कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधुमेहको महामारी

‘मधु’ अर्थात् मह, गुलियो आदि शब्दले नै मुखमा स्वाद दिलाउँछ, खाँदाखेरि झन् मिठो । पञ्चामृतमध्ये एक मानिने महले स्वास्थ्य राम्रो गर्छ, छालामा चमक पनि बढाउँछ भन्छन् । तर मधु यति प्रिय भएर पनि जब शरीरमा मधुमेह हुन्छ, अनि हामी तर्सिन्छौं । ‘लौ कसरी जीवन बिताउने ? के खाने ? के पिउने ?’ भनेर छटपटी हुन्छ ।

मधुमेहको महामारी

जीवनभर औषधि खानुपर्छ भनेर मन अस्वस्थ हुन्छ । झन् यदि बालबालिकालाई मधुमेह भयो भने अर्थात् उनीहरूको रगतमा चिनी (मधु) बढी भयो भने अभिभावकको मनै भरंग हुन्छ । जुन मधु कहिले प्रिय बन्छ, पञ्चामृतमध्ये एक मानिन्छ, त्यही मधु शरीरमा बढी भएपछि रोग बनिदिन्छ । कस्तो विडम्बना !


पहिले–पहिले मधुमेह ४० कटेपछि हुन्छ भन्ने चलन थियो । अहिले अस्वस्थकर जीवनशैली, पत्रु खाना, अत्यधिक तनावले गर्दा युवावस्थामै मधुमेह अर्थात चिनीको रोग लाग्छ । अझ कतिजना त आमाको पेटबाट नै यो रोग लिएर जन्मिन्छन् । आमालाई गर्भावस्थामा मधुमेह भयो भने बालक पनि रोगी जन्मिने सम्भावना धेरै हुन्छ ।


आजकल ‘डायबिटिज’ नामले चिनिने चिनी रोगबारे नसुन्ने प्राय: कमै हुन्छन् । टोल–टोलमा मानिसहरू यो समस्याबाट पीडित छन् । यस्तै अवस्था रहिरह्यो भने केही समयपछि हरेक परिवारमा मधुमेहका बिरामी हुनेछन् । केही महिनाअघि एक डाक्टरको क्लिनिकमा १६ वर्षका आयुष मधुमेहको समस्या लिएर आए । उनकी आमा वैदेशिक रोजगारमा गएर फर्केकी हुन् । उनी छोरालाई धेरै माया देखाउन धेरै पत्रु खाना, चकलेट, चिसो पेयपदार्थ दिँदारहिछन् । आयुषलाई घरको स्वस्थकर खानेकुरा खान बाबाले पनि कर गरेनन् । आयुषलाई समस्या भयो । जाँच गर्दा थाहा भयो, उनलाई मधुमेह भएछ । मोटोपन, अस्वस्थकर खाना, कम्प्युटर र टिभीमा बसिरहने बानीले मधुमेह निम्ताएछ । यति सानो उमेरमै मधुमेह भएपछि अभिभावकलाई चिन्ता पर्ने नै भयो । उनलाई इन्सुलिन नै दिनुपर्‍यो । त्यसपछि मात्र उनका अभिभावकले चेते । इन्सुलिन दिएर, खानामा सुधार गरेर मोटोपन घटाएपछि रोगमा

सुधार हुँदै गएपछि इन्सुलिनको मात्रा पनि घट्दै गयो र बन्द भयो । अहिले आयुष मधुमेहबाट मुक्त छन् । यदि पहिले नै उनका अभिभावकले ध्यान दिएको भए आयुषले समस्या भोग्नैपर्ने थिएन । तर यदि उनले भविष्यमा खानपान र जीवनशैली बिगारे पुन: समस्या हुनसक्छ ।


मधुमेह विभिन्न प्रकारका हुन्छन् । पहिलो प्रकारका मधुमेहमा शिशुको शरीरमा इन्सुलिनले रगतमा चिनी (ग्लुकोज) लाई नियन्त्रण गर्छ, त्यो नै अभाव हुन्छ । दोस्रो प्रकारको मधुमेह प्राय: ४०–५० वर्ष कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरै हुन्छ । इन्सुलिनले राम्रोसँग काम गर्दैन । विदेशमा ४० को उमेर भएपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरमा देखिन थालेको छ ।


मधुमेह भएपछि जटिलता बढ्ने र मृगौलाले पनि काम गर्न गाह्रो हुने अवस्था आउन सक्छ । मृगौला बिग्रेपछि फेर्ने वा डायलसिस गर्ने मात्र उपाय हुन्छ । यी दुवै उपाय सजिला छैनन् । आर्थिक दृष्टिले झनै महँंगो छ र साधारण नेपाली परिवारको बजेटले धान्न मुस्किल पर्छ ।


मोटोपन, मधुमेह र खानपानका कारण जनस्वास्थ्यमा परेको समस्यालाई लिएर कतिपय देशले यसबारे गम्भीर रूपमा सोच्न थालिसकेका छन् । सिंगापुरका हरेक ९ जनामा १ जनालाई मधुमेह छ । ६० कटेकाहरूमा हरेक १० जनामध्ये ३ जनालाई मधुमेह छ । मधुमेहले गर्दा प्रत्येक वर्ष १२०० जनाको खुट्टा काट्नुपर्ने अवस्था छ । त्यसैले सन् २०१९ मा त्यहाँ चिसो पेयपदार्थ पिउने प्रेरणा दिने विज्ञापनमा रोक लगाइएको छ । यस्ता चिसो पेयपदार्थमा ३५५ मिलिलिटरमा ११ चम्चा चिनी हुन्छ भनी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अध्ययनमा उल्लेख छ । विश्व स्वास्थ्य संघले ‘एक दिनमा पुरुषले ९ चम्चा र महिलाले ६ चम्चा चिनी खान सिफारिस गरेको छ ।’ तर चिसो पेयपदार्थ केक, कुकिज, बिस्कुट, पाउरोटी आदि खाँदा योभन्दा धेरै चिनी खाइन्छ । जन्मदिनमा स्वास्थ्य राम्रै रहोस् भनेर शुभकामना दिँदा पनि केक दिएर हामी बालबालिकामा मधुमेहको समस्या बढाइरहेका हुन्छौं ।


बुटवलका १४ वर्षीय रमेशको निधारमा घाउ आयो, निको भएन । जँचाउँदा थाहा भयो, उनलाई दोस्रो प्रकारको मधुमेह रहेछ । अहिले उनले औषधि खाएर मधुमेह नियन्त्रणमा राखेका छन् । यसरी खानपान तथा मोटोपनले गर्दा बालबालिकामा दोस्रो प्रकारको मधुमेह बढिरहेको छ । अभिभावकले बच्चाबच्चीलाई माया गरेर चाउचाउ, चिसो पेय, चिज बल दिनु भनेको सन्तानलाई माया होइन, रोगको पोको दिनु हो ।


गर्भावस्थामा मधुमेहको समस्या छ भने समयमा नै उपचार गरेर आमा र शिशु दुवैलाई विकलांगता तथा मृत्युबाट जोगाउन सकिन्छ । तर अझै कतिपय मधुमेह भएका महिला अस्पताल, स्वास्थ्यचौकी जान सक्दैनन् । स्वास्थ्यसेवाबाट वञ्चित छन् । मोटोपन भएकाहरू मात्र होइन, स्वास्थ्यकर खाना नभएर कुपोषण भएकालाई पनि मधुमेह हुनसक्छ भन्ने धेरैलाई थाहा छैन । आमालाई कुपोषण हुँदा पनि उनीबाट जन्मिएको बच्चा सानो जन्मिन्छ र पछि उसलाई मधुमेह हुनसक्छ ।


नेपालमा यसरी कुपोषित आमाबाट जन्मिने बच्चाहरू कति छन् ? गाउँघरमा जन्मिने बच्चाहरूको अवस्था कस्तो छ ? त्यसको कुनै तथ्यांक पनि छैन । त्यसबारे चर्चा, परिचर्चा पनि हुँदैन । जनकपुरबाट उपचार गर्न आएकी ३० वर्षकी मुना यादव पातली थिइन् । उनलाई कुपोषणको कारण दोस्रो प्रकारको मधुमेह भएको रहेछ । सायद उनी जन्मँदा उनको आमा पनि कुपोषित नै थिइन् कि !


युनिसेफको २०१९ को एक तथ्याङ्क अनुसार विश्वका प्रत्येक ३ मध्ये १ बालबालिका कुपोषणको सिकार छन् । दक्षिण एसियामा भने ५० प्रतिशत बालबालिका कुपोषणको मारमा परेका छन् । ती बालबालिकालाई पछि मधुमेह वा उच्च रक्तचाप हुनसक्ने सम्भावना छ । समयमा नै बालबालिकालाई पत्रु खानाबाट बचाए मधुमेहबाट जोगिने सम्भावना बढ्ने थियो कि ? अभिभावकले यसमा विचार पुर्‍याउलान् त ?


प्रकाशित : मंसिर २६, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?