनि त्यही जनताको वर्गबाटै आउनु भएको हो। खासमा जनता र तपाईंको वर्ग एउटै थियो। त्यसैले त जनताले तपाईंलाई साथ सहयोग दिएको भुल्नु भएको छैन होला। समय बदलिँदै गयो, नेपालका नदीनालामा धेरै पानी बग्यो। अचम्मको कुरा करिब २४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो।

मुलुकमा वर्गविभाजन भयो भनेर हतियार, झण्डा, डण्डा उठाउने पनि कमरेडहरु हो। हामीलाई लागेको थियो। तपाईले जनता र आफ्नो वर्गको ख्याल गर्नुहुन्छ। सत्तामा पुगेपछि जनताको वर्गलाई उकास्न उद्यम गर्नुहुन्छ। २०४६ सालदेखि हालसम्म कमरेडहरु कुनै न कुनै रुपमा सत्तामा हुनुहुन्छ। जनताले हिसाब किताब राखेका छन्, जनताको घरमा गास र बासमा साथ दिनुहुन्थ्यो। आफूले खाएको थाल आफै धुनुहुन्थ्यो। फोहोर पिंढी देखे बढारकुडार गर्नुहुन्थ्यो। सुख दुःखमा साथ दिनुहुन्थ्यो। सपना देखाउनु हुन्थ्यो, आफूले पनि सपना देख्नु हुन्थ्यो। नेता र जनताको वर्ग छुट्टयाउन गाह्रो हुन्थ्यो त्यतिबेला। जनताको पसिना तपाईँलाई प्रिय लाग्थ्यो, जनताको श्रमको माया लाग्थ्यो। जनता र नेता, कार्यकर्ताबीच नङ र मासुको सम्बन्ध भनेको पनि त्यही हो।

यो एक दशकयता चाहिँ के भयो के भयो कमरेड? हामीलाई भाउन्नै भएको छ। हाम्रो कमरेडको वर्ग कसरी राताराभत बदलियो? जनताको वर्ग किन बदलिएन? कमरेडलाई जनताको पसिना अप्रिय किन लाग्न थाल्यो? जनताको श्रमको किन तिरस्कार हुन थाल्यो? तैपनि पछिल्लो चुनावमा जनताले तपाईहरुलाई जिताए कमरेड। केवल आशा बोकेर।

हुन त कमरेडहरु बदलिइसक्नु भएको छ। यसमा तपाईहरुलाई यी प्रश्न अप्रिय लाग्नु अनौठो होइन। बहुसंख्यक जनताको वर्गमा कमरेडहरु पर्नुहुन्न भनेर हामी भन्छौं। हामी यस्तै त हो नि कमरेड ! हामी प्रश्न गर्छौ।

अनौठो लाग्छ कमरेड ! चुनावबाहेक अरु बेला तपाईहरुलाई जनताको खासै माया लाग्दैन। जनता नजिक आएको मन पर्दैन। हिसाब त जनतासँग अझ गहिरोसँग हुन्छ नि ! तपाईको साथ संगत कोसँग छ? रातारात बिचौलिया भएका र मनग्य कमाएका प्रिय पात्रहरुसँग करमेडको उठबस, डिनर, लन्च हुन्छ। तपाईहरु जनताको भोक र रोगबाट धेरै टाढा हुनुहुन्छ। जनतालाई सय रुपैयाँको मूल्य अथाहा छ। कमरेडलाई करोड रुपैयाँ केही लाग्दैन। किनकी जनताले अभावमा जीवनको मूल्य खोजेका छन्। कमरेडहरुले जनताको मतादेशमा कमाइधन्दा देख्नुहुन्छ। खासमा यो हिसाब त जनतासँग छ नि कमरेड ! देश बदल्न हिँडेका करमेडहरु आफै रातारात कसरी बदलिए? यो प्रश्न गर्छौं। हामी यस्तै त हो नि कमरेड !

राज्यको पुनर्सरचना भयो। यो असल काम भयो। स्थानीय तहसम्म सरकार पुग्यो। जनतालाई सजिलो भएको छैन भनेर हामीले कहाँ भनेका छौ र? धेरैतिर कमरेडका जनप्रतिनिधि छन्। केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रमुख पनि कमरेडहरु नै हुनुहुन्छ। जनता भन्छन्, ‘कमरेडहरु मुखिया पो भए गाँठे ! नमस्कार पनि फर्काउन छाडे है।’निर्वाचित भएपछि कमरेडको आनीबानीमा आमुल परिवर्तन आयो। हिसाब त जनतासँग हुन्छ नि ! स्थानीय सरकारको साधन स्रोतमा कमरेडकै हातमा आयो। जनताको आवश्यकता र चाहना अनुसार होइन, कमरेडको इच्छाअनुसार काम हुन थाल्यो। अनि साधन स्रोत कमरेडतिरै सोहरियो।

जनताको वर्ग उही। माथि उक्सेन। कमरेडहरुले कुनै बेला भन्नुहुन्थ्यो, ‘नयाँ बोतल पुरानै रक्सी।’ यो कुरा त हामी भन्छौ नि ! अहिले नयाँ संघीय नेपालमा कमरेडको कार्यशैली हेर्दा ‘नयाँ बोतलमा पुरानै रक्सी’ जस्तो छ। तपाई तर्क गर्नहुोला, काम भएको छ। अलिकति तीतो भन्नुपर्छ, यदि काम भएको भए विश्वको तुलनामा मुलुक उस्तै गरिब किन हुन्छ? हो, कमरेडको स्तर बढेको हो। एक जनालाई वर्षभरि चामल किन्न पुग्ने रकमको कमरेडको एउटै कोट जिउमा परेको छ। अरु हिसाब गर्दा कमरेडले एकपटक लगाएको पहिरनले निम्न वर्गको एक परिवारलाई वर्षभरि खाना पुग्छ। संसार बदल्न हिडेका कमरेडको जीवनशैली बदलिएपछि के क्रान्ति पुरा भयो?

हामी यस्तै हो त करमेड?

कमरेडको विश्लेषण छ, मुलतः पुँजीवादी क्रान्ति पूरा भयो। कमरेडले संविधान र अरु दस्तावेज बनाउनुभयो, समाजवादउन्मुख बाटोमा अघि बढ्ने भनेर। खासमा हिसाब जनतासँग छ, जुन वाद भने पनि त्यो नेता, कार्यकर्ता कमरेडलाई आएजस्तै भयो। यो व्यवस्थामा जनता बदलिए कि नेता तथा कार्यकर्ता करमेडहरु? जबकि कमरेडहरुले वर्ग भुल्नुभयो, बाटो भुल्नु भयो। आफू हिँडेको बाटो भुल्नु भयो। अप्ठ्यारोमा बास बसेका कोठा भुल्नु भयो। संकटमा सेल्टर दिएका साथ भुल्नुभयो। भुल्ने पालो त जनताको पनि आउँछ नि? एक दिन जनताले कमरेडहरुलाई भुल्ने छन्। हामी त यस्तै देख्छौ। हामी यस्तै त हो नि कमरेड !

प्रकाशित : मंसिर २७, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल साहित्य महोत्सव पोखरामा सुरु

स्वरुप आचार्य

पोखरा — आईएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखरामा शुक्रबारबाट सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पानसमा बत्ती बालेर  महोत्सव उद्धघाटन गरेपछि नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचनबाट महोत्सव सुरु भएको छ । 


महोत्सव पर्यटकीय नगरी पोखरामा चार दिनसम्म चल्ने छ।मंसिर ३० सम्म फेवातालको किनारमा संचालन हुने कार्यक्रममा १०० भन्दा बढी वक्ताहरुले विभिन्न विषयमा विमर्श गर्नेछन्।

उद्धघाटनकै दिनमा वर्षाले केही बाधा उत्पन्न गरे पनि त्यसले महोत्सवमा सहभागी हुने देशका विभिन्न भाग र विशेषगरी काठमाडौंबाट आएका वक्ता, प्रस्तोता तथा दर्शकहरुको जोशलाई भने रुझाउन सकेको छैन।

देवेन्द्रराज पाण्डेले 'लोकतन्त्रको विकास र सार्वजनिक दायित्व'का बारे प्रवचन दिएका थिए। उद्घाटन सत्रमा ममता, मनिता र अनिता सुन्दास 'सुन्दास सिस्टर्स'ले वेदका ऋचा वाचन गरेका थिए। आएइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले स्वागत मन्तव्य दिए।

यससँगै पहिलो दिनको सत्रमा 'लेक रहे पो रहला लेकसाइड', 'समानताको लडाइँ', 'हास्यव्यंग्य : भैरव अर्याल मीमांशा', र 'संघीयताको सकस' विषयमा छलफल हुने छ। र साँझको अन्तिम कार्यक्रम 'वाह ! गजल' रहनेछ।



काठमाडौंमा आयोजना गरिएको पहिलो संस्करणबाट अहिले पोखरामा भइरहेको आठौं संस्करणसम्म आइपुग्दा नेपाल साहित्य महोत्सवले साहित्य अनुरागी तथा विद्वत् वर्गमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। बुकवर्म फाउन्डेसन तथा पोखराको र्‍यान्डम रिडर्स सोसाइटीले स‌ंयुक्तरुपमा महोत्सवको आयोजना गरेका हुन्।

महोत्सवका निर्देशक अजित बरालका अनुसार यसपालि ४० भन्दा बढी सत्रहरु हुनेछन्। आहुति, प्रदीप गिरी र सौरभका भने एकल सत्र रहनेछन्। केही सत्रहरु भने समानान्तर रुपमा पनि संचालन हुनेछन्। दक्षिण एसियाका लेखकलाई दिइने डिएससी पुरस्कार महोत्सवको अन्तिम दिन घोषणा हुँदैछ।

प्रकाशित : मंसिर २७, २०७६ १२:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×